विमानस्थल सेवा प्रभावकारी बनाउन मन्त्री पोखरेलको आग्रह

विमानस्थल सेवा प्रभावकारी बनाउन मन्त्री पोखरेलको आग्रह


pokharel-nirichen
काठमाडौं । अन्तर्राष्ट्रिय विमानस्थललाई नाफा कमाउने थलोका रुपमा हेर्न नहुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले बताउनुएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अनुगमन तथा निरीक्षण गर्न पुग्नुभएका मन्त्री पोखरेलले विमानस्थललाई नाफा कमाउने थलो नभई सेवालाई प्रभावकारी बनाउनेमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । सबै सरोकारवाला विमानस्थल नेपालको गौरव, प्रतिष्ठा र समृद्धको आधार भन्ने कुरालाई आत्मसात् गर्दै उच्च र सम्मानित बनाउने प्रतिबद्धता जनाउनुपर्ने उहाँको भनाई थियो ।

मन्त्री पोखरेलले अन्तर्राष्ट्रियस्तरमा नेपाललाई चिनाउने अन्तर्राष्ट्रिय विमानस्थल नै भएकाले त्यसको सरसफाइ र सुरक्षाको राम्रो व्यवस्था गरेमा नेपालको सकारात्मक सन्देश जाने उल्लेख गर्र्दै विमानस्थलबाट सञ्चालन हुने ट्याक्सीमा नेपालको प्राकृतिक सुन्दरता तथा धार्मिकस्थलका बारेमा विदेशी पाहुनालाई सुनाउन सकिने वा ड्राइभर आफैँले नेपालका बारेमा विदेशीलाई जानकारी दिने व्यवस्था भए प्रभावकारी हुने धारणा व्यक्त गर्नुभयो ।

सो अवसरमा मन्त्रालयका सचिव दिनेश थपलियाले विमानस्थलमा कुनै पनि पर्यटक आउँदा फोहोर र दुव्र्यवहारले गलत दृष्टिकोण बनाउने भएकाले सुधारको प्रक्रिया अगाडि बढाउन आग्रह गर्नुभयो । विमानस्थलका महानिर्देशक सञ्जीव गौतमले प्रत्येक काम एकआपसमा समन्वय गरेर काम गरेमा स्तरीय सेवा दिन सकिने बताउनुभयो । अनुगमन प्रतिवेदनमा फोहोर शौचालय, जताततै फोहोर, भाँचिएका कुर्ची र माकुराको जालैजालो, यात्रुले आवतजावत गर्न तथा सामानहरु कुर्न बढी समय लाग्ने जस्ता समस्या देखिएको छ ।