छिमेकीप्रतिको धारणा :: बबिता बस्नेत

छिमेकीप्रतिको धारणा :: बबिता बस्नेत


babita basnet 15
गत वर्ष फागुनको कुरा हो । संयुक्त राष्ट्रसङ्घको ‘कमिसन अन दि स्टेटस अफ विमेन’ (सीएसडब्लू)मा भाग लिने क्रममा हामी न्युयोर्क पुगेका थियौँ । मार्चमा न्युयोर्कमा हिउँ नै परिरहेको हुन्छ । कसैले टिकट आफ्नो हालेर, कसैले टिकटचाहिँ कुनै संस्थाले दिएको, तर बस्ने–खानेचाहिँ आफ्नै खर्चमा गएका कारण न्युयोर्कको क्विन्सस्थित ठिकैको चाइनिजको होटेलमा चार–पाँचवटा कोठा लिएर साथीहरूसँग ‘रुम सेयर’ गरेर बसियो । विदेश भनेपछि मानिस कति नै सधैँ दाताकै पैसा पाएर गए झैँ ठान्छन् तर कहिलेकाहीँ आफूले गरेको कामसम्बद्ध विषय पर्‍यो भने यसरी आफ्नै खर्चमा साथीहरू मिलेर पनि कतिपल्ट गइएको छ । होटेल भनेपछि स्वाभाविक रूपले सामान्य अरू बेला बस्नेझैँ ठानियो । खानखान बाहिरै जाने भएकाले होटलमा कस्ता मान्छे थिए खासै याद पनि भएन । तर, दुई दिनपछि राति सवा ११ बजेतिर एक्कासि ठूलो स्वरले रिसेप्सनमा गो…गो…गो…आउट…आउट भनेको आवाज सुनियो । के भएको रहेछ भनेर बुझ्दा त्यहाँ बसेको दिनैपिच्छे पैसा तिनुपर्ने रहेछ । एकजना हाम्रै साथीसँग रुमको पैसा माग्दा उनले जसले दिने हो ऊ कोठामा आइनपुगेकाले बिहान दिउँला नि भनिछन् । त्यसपछिको प्रतिक्रियामा ती चाइनिजले गो…गो…भनेकी रहिछन् । एकैछिनमा ती आइन् (जसको साथमा पैसा थियो) र तुरुन्तै पैसा दिइन् । मार्चको न्युयोर्कको चिसो यति थियो कि बाहिर हिउँ परिरहेको, असाध्यै कठ्याग्रिङ्दो । त्यस्तो मौसमको मध्यरातमा भन्नेबित्तिकै पैसा दिएन (एकै छिनमा साथी आएपछि दिन्छु भन्दाभन्दै) भनेर बाहिर गइहाल भन्न सक्ने मनलाई लिएर साथी विजया, शुभु र मैले निकैबेर कुराकानी गर्‍यौँ । उनीहरूको भाषा हामी नबुझ्ने हामीले भनेको उनीहरूले नबुझ्ने । मनी… मनी … भनेको र गो या कम भनेको मात्रै बुझ्ने अवस्थामा दुई छिमेकीबीच हामीले तुलना गर्‍यौँ र भन्यौँ, ‘यो ठाउँमा कुनै भारतीयको होटेल हुँदो हो त तिनले जतिसुकै दुष्ट भए पनि बढीमा ‘कल शुभ जल्दी देना हँ…’ भन्न सक्थे, तर यो मध्यरातमा त्यसरी बाहिर निस्की त पटक्कै भन्ने थिएनन् होला ।’ तर, त्यहाँ त दुईजना केटी थिए र पालैपालो गो गो भनिरहेका थिए । बिचरा ती साथी साँझको त्यो कुराले यति ह्यारास भइन् कि भोलिपल्ट बिहानै त्यो होटेल छोडेर अन्त गइन ।

