त्यस्तो किन बोले धर्मगुरुले ?–शिवजी श्रेष्ठ

त्यस्तो किन बोले धर्मगुरुले ?–शिवजी श्रेष्ठ


भारतमा निर्वासित जीवन बिताइरहेका तिब्बती धर्मगुरु दलाई लामाद्वारा दुई साताअघि अल्डसरसटस्थित फुटबल चौरमा बुद्धको जन्मभूमिबारे दिइएको विरोधाभासपूर्ण टिप्पणी चर्चित रह्यो । गजब त के भने नेपाली नै आयोजक रहेको कार्यक्रममा टिप्पणी भएको थियो । सो टिप्पणी जब समाचारको रूपमा बाहिर आयो तब नेपालीको बीचमा आक्रोश र आश्चर्यमिश्रित प्रतिक्रियाको तरङ्ग नै सिर्जना भयो । जब एउटा नेपाली अनलाइन पोर्टलमा छापियो, ‘बुद्धमार्गको सुरुवात भारतबाट भएको हो, कोही–कोही बुद्धलाई नेपाली भन्छन्, कोहीले भारतीय । तर, यसबाट केही फरक पर्दैन ।’
भारतसँग सम्बन्धित कुनै पनि नेपाली सम्पत्ति चाहे त्यो मानवीय कुरा हुन् वा जमिन, यदि त्यसको कुनै अन्तर्राष्ट्रिय मूल्य छ भने त्यहाँ विवाद वा दाबी गरेकै पाइन्छ । यस्तै दाबीमध्ये एउटा बुद्धको जन्मस्थल पनि हो । यहीबीचमा दलाई लामाको टिप्पणी आएको छ । जसै तेन्जिङ शेर्पाले एडमन्ड हिलारीसँगै सगरमाथाको सन् १९५३ मे २९ मा सर्वप्रथम सफल आरोहण गरे तब यसरी नै विवाद सिर्जना गरिएको थियो– तेन्जिङ भारतीय कि नेपाली ? भनेर । प्रथम सगरमाथा सफल आरोहणका टोलीनेता सर जोन हन्ट (बेलायती) सँग तेन्जिङ शेर्पाको मनोमालिन्य देखिएको थियो । तब बेलायत भ्रमणमा जान अस्वीकार गरी भारतमा रहेका तेन्जिङलाई तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरूले सम्झाएको प्रसङ्गमा भारतका लागि तत्कालीन नेपाली राजदूत विजयशमशेर जबराले तत्कालीन नेपाली प्रधानमन्त्री मातृकाप्रसाद कोइरालालाई एक पत्र लेखेका छन् । विजयशमशेरले मातृका कोइरालालाई सन् १९५३ जुलाई ३ मा दिल्ली दूतावासबाट लेखेको पत्रमा नेहरूले तेन्जिङको राष्ट्रियताबारे किन विवाद निकालेको भन्ने सवालको जवाफ दिँदै विजयशमशेरले उल्लेख गरेका छन्, ‘तेन्जिङको नागरिकताको सवाल हामीले होइन कि हिन्दुस्तानी पत्रिकाहरूले जोडतोडले उठाएको हुँदा त्यसको जवाफ मात्र दिइएको हो । यति बताउँदा तेन्जिङ नेपालमा जन्मिई यहीँ हुर्की–बढी जीविकाका लागि भारतमा आई बसेको हो । उहाँकी आमा नेपालमा अझै जीवितै छिन्, परिवार छ, उहाँले नेपाली नागरिकता त्याग्नुभएको छैन’ भन्दै तेन्जिङतिर फर्किएर नेहरूले सोधेको प्रसङ्ग छ, ‘कहिए ये सब क्या है ?’ जवाफमा तेन्जिङ भन्छन्, ‘मै तो कुछ नही जानता हुँ साहेव, मै तो नेपालका भी हुँ, हिन्दुस्तानका भी हुँ,’ तब नेहरूले भनेका छन्, ‘तेन्जिङ नेपाली भए पनि हिन्दुस्तानी भए पनि यसमा हामीले किन वादविवाद गर्ने ? यो त प्रकृतिमाथि मानवजातिकै विजय भनिसम्झनुपर्छ । यहाँनेर आएर दलाई लामा र नेहरूको भाव मिल्न गएको देखिन्छ । तर, नेहरूले त भारतको स्वार्थमा बोलेका कुराको अर्थ बुझ्न सकिन्छ, तर तिब्बती धर्मगुरु दलाई लामाको बुद्ध जन्मस्थलबारेको अर्थ भने बुझ्न नसकिनेछ ।
