घाम अस्ताएपछि बिस्कुन सुकाउनेहरू

घाम अस्ताएपछि बिस्कुन सुकाउनेहरू


Rajendra Pd Pathak
:: राजेन्द्रप्रसाद पाठक ::

‘खान्न खान्न लोकाचार खान लाग्यो मानाचार’ भन्ने नेपाली लोकोक्तिसँग प्राय: हामी सबै परिचित नै छौँ । यसको मतलब जो पहिले नै असहमति देखाएजस्तो गरेर प्रस्तुत हुन्छ त्यो नै अन्त्यमा बढीभन्दा बढी सहमतिको पक्षमा रहेको हामी सबैले देख्दै–सुन्दै आएको कुरा हो । अहिले आएर प्रसङ्गवश नेपाली राजनीतिक वृत्तमा पनि सोही दृष्टान्त देखिन सुरु भइरहेको आभाष हुन्छ । विगतदेखि वर्तमानसम्मको व्यवहारलाई केलाएर हेर्दा जे जवाफ आउँछ भविष्यको भावना पनि त्यसैभित्र करिब–करिब समेटिएको हुन्छ भन्दा फरक परोइन । आजको नेपाली राजनीतिक परिदृश्यभित्र पनि साङ्केतिक उत्तरहरू सल्बलाउन थालिसकेको छ ।

हाम्रो समाजमा एउटा ‘अतुलनीय गुण’ छ, त्यो हो– विगतलाई सजिलै भुल्न सक्ने क्षमता । यस नेपाली–गुणसँग हाम्रा राजनेता भनौँदाहरू पूर्ण जानकार छन् । त्यसैलाई ठूलो कमजोरी ठान्दै हाम्रा बुज्रुक ठान्ने नेताहरूले हामी समग्र नेपालीसँग सजिलै खेल्ने गरेको दृष्टान्तलाई यहाँ सन्दर्भवश प्रस्तुत गर्न खोजिएको मात्र हो । विषय वा प्रसङ्गवश अर्थको अनर्थ नलगाइएमा नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहदेखि नै हेर्‍यौँ भने उत्तरको छिमेकीसँगको कूटनीतिक सम्बन्धभन्दा बढी नै महत्त्वका साथ हेरिएको दक्षिणको छिमेकी छ, त्यो अत्यन्त चलाख, धूर्त र उपयोगी तीनै गुणले सम्पन्न भएकाले उससँगको व्यवहार सावधानीपूर्वक हुनुपर्नेछ भन्ने भाव अङ्ग्रेसहरूको सम्बन्धसँगको विषय वा प्रसङ्गमा उल्लिखित छ । जुन कुरा धारिलो हुन्छ त्यो कुरा अरूभन्दा ज्यादा उपयोगी पनि हुन्छ, तर त्यसको चलनचल्तीमा बढी नै सावधानी अपनाउनुपर्ने बाध्यता रहन्छ ।

त्यसैगरी श्री ३ जंगबहादुर राणाको लामो शासन व्यवस्थामा पनि दक्षिणसँगकै सफल कूटनीतिक सम्बन्धको भूमिकालाई लिन सकिन्छ । किनकि उत्तरसँगको कूटनीतिक सम्बन्धमा त्यति सफलता आवश्यक थिएन, किनभने बीचमा भोट थियो र चीन त्यसभन्दा परै थियो । तर, हालको स्थिति त्यो रहेन, बीचमा भोटको अस्तित्व समाप्त भइसकेकाले सोझै महाचीन छ । दक्षिणमा महाभारत र उत्तरमा महाचीनको बीचमा आज महासङ्कटबाट आहत बनेका नेपाली रहेका छौँ । यतिबेलाको कूटनीतिक सम्बन्धचाहिँ सन्तुलित नै हुनु जरुरी देखिन्छ । अब आयो ‘घुम्दै फिर्दै रुम्जाटार’ भनेजस्तो भारतसँगकै सम्बन्ध । भारतसँगको नेपालीको सम्बन्ध भनेको बहुआयामिक सम्बन्ध नै हो । किनभने यो कूटनीतिक र राजनीतिमा मात्र सीमित नरहेर सामाजिक, सांस्कृतिक, आर्थिक, धार्मिक, भाषिक, जातीय र छिटफिट व्यक्ति–व्यक्तिबीचमा पनि विशेष सम्बन्ध रहेकै कारण अरू बढी जोड दिनुपर्ने देखिन्छ । तर, खै कुन दशकदेखि सुरु भएको हो– ‘भारतविरोधी भएपछि क्रान्तिकारी होइन्छ’ भन्ने प्रकारको गलत मनोवैज्ञानिक आधारको चरम विकास अघिल्लो पुस्तादेखि नै भएको देखिन्छ । के यसो भइरहँदा सम्बन्धमा टिकाउपन आउला ? के त्यसो गर्दैमा हाम्रो समस्या समाधानतर्फ उन्मुख होलान् ? कि त्यो घुर्की वा रिस देखाएर अपनत्व कायम गर्ने चालबाजी हो ? यो पछिल्लो प्रश्नलाई पङ्क्तिकारले पुष्टि गर्न खोज्दा पाठकहरूद्वारा अलग अर्थ लगाइने छैन सायद ।

