तस्करहरुले चलाएको सरकार !

तस्करहरुले चलाएको सरकार !


:: अनिल अधिकारी ::anil adhikari

नाकाबन्दीको कारणले काठमाडौँका सडकमा सवारी साधन गुड्न छाडे भनेर भन्यो भने सबैले मजाक उडाउलान् किनकी दैनिक जसो काठमाडौँमा सवारी जाम छ । बाक्लो संख्यामा सवारी साधन चलेका छन् । गल्लि-गल्लिमा इन्धनको किनबेच छ । खुलेआम ग्यालिनहरुमा इन्धन ओसारपसार भएका छन् । कोठा-कोठामा पेट्रोल पम्प हुलिएका छन् । अनि अत्यावश्यक सवारीलाई दिइएको इन्धन कालो बजारमा बेचिएका छन् ।
मात्र यति सत्य हो कि माथिको सबै बास्तविकता आम जनताले मात्र देखेका छन् । यतिबेला सरकार इन्धन बेच्नमा व्यस्त छ अनि कालोबजारी बढाएर निमुखा जनता लुट्नमा व्यस्त छ । उता मधेसी जनतालाई रातारात उकास्ने आन्दोलनका होनाहार योद्धाहरु कुर्सीमा पुग्ने स्वार्थ बोकेर दिनभर आन्दोलन, रातभर इन्धन तस्करीमा लागेर दुवै हातमा लड्डु कमाइरहेका छन् । ‘त हानेजसो गर, म ताकेजसो गर्छु’ उखान चरितार्थ बनेजस्तो अहिलेको अवस्था छ । यो खेलमा तराइका निर्दोष मधेसीहरु पनि पिल्सिएका छन् भने यता हिमाल-पहाडका जनताहरु नाकाबन्दीको कारणले मर्नु न बाच्नुको स्थितिमा छन् ।

कालोबजारीको किस्सा :
गत आइतबार बेलुका एएरपोर्टमा भेटिएका एक जना मोटरसाइकल चालकले उनकै साथिसँग भन्दै थिए “आजभोली त जसले पनि पेट्रोल किन्ने हो ? भनेर सोद्छन्, यार” उसैको अर्को साथीले भन्यो – “अनि तैले चाही पेट्रोल कताबाट हाल्छस नि ?” प्रति उत्तरमा उसले फेरी भन्यो “१ महिनादेखि ब्ल्याकमा, लिटरको ४ सय ८० सम्म तिरेको छु । अहिलेको रेट चाही ३ सय सम्ममा पाइन्छ ।”

फेरी अर्को किस्सा सामाखुसी स्थित महालक्ष्मी पेट्रोल पम्पको । प्रहरीले आफ्नो मान्छे छिराएर पेट्रोल पम्पबाट तेल दिएको भन्ने थाहा पाएपछि म कुकुर तिहारको दिन त्यहाँ गएको थिएँ । दिउँसो लगभग ४ घण्टा पेट्रोल पम्प भित्रको अवस्था बुझ्दा त्यो कुरा २/३ जनामा लागु पनि भयो । भित्र चिनेको भरमा मोटरसाइकल छिराउने अनि भित्रै पार्किंग गरेर मौका मिलेको बेला पेट्रोल हालेको पाइयो । त्यसो त त्यहि दिन प्रधानमन्त्री कार्यालयको मान्छे भनेर एउटा निजि कार छिरेर सबैले देख्दा-देख्दै पेट्रोल हालेर गयो । त्यसै बेला बाहिर २/३ दिनदेखि लाइनमा बसेका एक जना मोटरसाइकल चालकले अर्कोसँग भने “कोटेश्वर जानी हो ? एक जना प्रहरीले प्रति लिटर ३५० मा पेट्रोल दिन्छन् ।” उनिहरुबिच त्यहाँ प्रहरी नैतिकताका केहि बहश चले । त्यसोत उनीहरुले पेट्रोल बेच्ने प्रहरीको मोबाइल नम्बर पनि आदानप्रदान गरे । मैले हातमा क्यामेरा बोकेको हुँदा उनीहरुले मलाई ति प्रहरीको नम्बर दिन अस्विकार गर्लान भनेर मैले माग्ने आँट गरिन ।

