नेपाली प्राविधिक सहयोग समूह (एन्ट्याग)का पदाधिकारीहरू भ्रष्टाचारमा चुर्लुम्म डुबेको समाचार सार्वजनिक भएपछि कारबाहीबाट जोगिन सम्बन्धित पात्रहरू विभिन्न शक्तिकेन्द्र धाउन थालेका छन् । एन्ट्यागका कार्यक्रम निर्देशक दीपक थापा स्वयम्को भ्रष्ट र अनियमित क्रियाकलापका कारण संस्था धराशयी बन्न लागेको भन्दै एन्ट्यागसम्बद्ध कर्मचारी नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत सम्बन्धित सबै निकायको ढोका ढकढक्याउन विवश भएका छन् । यसैक्रममा एन्ट्यागमा भएका अनियमितता सम्बन्धमा सूचना माग्न पुगेका सञ्चारकर्मीलाई कार्यालयमा बोलाएरै दुव्र्यवहार गरिएको छ । संस्थाका हर्ताकर्ताहरूले सूचना दिन अस्वीकार गरेपछि सञ्चारकर्मी बालकृष्ण भट्टले सूचना उपलब्ध गराइदिन राष्ट्रिय सूचना आयोगमा निवेदन दर्ता गराएका छन् । पत्रकार भट्टले एन्ट्यागका पदाधिकारीले सूचना माग्दा दुव्र्यवहार गरी सूचना नदिएको भन्दै गत भदौ २९ गते उजुरी दर्ता गराएका हुन् । दर्ता नम्बर २९२ रहेको सो आवेदनमार्फत एन्ट्यागले तथ्य सूचना नदिएकाले उपलब्ध गराइदिन आग्रह गरिएको छ । सञ्चारकर्मी भट्टले एन्ट्यागका कार्यक्रम निर्देशक दीपक थापासँग कार्यालयको ल्यापटप, मोटरसाइकल, मसलन्द र भिटामिन ‘ए’ कार्यक्रमको प्रचारप्रसार कार्यलगायतमा व्यापक आर्थिक अनियमितता भएको जानकारीमा आएको भन्दै सोसम्बन्धी यथार्थ सूचना माग्दा आफूमाथि दुव्र्यवहार गरिएको दाबी गरेका छन् ।
– बी. भट्ट
प्रतिक्रिया