अख्तियारसँग किन आत्तिए यी नेता ?

अख्तियारसँग किन आत्तिए यी नेता ?


Laxmi Kanta Poudel 2
:: लक्ष्मीकान्त पौडेल ::

दक्षिण कोरियाका पूर्वराष्ट्रपति रुह भ्रष्टाचारको आरोप लागेपछि भीरबाट फाल हानेर मरे । जापानमा पनि भ्रष्टाचारको आरोप लागेपछि त्यस्तै हुन्छ, अर्थात् नेताहरू हाराकिरी (आफैँले आफैंलाई हतियार प्रयोग गरेर मार्ने कार्य) गर्दछन् । जापानका एक पूर्वमन्त्रीले आफ्नो दलका लागि पाँच हजार डलर रसिद दिएर बुझेकोमा कानुनको रित नपुर्‍याएकाले भ्रष्टाचार ठहरिँदा उनले पनि आत्महत्या गरे । उनले गरेको त्यो कार्य व्यक्तिगत भ्रष्टाचार थिएन । समाजमा कुनै प्रकारको भ्रष्टाचार नहोस् भनेर सबै दलमा लागेका र दलहरूका नजिक भएकाहरूले सोच्न र त्यसअनुसार काम गर्नुपर्ने बेला भएको छ ।

हामीले यति मात्र विचार गरे हुन्छ कि केही समय पहिला डुङ्गा पल्टेर मानिस मरेकोमा दक्षिण कोरियाका प्रधानमन्त्रीले राजीनामा दिए । भारतका रेलमन्त्री मधु दण्डवतेले रेल दुर्घटना हुँदा मन्त्री पदबाट राजीनामा दिएका थिए । ती घटनामा उनीहरूको प्रत्यक्ष कुनै भूमिका नै थिएन । तर, नेपालमा हाल एमाले र माओवादीका नेताहरूलाई भ्रष्टाचारबारे अख्तियारले सोधपुछ गर्दा नै पहिरो गएको छ । अख्तियारले काङ्ग्रेस र अन्य दलहरूलाई मात्र कारबाहीको दायरामा ल्याउनुपर्छ भन्ने मानसिकता कम्युनिस्टहरूको रहेको देखियो । उनीहरू कम्युनिस्ट भन्ने जातै भ्रष्टाचारविरोधी हो भन्ने भ्रम जनतामा दिन चाहन्छन् । जो भ्रष्टाचार गर्दछ त्यो कम्युनिस्टको नाममा छद्मभेषी हो भन्ने भ्रम पनि फैलाउँछन् । यो नाटक कम्युनिस्टहरूको सर्वसत्तावाद भएको देशमा अझ बढी हुने गर्दछ ।

कम्युनिस्टको मूलधार रहनेहरूका लागि देशको ढुकुटी नै आफ्नो हुन्छ । उनीहरूले जति भ्रष्टाचार गरे पनि त्यो भ्रष्टाचार ठहरिँदैन, किनभने उनीहरूको विपक्षमा बोल्ने दल र सञ्चारमाध्यम हुँदैनन् । तर, त्यहाँ पनि भ्रष्टाचारमा मन्त्रीसमेतलाई सजाय हुन्छ र मृत्युदण्डसमेत हुन्छ, किन ? यसको कारण छ– ऊ अरू कम्युनिस्टहरू जस्तै भ्रष्टाचारी हुन पनि सक्दछ वा अरू मूलधारमा रहने कम्युनिस्टहरूले भ्रष्टाचार गरेकाले त्यसको विरोध गरेको पनि हुन सक्दछ । त्यसै कारणले उसलाई भ्रष्टाचारको प्रायोजित आरोप लगाएर सजाय गरिन्छ । कम्युनिस्ट पार्टीलाई र नेतालाई भ्रष्टाचारबाट जनताको नजरमा चोख्याउने काम गरिन्छ र कम्युनिस्ट पार्टीका नेता र कार्यकर्ताहरूलाई मूलधारको राजनीतिको विरोध नगर, गरेमा तिमीहरूको पनि यही हालत हुन्छ भन्ने सन्देश दिने कार्य हुन्छ ।

