सूचना खोज्दा कसले के उपलब्ध गराए

सूचना खोज्दा कसले के उपलब्ध गराए


mn bhusal
– मुक्तिनाथ भुसाल

अर्घाखाँची/ सूचनामाथिको पहुँच नै सूचनाको हक हो र आमनागरिकले सार्वजनिक निकायमा भए–गरेका कामबारे थाहा पाउने अधिकार कानुनले दिएको छ । तर, यसलाई सर्वसाधारण नागरिकले मात्र नभई सूचना सम्प्रेषणको जिम्मेवारी बोकेका आमसञ्चारकर्मीले समेत पूर्णतया ब्यवहारमा प्रयोग गर्ने गरेका पाइएको छैन । सूचना मागेमा कर्मचारीसँग सम्बन्ध बिग्रन्छ भन्ने सोच राख्ने सञ्चारकर्मी र सूचना दिए बर्बादै भइन्छ भनी ठान्ने राष्ट्रसेवक कर्मचारीको सोचलाई जिल्लामा तोड्नका लागि सार्वजनिक निकायमा कार्यरत कार्यालयप्रमुखहरूलाई हालसम्म गरिएका अनुकरणीय कामबारे केन्द्रित भई सूचना माग गर्दा करिब दुई दर्जन कार्यालयमा सूचना माग गरे पनि आफूलाई कानुनको सर्वज्ञाता सम्झने जिल्ला सरकारी वकिलका अलावा शिक्षा, वन, जिविस, नापीलगायतका कार्यालयले हालसम्म जवाफ दिएका छैनन् । संविधानसभामा कुर्सी हानाहान गरेका सूचनादेखि मन्त्रिपरिषद् बैठकका निर्णयसम्बन्धी सूचनाहरू बाहिर आउने, तर अर्घाखाँचीमा कार्यरत यी कार्यालयका सूचना अधिकारीले सूचना उपलब्ध नगराउनुलाई यिनीहरूको हैसियत कानुनभन्दा पनि विशिष्ट हुन सक्ने आँकलन गरिएको छ ।

अर्घाखाँची जिल्ला अदालतबाट ०७२ असोज १३ गते प्राप्त च.नं. २५५ को सूचनाअनुसार माननीय जिल्ला न्यायाधीश नारायणप्रसाद श्रेष्ठ गत भदौ ३ गते हाजिर भएपछि १४ थान मुद्दा फैसला भएको बुझिएको छ ।प्रजिअ सुरेन्द्र पौडेल गत असार ३ गते हाजिर भएपश्चात् सुशासन ऐन २०६४ तथा नियमावली २०६५ अनुसार विभिन्न कार्यालय निरीक्षण गरी सेवा प्रवाहमा गुणस्तरीयता ल्याउन र सुशासन कायम गर्न निर्देशन दिएको प्रशासनको च.नं. ४८० का सूचनाद्वारा जानकारी मिलेको छ । यस्तै, प्रमुख सेनानी उज्ज्वलविक्रम राणा गत भदौ ३ गते चन्दननाथ गणमा हाजिर भएपछि बागी खोला पम्पिङ आयोजना, दुर्गा भगवती मन्दिर पटुवाथुम, शान्तिबगैँचा सन्धिखर्क आदि क्षेत्रमा सरसफाइ र फोहोर व्यवस्थापनमा उल्लेखनीय योगदान पुर्‍याएको बुझिएको छ । वीरेन्द्र उमावि मरेङको घेराबार निर्माण र तीन किलोमिटर सडक मर्मत, अर्भका निमावि पालीमा शौचालय निर्माण, आँपखोलाको जङ्गलमा आगो नियन्त्रण, वाङ्लाका विवेक भुसालको घर भत्कँदा उद्धार र युवा वर्ष जनता रविचित्र उमाविको अस्थायी भवन निर्माण आदि कार्यहरू सम्पन्न भएको बुझियो । यसैप्रकार भूकम्पको समय जिल्लाभित्रका हरेक स्थानमा आवश्यकीय सहयोग पुर्‍याउनुका अलवा काभ्रेपलाञ्चोकका विभिन्न प्रभावित ठाउँहरूमा परिचालित भई खोज, उद्धार, राहत वितरण तथा पुनर्निर्माण कार्य कुशलताका साथ सम्पन्न गरेको प.सं. ११२५२ ले जानकारी दिएको छ ।
23 Mukti News

उता, प्रहरी नायव उपरीक्षक कमलप्रसाद खरेल ०७१ फागुन १४ गते कार्यालयमा हाजिर भएपश्चात् लैङ्गिक तथा महिला हिंसा र मानव बेचबिखनसम्बन्धी कार्यक्रम सञ्चालन, लागूऔषध गाँजासहित तीनजना, जुवातास खेल्ने ६ जना र सुस्त मनस्थिति भएकी एक तथा नाबालिका एकजनालाई जबर्जस्ती करणी गर्नेलाई कारबाही गरिनुको साथै किर्ते नागरिकता लिन खोज्ने तीनजनालाई कारबाही गरेको जिल्ला प्रहरी कार्यालयको च.नं. ५३२ को सूचनाले जानकारी गराएको छ । प्रमुख कोष नियन्त्रक मतिप्रसाद भुसाल ०७० पुस २२ गते हाजिर भएपश्चात् सूचनाको हकसम्बन्धी ऐन २०६४ लाई राम्रोसँग पालना र कार्यान्वयन गरिनुको साथै एकल खाता कोष प्रणालीमार्फत माग भएकै दिन चेक जारी गर्न प्राथमिकता दिएबाट सेवाग्राहीहरू लाभान्वित भएको कोलेनिकाको च.नं. १३२ का सूचनाबाट जानकारी मिलेको छ । प्रमुख जिल्ला इन्जिनियर शिवमान श्रेष्ठ ०७१ असोज ६ गते हाजिर भएपछि पेस्की दिने चलन शून्य, जिल्लामा सबैभन्दा लामो झोलुङ्गे पुलको निर्माण, दुईवटा मोटरेबल पुलको निर्माण र प्राविधिक कार्यालय भवन निर्माण सम्पन्नलगायतका काम भएको च.नं. १०६ का सूचनाहरूले जानकारी दिएको छ ।

