मन्त्री गएपछि आए जीएम

मन्त्री गएपछि आए जीएम


Laxman-Humagain

काठमाडौं । नक्कली बैंक ग्यारेन्टी राखी नेपाल टेलिभिजनमा ठगी गर्नेलाई पक्राउ गर्ने, थुनामा राख्ने र जाहेरी दिने महाप्रबन्धक लक्ष्मण हुमागार्इंले नौ महिनापछि न्याय पाएका छन् । नक्कली बैंक ग्यारेन्टी पेस गरेको थाहा पाउनासाथ हुमागाईंले वल्र्ड भिजन मिडिया वाइङ हाउसका दिनेश श्रेष्ठलाई पक्राउ गरिदिन प्रहरीमा लिखित अनुरोध गरेका थिए । उनैले श्रेष्ठलाई आफ्नो कार्यालयमा छलफलका लागि भनी बोलाएर प्रहरीको जिम्मा लगाए । उनैले जाहेरी दिए । उनै महाप्रबन्धक हुमागाईंले नक्कली बैंक ग्यारेन्टी राख्ने कार्यमा कर्मचारीको संलग्नता हुनसक्ने भन्दै अख्तियारीमा पत्र पठाए । तर, विडम्बना !उनैलाई सञ्चालक समितिले निलम्बनको सिफारिस गर्‍यो भने सूचना तथा सञ्चार मन्त्रालयले मन्त्रालयमा हाजिर गरायो ।

मन्त्रीले भनेको काम नगरेको, मन्त्रीका मान्छेलाई नेपाल टेलिभिजनमा जागिर नदिएको, मन्त्रीले भनेको मान्छेलाई ठेक्का नदिएको भन्दै तत्कालीन मन्त्री मीनेन्द्र रिजाल हुमागाईंसँग रुष्ट थिए । त्यही रिस फेर्न मन्त्री रिजालले कर्मचारी युनियन उचाले र ३१ बुँदे माग पेस गर्न लगाए । माग पूरा नभए सात दिनपछि महाप्रबन्धकलाई कार्यालयमा प्रवेश गर्न नदिने अल्टिमेटम दिन लगाए । अल्टिमेटमको सात दिन नपुग्दै नक्कली बंैक ग्यारेन्टी प्रकरण सार्वजनिक भयो र युनियनको मागभन्दा सजिलो निहुँमा कर्मचारीलाई ढोका छेक्न लगाए । रिजालले नै भर्ना गरेका अध्यक्ष नीर शाह, कर्मचारी सङ्घका अध्यक्ष गोविन्द धिताल, हुमागाईंपछि निमित्त बनेका दीपकमणि धितालको योजनामा हुमागाईं मन्त्रालयमा तानिए । निलम्बन गर्ने रिजालको प्रयास तत्कालीन प्रधानमन्त्री सुशील कोइराला, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र वामदेव गौतमका कारण रोकियो ।

हुमागाईंकै उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थाल्यो भने सूचना तथा सञ्चार मन्त्रालयले समेत नेपाल टेलिभिजनले गठन गरेको कार्यदलको प्रतिवेदनलाई उजुरी मानी छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठायो । उक्त कार्यदलले हुमागाईंलाई अवकाश दिने सिफारिस गरेको थियो । चार महिना लामो अनुसन्धानपछि अख्तियारले भन्यो– नक्कली बैंक ग्यारेन्टी प्रकरणमा महाप्रबन्धक हुमागार्इंलगायत कसैको संलग्नता छैन । अख्तियारको पत्र पाएको तीन महिनासम्म तत्कालीन मन्त्री रिजालले हुमागाईंलाई मन्त्रालयमै राखे । मन्त्री रिजाल हटेको करिब डेढ महिनापछि हुमागाईं नेपाल टेलिभिजनमा फर्किएका छन् । केही कर्मचारी उनको विरोधमा रहे पनि हुमागाईंलाई भव्य स्वागत गर्दै कर्मचारीले संस्थानमा भित्र्याएका छन् । हुमागाईंमाथि अन्याय भएको आमकर्मचारीको बुझाइ थियो । नेपाल टेलिभिजन फर्किएलगत्तै हुमागाईंंले आफू सबैसँग मिलेर काम गर्ने बताएका छन् । ठगी प्रकरणमा संलग्न वल्र्ड भिजन मिडिया हाउसका सञ्चालकहरूको सम्पत्ति, बैंक खाता रोक्का राख्ने तथा उनीहरूलाई कालोसूचीमा राख्ने प्रक्रिया प्रारम्भ गरेका छन् । हुमागाईंको यो कदमले संस्थानको डुबेको पैसा उठ्ने झिनो आशा भए पनि घटना सार्वजनिक हुनासाथ गरेको भए उठ्ने सम्भावना बलियो रहेको कर्मचारीहरूको भनाइ छ ।

सातौँ तहबाट खुला प्रतिस्पर्धामा महाप्रबन्धक बनेका हुमागाईंको विपक्षमा नेपाल टेलिभिजनको उच्च व्यवस्थापन प्रारम्भदेखि नै असन्तुष्ट थियो । उनले प्रारम्भ गरेका थुप्रै योजनाका कारण हुमागाईंलाई औँलो ठड्याउन सक्ने अवस्था थिएन । केही कर्मचारीको लापरबाहीका कारण यति ठूलो बैंक ग्यारेन्टी नक्कली फेला परेपछि हुमागाईंंमाथि नैतिक प्रश्न खडा भयो । अख्तियार, प्रहरी र सरकारी वकिलसमेतको छानबिनमा कुनै कर्मचारी दोषी नभएको ठहर हुँदाहुँदै पनि केही कर्मचारी सोही मुद्दालाई उचालेर उनलाई रोक्न अग्रसर भए पनि मन्त्रालयका अधिकारी भने टेलिभिजनमा भएको चर्को राजनीतिलाई कम गर्न हुमागाईंलाई फिर्ता पठाउन तयार भए । अन्तत: हुमागाईंले टेलिभिजन फर्किएलगत्तै सुधारका काम थालिसकेका छन् । प्रसारण सुधार गर्ने, डुबेको पैसा उठाउने तथा कर्मचारीको सेवा–सुविधामा भएको कटौती हटाउने योजना अघि सारेको त्यहाँका कर्मचारीले बताएका छन् ।