विगतदेखि भारतसँग भाग र विरासत मागेर खाने नेपाली शासनशैली पुरानै हो भन्दा फरक नपर्ला । झन्डै १७ सय किलोमिटरको खुला सिमाना र बिनाइजाजत ओहोरदोहोर गर्न पाउने नेपाल–भारत बोर्डर राजमार्ग भएकै कारण यहाँ दलीय राजनीतिको विकास भएको छ । २००३ देखि भारतमा बसेर परिकल्पना गरिएको र खोलिएको राजनीतिक पार्टीको पृष्ठपोषक पनि भारत नै हो । ०७ सालमा भएको राणाविरोधी जनक्रान्तिको सफलतादेखि सम्झौतासम्म भारतमै हुनु, त्यसपछि भएको आन्तरिक राजनीतिक गतिविधिले निम्त्याएको परिणामको भरथेग गर्ने थलो र राजनीतिक निर्वासनको भूमि पनि भारत नै थियो । पञ्चायतविरुद्धको गतिविधि गर्नका लागि स्थान पनि भारतले नै दिएको थियो । पञ्चायतविरुद्ध आन्दोलनको पूर्वसन्ध्यामा नेपालमा बहुदलीय प्रजातन्त्र स्थापना हुनुपर्दछ भन्ने पहिलो भाषण काठमाडौंको ठमेलको चाक्सीबारी जहाँ गणेशमानको निवास थियो, त्यहाँ बोल्ने नेता चन्द्रशेखर पनि भारतीय नेता नै हुन् । त्यसपछि न यी प्रजातन्त्रको नाममा आत्मरति गर्ने र पारिवारिक विरासत खडा गर्न चाहने, तर संहारकारी, जनघाती, राष्ट्रघाती, अराजक, लोकतन्त्रको नाममा जनतामाथि अत्याचार गर्नेहरूले स्थान पाएका थिए ।

यसो भन्दै गर्दा प्रजातन्त्र र लोकतन्त्रिक व्यवस्था आफैँमा असफल व्यवस्था भने होइन भन्नैपर्छ । नेपालको सन्दर्भमा बीपी कोइराला, गणेशमान सिंहजस्ता छिटफुट प्रजातन्त्रवादी अगुवाहरूबाहेक अधिकांश अगुवा भन्नेहरू राष्ट्रघाती थिए, छन् र रहिरहनेछन् । सरकारमा बसेर जनपक्षीय काम गर्न चाहने मन्त्रीहरू केही थिए तर उनीहरूलाई काम गर्ने माहोल र निरन्तरता दिइएन, दिइँदैन र दिने पनि छैनन् । जबसम्म राष्ट्रद्रोही प्रवृत्ति हावी रहनेछ, रूपमा राष्ट्रवादीजस्तो देखिने र सारमा राष्ट्रघाती व्यवहार देखाउनेहरू नेपाली राजनीति र समाजमा आफ्नो विरासतको जरोकिलो गाड्न चाहिरहन्छन् । पङ्क्तिकार सम्पूर्ण राष्ट्रवादी नेपाली जनतालाई यसै लेखमार्फत आह्वान गर्न चाहन्छ कि यस्ता दुष्टहरूको विगतलाई नबिर्सिनुहोस् जसले अगुवा बनेर आज भारतको विरोध गरी आफूलाई राष्ट्रवादी देखाउन खोजिरहेछ । उसले छिमेकीसँग विद्वेष फैलाएर नेपाली जनतालाई अझ दु:ख दिन खोजिरहेछ ।

