‘मन्त्री’बाट ठगिएका सञ्चारकर्मीको रामकहानी

‘मन्त्री’बाट ठगिएका सञ्चारकर्मीको रामकहानी


PB Diyaliआफूकहाँ उजुरी पर्दा सूचना विभागले फेला नपारेको तत्कालिक दलित जनजाति पार्टीका अध्यक्ष एवम् सभासद् तथा हालका मन्त्री विश्वेन्द्र पासवानलाई प्रधानमन्त्री केपी ओलीले मन्त्रीको टीको लगाइदिएपछि यस्ता व्यक्ति पनि मन्त्री बन्न सक्ने कस्तो देशको नागरिक रहेछु भनी मभित्र हुण्डरी पैदा भएको छ । वास्तवमा पासवानजस्ता लापर्वाह र उद्दण्ड प्रवृत्तिका व्यक्ति मन्त्री बन्न लायक कसरी भए, एक सचेत नागरिकको नाताले मभित्र चर्कै जिज्ञासा पैदा भएको छ । हुन त नेपाल राज्यको उच्च स्थानमा नालायकहरू भरिभराउ छन्, पासवान त एक प्रतिनिधि पात्र मात्र हुन् । यहाँ नालायक र धूर्तहरूकै बोलवाला छ, इमानदार र सक्षम मानिस पाखा पारिएका या उपेक्षित छन्– यो जगजाहेर कुरा नै हो । जहाँसम्म पासवानजी मन्त्री बन्दा मनमा हुण्डरी चलेको सन्दर्भ छ, यसबारे आफ्नो अनुभूति सेयर गर्न चाहन्छु ।
म एक सञ्चारकर्मी हुँ । कुनैबेला काठमाडौं रहेको बेला विश्वेन्द्रको बहुजन आवाज पत्रिकामा सम्पादकको जिम्मेवारी निर्वाह गरेको थिएँ, आग्रहवश । पासवान कतिसम्म तल ओर्लन सक्ने व्यक्ति हुन् भन्ने मैले त्यतिबेलै राम्ररी जान्ने–बुझ्ने अवसर पाएँ । ०६०–६१ तिरको कुरा हो । लोकतान्त्रिक आन्दोलनका क्रममा यी मान्छे मलाई खोज्दै इटहरी आइपुगे । दलितको मुद्दा उठाएर भेदभावविरुद्ध आगो ओकल्ने खालको भाषण गर्ने यिनलाई मैले पनि सुरुमा निकै प्रेरित गरेँ । उनी मेरै घरमा बसे, खाए । पाउना भएर खान पाउँदा यिनले खुब ‘जी–हजुरी’को व्यवहार गरे । पछि सभासद् भएपछि काठमाडांै बोलाए, फकाएर आश्वासन दिँदै पत्रिका दर्ता गर्न सर्टिफिकेट मागे । काठमाडौंको सीडीओ अफिसमा मलाई सम्पादकमा नियुक्ति गरेको कागजपत्र बुझाए । पत्रिका मेरो नाममा दर्ता भयो । पिंगलास्थानको उनको डेरामै पत्रिकाको कार्यालय थियो । सहसम्पादकको रूपमा राखिएका सप्तरीतिरका एक मण्डल थरका युवकले समाचार लेख्न छोडेर पासवानकी स्कुले छोरी नै लिएर भागेको पनि त्यहीबेला हो । तर, दलितका लागि लड्ने उद्देश्य बोकेका पासवान आफूभन्दा तल्लो जातले छोरी लग्यो भन्दै निकै क्रूद्ध भए । ज्वाइँ–छोरीलाई पक्राउ गराउन प्रहरी साथ लिएर पासवान पोखरासम्म पुगेका थिए । छोरीले कुनै हालतमा मण्डललाई नछाड्ने बरु बाउ नै त्याग्ने अडान लिएपछि पासवान तिल्मिलाउन पुगे । ज्वाइँलाई जहाँ भेट्यो त्यहीँ सिध्याउँछु भन्दै हात धोएर लागिपर्दा हामीले त्यस्तो नगर्न सम्झायौँ, तर यिनको घैँटोमा घाम लागेन । त्यतिबेला उनले घर–व्यवहारको रिस संसद्मा पोखेर कुर्सी फाले, आफैँले पहिरिएको कपडा च्याते । सभामुख सुभास नेम्वाङमाथि समेत झन्डै हात हाले ।
पछि दोस्रो संविधानसभा पनि बाबुराम भटराईलाई संविधानको मस्यौदा लेख्ने बेलामा दलितको कुरा छुटाएको भन्दै कागजको बिटाले हानेर पासवान चर्चामा आएका थिए । दलितको नाममा माथि पुगेर निम्नस्तरको हर्कत गर्ने यिनले थुप्रै आर्थिक हिनामिना गरेका पङ्क्तिकारको जानकारीमा छ । अरू त अरू मेरै पसिनासमेत चुसेका छन् यिनले । आफ्नै पार्टीमा एकपटक महासचिव रहेका व्यक्तिकी पढालेखा बहिनीलाई सभासद् बनाउने भन्दै लाखौँ ठगेको कुरा पनि त्यतिबेलै चर्चामा आएको हो । पछिल्लो संविधानसभामा एक लामा थरकी