सुशीलले सम्झाए स्वस्थानी कथाका शिव शर्मा ब्राह्मण !

सुशीलले सम्झाए स्वस्थानी कथाका शिव शर्मा ब्राह्मण !


आफैँ सभापति उठ्ने तत्परता !

कांग्रेस सभापति सुशील कोइरालाले स्वस्थानी कथाका सत्तरी वर्षीय ब्राह्मण शिव शर्माले सात वर्षीया गोमा ब्राह्मणीसँग विवाह गर्न चाहेको घटना स्मरण गराएका छन् । पार्टीको तेह्रौँ महाधिवेशनमा असी वर्षीय सुशील कोइराला सभापति पदमा आफैँ उठ्न तत्पर भएपछि उक्त स्वस्थानी कथाको स्मरण हुन पुगेको हो । स्वस्थानीमा सत्तरी वर्षीय वृद्ध शिव शर्माले सात वर्षीया गोमासँग विवाह गर्न नपाए आफूले प्राण त्याग गर्ने भनी कन्याका माता–पितासँग ‘ब्ल्याकमेलिङ’ गरेको र विवाह गरेपछि गोमालाई अलपत्र बनाएर छोडेको कथा वर्णित छ । सुशील कोइरालाले पनि गोमालाई झैँ कांग्रेस पार्टीलाई अलपत्र पार्न खोजेको टीका–टिप्पणी हुन थालेको छ ।

अमेरिका गएर पुन: स्वास्थ्य उपचार गराएपछि सुशील कोइराला नेपाल फर्किएर पार्टीको सभापति र प्रधानमन्त्री पुन: आफैँ बन्ने सङ्केत दिएका छन् । उपसभापति रामचन्द्र पौडेललाई अबको सभापति बनाइनुपर्छ भनी संस्थापन पक्षभित्र उठेको मागलाई कोइरालाले बेवास्ता गरेका छन् । यस सम्बन्धमा नेता पौडेलले कोइरालालाई भेटी आफूलाई सभापतिको उम्मेदवार बनाउन गरेको आग्रहलाई कोइरालाले उपेक्षा गरेका छन् । प्राप्त जानकारीअनुसार कोइराला अमेरिबाट फर्कनेबित्तिकै पौडेलले पटकपटक भेटी आफूलाई समर्थन गर्न आग्रह गर्दा उनले ‘अहिले हतार छैन, छलफल गरौँला’ भन्दै पन्छाउने गरेका छन् ।
Susil koirala 11
यसअघि सुशील कोइराला संसदीय दलको नेता पदमा चुनाव लड्नुभन्दा अगाडि पौडेलले आफूलाई कार्यवाहक सभापति बनाउन आग्रह गर्दा पनि कोइरालाले ‘अहिले हतार छैन, साथीहरूसँग छलफल गरेर कार्यवाहक सभापति तपाईंलाई नै बनाउँछु’ भन्ने जवाफ दिने गरेका थिए । गत असोजमा केपी ओलीसँग प्रधानमन्त्री पदमा प्रतिस्पर्धा गर्न चाहन्छु, निर्णय गर्नुपर्‍यो भनी पौडेलले भन्दा पनि कोइरालाले ‘हतार छैन, साथीहरूसँग छलफल गरेर निर्णय गरौँला’ भन्दाभन्दै अन्त्यमा कोइराला आफैँ प्रधानमन्त्रीको उम्मेदवार बनेका थिए । अहिले तेह्रौँ महाधिवेशनमा सभापतिको उम्मेदवार बन्न इच्छा प्रकट गर्दा पनि कोइरालाले पौडेललाई ‘पछि–पछि’ भन्दै समय गुजार्ने काम गरिरहेका छन् । तर, उता आफ्ना निकटवर्तीहरूसँग भने सुशील कोइरालाले ‘देउवालाई छोड्ने कुरा भएन, रामचन्द्रले सक्दैनन्’ भन्दै आफैँ उम्मेदवार बन्ने बताएका छन् ।

