‘संस्थापन’भित्रै सुशील कमजोर, पौडेल अब पछि नहट्ने

‘संस्थापन’भित्रै सुशील कमजोर, पौडेल अब पछि नहट्ने


सुशील कोइराला र रामचन्द्र पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले पार्टीको तेह्रौँ महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने औपचारिक घोषणाको तयारी गरिरहनुहुँदा सुशील कोइरालाको ‘क्याम्प’ भने भावी नेतृत्वको विषयलाई लिएर अलमलमा परेको छ । आफूलाई संस्थापन पक्षको रूपमा चिनाउन चाहने कोइराला ‘क्याम्प’ भावी सभापति कसलाई बनाउने भन्नेबारे विभाजित भएको र महामन्त्री र उपसभापतिजस्ता महत्त्वपूर्ण पदमा धेरैको दाबी रहेकोले अप्ठ्यारोमा परेको हो । सुशील कोइराला सकेसम्म आफैँ सभापति बन्न चाहनुहुन्छ र आफू उम्मेदवार नबन्दा डा. शशांक कोइरालालाई सभापतिको उम्मेदवार बनाउने उहाँको चाहना छ ।

त्यस्तै महामन्त्रीमा महेश आचार्य र सुजाता कोइरालालाई चयन गर्ने कोइरालाको भित्री इच्छा भएको बुझिन्छ । प्रकाशमान सिंहलाई महामन्त्रीमा उम्मेदवार बनाएर सुजाता कोइरालालाई मनोनीत महामन्त्री बनाउने विकल्पलाई पनि कोइरालाले सुरक्षित राख्नुभएको छ । त्यस्तै आफूलाई पुन: सभापति बन्न सहयोग गरेमा रामचन्द्र पौडेललाई उपसभापति बनाउने सोच पनि उहाँले कायम राख्नुभएको छ । तर, हालसम्म कोइरालालाई काँध थाप्दै आउनुभएका रामचन्द्र पौडेल र डा. रामशरण महत अब आफूहरूलाई कोइरालाले साथ दिनुपर्ने सोच बनाएर बस्नुभएको छ । पौडेल यसपटक सभापतिको उम्मेदवार बन्न दृढतापूर्वक अघि सर्नुभएको छ भने डा. महत महामन्त्री या उपसभापतिबाहेक अन्य कुनै जिम्मेवारी स्वीकार गर्ने मानसिकतामा हुनुहुन्न । कोइराला क्याम्पमा उपसभापति या महामन्त्री पदका लागि इच्छुक नेताहरूको सङ्ख्यामा पौने एक दर्जन रहेको छ ।

डा. रामशरण महत र प्रकाशमान सिंहबाहेक कृष्णप्रसाद सिटौला, नरहरि आचार्य, सुजाता कोइराला, डा. शेखर कोइराला, डा. शशांक कोइराला, महेश आचार्य, अर्जुननरसिंह केसी, आनन्दप्रसाद ढुङ्गाना, दिलबहादुर घर्ती, दिलेन्द्रप्रसाद बडु, फर्मुल्ला मन्सुर, पद्मनारायण चौधरीलगायतका दर्जनभन्दा बढी नेताहरूलाई पदाधिकारी बनाउनुपर्ने अवस्था छ, जुन सुशील कोइरालाका निम्ति सर्वाधिक कठिन हुने देखिन्छ । आफ्नो यही कठिनाइलाई सहज तुल्याउन कोइरालाले विधान संशोधन गरी उपसभापति, महामन्त्री र सहमहामन्त्रीको पद सङ्ख्या बढाउने सोच बनाउनुभएको पनि हो । तर, वरिष्ठ नेता शेरबहादुर देउवाको असहमतिका कारण कोइरालाको प्रयास सफल हुन सकेन । देउवा पदाधिकारी सङ्ख्या थप गर्ने पक्षमा हुनुहुन्न ।

