संघीय समावेसी गठबन्धनद्वारा कोइरालाको ध्यानाकर्षण

संघीय समावेसी गठबन्धनद्वारा कोइरालाको ध्यानाकर्षण


sss
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालासँग सङ्घीय समावेशी मधेसी गठबन्धनका नेताहरुले आफ्ना मागका बारेमा छलफल गरेका छन् । कोइराला निवास महाराजगञ्जमा मंगलबार भएको छलफलमा गठबन्धनका नेताहरुले तराई–मधेस र थरुहट क्षेत्रमा भइरहेको आन्दोलनको उचित सम्बोधनका लागि गठबन्धनले अघि सारेको संविधान संशोधनको नौ सुत्रीय मागका बारेमा ध्यानाकर्षण गराएका छन् ।

गठबन्धनले सभापति कोइरालालाई आफ्ना मागको बारेमा जानकारी गराउँदै त्यसमा सामान्य छलफलसमेत भएको तराई मधेस राष्ट्रिय अभियानका संयोजक जयप्रकाश प्रसाद गुप्ताले जानकारी गराउनुभयो । गठबन्धनका नेताहरुले मधेसको आन्दोलनका माग सम्बोधनका लागि कांग्रेस, नेकपा (एमाले) र एकीकृत नेकपा (माओवादी) को समान धारणा नभइ समस्या समाधान हुन नसक्ने बताएका थिए । कांग्रेसले तराई आन्दोलनको माग सम्बोधनका लागि व्यवस्थापिका–संसदमा पेस गरेको संविधान संशोधनको प्रस्ताव अपर्याप्त भएको भन्दै गठबन्धनले आन्दोलनको मागको समग्र विषयलाई हेर्न र एउटै प्याकेजमा संशोधनको प्रक्रियालाई अघि बढाउन आग्रह गरेको संयोजक गुप्ताले बताउनुभयो ।

भेटमा सभापति कोइरालाले उक्त मागका बारेमा पार्टीमा छलफल गरिने बताएको उहाँले जानकारी दिनुभयो । “कांग्रेसले यसमा विशेष पहल गर्नुपर्ने र प्रमुख प्रतिपक्षी दल भएकाले कांग्रेसले गरेको पहल परिणाममुखी हुने गठबन्धनको विश्वास छ” उहाँले भन्नुभयो । मधेस आन्दोलनको मागका बारेमा सबै तराई केन्द्रित दलका समान माग रहेको बताउँदै उहाँले सीमाङ्कनका साथै प्रतिनिधित्व प्रणाली र समावेशीकरणका विषय नै मुख्य माग रहेको अवगत गराउनुभयो ।