यसरी कोइरालाले कपटपूर्ण व्यवहार गरेपछि रामचन्द्र पौडेल सभापतिको उम्मेदवार बन्ने स्वतन्त्र तयारीमा जुटेका छन् । अहिले पौडेल पश्चिम नेपालका केही जिल्लामा कार्यकर्ता भेटघाटका लागि गएका छन् । काठमाडौं फर्किएपछि कोइरालासँग निर्णायक वार्तालाप गर्ने र कोइरालाको सहमति नभए पनि सभापतिमा उम्मेदवारी घोषणा गर्ने मानसिकता नेता पौडेलले बनाएका छन् । तर, पार्टीभित्र पौडेलले कोइरालाको सम्मतिबेगर उम्मेदवारी घोषणा गर्न नसक्ने विश्लेषण एकथरीले गरेका छन् । कोइरालाले संसदीय दलको नेता बनाइदिएर पौडेललाई पुन: उपसभापतिमै सीमित गर्ने योजना बनाएको कांग्रेस राजनीतिका विश्लेषकहरूको भनाइ छ ।
यसपटक सभापतिको उम्मेदवार बन्न पाएनन् भने पौडेलको राजनीति करिबकरिब समाप्त हुने भएकोले उनी हरहालतमा सभापतिको उम्मेदवार बन्नैपर्ने अवस्था भने रहेको छ । हालको संस्थापन पक्षभित्र लगानी, त्याग र इमानदारीमा उच्चस्तरको मानिएका नेता पौडेललाई सभापतिको उम्मेदवार नबनाइएमा शेरबहादुर देउवाले प्राप्त गर्ने मतको तीसदेखि पैंतीस प्रतिशत मत मात्र सुशील कोइरालालाई मिल्नसक्ने स्थिति छ । यतिबेला पार्टीभित्र अत्यन्त अलोकप्रिय रहेका सुशील कोइराला उम्मेदवार बन्दा देउवाको विजय सुनिश्चित हुने विश्वास विगतमा कोइरालाकै समर्थक रहेका नेता तथा कार्यकर्ताहरूले समेत गरेका छन् । रामचन्द्र पौडेल उम्मेदवार बन्दा मात्रै देउवासँग प्रतिस्पर्धात्मक स्थिति बन्नसक्ने विश्वास उनीहरूको छ ।

उता वरिष्ठ नेता शेरबहादुर देउवा आगामी महाधिवेशनलाई आफ्नो पक्षमा पार्न सक्रिय भएका छन् । देउवाको टिमभित्र पदाधिकारी चयनमा कुनै समस्या नभएकोले उनले निकै सहजता महसुस गरेका छन् । यथाशीघ्र सभापतिको उम्मेदवारी घोषणा गर्ने तयारीमा रहेका देउवाले पार्टीका पदाधिकारीहरूको घोषणा भने केहीपछि मात्र गर्ने तयारी भएको बुझिएको छ । हाल कोइरालाको निकट रहेका नेताहरूमध्ये डा. रामशरण महत, डा. शेखर कोइराला, नरहरि आचार्य, प्रकाशमान सिंह, महेश आचार्य, कृष्ण सिटौला, डा. सशाङ्क कोइराला र सुजाता कोइरालालगायतले उपसभापति या महामन्त्रीको जिम्मेवारी पाउनुपर्ने अपेक्षा गरेका छन् । उपसभापति एक र महामन्त्री दुई गरी तीनजनाभन्दा बढीलाई ‘एडजस्ट’ गर्न सक्ने अवस्थामा कोइराला छैनन्, जब कि उनले आठजना नेताको व्यवस्थापन गर्नुपर्ने हुन्छ, तीनजनालाई टिममा सामेल गरेपछि बाँकी पाँचजनाले कोइरालालाई साथ दिने अवस्था नरहने निश्चित छ । देउवा भने अहिले कोइरालाको पक्षमा रहेका कतिपय नेतालाई समेत आफ्नो टिममा समावेश गर्नसक्ने सुविधामा छन् । यसैबीचमा चतुर खेलाडी मानिने कृष्ण सिटौलाले देउवाको टिममा समावेश हुन खुट्टा उचालिसकेका छन् । तर, देउवा भने तत्काल पदाधिकारी चयन नगरी आवश्यक सबै नेताहरूसँग परामर्श गरेर मात्र निर्णय लिने मानसिकतामा छन् । पौडेलबाहेक अन्य जोसुकै नेता उम्मेदवार बने पनि यसपटक कांग्रेस सभापतिमा देउवा नै विजयी बन्ने सम्भावना प्रबल भएको छ ।