आफू सत्तामा रजाइँ गर्दछ, आलिसान बंगलामा बस्छ, करोडौँको गाडी चढ्छ, देश–विदेशको ढुकुटीको भत्ता खाएर सम्पूर्ण परिवार र नातेदारलाई समेत विश्व सयर गराउँछ, आजीवन देशको सुविधा उपभोग गर्न पाउने नियम बनाउँछ, अकुत सम्पत्ति आर्जन गर्दछ, राज्यको कानुनलाई आफ्नो पारिवारिक नियम सम्भँmदै मुख र हातमा लिन्छ, आवश्यकताभन्दा बढीको सुरक्षा घेरा लगाएर आत्मरक्षा गर्दै छ । त्यही भारतसँग आफ्ना र आफन्तको औषधोपचार गर्न याचना गर्दछ । छोराछोरी र आफन्तलाई औषधिविज्ञान (डाक्टर) बढाउने कोटाको माग राख्दछ । मौका पर्दा तलब सुविधासम्म थाप्न पछि पर्दैन ।

हेर्नुहोस् पाइला–पाइलामा राष्ट्रघात, जनघात, कालोबजारी फैलिएको छ । सरकारमा बस्नेले त्यसलाई देखेको नदेखेझैँ गर्दछ । नाङ्ले पसल राखेर जीविकोपार्जन गर्नेलाई पुलिस लगाएर लुटाउँछ । पेट्रोलको, खाद्य वस्तुको र ग्यासको सरकार आफैँ कालोबजारीमा सामेल छ । राष्ट्रवादको नाममा मिडियालाई दुरुपयोग गर्दै छिमेकीलाई जनताको विरुद्धमा ललकार्छ । पहाडसँग जनताको कुहिनो बजारेर सीधासाधा जनतालाई अपाङ्ग बनाउने गृहकार्य भइरहेछ । अन्ततोगत्वा भारतसँग घुर्की लगाएर आफ्नो पारिवारिक विरासतको माग तेस्र्याइरहेको छ ।

वास्तवमा यस्ता हतको भोलिको योजना भनेको आफ्नो माग पूरा भइसकेपछि भारतसँग घुँडा टेकेर सम्झौता गर्नु नै हो । प्रधानमन्त्री र मन्त्री बनाइदिन याचना गर्न जानेहरूको बाहिरी अनुहार हेरेर हामीले छिमेकीसँग पौँठेजोरी खेल्नु त्यति सान्दर्भिक नहोला । सबै कुरो परिवर्तन गर्न सकिएला तर छिमेकी परिवर्तन गर्न सकिँदैन । यसो भन्दैमा छिमेकीको असल व्यवहारबाहेक खराब व्यवहारको पनि प्रतिवाद नगर्ने भन्ने होइन । त्यो त इन्कार गर्ने नै हो । तर, सभ्य र कूटनीतिक व्यवहारबाट समाधान खोजिनुपर्दछ । घाम डुबेपछि साँझमा बिस्कुन सुकाएर सुक्छ भनिठान्नु मूर्खता हो, दुर्भाग्यले हाम्रा नेताहरू यस्तै बचकाना व्यवहार गरिरहेका छन् ।

सावधान † पङ्क्तिकार सम्पूर्ण नेपाली राष्ट्रवादी जनतालाई भन्न चाहन्छ– ज्ञात–अज्ञात जुनसुकै रूपमा भए पनि देशका नाइके भन्नेहरूको मानसिकता खल्बलिएको छ । असाध्य या दीर्घरोगको सिकार भएकालाई ‘स्टोराइड’ भन्ने केमिकल दिइन्छ भनिन्छ । व्यक्तिको मानसिकतालाई अत्यन्त असहजतातर्फ अझ भनौँ पागलपनको पराकाष्टासम्म पुर्‍याउने क्षमता सो केमिकलमा हुने हुनाले अबका दिनमा जनताले देशको नेतृत्व चयन गर्दा वा पार्टीको नेतृत्व चयन गर्दा त्यस्ता असाध्य रोगले ग्रसित भएका र त्यस्तो भयावह केमिकलको प्रभाव देखिन थालेकाहरूलाई सत्ता हस्तान्तरण वा सङ्गठन हस्तान्तरण गर्दा दुर्घटनाको दिन टाढा कुनुपर्ने देखिँदैन । त्यस्ताहरूको समस्याको बिस्कुन घाममा होइन जुनमा सुकाएर या सुकाएकोसुकाई रहन सक्ने वातावरण आगामी दिनमा देख्नु नपरोस् । अन्यथा फेरि पनि हामीबाट वा जनताबाट त्यस्तो गल्ती दोहोरिन गएमा देश बर्मा, कम्बोडिया, सोमालिया, रुवान्डा आदि सैनिकीकरण, भोकमरी र गृहयुद्धले ग्रसित बन्न बेर लाग्दैन ।

(लेखक त्रिविका पीएचडी स्कलर्स हुन् ।)