राजनीतिमा कमजोर युवाहरू

राजनीतिमा कमजोर युवाहरू


Binod Tripathi
:: विनोद त्रिपाठी ::

केपी ओलीबाट समाधान हुन्छ भन्ने आशा रहेन अब, उनी प्रधानमन्त्री भएपछि धेरै आशा थियो, केही दिनअघि एकजना मित्रले फेसबुकमा तिक्तता पोख्दै थिए । हुन त स्वयम् ओलीले पनि पछिल्ला दिनमा के–के न गर्छु भन्ने अभिलाषा लिएर आफू प्रधानमन्त्री भएको, तर केही गर्न नसकेको नैराश्यता व्यक्त गर्दै आएका छन् । यसबीचमा उनले देशवासीका नाममा सम्बोधन गरेर ठूलाठूला दीर्घकालीन योजना त सुनाए, तर वर्तमान समस्याको समाधान पहिल्याउन सकेनन् ।

ओलीकै कार्यकालमा नाकाबन्दीको चपेटामा घोर अन्धकारतर्फ मुलुकको अर्थतन्त्र धकेलियो । खर्बौं रुपैयाँको राजस्व उठ्ती ठप्प भो । यही राजस्वबाट मुलुक थोरबहुत चल्थ्यो । विदेशी अनुदान वा ऋण पनि औसतभन्दा माथि छैन । भूकम्प र त्यसपछिको नाकाबन्दीको नोक्सानलाई सुधार गर्न औसत राजस्व सङ्कलन र वैदेशिक सहयोगले थेग्न सक्दैन । अझै पनि सुधारका सङ्केत कतैबाट देखिएको छैन । राज्य दिनप्रति दिन असफल हुँदै गएको छ । अर्कोतर्फ यो बज्र प्रहारको सामनाबाट जनता झन् झन् प्रताडित छन् ।

पछिल्ला वर्षमा नेपाली राजनीतिमा युवापङ्क्तिले गतिला अवसर पाए । खासगरी, कम्युनिस्ट दलहरूले युवालाई प्राथमिकतामा राखे । हाल सभामुख ओनसरी घर्ती, गृहमन्त्री शक्ति बस्नेतदेखि विभिन्न पद पाउने युवा यसका केही उदाहरण हुन् । कांग्रेसमा गगन थापा, प्रदीप पौडेलहरूले केन्द्रीय समितिमा आफ्नो स्थान बनाइसकेका छन् । तर, मुलुकको एउटा युवापङ्क्तिलाई राजनीति पटक्कै मन पर्दैन । कहिलेकाहीँ यही पङ्क्ति तटस्थका साथ सडकमा सामाजिक अभियान लिएर पनि ओर्लन्छ । कहिले नेपालबन्द त कहिले नाकाबन्दीका विरुद्ध यो पङ्क्ति दलहरूका युवा क्षमतामा प्रश्न गर्दै बाहिर निस्कने गरेको छ । हाम्रो राजनीतिमा युवा वर्गबाट प्रगति हुने अपेक्षा कहिल्यै हुन सकेन । जनताले सधैँभरि युवालाई नै राजनीतिमा देख्न चाहे । दलहरूको युवा –राजनीति किन सफल हुन सकेन र एकाध युवाले पाएका जिम्मेवारीमा पनि फरक भूमिका किन देखिएन ? यसका अन्तर्वस्तु केलाउन सान्दर्भिक देखिएको छ ।

दलहरूको शीर्ष नेतृत्व भूमिका रहेका नेताहरूले कहिल्यै कमजोर महसुस गरेनन् । यिनले आफूलाई निर्णय गर्ने, काम गर्ने क्षमतामा युवाभन्दा सधैँ अब्बल ठाने । ९० वर्षको हाराहारीसम्म सक्रिय राजनीति गरेर विश्राम नलिई एकैचोटि मृत्युवरण गरेका गिरिजाप्रसाद कोइराला, सूर्यबहादुर थापाकै लहरमा अहिले नेपाली राजनीतिमा दुई दर्जन हस्ती छन् । कुनै पनि वृद्ध नेता विश्राम लिएर युवाहरूलाई मौका दिन चाहँदैनन् । थला नपरुन्जेल आफँै मात्र काम गर्ने नेपाली राजनीतिको पुरानो चलन हो । यो परम्परावादी शैलीलाई कम्युनिस्ट नेताहरूले उस्तै रूपमा पछ््याए । प्रधानमन्त्रीको जिम्मेवार पाइसकेर उमेरले ६० नाघेका बाबुराम भट्टराईजस्ता अनुहारहरू नयाँ शक्ति खोज्न दौडधुपमा लाग्नु पछिल्ला उदाहरण हुन् ।

मानिस उमेरले मात्र बूढो हँुदैन । कार्यक्षमता र सिर्जनशीलको अभावमा पनि कोही मानिस चाँडै बूढो हुन्छ । उमेरले युवा हुँदैमा उसको काम गर्ने शैलीमा पुरानै प्रकारको छ भने उसलाई युवा भन्न मिल्दैन । केही मानिस भने उमेरले वृद्ध भए पनि युवाकै क्षमता राख्छन् । सोच, क्षमता, ज्ञान र निपुणताले मानिसलाई सधैँ युवा बनाउँछ । बर्माकी प्रजातन्त्रवादी नेतृ आङसाङ सुकी ६० वर्षको उमेरमा पनि युवा राजनीति गरेर विश्वचर्चित छिन् । नेपालमा वृद्ध होस् वा तन्नेरी नेताहरू कसैले पनि युवा राजनीति गर्न सिकेनन् । युवाहरूले जानेर पनि पार्टीकै पुरानै पद्धति पछ्याए । जुन युवाले राजनीति सुरु गर्छ, उसले पद हत्याउन अघिल्लो पुस्ताकै आनीबानी सिकिरहेको हुन्छ । गुटबन्दीमा लाग्नु, कुनै सिनियर नेतालाई उस्क्याउनु, चाकडीलाई प्रोत्साहन दिनु आदि कार्यबाट अहिले नेपाली युवाको राजनीति उग्र रूपमा अघि बढेको छ । अधिकांश दलका युवा सङ्गठनहरू मूल पार्टीलाई सघाउ गर्ने भर्‍याङ मात्र बनेका छन् ।

