बिनाविभागीय मन्त्रीलाई बधाइ !-भुवन ताामाङ

बिनाविभागीय मन्त्रीलाई बधाइ !-भुवन ताामाङ


Photo - Bhuwan Tamangकसैले महत्वपूर्ण उपलब्धी हासिल गरेकामा शुभचिन्तकहरुले बधाइ दिने चलन चलि आएको पाइन्छ । सन्दर्भ नेपालमा नयाँ सरकार गठन भएसँगै मन्त्रीहुनेहरुलाई बधाइ दिने लर्को को हो । कोही फुल मन्त्री भएकोमा बधाइ तथा शुभकामना दिनु ठीकै हो । फुलमन्त्री हुनुको ठूलै अर्थ हुन्छ, उनको जिम्मेवारी पनि ठूलै हुन्छ । कुनै मन्त्रालयको पूरै जिम्मेवारी उनकै काँधमा हुन्छ । तत् मन्त्रालयको कामका सम्बन्धमा उनमा विशेषज्ञता पनि हुनसक्छ र उनको स्टाटस् पनि उच्च रहन्छ । जसलाई बधाइ दिनुको व्यक्तिगत फाइदा पनि हुन सक्छ । भित्री कुरा योभन्दा बढ्ता पनि हुनसक्छ । राज्य मन्त्रीसम्म भएकालाई पनि बधाइ दिनु मुनासिवै मान्न सकिन्छ किनकि उनका लागि पनि मन्त्रालय र केही जिम्मेवारी तोकिएको हुन्छ । यस्ता मन्त्रीलाई पनि राज्यले रामै्र सुविधा तोकेको हुन्छ । सुविधा भोग्न पायौ भनेर पनि बधाइ दिन सकिएला ।

अब रह्यो कुरा बिना विभागीय मन्त्रीलाई बधाइ दिनुको । बिना विभागीय मन्त्रीको महत्व कति हो ? जिम्मेबारी के हो ? यो बुझ्नु पर्छ कि पर्दैन बधाइ दिनेले । बधाइ दिन पाइयो भन्दैमा जसलाई पनि बधाइ दिने ? अखबारका पाना भर्ने ? बिना विभागीय मन्त्रीले काम गर्ने मन्त्रालय नै हुन्न । उनमा कुनै गतिलो अधिकार हुन्न, गतिलो निर्णय गरेर बधाइ दिनेहरुलाई फाइदा पु-याउन पनि सक्दैनन् । अनि के का लागि बधाइ ? निँहु खोजेर हैरान पर्ला भनेर प्रधानमन्त्रीले थुम्थुमाउन बिना विभागीय मन्त्री पद दिएका हुन सक्छन् । तिनले माखो पनि मार्नु पर्दैन, एउटा सिन्को भाँच्ने काम पनि गर्नु पर्दैन । यस्ता मन्त्रीको भूमिका भनेको घडीको पेन्डुलम जस्तै हुन्छ । यता र उता हल्लिने मात्र अनि भिरको चिन्डो जस्तो न उँधो न उँभो । अनि केका लागि बधाइ ? यसमा बधाइ दिने मुर्ख कि बधाइ लिने ? कि दुबै ? बधाइ दिनेले पनि सोचेर बधाइ दिनु नी । लौ बधाइ दिनेले दियो रे, लिनेले भो पर्दैन भन्नु पर्दैन ? शरम लाग्दैन भन्नु पनि शरम मान्नु पर्ने भो । फेरि नदिनु बधाइ दिइसकेपछि मन्त्री भएकामा दिनु नी । बिना विभागीय भनेर किन उल्लेख गर्नु परेको । बिना विभागीय भनिदिँदा बेइज्जती भएन ?

जसले जसलाई जे सुकैको बहानामा पनि बधाइ दिए भयो । टर्टराएकामा भ्यागुताले बधाइ दिए पनि भयो । कुकुरले एकाबिहानै बाटाको डिलमा वाफ उड्दै गरेको आका खान पाएकोमा बधाइ दिए पनि भयो । साँच्चै आजको युग पूर्ण स्वतन्त्रताको हो । भुलिएछ । स्वतन्त्रताको उपभोग यसरी पनि गरिने रै’छ । केवल गाँठी कुरा के हरेछ भनेर सर्वसाधारणले नै खोज्नु पर्ने भो ।