महिलालाई सभासद बनाएर उनको व्यक्तिगत पैसा र सभासद्को तलबसमेत बैंकमै किर्ते गरेर पासवानले खाइदिने गरेको घटना पनि सम्बन्धित पात्रले खुलासा गरिसकेकी छिन् । ती महिलाको काण्डमा पासवानले दलित जनजाति पार्टी नै फुटाए । आफू एक्लै जम्ने अर्कालाई पेल्ने, ठग्ने, हेप्ने उनको चरित्रै हो । आफू तल परेमा तुरुन्त होस गुमेको जस्तो व्यवहार गर्ने र आवश्यकताअनुसार फेरि सद्धे हुन जान्ने पासवानमा खास खुबी छ । के यस्तै खुबी नेपालमा मन्त्री बन्न आवश्यक योग्यता हो त ? यतिबेला खुल्दुली जागेको छ ।
मैले उनको पत्रिकामा सम्पादक भएर काम गर्दा थाहा पाएँ कि पासवान पैसा भनेपछि कतिसम्म लोभ गर्छन् । आफू दलितको नेता भन्छन्, तर भाडामा बसेको घरमा आफ्नो दलित पहिचान खुलाउँदैनन् । यिनको पार्टीको संसदीय दलको कार्यालयमा कहिलेकाहीँ जाँदा एउटी चौधरी थरकी तत्कालिक महिला सभासद्ले निकै रवाफ मच्चाउँथिन् जब कि उनी अर्कै पार्टीबाट प्रतिनिधित्व गर्दथिन् । सम्पादकको नाताले विश्वेन्द्रको राजनीतिक कमी–कमजोरी औँल्याउँदा ती चौधरी महिला सभासद् प्रतिवाद गर्थिन् । विश्वेन्द्रलाई चिमोट्दा उनलाई दुखेजस्तो हुनुको रहस्य के थियो मैले पत्ता पाइनँ ।
पत्रिकामा काम गर्दा पासवानले पाँच महिनामा चार ठाउँ अफिस सारे । कर्मचारी, रिपोर्टर, टाइपिस्ट कसैलाई तलब दिएनन् । अनामनगरको भट्टराई थरका मानिस आफूले सञ्चालन गर्ने छापाखानाले पैसा मागेकोमाग्यै गर्थे भने पासवान ठगेकोठग्यै गर्थे । चिप्ला कुरा पनि गर्न जान्ने पासवान तत्काल मान्छेको चित्त बुझाउने क्षमता पनि राख्छन् । त्यसैले विश्वासमा परेर म उनीसँग केही समय फसेछु । पैसा माग्दामाग्दा हुँदै नभएपछि मैले सूचना विभागमा पासवानविरुद्ध मुद्दा हालेँ । विभागका कोइराला थरका प्रमुख र हुमागाईं थरका अधिकृतले पासवानलाई ताकेता गरेका हुन् । धेरै समय ताकेता गरेपछि दलितको क्षेत्रमा काम गर्ने मोती नेपाली (डीडब्लूओ नामक संस्थाका अध्यक्ष)को रोहवरमा पासवानले मलाई तिर्नुपर्ने रकम मोलमोलाई भयो । लगभग सत्तरी हजार थियो । सूचना विभागका अधिकृतहरूले मलाई लचिलो हुन आग्रह गरे, विश्वेन्द्रले पनि माफी मागे । पत्रिका बन्द भएको र आफ्नो हालत तन्नम भएको तर्क पासवानले गरेपछि मैले जम्मा तीस हजार लिएर चित्त बुझाउनुपर्ने भयो । तत्काल आठ हजार र बाँकी २२ हजार एक महिनामा दिने भाका पासवानले कबोले, मैले स्वीकार गरेँ । आठ हजार त्यतिबेलै दिए र २२ हजारको कागज गरे । सूचना विभागमा अहिले पनि त्यसको प्रमाण हुनुपर्छ । भाका पुगेपछि पैसा माग्दा पासवानले मोती नेपालीलाई हप्काएछन् । म काठमाडौं छाडेर सुनसरीको इटहरी आएको छु । सूचना विभागमा सम्पर्क गर्दा पासवानलाई पत्र काटेको, तर डेरा नभेटेर त्यत्तिकै भएको छ भन्ने जवाफ आयो । यसबारे पत्रकार महासङ्घका पूर्वाञ्चल सदस्य गणेश लम्सालमार्फत जानकारी गराएँ । महासङ्घले चासो राख्दा पनि सूचना विभागले पासवानलाई नभेटेको जवाफ दिएछ । अब त माननीय विश्वेन्द्र पासवान मन्त्री भएका छन् । बिनाविभागीयमन्त्री हुनाले तत्काल अझ नभेटिएलान् ! तर, विभाग तोकिएपछि त सूचना विभागले पनि पक्कै थाहा पाउँछ होला । त्यसपछि पासवानबाट मेरो तलब दिलाइदेला भन्ने अपेक्षा राखेको छु ।
– पीवी दियाली (सम्पादक, गणराज्य साप्ताहिक, इटहरी)
सम्पर्क : ९८०८७८०४९३, ९८४२०७९०१९