अहिले अख्तियारले एमालेका र माओवादीका केही नेतालाई भ्रष्टाचार गरेको सम्बन्धमा पत्राचार गरेछ । उनीहरू अख्तियारमाथि नै आरोप लगाउँदै छन् । आफू असल, राम्रो र इमानदार हुँदाहुँदै पनि अख्तियारले फसाउन खोजेको उनीहरूको आरोप छ । यहाँसम्म कि अख्तियार प्रमुखलाई महाभियोग लगाउने सल्लाहसमेत गर्दै छन् उनीहरू । एमाले र माओवादीमा यो हलचल किन आयो ? प्रस्ट छ भ्रष्टाचार नगरेको भए उनीहरू यसरी आत्तिने थिएनन् । उनीहरू ठीकठाक भए अकवरी सुनलाई कसी लगाउन पर्दैन र लगाए पनि फरक पर्दैन भन्ने ती कम्युनिस्ट साथीहरूले बुझ्नुपर्ने हो । यसो नगर्नु भनेको चोरको खुट्टा उचाल भन्दा खुट्टा उचालेजस्तो हो । अर्कोतर्फ भ्रष्टाचारमा सजायको कदम चालेमा अख्तियारका अख्तियारवालाहरूको खैर रहने छैन भन्ने सन्देश हो र हामीलाई सजाय गरेमा तिमीहरूलाई हामी र हाम्रा हनुमानबाट जे पनि गर्न सक्दछौँ भन्ने सुनाउनु पनि हो । सजाय नगर्ने वातावरण बनाउनु हो ।

योभन्दा ठूलो र नराम्रो भ्रष्टाचार सापेक्ष चरित्र अरू केही हुन सक्दैन । कम्युनिस्टहरूको तानाशाही शासन आएमा नेताहरूले स्वत: भ्रष्टाचार नगर्ने हुँदा उनीहरूमाथि भ्रष्टाचारको सवाल उठाउन पाइनेछैन र सजाय गर्न पाइनेछैन भन्ने संविधानमा नै लेखे हुन्छ । जनताले त्यहाँ यथार्थमा हुने चरम भ्रष्टाचारविरुद्ध सङ्घर्ष गर्नेछन् र नसके मर्नेछन् वा त्वम् शरणम् गर्नेछन् । तर, अहिले नेपालमा कम्युनिस्ट सर्वसत्तावाद छैन भन्ने उनीहरूले बुझ्नु आवश्यक छ ।

भ्रष्टाचारको आरोप लागेर कारबाही काङ्ग्रेसजनमाथि पनि भयो र काङ्ग्रेसका केही व्यक्तिले त्यसको विरोध पनि गरे । तर, काङ्ग्रेसको मूल प्रवाह कहिल्यै भ्रष्टाचारको कारबाहीको विरोधमा लागेन र कारबाही गर्ने अख्तियारका प्रमुख र अन्य आयुक्तलाई महाभियोग लगाउने कल्पना पनि गरेन । त्यसैले काङ्ग्रेसको मान्यता यो हो कि मानिसमा कमजोरी हुन्छन् । त्यसैले उनीहरूले कमजोरी गरेमा त्यसको प्रतिफल पाउनुपर्दछ । गल्ती गर्नेलाई सजाय हुनैपर्छ । काङ्ग्रेसको धार र धारणा यही हो । तर, कम्युनिस्टहरूले आफूलाई भ्रष्टाचारको कारबाही गर्न चाहने हो भने औँला नै काटिदिने अर्थात् आफूलाई अभियोग लगाउने सम्भावना भए महाभियोग नै लगाएर सजाय दिने धमास दिँदै छन् । यो दु:खदायी हो, समस्त नेपाली जनताको अपमान हो । कम्युनिस्टहरू राम्रा हुन्छन् भन्ने भ्रममा परेर समर्थन गर्नेमाथिको पनि यो अपमान हो ।

राजाका भक्त र उनका दाहिने हात भएर पनि मन्त्रीभन्दा बढी राजाले बनाउन नचाहेका कमल थापालाई कम्युनिस्ट गठबन्धनले उपप्रधानमन्त्री बनायो । कमल थापाले राजा, हिन्दूधर्म र एकात्मक शासन प्रणाली आवश्यक छ भनिरहेका छन्, तर उनलाई सङ्घीयता, गणतन्त्र र धर्मनिरपेक्षता लागू गर्ने प्रमुख पदवालाहरूमध्येमा राखिएको छ । तर, कमल थापाले अहिले अख्तियारले गरेको कारबाहीको समर्थन गर्दै अख्तियारका पदाधिकारीलाई महाभियोग लगाउने हो भने सरकार त्याग्ने धम्की दिएको जानकारी आएको छ । थापाकै दल राप्रपा नेपालका नेता केशरबहादुर विष्टले पञ्चायतकालमा हावाहुरीले गर्दा दशरथ रंगशालामा मानिस मर्दा मन्त्री पदबाट राजीनामा दिएका थिए र कमल थापा अख्तियारको छानबिन गर्ने अधिकारलाई सुरक्षित गर्न चाहिरहेका छन् ।

