युवाहरू बलि चढाउने मुलुक– विनोद त्रिपाठी

युवाहरू बलि चढाउने मुलुक– विनोद त्रिपाठी


Binod Tripathi०६२ साल मङ्सिरपछि शिविरमा एकत्रित गरिएका लडाकु सङ्ख्या कम भएको आँकडाअनुसार माओवादीले गाउँगाउँबाट धमाधम किशोरकिशोरी ल्यायो । सेनामा भर्ना हुन पाउने लोभले विपन्न र निरीह परिवारका युवाहरू ओइरिएका थिए । सेना समायोजनको अन्तिम घडी २०६८ सालसम्म आइपुग्दा अधिकांश किशोरकिशोरी हर्लक्क बढेर युवा भए । कति त सानै उमेर भएकाले १८ वर्ष उमेर पुग्नै भ्याएनन् । तर, त्यही शिविरभित्र साँच्ची नै युद्ध लडेर आएका थुप्रै युवा थिए । तत्कालीन अवस्थामा अनमिनमार्फत छनोट प्रक्रियामा यति धेरै युवाहरू अयोग्य सावित भए कि उनीहरूले आफ्नो समय बर्बाद भएको धेरै वर्षपछि चेत पाए । ९० प्रतिशतभन्दा बढी माओवादी युद्धमा लागेका युवाहरू जीवनभर कुनै पनि पार्टीको आन्दोलन वा युद्धमा नलाग्ने कसम खाँदै रुँदैरुँदै घर फर्के ।
भर्खरै मात्र नयाँ सरकार गठन प्रक्रिया चल्दै गर्दा मधेसका युवाहरूले मधेसकै नेताहरूलाई गद्दार घोषणा गरिदिए । करिब चार दर्जनको सहादतबाट गुज्रिएको मधेस आन्दोलन अहिले सत्ता र सडकमा बाँडिएको छ । आन्दोलनमा एकढिक्का भएर लागेका मधेसी युवा अहिले सत्तातिर कि सडकतिर अलमलमा छन् । त्यसैले, केही मधेसी पार्टीका नेताहरूले यसै साता आफ्नो पार्टी नै परित्याग गरिदिए ।
माओवादी युद्धमा लागेर मृत्युवरण भएका अधिकांश युवा वर्गकै जमात थियो । ०६२/०६३ सालको जनआन्दोलन, मधेस आन्दोलन र अन्य जातजातिका आन्दोलनमा होमिने पनि युवाहरू नै थिए । उनीहरूको नै मृत्यु भयो । आन्दोलन वा युद्धको नेतृत्व गर्ने बूढापाकाहरू अहिले पनि बाँचिरहेका छन् । चाहे यसअघि भएका आन्दोलनमा मृत्यु भएकाहरू होस् वा अहिले मधेसमा चलेको आन्दोलनमा गोली खाएकाहरू हुन्, सबैजना नेपाली युवा नै थिए, जुन राष्ट्रका लागि महत्वपूर्ण शक्ति थियो । तर, परिवर्तनका नाममा युवाहरूको बलि मात्र चढाउने यो मुलुक अहिलेसम्म किन बर्बादीबाट माथि उठ्न सकेन गहन विश्लेषणको खाँचो छ ।
२०६२ मङ्सिर ७ गते माओवादी र सात दलबीच भएको १२बुँदे सहमतिको बुँदा नं. ७ मा भनिएको छ, ‘सात राजनीति दलले विगतका गल्ती कमजोरीलाई समीक्षा गर्दै त्यस्ता गल्ती नदोहो-याउने प्रतिबद्धता छ ।’ यो प्रतिबद्धता माओवादी र सात दलबीचको हो । सात दल भन्नाले अहिलेका काङ्ग्रेस, एमालेसहित अन्य साना दल (राष्ट्रिय जनमोर्चाबाहेक) हुन् । त्यसपछि जनआन्दोलन सुरु गरियो । तर, राजमोले अलग्गै राजतन्त्रविरुद्ध आन्दोलन गरिरहेको थियो । विगतका गल्ती नदोहो-याउने भन्नेबित्तिकै ठूला पार्टीहरू काङ्ग्रेस, एमाले, हाल एमाओवादीको मूल्याङ्कन आवश्यक पर्छ । देश हाँक्ने पनि यिनै पार्टीहरू हुन् । तर, अहिले ०६२ सालअघिभन्दा दलहरूको गतिविधिमा कुनै फेरबदल पाइएको छैन । उही संसदीय अभ्यास अनि उही प्रजातान्त्रिक प्रक्रियाको सिन्डिकेट प्रथा । यसमा एउटा कुरा मात्र जानकारी गराउँm, ०७२ साल वैशाख १२ गते भूकम्प भएपछि तहसनहस बनाएको हाम्रो भौतिक सम्पत्तिमा राज्यको भूमिका दलहरूको विवाद सबैभन्दा पीडादायक बनेको छ । समस्या पर्दा मात्र सम्झने नत्र बिर्सिहाल्ने नेपालीको पुरानै बानी हो । यसलाई अहिलेसम्म परिवर्तनकामी भनिएका दलहरूले अझै अनुशरण गर्न सकेनन् ।