माथिका दुई घटना पेट्रोलको ब्याप्त कालोबजारीको सामान्य उदाहरण हुन् । यस्ता साना-तिना बिषयमा कसैको टाउको नदुख्ला तर कालोबजारीको घटना र उदाहरणका प्रत्यक्ष पोका खोलिएका अवस्थामा समेत नेपाल सरकार मौन बस्नु अचम्म लाग्दो अवस्था छ ।

मंचको माइकबाट कालोबजारी रोक्छु भन्नेहरु आफै कालोबजारीको संरक्षक बनेको वर्तमान अवस्था छ । उता तराइमा दिनभर आन्दोलनमा ढुङ्गा हान्नेहरु रातभर इन्धन तस्करी गरेर कमाउने मेलोमा लागेका छन् भन्ने कुरा संचार माध्यममा छाएका छन् । त्यसोत कालोबजारीको कारण मधेशको आन्दोलन अनिश्चितकालिन बनाउने रणनीति सफल बनेको अवस्था छ । ग्याँस सकिए तराई अनि इन्धन लिन तराइ जानेहरु इन्धन र पेट्रोल लिएर राजधानी छिरेका पनि देखिन्छन् । नाकाबन्दीको कारण राजधानीका पेट्रोल पम्पमा आइनपुगेको इन्धन तश्करहरुको कोठा-कोठाबाट वितरण हुन थालेका छन् ।

निगमलाई कालोबजारी गर्न सरकारको सहयोग :
अरु त अरु नेपाल आयल निगम समेत तस्करीमा संलग्न बनेको प्रमाण देख्दा सरकार मौन छ । निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काको लिखित निर्देशनमा मंसिर ३ गते भलबारी डिपोबाट स्वयम्भूस्थित हामा पेट्रोलपम्पलाई दिन भन्दै ट्यांकरमा २० हजार लिटर डिजेल मगाइयो । त्यस्तै अर्को प्रमाण सरकारले निजी पम्पलाई पेट्रोल नदिने घोषणा गरेपनि खड्काले नयाँ बसपार्कको निजी पम्प पायोनियर फ्युललाई मिलोमतोमा १२ हजार लिटरका दरले इन्धन दिईरहे । देखिएका घटना प्रकाशमा आए पनि उनले यस्तो अदृश्य कालोबजारी उच्च निकायमा बसेर कति गरे कसैलाई पत्तो छैन ।

आयल निगमले गरेको कालोबजारीको केहि घटना व्यवस्थापिका संसदमा समेत प्रस्तुत गरिए तर त्यसको छानबिनमा कुनै निकायले टाउको उठाउन सक्दैन । यी सबै प्रमाणले यो देखाउँछ कि निगम, सरोकारवाला निकाय अनि सरकार आफै इन्धन कालोबजारीमा नतमस्तक छ । अझ भनौं कालोबजारीको प्रमाण समेत दिंदा कुनै एक्सन लिन नसक्नुमा कालोबजारीको चलखेलमा सरकारको समेत मिलेमतो छ ।

आसेपासेलाई ट्यांकीभरि तेल, इमान्दार जनता जहिले पनि फेल :
‘पत्रकार हुँ’ भनेर सरकारी कार्ड भिरेर आफ्नो के-के न सान दिन बारम्बार प्रहरीको हेडक्वाटर धाएको ७ औं पटक पनि ५ लिटर तेल नपाएपछि मलाई एकजना प्रहरी दिदीले मिडियाको आधिकारिक पत्र लिएर पेट्रोल लिन आउन आइडिया दिईन् । भोलिपल्ट त्यसै गरें । त्यो पत्र नक्साल प्रहरी कल्याण कोषद्वारा संचालित पेट्रोल पम्पमा दाखिला भयो तर अहिलेसम्म त्यो पत्रले तेल दिएन ।