जिल्ला स्वास्थ्य अधिकृत लीलाराम गौतमले जिल्लामा भएका ९० प्रतिशत स्वास्थ्य संस्थालाई सरकारले तोकेको मापदण्डअनुरूप भवन निर्माणका लागि स्थानीय सहयोगमा नि:शुल्क जमिन उपलब्ध गराउनुको साथै स्वास्थ्य मन्त्रालयको स्वीकृतिबिना विकटबस्तीका स्थानीयसँग समन्वय गरी १५ वटा सामुदायिक स्वास्थ्य केन्द्र र दुईवटा नगर स्वास्थ्य क्लिनिक स्थापना गरेको बुझिएको छ । प्राप्त जानकारीअनुसार हालसम्म चारवटा सामुदायिक र एउटा नगर स्वास्थ्य क्लिनिकले स्वीकृतिसमेत प्राप्त गरेका छन् । जिल्ला भूसंरक्षण कार्यालयका प्रमुख सम्पूर्णानन्द गिरी ०७१ माघ १५ गते हाजिर भई अडगुरीमा पानीको मुहान संरक्षण तथा गल्छी पहिरो नियन्त्रणका साथै सिद्धारामा रनसिङ खोला संरक्षण र सन्धिखर्कमा तल्लो काप्राबोट सिँचाइ कुलो संरक्षणलगायतका काम सम्पन्न भएको च.नं. ६५ को सूचनाले जानकारी गराएको छ । सालझन्डी–सन्धिखर्क–ढोरपाटन सडक योजना प्रमुख सुरेश पौडेल गत साउन १८ गते हाजिर भएपश्चात् सन्धिखर्कदेखि गुल्मीको म्यालपोखरीसम्म वर्षात्मा पनि सडक सुचारु हुनुको साथै रिडीदेखि गोखुङ्गासम्म पहिरो हटाए पनि इन्धन समस्याले अन्य काम गर्न नसकिएको च.नं. १०१ सूचनाले जानकारी गराएको छ ।

नेपाल विद्युत् प्राधिकरण अर्घाखाँची वितरण केन्द्रका प्रमुख पवनकुमार साह ०७१ चैत १० गते कार्यालयमा हाजिर भई धारापानी गाविसको वडा नं. २ र ४ को स्थानीय विवादलाई समाधान गरी बिजुली बाल्नुको साथै लाइन सुधार विस्तार गरेको बुझिएको छ । ठाडा र सन्धिखर्कमा विद्युत् महसुल सङ्कलन केन्द्रको स्थापना, पाँचवटा फिडरमा विस्तार, सन्धिखर्क र पोखराथोकका दुई वडाहरूमा एक–एकवटा ट्रान्सफर्मर उपलब्ध गराई नयाँ लाइन चार्ज गरिएको आदि प्राप्त च.नं. १७० सूचनाबाट जानकारी मिलेको छ । नेपाल टेलिकमका कार्यालय प्रमुख गोविन्दप्रसाद पराजुली ०६३ जेठ २२ गते हाजिर भएयता माओवादी द्वन्द्वको समयमा ध्वस्त भएको टेलिफोन सेवालाई पुन: निर्माण तथा एक्सचेन्ज जडान गरी चारसय लाइन टेलिफोन सेवा सुचारु गरिएको जानकारी मिलेको छ । यसैगरी कार्यालय भवनको निर्माण, वाईम्याक्स इन्टरनेट सेवा, थ्रीजी सेवा, सीडीएमए सेवा, भीएचएफ तथा भिसाल्ट आदि सेवाहरू समयसापेक्ष प्रदान गरिएको च.नं. ५४ का सूचनाहरूमा उल्लेख गरिएको छ ।

कारागार कार्यालयप्रमुख यज्ञश्वर पन्थी ०७० पुस १६ गते हाजिर भएपछि सञ्चालनमा आउन नसकेको कारागारमा थुनुवा, बन्दी राखेर सञ्चालन गरेको च.नं. ७७ का सूचनामा उल्लेख गरिएको छ । घरेलु तथा साना उद्योग विकास समितिका वरिष्ठ उद्योग अधिकृत नवराज गौतम गत असोज १३ गते हाजिर भई कार्यालयको कार्य जिम्मेवारीपूर्वक निभाएको च.नं. १७१ को प्राप्त सूचनाले अवगत गराएको छ । प्राप्त यी सूचनाहरूको शीर्षकमा केन्द्रित भई खर्च रकम जान्ने प्रयास गरेमा वास्तविकता सार्वजनिक हुन पुगी जिल्लामा सुशासन कायम हुने अपेक्षा गर्न सकिन्छ । जसका लागि सूचनाको हकलाई प्रयोग गरेमा आमनागरिकलाई पत्रकार नै बन्नुपर्ने आवश्यकता पर्दैन ।