नेपालका कम्युनिस्टहरूभन्दा कमल थापाहरू धेरै असल छन् र उनीहरू देश र जनताको पक्षमा इमानदार छन् भन्ने जनतामा जाओस् भन्ने कम्युनिस्टहरूले नै चाहेको देखिएको छ । यो व्यवहारले कमल थापा कम्युनिस्टहरूभन्दा इमानदार छन् भन्ने तथ्य जनताले बुझ्नेछन् । यस्ता भ्रष्टाचारका पृष्ठपोषकहरूसँग काङ्ग्रेसले कति सहकार्य गर्न सक्दछ र सक्थ्यो ? काङ्ग्रेसले एमालेसँग सरकारमा सहकार्य गर्न नसक्नुको पछाडि एमालेले गल्ती गरे पनि वा जे भए पनि आफ्नो घमण्ड नछोड्ने चरित्रसमेत रहेछ र सरकारमा बस्दा त्यो प्रकटसमेत भएको थियो भन्ने बुझ्न सजिलो भएको छ ।

Leaders
टीभी कार्यक्रममा राजेन्द्र पाण्डेहरू भन्न थालेका छन् कि अख्तियार प्रमुखको नियुक्तिमा आफूहरूले विरोध गरेकाले त्यसको बदला लिन खोजिएको हो । आफ्नै दलभित्रबाट पनि आफूहरूमाथि षड्यन्त्र भएको या आफ्नो दलका अर्का गुटका मानिस पनि आफूविरुद्ध लागेको आरोप उनले लगाउन खोजेका देखिन्छ । उनीहरू भारतको निर्देशनमा आफूमाथि अख्तियारले कारबाही चलाउन चाहेकोसमेत भन्न पछि परेका छैनन् अख्तियारले पत्र काटेका पाण्डेहरू । एउटा भ्रष्टाचारको आशङ्कामा परेको व्यक्तिले आफ्नो बचाउका लागि विदेश, दलको अर्को गुट, अख्तियार प्रमुखसँगको आफ्नो व्यवहारसमेतलाई जोड्नु उचित हो कि ‘कारबाही अगाडि बढाऊ, मेरो कमजोरी छैन, भएमा सजाय भोग्न जो पनि तयार हुनुपर्दछ’ भनेर राज्यको अङ्गलाई सहयोग गर्नुपर्ने हो ? अव विद्वान्हरू, समर्थकहरू र सबैले सोच्न र दल तथा मानिसलाई चिन्नुपर्ने बेला आएन र ?

तर, अहिले नै आतङ्क मच्चाएर अख्तियारलाई डर देखाएर कारबाही नचलाउनका लागि दबाब दिने कार्य भइसक्यो । कतै अख्तियारले यही डरले वा पर्दापछाडिको लोभले कारबाहीलाई नाटकमा परिणत पो गर्दछ कि ? अहिलेको हेर्ने विषय यही हो । लोकतन्त्रमा असल मानिसले जहिले पनि आफ्नोबारे गलतको आशङ्का भए जाँच होस् भन्ने मान्यता लिन सक्नुपर्छ । त्यसले उसको बारेमा सत्य थाहा हुन्छ र लोकतन्त्र बलियो हुन्छ । लोकतन्त्र र जनताका विरोधीहरू तथा भ्रष्टाचार सापेक्ष मानसिकता लिनेहरू मात्र आफू माथि लाग्ने कसीको विरोध गर्दछन् । त्यसैको माध्यमबाट कारबाहीलाई तुहाउने र आफू मुक्त हुने षड्यन्त्र गर्दछन् । जनता सावधान !

अन्त्यमा, करिब एक दशक पहिला फिनल्याण्डकी प्रधानमन्त्रीले गाडी गलत ठाउँमा पार्किङ गरेकाले प्रहरी जवानले जरिवाना गर्दा उनले आफ्नो गल्तीका लागि माफ मागेर जरिवाना तिरेकी थिइन् । सायद हाम्रा भ्रष्टाचारको आरोप लागेका वा शङ्का भएका नेताहरूलाई नेपालको प्रहरी जवानले त्यसप्रकारको व्यवहार गरेको भए उसको जागिर त जान्थ्यो नै सायद ज्यान पनि जान्थ्यो कि ?