अनुसन्धानको पखाईमा लामातालको यो रूख

अनुसन्धानको पखाईमा लामातालको यो रूख


– मुक्तिनाथ भुसाल

अर्घाखाँची जिल्लाको जलुगे–४ मा रहेको लामाताल आफैँमा रमणीय स्थान हो । प्युठान र अर्घाखाँचीको सिमानामा बगिरहेको राप्ती नदी, वरिपरिको हरियाली, समथर मिलेको लामातालको बस्ती यहाँको प्रमुख आकर्षणका रूपमा लिन सकिन्छ । लामातालदेखि करिब १५ मिनेटको पैदल यात्रामा पुगिने अलपत्र अवस्थामा रहेको नौमुरे जलविद्युत्, त्यसबाट केही अघि बढेपछि माडी र झिमरुक नदीको संगम साथै ऐरावती मन्दिर त्यस क्षेत्रका गहना मानिन्छन् । लामातालस्थित जिल्लाकै लामो दुई सय २५ मिटर लम्बाइको झोलुङ्गे पुलले अर्घाखाँची र प्युठानलाई जोडेको छ ।
tree 1
राप्तीका माछा, लोकल कुखुरा, पिँडालु, अडहर, मौहा आदि प्रसस्त पाइने लामातालको केन्द्रबिन्दुमा एउटा विशाल बरको रूख रहेको छ । मुलुकभर र अन्यत्र पनि जहाँतहीँ पाइने बरको रूखबारे नजान्ने सायद कोही नहोलान् । तर, लामातालमा रहेको एक बरको रूखलाई अर्घाखाँचीकै गहना ठानिएको छ र सम्भवत: यो रूख नेपालकै अलग विशेषता बोकेको रूखका रूपमा लिन सकिने देखिएको छ ।

उक्त बरको रूखलाई नियालेर हेर्दा त्यसको फेद कुन हो भन्ने नै ठम्याउन सकिन्न । बरका हाँगाहरू जरामा परिणत भई टुप्पोबाट जमिनभित्र गई पुन: दर्जनौँ नयाँ रूखका रूपमा परिणत भएका छन् । स्थानीय हरिबहादुर पुलामी, प्रेमनारायण बेल्वासे, डम्बरसिंह आले र विष्णु मरासिनीसँग उक्त रूख सम्बन्धमा जिज्ञासा राख्दा आफूहरूले यस प्रकारको रूख हालसम्म कतै पनि नदेखेको र कसरी–कहिले उत्पत्ति भयो भन्नेबारे पनि आफूहरू अनभिज्ञ रहेको बताए । यसै सन्दर्भमा सो बरबारे खोजी गर्दै स्थानीय अगुवा महिला बिना आलेसँग जिज्ञासा राख्दा बेलाबखत नचिनेका मानिसहरूले यस बरको फेदमा आई रातभर ठेलीका ठेली किताब पाठ गर्ने गरेका र जरा काट्न दिए पुस्तौँसम्म निर्वाह हुने पैसाको प्रस्ताव आफूहरूलाई आइरहेको खुलासा गरिन् । यसरी शङ्कास्पद रूपले बरको रूखप्रति चासो बढाएकै कारण आफूहरूले पनि जरा त के पातसम्म छुन नदिने र जबर्जस्ती गरे परिणाम राम्रो नहुने जवाफ दिने गरेको स्थानीयवासीले बताए ।

स्थानीय माया ठडराइका अनुसार यस रूखको फेदामा बहुमूल्य चिजहरू भएको कारण बारम्बार अपरिचित मानिसहरू स्थानीयलाई फकाउन आइरहेका हुन सक्छन् । तसर्थ राज्यले यसको संरक्षण र अनुसन्धान कार्यमा ढिलाइ गर्न नहुने उनको सुझाव छ । आफूहरू जीवित रहुन्जेलसम्म र ताकतले भेटेसम्म त यस बरको संरक्षण गरिएला, तर यही कुरा आफ्ना सन्ततीहरूले गर्न नसकेमा एउटा महत्त्वपूर्ण सम्पति राज्यले गुमाउने पिरलोमा आफूहरू परेको पनि उनले थपिन् ।

सन्धिखर्क सदरमुकामबाट यातायातको माध्यमद्वारा हिउँदमा मात्र करिब पाँच घन्टामा पुग्न सकिने लामाताल विकट क्षेत्रका रूपमा लिन सकिन्छ । करिब एक सय ५० घरधुरी बसोबास गरेका स्थानीयहरू शिक्षा, यातायात, सिँचाइ, बिजुली, पक्की पुल र टेलिफोन सेवा आदि सुलभ तवरबाट पाउन नसकेको लुकाइरहनुपर्दैन । जिल्लाका उपल्लो निकायका कर्मचारी आफ्नो कार्यकालमा साथी–सङ्गाती लिएर यहाँ घुम्न पुग्ने गरेका भए पनि त्यसको अनुसन्धान तथा महत्त्व उजागर गरी संरक्षण गर्ने–गराउनेतर्फ बेसरोकार रहने गरेको लामातालवासीको दु:खेसो छ ।