यूके जन-गणना २०११ र नेपालीको अवस्था

यूके जन-गणना २०११ र नेपालीको अवस्था


यही २७ तारिखमा सम्पन्न गर्ने हेतुले हरेक दश वर्षमा गरिने जनगणनाको कार्य आजैदेखि आरम्भ भएको छ । हरेक यूकेबासीहरुको ठेगानामा टिक लगाउनु पर्ने प्रश्न तालिकासहितको र्फम आजैदेखि पोस्ट गर्ने क्रम सरकारी तवरबाट शुरु भइसकेको छ । ‘सेन्सस-११’ [Census-11]ले मात्र जनगणना नगरी नागरिकहरुको आर्थिक, शैक्षिक, सामाजिक, धार्मिकअगायत साँस्कृति विविध पक्षको बारेमा जानकारी संकलन गर्दछ । यसबाट केन्द्रीय सरकारलाई बजेट, सेवालगायतको वितरणका साथै सोहीअन्तर्गत नीति तथा योजनाहरुको तर्जुमा गर्नको लागि महत्वपूर्ण सहयोग मिल्ने हुन्छ ।
प्रजातान्त्रिक पद्धतिमा ‘संख्या’ नै तागत हुन्छ । खासगरी बहुभाषीय, बहुजातीय अनि वहुसामुदायिक देशमा सामुदायिक संख्या भनेको ती समुदायको महत्वपूर्ण शक्ति हो । यसरी संसारभरका विविध नागरिकहरु यूकेबासी हुने क्रमसँग ‘नेपाली समुदाय’को पनि संख्या वहुभाषी तथा बहुजातीयहरु पनि सम्मिलित भएकाछन् । तर, त्यही ‘नजरअन्दाज गर्न नमिल्ने’ संख्यामा नेपाली समुदायको संख्या नदेखिएकोले विविध रुपमा सरकारी फर्महरुमा ‘एसियाली मूल’का नेपाली भनेर छान्न नसकिने प्रपञ्च रहेको छ, त्यो सब हामी नेपाली मूल एकत्र भएर जनगणनाको फारममा यथेस्ट रुपमा नदेखिनुले गर्दा भएको हो । २७ तारिखसम्मकै लागि यहाँ बस्ने टुरिस्ट भए तापनि, गैरकानूनी रुपमा रहेका कामदारहरु भए तापनि उक्त जनगणनामा आफूलाई दर्ता गर्नु पर्दछ । सरकारीलगायत अन्तर्राष्ट्रिय प्रावधानअनुसारको कानूनमा बाँधिएको सो कार्यले नागरिकको गोप्य जानकारीलाई ‘सय वर्ष’सम्मको लागि अति नै सुरक्षित अनि गोप्य राख्दछ । गैरकानूनी रुपमा बस्नेहरुलाई कुनै किसिमले पनि वाधा नपर्ने यस जनगणनालाई अनिवार्य बनाइएको छ । खासगरी दक्षिण एसियाली मूलका बासीहरुले यस्तो ‘सर्भे’लाई अनावश्यक भएको ठान्दै वा अल्छी गर्दै आफ्रनो संलग्नता नराख्ने यथार्थ सरकारी आँकडामा पनि जाहेर भएको छ र माथि भनिएअनुसार, ‘संख्या नै शक्ति हो’ र त्यही शक्तिलाई नै आधार बनाएर विविध मूलका समुदायले स्थानीयलगायत केन्द्रीय सरकारसँग समुदायसम्वन्धित पक्षहरुमा ‘बार्गेनिङ’ गर्न सक्दछ । बितेको दशकौंमा यो अवसर, नेपाली मूलका बासीहरुको लागि अत्यन्तै ‘महत्वपूर्ण अवसर’ हो । त्यसैले हरेक नेपाली मूलले सो फारममा नेपाली संख्याको अस्तित्वमा आफ्नो उपस्थिति जनाउन हुन मेरो यूके डट कम ‘गम्भीरताका साथ अनुरोध’ गर्दछ ।
फारममा राखिने प्रश्नहरुमा ‘Nationality’, ‘Ethnicity’ लगायत ‘Religion’ का प्रसंगहरुमा खासगरी विविध जातिगत अनि भाषीगत नेपालीहरुले ध्यान दिनुपर्ने महत्वपूर्ण विषय पनि यिनै भएका छन् । अहिले केही जातीय संस्थाहरुले आफ्नो संस्थाका सदस्य परिवारहरुलाई दिम्भ्रमित पार्ने काम गर्न थालेको चर्चा बिस्तारै सार्वजनिक हुँदैछ । ब्रिटिशको पासपोर्ट वाहकहरुको ‘Nationality’ ‘ब्रिटिश’ हो भने आई एल आर पर्मिट होल्डरहरु जो अझै नेपाली पासपोर्टको प्रयोग गर्दछन् हरुका ‘Nationality’ ‘नेपाली’ हो । त्यस्तै ‘Ethnicity’ मा ब्रिटिश पासपोर्ट बोक्नेहरु ‘नेपाली’ एथ्निक समूहका हुन भने नेपाली पासपोर्ट बोक्नेहरु स्वतः ‘नेपाली’ नै हुन् । ‘नेशनालिटी’ या ‘एथ्निसिटी’मा ‘नेपाली(फलाना जात)’ तथा ‘ब्रिटिश (गुर्खा)’ लेख्नु हाम्रो मान्यतामा अत्यन्तै ‘घातक’ हो र ‘गलत’ पनि हो । ‘नेपाल’ देशका जनता ‘नेपाली’ हुन् । यहाँ ‘नेपाली’ भनेर नै हाम्रो ‘साँस्कृतिकताको परिचय’ खुल्ने गर्दछ ।
त्यसैले, कृपया, ‘नेपाली’ भनेर आफूलाई एकत्रित गराउने महत्वपूर्ण अवसरमा आफूलाई वंचित नगराउनुहोस् । तपाईँ एक व्यक्तिको यो प्रयासले भविष्यमा ‘समूल नेपाली मूल’को स्थान यहाँ ‘सुरक्षित’ हुनेछ ।