यसरी दर्जनभन्दा बढी नेताको व्यवस्थापन कोइरालाका निम्ति कठिनाइ भइरहेको बेला रामचन्द्र पौडेलको पक्षमा बन्दै गरेको दबाबपूर्ण माहौल अर्को चुनौती बन्न पुगेको छ । कोइरालाको साथ–समर्थन नभए पनि रामचन्द्र पौडेल यसपटक सभापतिको उम्मेदवार बन्नुहुने निश्चित छ । पौडेलले आफूलाई समर्थन गर्न कोइरालासँग पटकपटक आग्रह गर्दा उहाँले ‘हतार नभएको’ बताएर पन्छाउने गर्नुभएको छ । गाउँ र क्षेत्रको अधिवेशन सकिएपछि सभापतिको उम्मेदवार तय गर्ने भनाइ कोइरालाको रहेको छ । तर, पौडेल कोइरालाले भनेको समयसम्म पर्खन सक्ने स्थिति र मनस्थितिमा हुनुहुन्न । जतिसक्दो चाँडै उम्मेदवारी घोषणा गर्ने तयारी पौडेलबाट भइरहेको छ । उपसभापति र महामन्त्री बन्ने व्यक्तिहरूको टुङ्गो लागेपछि आफ्नो उम्मेदवारी घोषणा गर्ने योजनामा पौडेल रहनुभएको छ । सुशील कोइरालाले आफूलाई समर्थन गर्ने हुनुभएमा पौडेलले कोइरालाको सल्लाहअनुसार महामन्त्री र उपसभापति तय गर्नुहुने, अन्यथा खुमबहादुर खड्का, डा. रामशरण महत, डा. शेखर कोइराला र अर्जुननरसिंह केसीमध्येबाट उपसभापति र महामन्त्री चयन गर्ने योजनामा रहनुभएको छ ।

वरिष्ठ नेता शेरबहादुर देउवा भने पदाधिकारी पछि तय गर्ने गरी सभापतिमा उम्मेदवारी घोषणा गर्दै हुनुहुन्छ । उम्मेदवार निर्धारणका निम्ति कोइराला पक्षमा देखापरेको अन्योलले देउवालाई लाभ पुर्‍याउने सम्भावना छ । रामचन्द्र पौडेल सभापतिको उम्मेदवार बनेमा देउवासँग तीव्र प्रतिस्पर्धा हुनसक्ने देखिएको छ भने सुशील कोइराला आफैँ उम्मेदवार बन्नुभएमा देउवालाई प्राप्त हुनसक्ने मतको पच्चीस प्रतिशत मत उहाँले ल्याउनुहुने अनुमान र विश्लेषण पार्टीभित्र हुन थालेको छ । यतिबेला सुशील कोइराला अत्यन्त अलोकप्रिय बन्नुभएको छ र विगतमा कोइरालाको समर्थन गर्नेहरूमध्ये अधिकांशले उहाँलाई पुन: सभापतिका लागि रहर नगर्न सुझाव दिएका छन् । तर, कोइरालावरिपरिका केही नेताहरू भने ‘तपाईंबाहेक अरूबाट पार्टी चल्न नसक्ने’ भन्दै सुशीललाई उचाल्दै छन् । यसरी सुशीललाई उकास्नेहरूमा आनन्द ढुङ्गाना, दिलबहादुर घर्ती, दिलेन्द्र बडू र डा. शशांक कोइरालालगायतका छन् । कांग्रेसको सत्ता सुशील कोइरालाको हातबाट अन्यत्र पुगेमा शशांकबाहेक सबैजसोको राजनीतिक भविष्य अनिश्चित हुने ठानिएको छ ।

यस्तो हुनसक्छ सम्भाव्य टिम :–

पौडेल पक्ष : सभापति : रामचन्द्र पौडेल, उपसभापति : खुमबहादुर खड्का, महामन्त्री : डा. शेखर कोइराला/ अर्जुननरसिंह केसी, कोषाध्यक्ष : डा. चन्द्रमोहन यादव, सहमहामन्त्री : गगन थापा/ रामकृष्ण यादव/ फरमुल्लाह मन्सुर

कोइराला पक्ष : सभापति : सुशील कोइराला, उपसभापति : डा. शशांक कोइराला, महामन्त्री : सुजाता कोइराला/ महेश आचार्य, कोषाध्यक्ष : पद्मनारायण चौधरी, सहमहामन्त्री : दिलेन्द्रप्रसाद बडू