नेपालीले चाइनिजको व्यवहार भोगेका छैनन् त्यही भएर इन्डियनलाई गाली गर्छन् भनेर चाइनिजलाई व्यहोर्ने धेरैले भनेको सुनिएको हो । यस्ता कुराहरू सुन्दा आफूलाई नपरुन्जेल के भनेको होला जस्तो लाग्थ्यो । न्युयोर्क घटनाले ए… यस्तै कारणले भनेको रहेछ जस्तो लाग्यो । यति हुँदाहुँदै पनि मानिसका व्यवहारलाई जनरलाइज भने गर्न सकिँदैन । व्यक्तिपिच्चे व्यवहार फरक हुन्छन् । कुनै मुलुकको कुनै ठाउँविशेषको या कुल खानदानको भनेर हुँदैन, त्यही अमेरिकामा बसिरहेका कति चाइनिजको व्यवहार बिर्सनै नसक्ने गरी राम्रो पनि होला, तर हामी त्यस्ताको फेला पर्‍यौँ । त्यतिबेला मनभित्रै लागेको कुराचाहिँ के हो भने यदि तिनीहरूसँग भाषा मिल्दो हो या बुझाउन सकिँदो हो त त्यसप्रकारको निर्मम व्यवहार नहुन पनि सक्थ्यो । भाषा, संस्कृतिजस्ता कुराले मानिसलाई त्यत्तिकै नजिक बनाइरहेको हुन्छ ।

भारतीय सिनेमा नहेर्ने नेपाली कमै होलान्, तर चाइनिज सिनेमा हेर्ने कति होलान् ? सिनेमा हेर्नुको कारण भाषा मात्रै नभएर त्यहाँ देखाइने धुप, बत्ती, मन्दिर, चुलोचौको, खाना, संस्कृति, परिवेश, व्यवहार धेरै कुरा करिब आफ्नैजस्तो लागेर हो । ग्यास, पेट्रोल त किनेर ल्याउने वस्तु भए तर किन्नु नपर्ने भावनात्मक धेरै इन्डियन चिजहरू हाम्रो पूजाकोठा, चोटा र भण्डारतिर हुन्छन्, छन् । पूजाकोठामा लगाउने धोती, बाल्ने अगरबत्तीदेखि मृत्युको मुखमा पुगेको बेला मुखमा राख्ने गंगाजलसम्म । भारतसँग हाम्रा मधेसी दाजुभाइ, दिदीबहिनी या आमा–काकाहरूको मात्र सम्बन्ध छैन, पहाडी, विभिन्न जातजाति सबैको कुनै न कुनै रूपमा भावनात्मक सम्बन्ध छ ।

भारत हाम्रो छिमेकी हो । चीन पनि हाम्रो छिमेकी हो । यी दुवै मुलुकसँग हाम्रो देशका सिमानाहरू जोडिएका छन् । नेपाल र भारतबीच जनताको स्तरमा सम्बन्धहरू जति थियो, भाषा–भूगोललगायतका कारणले चीनसँग थिएन, अहिलेसम्म पनि छैन नै भनौँ । यी दुवै देशका नेताले गर्ने व्यवहारमा भने एउटा फरक कुराको महसुस सधैँ गरियो, त्यो के भने छिमेकी मुलुक चीनका नेता कुनै औपचारिक भ्रमणमा नेपाल आउँदा विभिन्न दलका नेपाली नेतासँग भेटघाट गर्थे, गर्छन् जहाँ मधेसी, पहाडी सबैथरी हुनु स्वाभाविक नै हो, तर भारतीय नेताहरू आउँदा भने राष्ट्रिय नेताहरूका अलावा मधेसी नेताहरूसँग छुट्टै भेटघाट गर्ने । यस अर्थमा चीनको व्यवहार कूटनीतिक र राम्रो लाग्थ्यो, लाग्छ । एउटा सर्वसाधारण नागरिकको हैसियतले हेर्दा पहिलेदेखि नै भारतीय नेताले मधेसी नेपाली र अरू नेपालीलाई फरक व्यवहार गरेको देखेर अचम्म लाग्थ्यो । ‘के भारतीय मधेसी नेपालीसँग जति आत्मियताको महसुस अन्य नपालीसँग गर्दैनन् ?’ नेपाललाई निकटबाट हेर्ने एक पूर्वअधिकारीसँग केही वर्षअघि यो प्रश्न गर्दा उनले ‘त्यस्तो होइन, मधेसीलाई भए केही परिहाल्यो भने प्रयोग गर्न सजिलो छ, त्यसैले नेताहरू त्यस्तो व्यवहार गर्छन्, त्यो देखावटी हो, त्यस्तो केही छैन’ भनेका थिए । तिमीहरूले भारतलाई धेरै पाटोबाट हेर्नुपर्छ भन्दै उनले भनेका थिए, यदि त्यस्तो हुँदो हो त गोरखा भर्तीमा मधेसी किन छैनन् ? त्यो त पैसा आउने, करियर बन्ने ठाउँ हो नि । सबै नेपालीलाई समान सम्मान र व्यवहार गर्ने उनको भनाइ थियो ।

