प्रो. विमलप्रसादको स्मृतिमा शोकसभा

प्रो. विमलप्रसादको स्मृतिमा शोकसभा


pr pic 2
नेपालका लागि पूर्वभारतीय राजदूत प्रोफेसर विमलप्रसादको स्मृतिमा बीपी कोइराला भारत–नेपाल प्रतिष्ठान र भारतीय दूतावासद्वारा नेपाल–भारत पुस्तकालयमा शोकसभा गरिएको छ । सन् १९९१ देखि १९९५ सम्म नेपालका लागि भारतीय राजदूत रहेका प्रोफेसर विमलप्रसाद जवाहरलाल नेहरू विश्वविद्यालयमा साउथ एसियन स्टडिजका डिनसमेत रहेका थिए भने एक भारतीय इतिहासकारको रूपमा पनि उनको नाम विशेष तवरमा लिने गरिन्छ । दक्षिण एसियाली सहयोगका लागि भारतीय परिषद्को अध्यक्षको जिम्मेवारीसमेत सम्हालेका स्वर्गीय प्रो. विमलप्रसाद कैयन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेलोसिप तथा पुरस्कारबाट सम्मानित व्यक्तित्व थिए । जयप्रकाश नारायणको समाजवादी आन्दोलनसँग जोडिएका प्रो. विमलप्रसादले जयप्रकाश नारायण तथा समाजवादी आन्दोलनसम्बन्धी पुस्तकहरूसमेत लेखेका छन् ।

जवाहरलाल नेहरू विश्वविद्यालयमा प्रो. विमलप्रसादका छात्रछात्रा रहेका प्रोफेसर लोकराज बराल, सुश्री उषा ढकाल आचार्य, डा. साफल्या अमात्यलगायतले श्रद्धाञ्जली सभामा सहभागी हुँदै विमलप्रसादको सरल व्यक्तित्वको प्रशंसा गर्दै प्राज्ञिक जगत्मा उहाँको योगदानमाथि चर्चा गर्नुभयो । यस्तै, विख्यात साहित्यकर्मी कमलमणि दीक्षितले बीपी कोइराला भारत–नेपाल प्रतिष्ठानको संस्थापकको रूपमा प्रो. विमलप्रसादको स्मरण गर्नुभयो भने वरिष्ठ राजनीतिकर्मी प्रदीप गिरीले सन् १९६६ मा आफू जेएनयूको छात्र रहँदा उहाँसँगको सान्निध्यबारेका सम्झना सुनाउनुभयो । श्रद्धाञ्जली सभामा बीपीपुत्र श्रीहर्ष कोइरालाले पनि कोइराला परिवार र प्रोफेसर विमलप्रसादबीचको सम्बन्धमाथि प्रकाश पार्नुभएको थियो ।

स्वर्गीय विमलप्रसादलाई श्रद्धाञ्जली दिँदै नेपालका लागि भारतीय राजदूत रणजीत रायले एक विद्वान् राजनीतिक व्यक्तित्व एवम् कूटनीतिज्ञका रूपमा प्रो. विमलप्रसाद नेपालमा लोकप्रिय रहनुभएको उल्लेख गर्दै आफूले उहाँसँग भेट गर्न नपाए पनि आफ्ना पूर्ववर्ती मित्र जयन्तप्रसादका पिताजीको रूपमा सदैव स्मरण गरिरहने अभिव्यक्ति दिनुभयो । भारतका लागि नेपालका पूर्वराजदूत भेषबहादुर थापासहित कतिपय सांसदहरू पनि श्रद्धाञ्जली सभामा सहभागी थिए भने स्वर्गीय विमलप्रसादको स्मृतिमा एक मिनेट मौनधारण गरिएको थियो ।