बरु त्यहि भित्र भएकाहरुले ठूला बर्दीका प्रहरी अफिसरहरुको आँखा छलेर आफ्ना आसे-पासेहरुलाई पेट्रोल दिएको आफ्नै आँखाले देखें । सर्वसाधारणको आँखाको अगाडीबाट एउटा खै कसको मोटरसाइकल चढेर एउटा प्रहरी बर्दी सहित तेल हाल्ने ठाउँभित्र छिर्छ अनि केहि समयपछी बिना बर्दीको अर्कै मान्छे त्यहि मोटरसाइकल लिएर भित्रबाट बाहिरिन्छ । यस्तो देखेर प्रहरीका एकजना उच्च अधिकारीसँग फोन सम्पर्क गरें अनि आफु संचारकर्मी भएको जानकारी गराएँ । उहाँले प्रहरी हेडक्वाटर भित्र त्यस्तो काम नभएको बताए । मलाई उनको कुरामा चित्त नबुझेपछि आफै भित्र आएर सत्यतथ्य बुझ्न र गलत थाहा पाए फोटो खिच्ने र समाचार संकलन गर्ने इच्छा प्रकट गरें । तर उनले भने ‘भित्र आएर फोटो खिच्न पाइन्न, जति खिच्न मन लाग्छ बाहिरतिरकै खिचेर लैजानुस् ।’ यसरी सत्य कुरा बुझ्न पनि संचारकर्मीहरुलाई बिभिन्न नीति नियमले घेरामा राखेका छन् ।
उता सरकारले पनि सर्वसाधारणलाई बाड्नु भनेर दिएको तेलको ४ भागमा १ भाग पेट्रोल पम्पहरुलाई कालोबजारीमा सघाईरहेको छ । पेट्रोल पम्पका आसेपासे, ट्यापे र टोले गुण्डाहरुले पनि अहिले तेल बेचेर भव्य कमाई गरिरहेका छन् । निमुखा जनता भने पेट्रोल पम्प र ग्याँस डिपोको अगाडी लाइन लागेर सरकारले गरेको कालोबजारी हेरेर बसेका छन् ।

सरकारलाई चासो नहुनु अचम्मको कुरा :
मागअनुसार पेट्रोलियम पदार्थ नआए पनि प्रत्यक हप्तामा एक पटक सर्वसाधारणलाई बाड्न पुग्नेगरि इन्धन भित्रिएका छन् तर त्यो इन्धन कता छ सरकारलाई चासो नहुनु अचम्मको कुरा छ । आएको इन्धन पारदर्शी तथा न्यायोचित रूपमा वितरण हुन नसक्नुमा निम्मेवार निकायहरु मौन छन् । यस्तो लाग्छ कि ति निकायहरुलाई त्यो इन्धनबारे कसैले चासो नदेखाओस भन्ने चाहन्छन् । हुनसक्छ कि तिनीहरुलाईप्राप्त इन्धन पारदर्शी तथा न्यायोचित रूपमा वितरण नगर्दा निकै लाभ मिलेको छ । उता कालोबजारीमा संलग्न हुनेले २ लिटर पेट्रोल बेचेर १ हजार कमाउँदै गर्दा कानुनले कालोबजारी गर्नेलाई जम्मा १ हजार जरिवाना गराएर छोडीदिन्छ भने सरकार यसमा कति जिम्मेवार छ भन्ने कुरा बुझ्न सकिन्छ ।

निमुखा जनता लुटिएको हेर्दैछ, सरकार ! :
निमुखा जनताको घरमा चुलो नबलेको महिनौं बित्दै गर्दा सरोकारवाला निकायहरु यही मौका छोपेर करोडौं कुम्ल्याउने खेलमा लागेका छन् ।बजारमा पाँच सय रुपैयाँमा छ्याप्छयाप्ती पाइने तेल सरकारले बाड्ने ठाउँहरुमा किन पाइन्न ? उदाहरणको लागि : पेट्रोल पम्पमा बिभिन्न निकायको पत्रको आधारमा छिरेका सवारीले २० लिटर तेल हाल्छन् अनि बाहिर निकालेर २१०० को तेल ८००० मा बिक्रि गरिन्छ । यस्तै कमाई धन्दा अहिले बिध्यमान छ । त्यसो त एम्बुलेन्समा हालेको तेल समेत ब्ल्याकमा बेचेको प्रमाण सहित फेला परेको थियो । यस्ता काम निकै भैरहेका छन् ।

ए सरकार ! मेरो कुरामा धेरै खण्डन गरेर सरकारले पानी माथिको ओभानो बन्ने प्रयास पक्कै पनि गर्छ तर त्यो भन्दा अगाडी एउटा प्रश्नको जवाफ चाहियो । सरकारले कालोबजारी नगरेको भए कसरी सडकमा जाम हुने गरी गाडी गुडिरहेका छन ? अनि कसरी प्रतिलिटर ४ सय ५० रुपैयाँ सम्ममा पेट्रोल, २ सय ५० रुपैयाँसम्ममा डिजेल र ४५ सयमा आधा सिलिन्डर ग्यास बजारमा छ्यापछ्याप्ती पाइदैछन् ।