आजीवन सुविधा अस्वाभाविक—रामबहादुर बिष्ट

आजीवन सुविधा अस्वाभाविक—रामबहादुर बिष्ट


पूर्वपदाधिकारीहरू– पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश, पूर्वसभामुखहरू र पूर्वगृहमन्त्रीहरूलाई आजीवन सुविधा दिने कुराको आमजनतामा व्यापक गुनासो र विरोध हुनुको साथै पूर्वपदाधिकारीलाई सुविधासम्बन्धी अध्यादेश संसद् अधिवेशन बसेको दुई महिना पुगेपछि साउन ६ गते स्वतः खारेज भई आमजनताले चाहेअनुरूप उहाँहरूलाई दिइएको विलासी गाडीसहितको सुविधा खोसिने निश्चितप्रायः थियो । तर, सरकारले चलाखीपूर्ण तरिकाले मन्त्रिपरिषद्बाट निर्णय गराई राष्ट्रपतिसमक्ष सिफारिस गरेकोले हालै राष्ट्रपतिले पूर्वपदाधिकारीहरूलाई सुविधा र सुरक्षा प्रबन्ध गर्न बनेको अध्यादेश ०६९ जारी गरेको कुरा जानकारीमा आएको छ ।
पूर्वपदाधिकारीहरू सम्मानित व्यक्तित्व हो, उहाँहरूको सम्मान गर्नु हामीहरू सबैको कर्तव्य हुन आउँछ । वर्तमानमा हुँदा उहाँहरूको सान, सम्मान, रवाफ विशिष्ट खालको हुन्छ भन्ने कुराको जानकारी सबैलाई छ । भइसक्नुभएका एकहुल प्रधानमन्त्री, त्यस्तै प्रधानन्यायाधीश, सभामुख र गृहमन्त्रीहरूमध्ये स्व. गिरिजाप्रसाद कोइराला र स्व. कृष्णप्रसाद भट्टराईबाहेक सबैका आलिशान घर, सम्पन्नता आदि सबै सुविधा प्राप्त भइराखेकै छन् । नेपाली काँग्रेसका संस्थापक नेता आदरणीय किसुनजीको सम्पत्ति एउटा छाता, एउटा सुराही र थोत्रो बाकसबाहेक केही देखिएन । यस्ता त्याग–तपस्या गरेका नेताहरूको सम्मान राष्ट्रले कति गर्न सक्यो त्यो आफ्नो ठाउँमा होला । पूर्वपदाधिकारीहरूको नाममा अझ थप सुविधा राष्ट्रले नै व्यहोर्नुपर्दा वर्षेनी ५० करोड खर्च हुने निश्चित छ । लाखौँ गरिब जनताले तिरेको करबाट आजीवन सुखसुविधामा रजाइँ गर्नु न्यायसङ्गत हुन सक्दैन । अधिकांश जनता आधा पेट खाएर भोकभोकै बाँच्न बाध्य छन् । तिनै जनताले दिएको भोटका भरमा तत्तत् पदमा पुगेका नेताले नितान्त आफ्नो स्वार्थपूर्ति र भविष्य सुनिश्चित गर्नेतर्फ मात्र लागेका भन्न सकिन्छ । सरकारबाट गरिएको यो निर्णयको विरोध कतैबाट हुँदैन, सिर्फ मानव अधिकारवादीहरूले यस कार्यको विरोध मात्र गरेनन् त्यसको खारेजको मागसमेत गरेका छन् । उहाँहरूको यो साहसिक कदमको म हार्दिक धन्यवाद दिन चाहन्छु, अन्यायको विरोधमा बोल्ने मानवअधिकारवादी त छन् भन्ने लाग्छ ।