केही वर्षअगाडि लन्डनस्थित ‘म्याडम तुसाड’ अवलोकन भ्रमणमा जाँदा उनै दलाई लामाको मैनको मूर्तिमा राखिएको चिनारीमा बुद्धका अनुयायी भनेर बुद्धलाई कोष्ठभित्र (भारत) लेखिएको देख्दा मन चसक्क भएको थियो । त्यही कुरा एउटा प्रसङ्गमा बेलायतका लागि वर्तमान नेपाली राजदूतलाई सुनाउँदा उहाँले तत्कालै म्याडम तुसाडसँग लेखापढी गर्ने भनी चासो प्रकट गर्नुभएको थियो । तर, तिनै बुद्धका अनुयायी भनी परिचय दिइएका धर्मगुरुको अहिलेको कुराले अब भने कुनै आश्चर्य बाँकी राखेन ।
भारतले बुद्ध भारतमा नै जन्मिएको हो भन्ने प्रोपोगण्डा नै फैलाएको परिपे्रक्ष्यमा नेपाली जनस्तरबाट पनि ‘होइन बुद्ध नेपालमा नै जन्मिएको हो’ भन्ने अभियान नै चलाइरहेको सन्दर्भमा दलाई लामाले बडो कुटनीतिक वाक्य बोलेका छन् । दलाई लामा धर्मगुरु मात्रै होइन, निर्वासित तिब्बतीका नेता पनि हुन् । उनी यो कुरामा सचेत देखिन्छन्, जहाँ उनले ‘बुद्ध भारत वा नेपाल जहाँ जन्मेको भए पनि फरक पर्दैन, तर बुद्धमार्ग भारतबाटै सुरु भएको हो’ भन्ने वाक्य प्रयोग गरेका छन् । दलाई लामाले यहाँ एउटा कथा सम्झाइदिएका छन्, भारत अनि धर्मसँगै सम्बन्धित ‘महाभारत’मा जब कौरव पक्षका सेनापति द्रोणाचार्य बलियो अवस्थामा देखिन्छन् तब कृष्णले एउटा षड्यन्त्र गर्छन् । अनि ‘अश्वस्थामा मारियो’ भनेर प्रोपोगण्डा गरिन्छ । छोरा अश्वस्थामा मारिएको खबरले शोकग्रस्त भई सेनापति द्रोणाचार्य कमजोर हुने ठहर गर्दै कृष्णले गरेको षड्यन्त्रमा द्रोणाचार्यले विश्वास नगरी यदि यो कुरा युधिष्ठिरले भनेमा विश्वास गर्छु भन्छन् । तर, सत्यवादी युधिष्ठिर त्यो गलत कुरा भन्न हिचकिचाउँछन्, पछि कृष्णले ‘तिम्रो भलाई यसैमा छ’ भनेर सम्झाएपछि युधिष्ठिरले भन्छन्, ‘नरो वा कुन्जरोवा, अश्वस्थामा हतोहतः’ अर्थात् मानिस हो वा हात्ती, तर अश्वस्थामा मारियो । ठीक त्यही शैलीमा अहिले दलाई लामा बोलेका छन् ।