समयक्रममा यस्तो दिन आयो कि अब सामान्य नेपालीलाई भारत भनेको त मधेसीको हितमा काम गर्ने र मधेसी मूलबाहेकका अरू नेपालीलाई दु:ख दिने मुलुक हो भन्ने पर्न थालेको छ । एउटा स्कुले बच्चा जसले समयमा खाना खान पाउँदैन र उसकी आमाले भनेको सुनिरहेको हुन्छ के गर्नु इन्डियाले गर्नु गर्‍यो, बच्चाहरू भोकै परे । यता स्कुल पुगेपछि शिक्षकबाट सुन्छ– खै अब त भारतले नाकाहरू बन्द नगरिदिए हुन्थ्यो, यस्तै हो भने त अब स्कुलबसहरू चलाउन सकिँदैन, स्कुल नै बन्द गर्नुपर्छ । स्कुलको भान्सामा सहयोगीहरू जब दाउरामा खाना पकाउँदै भारतलाई दोष दिइरहेको देख्छन् ती बच्चाहरूले छिमेकी मुलुकप्रति के धारणा बनाउँदै हुर्केलान् ? जिन्दगीमा कहिल्यै आफ्नी आमा या स्कुलका सहयोगीले दाउरामा खाना बनाएको नदेखेका सहरी बच्चा र युवाहरू तथा यातायातका साधन बन्द भएर नुनदेखि भुटुनसम्म महँगो भयो कसरी खाने होला ? या भारतको नाकाबन्दीका कारण औषधि गर्न नपाएर आफन्तको मृत्यु भयो भनेर सुन्दै हुर्किंदै गरेका पहाडी, हिमाली एवम् ग्रामीण बच्चा तथा युवाहरू भोलि यो देशका भविष्य हुन । उनीहरूले छिमेकी मुलुकको यो व्यवहारप्रति कस्तो धारणा बनाउलान् र व्यवहार गर्लान् ? केही मधेसी नेताहरू मात्रै आफ्ना छिमेकी हुन् जस्तो गरी सोच्ने भारतीय अधिकारीले अब यो विषयमा पनि सोच्नुपर्छ । छिमेकीसँग सम्बन्ध नबिग्रियोस्, पहिला जस्तै गरी अघि बढोस् भन्ने धारणा राख्ने ठूलो जमात् नेपालमा छ, जसको सङ्ख्या मधेसीको भन्दा कैयौँ गुणा बढी छ । यो कुरा पनि बिर्सन भएन कि भोलि कथम्कदाचित मधेसलाई स्वतन्त्र नै बनाएर छाड्न सफल भइहाले पनि नेपालचाहिँ फेरि पनि भारतको छिमेकी मुलुक नै रहनेछ ।