मेरो विचारमा पूर्वपदाधिकारीहरूको सम्पत्ति सम्मानपूर्वक राष्ट्रियकरण गर्ने र उहाँहरूलाई राष्ट्रले आवश्यक आजीवन सुविधा दिने निर्णय गर्दा उत्तम होला । राष्ट्रियता, प्रजातन्त्र र जनताकै लागि जेलनेल भोगेका मानिस पनि हजारौँको सङ्ख्यामा छन् । दुःखी, बिरामी र बेरोजगारीको कुरा गरे त सासै फेर्न मुस्किल छ । मेरो एकजना साथी हुनुहुन्थ्यो पूर्वसांसद स्व. लोगराज जोशी । उहाँ ०४८ सालको आमनिर्वाचनमा बझाङ क्षेत्र नं. २ बाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो । उहाँ राम्रो अध्ययन गरेको मानिस हुनुहुन्थ्यो, उहाँलाई मन्त्री त बनाइएन । पूर्वसांसद भइसकेपछि समय बित्दै जाँदा उहाँको आर्थिक अवस्था यति कमजोर भयो कि आफूलाई र बालबच्चालाई एक छाक खाना खान मुस्किल हुन थाल्यो । चिनेजानेका साथीहरूसँग मागेर हिँड्नुपरेको कुरा तत्कालीन महासचिव सूर्यकिरण गुरुङलाई समेत थाहा छ । आफू बिरामी पर्दा औषधिको ट्याबलेट किन्न मुस्किल पर्‍यो । उहाँको ०६४ सालमा असामयिक निधन भयो । उहाँको परिवार के हालतमा कहाँ छन् थाहा छैन । उहाँजस्तै अरू पूर्वसांसद कति छन् जसको आफ्नो भन्ने घर पनि छैन । यस्तै–यस्तै त्याग, तपस्या गरेका सम्मानित व्यक्तिहरूका लागि छानबिन गरी आजीवन सुविधा प्रदान गर्ने सोच कुनै सरकार होला कि नेपालमा । अरू मुलुकको जस्तो आफूले पाएको सुविधामा निम्नतम सुविधा मात्र लिई अरू थप सुविधा राष्ट्रकै नाममा फिर्ता गर्न सक्ने राष्ट्रवादी जनप्रिय नेता कोही जन्मिएला हाम्रो देशमा ।
आजभोलिको कुरा गर्ने हो भने जुनसुकै पार्टीभित्र पनि पार्टीको क्रियाशील सदस्य भनेको त्यो व्यक्ति हो जोसँग साधन–स्रोत छ । क्रियाशील त्यो हो जोसँग एउटा घर छ, एउटा गाडी छ, अर्को घर बनाउन अलिकति जग्गा पनि छ । राजनीति र व्यापार भनेको एक–सिक्काका दुई पाटाजस्तो भएको छ । निर्वाचनमा कम्तीमा रु. ५० लाख खर्च भएको छ भने निर्वाचन जितेपछि र राम्रो पदमा पुगेपछि उसले कम्तीमा रु. ५० करोड कमाउने उम्मेद राखेको हुन्छ । बीपी कोइलाला, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसद कोइरालाले आफ्नो घर र सम्पत्ति जोड्ने सोच कहिल्यै बनाउनुभएन बरु जनता र मुलुकका लागि आफ्नै सम्पत्ति गुमाउने काम गर्नुभयो । उहाँहरूको सम्मान गर्न हामी जान्दैनौँ बरु अकुत सम्पत्ति कमाई भ्रष्टाचारको सूचीमा नपरेका पूर्वपदाधिकारीहरूलाई आजीवन आवास, गाडी इन्धन, सुरक्षालगायतका सुविधा दिन जान्दछौँ । यही त हो हाम्रो विशेषता । असल नेताको असल कामको अनुकरण गर्नै हामी जानेनौँ बरु आफ्नो फाइदा र सुविधा पाउने कुरामा पार्टी–पार्टीका नेताहरूले तै चुपमै चुपको सिद्धान्त अंगालेको अवस्था छ । अन्तमा अहिलेसम्मकै अलोकप्रिय निर्णय लिने कामचलाउ सरकारका प्रमुख बाबुराम भट्टराईलाई जनताको तर्फबाट उल्टा सलाम ।
(लेखक पूर्वसांसद हुन् ।)