यो प्रोपोगण्डा पनि अनेकथरी हुन्छन् । कार्डिफ विश्वविद्यालयमा अध्यापनरत एक भारतीय मित्रले मलाई एक प्रसङ्गमा ‘सीता’ पनि भारतमै जन्मिएको हो’ भनिदियो । सहनै नसक्ने झोंक चले पनि धैर्यताका साथ मैले सप्रमाण भनेको थिएँ– जनकपुरधाम, मिथिला नरेश अनि उनको राज्य र तिम्रो एक भारतीय महारानीले बनाइदिएको जानकी मन्दिर, भन्दै जनकले जनकपुरमा हलो जोत्दा भेटिएकी सीता हुन् भन्दा उनले गजवको तर्क दिए । उनले माथिका कुरा सबै स्वीकार्दै भनेका थिए– हो, सीता जनक राजाले जनकपुरमा हलो जोत्दा नै भेटिएको हो, तर जनकपुर भारतीय सीमामा पर्छ र जनक राजा हलो जोत्दै जाँदा धेरै पर पुगेछन्, अनि जहाँ सीता भेटियो, त्यो भारतमा पर्दोरहेछ । अर्थात् यहाँ पनि अर्को ‘नरो वा कुन्जरोवा’ नै बनाइदिए ।
जब दलाई लामा चीनले तिब्बतमा हस्तक्षेप गरेपछि भारत निर्वासनमा गए । भनिन्छ, उनको पहिलो प्रयास नेपालमा नै शरण लिने थियो, तर सम्भव नभएपछि भारत प्रवेश गरे । तर, नेपालमा उनलाई हेर्ने सरकारी दृष्टिकोण जे–जस्तो भए पनि जनस्तरबाट उनलाई सम्मानित नजरले हेरिन्छ । अझ बुद्धमार्गीहरूले त झन् सम्मान र अगाध आस्था राख्दछन्, तसर्थ उनीबाट व्यक्त विचारले उनीप्रति आस्थावानहरू पनि मर्माहत भएका छन् । अझ उनीप्रति अगाध आस्था एवम् श्रद्धा गर्ने आयोजकहरूका मन कति कँुडिएको होला । तीमध्ये कति त लुम्बिनी कपिलवस्तु दिवस अभियानमा पनि सक्रिय छन् । लुम्बिनी कपिलवस्तु त्यस्तो अभियान हो जुन बुद्ध नेपालमा जन्मिएको तथ्यलाई संसारभर स्थापित गर्न कटिबद्ध छ । जब कसैप्रति अगाध आस्था हुन्छ, श्रद्धा हुन्छ, उनले टेकेको माटो शिरमा लगाउन तयार हुन्छ, अनि उनको बोली छातीमा रहन्छ, मन्त्र बनाएर उच्चारण गर्छन् । तर तिनै आस्था र श्रद्धा राखेका व्यक्तिहरूको भावनामा चोट पुग्यो भने के हुन्छ ? यो तिनै व्यक्तिहरूले अनुभूति गर्न सक्छन् जसले त्यसको पीडा भोगेको हुन्छ । यद्यपि नेपाली आफैंमा सहिष्णु छन् ।
हुन त दलाई लामालाई राजनीतिक पृष्ठभूमिबाट पनि हेर्न सकिन्छ । जो निर्वासित छन्, जसलाई भारतले शरण दियो । उनले यो राम्रैसँग बुझेका छन् कि नेपाल खुसी हुँदा के पाउँछु अनि भारत दुःखी हुँदा के–के
गुमाउँछु ? धर्म आस्था र विश्वासमा चल्छ तर राजनीति त लाभ–हानिबाट ज्यादा निर्देशित हुन्छ । त्यो कुरा दलाई लामाले नबुझेका होलान् भन्न सकिन्न । त्यसैले त भनिदिए नि बुद्ध भारत वा नेपाल जहाँ जन्मेको भए पनि बुद्धमार्गचाहिँ भारतबाटै सुरु भएको हो । तर, दलाई लामाले यो पनि बुझ्नुपर्छ कि यदि कसैले तिब्बतीहरूको माझ अझ उनै दलाई लामाको अगाडि ‘तिब्बत चीनको स्वशासित क्षेत्र होस् वा स्वतन्त्र राष्ट्र, त्यसको कुनै अर्थ छैन, तर त्यहाँ अहिले राम्रो विकास भएको छ, जनताको उन्नति नै मुख्य कुरा हो’ भनिदियो भने के हुन्छ ? उनको प्रतिक्रिया कस्तो रहन्छ ? के उनले हामीले जस्तै धैर्य राखेर ती कुरा सुनिरहन सक्लान् ?