सबै नेपाली खुसी भएको त्यो दिन—लालकृष्ण धमला

सबै नेपाली खुसी भएको त्यो दिन—लालकृष्ण धमला


दशवर्षे जनयुद्धबाट थकित भएको माओवादी अन्तरिम संसद्, अन्तरिम सरकार र संविधानसभामा सबैभन्दा ठूलो दल बनेर पार्टी अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार चलाएर अनुभवहरू बटुल्दै विभिन्न चरणको प्रधानमन्त्री बन्ने दौडमा भाग लिँदै गर्दा र एमाओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराईको नेतृत्वमा सरकार बन्दाको अवस्थाबाट आफ्नै पार्टीमा फुट भएको पीडा झेल्दै गर्दा डा. बाबुराम भट्टराईले बुद्धिमतापूर्ण तवरले गत जेठ १४ गते संविधानसभा विघटन भएपश्चात् बिनाअवरोध सत्ताकब्जा गरेको अवस्थामा कब्जा भएको सत्ता जोगाउने दायित्वभन्दा पार्टी फुटको वेदनाले छटपटी परेको अवस्थालाई कसरी सम्हाल्ने भन्ने चिन्ताले समाधानको खोजीका लागि डाकिएको विस्तारित बैठकको रडाकोले भने राष्ट्रिय राजनीतिमा ठूलै तरङ्ग पैदा भएको यथार्थ नेपाली जनतासामु लुकिरहन सकेन ।
गत साउन ५ गते एमाओवादीको विस्तारित बैठमा हात हालाहात र कुर्सी हानाहानको खबरले त्यतिबेलाको केही क्षण नेपालको पूरै जनता हर्षले गद्गद् भए । सायद त्यतिबेला एउटै नेपाली पनि बेखुसी थिएनन् होला । किनकि, प्रचण्डलाई कहिल्यै हावाकावा पार्न नसकेका प्रचण्डका विरोधीहरू विस्तारित बैठकका अवसरमा उनलाई भित्तैमा पुर्‍याउन पाउँदा खुसी थिए भने बाबुरामका विरोधीहरू बाबुरामलाई हावाकावा गराउन पाएकोमा रमाएका थिए । जे–जस्तो भए पनि एकले अर्कालाई पेल्न पाउँदा खुसी भइरहेका थिए । वैद्य पक्ष यसै पनि आफूले छाडेको पार्टीको झगडाले खुसी थिए भने अरू विपक्षीहरू खुसी नहुने कुरै भएन । त्यसरी एकले अर्को पक्षलाई पेल्न पाउँदा कार्यक्रमस्थलको विस्तारित बैठकमा सबै खुसी नै खुसी थिए र अरू विपक्षीहरू त्यसै–त्यसै गद्गद् थिए ।
त्यसरी सम्पूर्ण नेपाली खुसील रमाइरहेका बेला नेपालआमा भने कसैले नदेख्ने गरी आफ्ना ती एक–आपसमा झगडा र कुटपिट गर्ने अनि आफ्नै दाजुभाइको आपत्तिमा रमाउने छोराहरूलाई धिक्कार्दै एक कुनामा बसेर सुँक्कसुँक्क रोइरहेकी थिइन् । उनी भन्दै थिइन्– ‘धिक्कार छ यी कपुतहरूलाई, मेरो अस्मिता लुट्नका लागि विदेशी चलबलाइरहेको बेलामा यिनीहरू आफैं कुटाकुट र काटमारमा तत्पर हुन लागे कसले दिन्छ यिनीहरूलाई बुद्धि ? भएभरको सबै मिलेर एसियाकै जेठो मेरो उद्धार गर्नेछन् र मेरो अस्मिता बचाउने छन् भनेको त मेरो चीरहरण हुन लागिसक्दाको कठिन घडीमा झन् यिनीहरू एक–आपसमा मुक्का हानाहान र कुर्सी हानाहान गर्न पो लागिरहेछन्, कस्ता कपुत रहेछन्, अब यो वेदना मैले कसलाई पोख्ने ?’
त्यसरी एक्लै रोएकी नेपालआमाले आफैं सहन गर्न नसकी ए बाबु हो यस्तो कुपुत्र किन हुन्छौ ? एक–आपसमा झगडा किन गर्छौ ? भन्दै खप्न नसकेर एकान्त कुनामा मुख छोपेर रोइरहेकी नेपालआमा मुख खोलेर सडकमा उत्रेर गुहार–गुहार मेरो चीरहरण हुन लाग्यो, हे कुपुत्र हो मलाई बचाओ । यतिबेला पनि तिमीहरूलाई चेतना आउँदैन भने कहिले आउँछ ? हे पापिष्ट हो, एक–आपसमा झगडा नगर छिट्टै मिल, तिमीहरूको झगडाले मेरो अस्मिता लुटिन लाग्यो । यसरी कराइकराई चिच्याइचिच्याई हिँड्ने ती बूढी नेपालीआमा दगुर्दै दगुर्दै कता पुगिन् थाहा छैन । कता पुगेर लुकिरा’छिन् ? उनलाई आफ्नो अस्मिता जोगाउनु छ ।
त्यसैबेला सडकमा एक अपरिचित बूढो मान्छे भन्दै थिए– ती नेपालआमाले ठूलोठालु भएका एमाओवादी, काँग्रेस, एमाले, मधेसवादी र माओवादी नाम गरेको हुर्केका, जवान भएका आफ्ना छोराहरूलाई धिक्कारिन् रे । अरू त सानासाना तिनको के भर । जवान छोराहरू उरन्ठेउलो भएपछि के लाग्छ र ?
उनी चाहन्थिन् रे– यी मोराहरू एक–आपसमा झगडा नगरून्, अनि मलाई माया गर्ने र जोगाउने यिनीहरूभन्दा जेठो छोरो ०४७ सालको संविधान कहाँ छ ? त्यसैलाई खोजेर ल्याइदिए मेरो अस्मिता पनि जोगाउँथ्यो । यी मोराहरूको झगडा पनि मिलाउँथ्यो । अब जेठो छोरो नखोजेसम्म मलाई शान्ति नहुने भो । यसरी रोइरहेकी नेपालआमाको अस्मिता जोगाएर आफ्नो भविष्य सुनिश्चित गर्नका लागि सबै पार्टी फुटको बाटो छोडेर जुटको बाटो खोज्दै सबैको सहमतिले नेपाल अधिराज्यको संविधान ०४७ लाई पुनस्र्थापना गर्ने बुद्धि दलहरूमा पलायो भने मुलुकले निकास पाउनेछ अन्यथा मुलुक ठूलो गृहयुद्धमा फस्ने निश्चित छ ।