यिनै सात दलले ०६३ साल मङ्सिर ५ गते गरेको विस्तृत शान्तिसम्झौताको ७.५ बुँदामा भनिएको छ, ‘जनताको खाद्य सुरक्षासम्बन्धी हक सम्मान, उत्पादन, बिक्री वितरणमा सुनिश्चितता गरिनेछ । औषधि आपूर्ति निर्बाध गर्न पाइनेछ ।’ तर, अहिले मुलुक विदेशबाट आयातीत वस्तुबाट मात्र होइन, स्वदेशमै उत्पादित वस्तुको प्रयोगबाट वञ्चित छन् । देशको ठूलो युवा समूह तराईमा बाटो छेकेर बसिरहेको छ । पहाडका मात्र होइन, तराईका जनता आगो र खाद्यान्न नभएकाले भोकभोकै बसिरहेका छन् । अस्पताल र मेडिकलमा औषधि रित्तिएको छ । तर, पनि हिजोकै सम्झौतामा हस्ताक्षर गर्नेहरू युवाहरूलाई परिचालित गरेर देशलाई बर्बाद गर्न छोडेका छैनन् । पार्टी–पार्टीबीचको फुटले वर्षभरि नै आन्दोलन चलिरहन्छ । पार्टीमा चित्त नबुझ्नेबित्तिकै सनकका भरमा केही युवालाई बटुलेर अर्कोले आन्दोलन सुरु गरिहाल्छ । तर, मर्ने जति युवा मात्र हुनेछन् । नेतृत्व गर्नेहरू युवा हुँदैनन् ।
भर्खर प्रधानमन्त्रीबाट राजीनामा दिएका सुशील कोइरालाको तस्बिर देख्नेबित्तिकै सामाजिक सञ्जालहरूमा उनको वृद्ध रूपबारेमा युवाहरू निकै आलोचना गर्छन् । युवाहरूको यो आलोचना सुशीलको अनुहार मन नपरेर वा राजनीतिप्रति विमति राखेर होइन । देश सञ्चालनमा युवाको नेतृत्व किन भएन ? आन्दोलन गर्दा युवा प्रयोग गर्ने, नेतृत्व लिँदा निर्जीवजस्तै वृद्धहरू किन अघि सर्ने प्रश्न हो । अहिले हाम्रो समाजमा दुई प्रकारका युवा छन् । एकथरी जसले नेपाल सोझै समृद्धि र विकास चाहन्छन् । अर्कोथरी, जो राजनीति नेताहरूको गोटी बनेर नेपाल बनाउन सकिन्छ भन्ने भ्रममा छन् । यसले युवाहरूमा पनि समान बाटो र विवेक भेटिँदैन । आन्दोलन वा युद्धमा होमिने एकथरी युवाहरूलाई रोक्न अर्काथरी युवाहरूले गरेको आग्रहलाई नेताहरूले नै तगारो हालिदिन्छन् । फलस्वरूप युवाहरूको शक्ति कसलाई कसरी उपयोग गर्ने वा उपयोग हुनेमै खर्चिएको छ ।
सेना समायोजन नहुँदै शिविरमा रहेका लडाकुलाई इङ्गित गर्दै त्यतिबेला गगन थापाले भनेका थिए, ‘युवाहरूलाई अब खालि राजनीतिमा मात्र उपयोग गर्नुहुँदैन, मुलुकको विकास र उत्पादनमा लगाउनुपर्छ ।’ तर, उनी ०७० मङ्सिरको दोस्रो संविधानसभाको चुनावमा भाग लिँदाको दृश्य देख्दा लाग्यो भनाइ र गराइमा धेरै अन्तर रहेछ । उनले प्रयोग गरेका युवाहरू, किशोरहरू माओवादीले प्रयोग गरेका युवाभन्दा भिन्न थिएनन् । शैली फरक भए पनि गगन र माओवादीले प्रयोग गरेका युवाको दुरुपयोगको रूप उही थियो ।
नेपालले शिक्षा क्षेत्रमा निकै फड्को मारिसकेको छ । अबका युवाले आफ्नो कर्तव्य के हो र के काम गर्नुपर्छ भन्ने राम्ररी बुझ्न जरुरी छ । जसरी अहिले मधेसमा युवाहरूको शक्ति खेर गइरहेको छ, त्यसैगरी, हिजो विभिन्न युद्ध र आन्दोलनमा खेर गएको थियो भन्ने अबका युवापिँढीले बुझ्न जरुरी छ । अब कुनै पनि सङ्गठन वा राजनीति दलले प्रयोग गर्न खोज्दा हिजोको परिणामको उत्तर माग्नेछौँ भन्ने युवाहरूले प्रतिबद्धता गर्नुपर्छ । एउटा कुरा युवा साथीहरूले याद गर्नुपर्ने कुरा के छ भने एकाधबाहेक कुनै पनि नेताहरूले आफ्ना छोराछोरीलाई युद्ध वा आन्दोलनमा सहभागी गराएको देख्नुभएको छ ? त्यसैले, हामी हाम्रो भविष्यका लागि गैरराजनीतिक क्षेत्रबाट केही गर्न सक्छौँ भन्ने सोच गर्नु आवश्यक छ । चरम गरिबी र द्वन्द्वबाट पिल्सिएको मुलुकमा मात्र युवाहरूलाई दलहरूले उपयोग गर्छन् । तर, विकास र समृद्धितर्फ लम्किएको मुलुकका युवाहरू सिर्जनात्मक काममा व्यस्त बनिरहेका हुन्छन् । अब हामी सिर्जनात्मक बनेर देश र समाजको समृद्धि खोज्ने कि दलहरूको चङ्गुलमा फसेर जीवनका पलपल बर्बाद गर्ने फैसला तपाईं युवाहरूको हो ।