कांग्रेसको पछिपछि कम्युनिस्टहरू

कांग्रेसमा युवा नेता सम्झनेबित्तिकै झ्वाट्टटै गगन थापाको नाम लिने धेरै छन् । उनको उमेर ४० को हाराहारी पुगिसक्यो । हुन त अझै पनि युवाकै श्रेणीमा चन्द्र भण्डारी वा विश्वप्रकाश शर्मालगायतका नाम पनि नसुनिने होइन । तैपनि सबैजसो युवा नेता गुमनामजस्तै छन् । कांग्रेसको एउटा पङ्क्तिले अझै रामचन्द्र पौडेल, शेरबहादुर देउवालाई युवा नेताकै रूपमा सम्झन्छ । हिजो, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालाका पालामा यिनलाई युवा नेता भनी गरिएका सम्बोधनले कांग्रेसमा अझै निरन्तरता पाइरहेको छ । कांग्रेसमा कलेजको राजनीति गर्ने २० वर्षे युवा र पार्टीमा अड्डा जमाउने ६० वर्षको नेतामा कुनै अन्तर भेटिँदैन । उही शैली, उस्तै राजनीतिक चरित्र र संस्कार व्याप्त छ । यही गतिमा कम्युनिस्ट युवाहरू पनि होमिएका छन् । एमालेका महेश बस्नेत वा रवीन्द्र अधिकारीलगायतमा युवा छनक त देखिन्छ, तर पार्टीको पुरानै आवरणबाट बाहिर आउन सक्दैनन् । कांग्रेसले यही गरेर ठूलो पार्टी बनेको भन्ने नेपालका कम्युनिस्टलाई गतिलो छाप परेको छ । अनि, उस्तै गुटबन्दी, उस्तै कार्यगत भूमिकामा कम्युनिस्ट युवाहरू सक्रिय देखिन्छन् । युद्धको पृष्ठभूमिबाट आएको माओवादी टुक्राटुक्रा भए पनि उसले पनि युवा राजनीतिलाई फरकपन दिन सकेन । स्थापनकालदेखि हालसम्म पुष्पकमल दाहालको मात्र नेतृत्व हावी हुनु यो पार्टीको कांग्रेस प्रवृत्तिकै निरन्तरता हो । अहिले कुनै पनि माओवादीमा युवाको भूमिका प्रबल देखिँदैन । वृद्ध मोहन वैद्य वा पुष्पकमल दाहालकै नेतृत्वले युवा शक्तिलाई क्षीण बनाइरहेको छ ।

वर्तमान राजनीतिक सङ्कटलाई पार्टीहरूका युवापङ्क्तिले झन् जटिल बनाइदिएको छ । केही दिनदेखि कांग्रेसले निरङ्कुश राजनीति गरिरहेको छ । यसलाई कांग्रेस युवा पङ्क्तिले बोलेको छैन । भूकम्पपीडितलाई राहत दिने, पुनर्निर्माण गर्ने विधेयक रोक्न संसद् अवरुद्ध गर्ने पार्टीको निर्णयलाई कांग्रेस युवाले सघाएको देख्दा धिक्कार लाग्छ । सरकार सञ्चालनको जिम्मा पाएको पार्टीलाई एमाले युवा तहबाट गतिलो भूमिका देखिएन । उही चाप्लुसीकै भरमा र आर्थिक उपार्जनमा एमाले युवाहरू सरकारको फाइदा उठाइरहेका छन् । नाकाबन्दीको सङ्कटलाई समाधान गर्न प्रधानमन्त्रीलाई एमाले युवाहरूले कुनै सहयोग गरेनन् । एमाओवादीले त सरकारमा पठाएका मन्त्रीबाटै बद्नामको सामना गर्नुपरेको छ । गृहमन्त्री शक्ति बस्नेतले आफ्नै छोरी, अध्यक्ष पुष्पकमल दाहालका नातिनीहरूलगायतलाई भूकम्पपीडितको नाममा चीन भ्रमणमा पठाएर हिजो कांग्रेसकै कामलाई निरन्तरता दिए । यस्तै प्रकारका कामले कांग्रेस विकृतिलाई कम्युनिस्टहरूले पछ्याएर मुलुकलाई अँध्यारोतर्फ धकेलिदिए । यो अँध्यारोबाट पार पाउन युवापङ्क्तिले फोहोर राजनीतिलाई कहिले सफा गर्ने हुन् कसैले अनुमान गर्न सक्दैन । यो जटिलताका बीच पनि युवापङ्क्तिको जिम्मेवारी महत्त्वपूर्ण रहेको छ । हरेक पार्टीका युवाहरूले जनतालाई केन्द्रबिन्दुमा राखेर भूमिका निर्वाह गर्नुपर्ने वर्तमान सङ्कटको निकास हो ।