भूकम्पपछि युवती बेचिने क्रम बढ्यो

भूकम्पपछि युवती बेचिने क्रम बढ्यो


बेचबिखनविरुद्ध
काठमाडौं । गत वैशाख १२ को महाभूकम्पले निम्त्याएको भौतिक विनासका कथाहरु असरल्ल परिरहेकै अवस्थाबीच त्यसैका कारण सिर्जित अर्को विकृत पाटो उजागर भएको छ । भूकम्पपछि सडकमा पुगेका कैयन परिवारका सदस्य खासगरी किशोरी, युवती तथा महिलाहरु यतिबेला बेरोजगारीका कारण गलत बाटोमा लाग्न विवश बनेका सन्दर्भहरु सार्वजनिक हुन थालेका छन् । रोजगारीको लोभमा महिलाहरु पश्चिमी सीमा नाकाबाट हराउने तथा बेच्ने क्रम बढ्न थालेको मानव बेचबिखनविरुद्ध कार्यरत सङ्घसंस्थाले बताएका छन् । भूकम्पपछि दलालहरुले ललाइफकाई रोजगार दिने बहानामाहरु हराउने तथा बेच्ने क्रम बढेको उनीहरुको कथन छ ।

मानव बेच बिखनविरुद्ध कार्यरत माइती नेपाल कञ्चनपुरको तथ्याङ्कअनुसार मानव तस्करको ट्रान्जिट कञ्चनपुरका गड्डाचौकीलगायतका अन्य नाकाबाट सन् २०१५ मा २१६ महिला हराएका छन् । मोबाइल फोन, प्रेम सम्बन्धका कारण महिला हराउने तथा बेचिने क्रम बढेको माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताइन् । उनका अनुसार गड्डाचौकीबाट हराएकामध्ये ११ जनाको मात्रै उद्धार गरिएको छ । उद्धारका लागि २२७ को निवेदन परेको थियो । सन् २०१४ मा २१४ हराएकामा २० मात्रै फेला परेका थिए । तथ्याङ्कअनुसार गतवर्षको तुलनामा हराउने बेपत्ता हुनेको सङ्ख्या यसवर्ष बढेको हो । पोखराबाट सिधै दिल्ली बस सेवाका कारण पनि मानव बेचबिखन जोखिम बढेको माइती नेपालले जनाएको छ ।

हराएकामध्ये अधिकांश सुदूरपश्चिमका पहाडी जिल्लाका महिला छन् । खुला सिमानाले मानव बेचबिखन नियन्त्रण हुन नसक्दा यस क्षेत्रका महिलाको बेपत्ता हुने क्रम बढेको संयोजक भट्टको भनाइ छ । घरेलु हिंसा, खुला सीमा र मानव बेचबिखनका कारण गड्डाचौकी नाकाबाट सुदूर र मध्यपश्चिमका ३१ जिल्लाका किशोरी तथा महिला बेचबिखन तथा ओसारपसारको सिकार हुने गरेको तथ्याङ्कमा उल्लेख छ । यसवर्ष कञ्चनपुरका सीमा क्षेत्रबाट बेचिन लागेका छजनाको उद्धार गरिएको छ । ८२ जनालाई सीमामा रोकथाम गरी घर फर्काइएको छ । गरिबी, देखासिकी प्रेम सम्बन्ध, मजबुरी र वैदेशिक रोजगारको महत्वाकाङ्क्षाका कारण १४ देखि १८ वर्षका किशोरी बेचबिखनको जोखिममा छन् । यसबाट सबैभन्दा बढी कञ्चनपुर जिल्ला प्रभावित रहेको पाइएको छ । मानव बेचबिखनविरुद्ध सङ्घसंस्था तथा सुरक्षा निकायको सक्रियताले बेचबिखनको मुख्य नाका गड्डाचौकीबाट भारत जाने महिला घटे पनि अहिले बेलौरी र दोधारा–चाँदनीको नाका बढी प्रयोग भइरहेको बताइनछ ।