सांसद अमरेशद्वारा सेनापतिको ध्यानाकर्षण

सांसद अमरेशद्वारा सेनापतिको ध्यानाकर्षण


नेपाली कांग्रेसका युवा नेता एवम् सांसद अमरेशकुमार सिंहले प्रजातन्त्रको विकासमा नेपाली सेनाको उच्च सहयोग रहेको बताउँदै अहिलेको अवस्थामा सेना होसियार रहनुपर्ने भनी प्रधानसेनापति राजेन्द्र क्षेत्रीसहित केही जनरलहरूको ध्यानाकर्षण गर्नुभएको छ । मंगलबार संसद्को राज्य व्यवस्था समितिको बैठकमा डा. सिंहले त्यसरी सेनाका उच्च अधिकारीहरूको ध्यानाकर्षण गर्नुभएको हो । रक्षा मन्त्रालय र नेपाली सेनाको कामबारे ब्रिफिङ गर्न मंगलबार (मङ्सिर २९ गते) राज्य व्यवस्था समितिको बैठक आयोजना गरिएको थियो ।

रक्षासचिव जयमुकुन्द खनाल, प्रधानसेनापति राजेन्द्र क्षेत्रीसहित केही जनरल तथा सांसदहरू सहभागी रहेको बैठकलाई सम्बोधन गर्दै रक्षामन्त्री भीमबहादुर रावलले गत असोज ३ गते जारी गरिएको संविधान विश्वकै उत्कृष्ट भएको दाबी गरे । सदस्यहरूको प्रश्नको जवाफ दिने क्रममा मन्त्री रावलले राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न हुँदा राष्ट्रिय सेना परिचालन हुनु जायज हुने बताएका थिए । रावलको जवाफ मधेस आन्दोलनलाई शिथिल तुल्याउन सेना परिचालन गरिएकोतर्फ लक्षित थियो । यसरी मधेस आन्दोलन दबाउन सेना परिचालन गर्नु जायज भएको अभिव्यक्ति रक्षामन्त्रीले दिएपछि बैठकका सहभागी सदस्य अमरेशकुमार सिंह क्रूद्ध हुनुभएको थियो ।
Amresh-Kumar
रावलले नेपालको संविधान विश्वमै कहीँ नभएको समावेशी चरित्रको रहेको र सेनासमेत समावेशी भएको बताएपछि क्रूद्ध बनेका अमरेशकुमार सिंहले प्रतिवाद गर्दै भन्नुभयो, ‘मन्त्री भएर यस्ता भ्रमपूर्ण कुरा गर्नु उचित होइन ।’ सिंहले विश्वकै उत्कृष्ट संविधान बनेको भए किन यति चाँडै संशोधन गर्नुपरेको हो भन्ने प्रश्न गर्दै भन्नुभयो, ‘राज्य संयन्त्रका सबै महत्त्वपूर्ण अङ्गमा कम्युनिस्टहरू छन्, राज्यसत्ता पूर्ण रूपले एकपक्षीय छ, इतिहासमा सधँै विवादरहित भूमिका निर्वाह गरेको सेना एकपक्षीय राज्यसत्ताको इसारामा चल्नु उपयुक्त हुँदैन ।’ उहाँको भनाइ थियो, ‘राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, रक्षामन्त्री र सभामुख सबै कम्युनिस्ट मात्र छन् । त्यसैले सेना सचेत हुन आवश्यक छ ।’ भीम रावलको कुरा सुनेर आक्रोशित हुन पुगेका सांसद सिंह प्रधानसेनापतितर्फ हेरेर आफ्नो कुरा राखेपछि बैठककक्षबाट बाहिरिनुभएको थियो ।

ज्ञातव्य छ, यतिबेला राज्य संयन्त्रको सबै महत्त्वपूर्ण अङ्गमा कम्युनिस्टहरू मात्र छन् । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, अधिकांश उपप्रधानमन्त्रीहरू, रक्षामन्त्री, गृहमन्त्री, सामान्य प्रशासनमन्त्री र योजना आयोगका उपाध्यक्ष तथा प्रमुख निर्वाचन आयुक्तजस्ता संवेदनशील एवम् महत्त्वपूर्ण पदीय जिम्मेवारीमा कम्युनिस्टहरू मात्र रहेका छन् । डा. अमरेशकुमार सिंहले यसै विषयमा सेनापतिको ध्यानाकर्षण गराउँदै विवादमा पर्नबाट सचेत हुनुपर्ने धारणा प्रकट गर्नुभएको थियो ।