२औँ साग कठघरामा :: के भन्छन् सागका स्वर्णधारी

२औँ साग कठघरामा :: के भन्छन् सागका स्वर्णधारी


sag
भूकम्पले थिलथिलो पारेको मुलुक अहिले नाकाबन्दीको चपेटामा परेको छ । उकुसमुकुसको वातावरणमा जनता छटपटाइरहेका छन् । जताततै कोलाहल र निराशा फैलिएको छ । कहीँ–कतै निकासको मार्ग नदेखिँदा राष्ट्र नै मलीन बन्न पुगेको छ । जनताको चुलो बल्न छाडेको छ । कालोबजारी, महँगी र अभावले शिखर छोएको छ । र पनि, सरकार लाजै नमानी प्रत्येक दिन झुटो गफ चुटिरहेको छ । जनतालाई झुक्याएर आफ्नो दुनो सोझ्याइरहेको छ । अहिले सरकारको यो चपेटामा खेलकुद पनि परेको छ । सरकारकै बद्नियतले सातौँ राष्ट्रिय खेलकुदको आयोजनामा पूर्णविराम लागिसकेको छ । त्यस्तै मुलुकको विषम परिस्थितिको बहानामा दुई महिनापछि भारतमा आयोजना हुन गइरहेको १२औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) पनि सरकारको सिकार हुने प्राय: निश्चित भएको छ ।

सन्निकट १२औँ सागको तयारीका लागि विभिन्न खेलको छनोट प्रतियोगिता अहिले धमाधम सम्पन्न भइरहेका छन् । तर, विडम्बना † १२औँ सागमा नेपालको सहभागिताको भने अहिलेसम्म टुङ्गो लाग्न सकेको छैन । १२औँ साग तयारी समितिले २३ खेललाई १२औँ सागमा समावेश गर्ने निर्णय गरे पनि सरकारले उक्त निर्णयप्रति कुनै प्रतिक्रिया जनाएको छैन । यसरी १२औँ सागमा नेपालको सहभागिता अनिश्चित बन्दै गइरहेको अवस्थामा भारतले गरेको नाकाबन्दीविरुद्ध १२औँ सागमा नेपालले सहभागिता दिनुहुँदैन भन्ने आवाज बुलन्द हुन थालेका छन् । यस्तो जटिल परिस्थितिमा १२औँ सागप्रति सरकार जति जिम्मेवार हुनुपथ्र्यो त्यो देखिएको छैन । समस्याले विकराल रूप धारण गर्नुपूर्व सरकारले आफ्नो निर्णय सुनाउनुभन्दा उल्टै कानमा तेल हालेर बस्नु खेलकुद र खेलाडीका लागि दुर्भाग्य सावित भएको छ । सरकारको यो अनदेखी र अनसुनी गर्ने रवैयाले अहिले १२औँ सागमा नेपालको सहभागितामा प्रश्नचिह्न लागेको छ ।

भारतप्रति नेपालीको धारणा हिजो कस्तो थियो, आज कस्तो छ त्यसको चर्चा नगर्दा नै बेस होला । राष्ट्रवादी स्वाभिमानी नेपालीमा भारतले गरेको अघोषित नाकाबन्दी कति असरदार सावित भएको छ त्यो उनीहरूको मानसपटलमा प्रतिबिम्ब भएर बसेको छ । यस्तो अवस्थामा खेलकुद पनि उनीहरूको निशानामा परेको छ । उनीहरूले प्रस्ट रूपमा भन्दै आएका छन्, ‘१२औँ सागमा नेपालले सहभागिता दिनुहुन्न ।’ यो उनीहरूको व्यक्तिगत सोच होला, तर नेपालले शुभारम्भ गरेको दक्षिण एसियाली खेलकुद प्रतियोगितामा (साफ)मा नेपालले यो अवस्थामा सहभागिता जनाउन हुन्छ कि हुँदैन भन्ने मुद्दामा नेपालका चर्चित खेलाडी जसले सागमा स्वर्ण पदक जितेर कीर्तिमान कायम गरेका थिए उनीहरूसँग गरिएको विशेष कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।
baikuntha
वैकुण्ठ मानन्धर :
सर्वप्रथम म के जानकारी गराउन चाहन्छु भने दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साफ) को शुभारम्भ नेपालले गरेको हो । यो प्रतियोगिताको सुरुवात गर्नमा नेपालको ठूलो योगदान छ । त्यसैले नेपालले १२औँ सागमा जसरी भए पनि भाग लिनुपर्छ, त्यो नेपालका लागि अत्यन्तै जरुरी पनि छ । नेपालका लागि ओलम्पिक मानिने सागमा सहभागिता जनाउन पाएन भने त्यो नेपालका लागि ठूलो घाटा हुन्छ । जहाँसम्म भारतले गरेको नाकाबन्दीको कुरा छ त्यो खेलकुदभन्दा अलग्गै विषय हो । यसको प्रभाव खेलकुदमा पर्नुहँुदैन । खेलकुदलाई सधैँ राजनीतिक प्रभावबाट मुक्त राख्नुपर्छ । त्यसको समाधान राजनीतिक दल र सरकारले गर्ने हो । खेलकुदले विश्वभरि शान्ति र सद्भाव कायम गर्दै आपसी भाइचारा र प्रेमलाई प्रगाढ बनाउने भएकाले सागमा नेपालले सहभागिता जनाउनु राम्रो हुन्छ । सागमा सहभागिताले भारतसँग बिग्रिएको सम्बन्धलाई अझ मजबुद गर्न विशेष भूमिका निर्वाह गर्छ । त्यसैले बरु सानो अर्थात् सम्भावित पदक जित्ने खेललाई सहभागी गराएर पनि १२औँ सागमा नेपालले सहभागिता जनाउनुपर्छ । यो रणनीतिले मुलुक र खेलकुद दुवैको कल्याण हुन्छ ।

lok-bahadur-sahi
लोकबहादुर शाही :
नाकाबन्दी र खेलकुदको पृष्ठभूमि नै फरक छ । खेलकुदको दायरा कुनै मुलुकको सिमानाभित्र बाँधिएको हुँदैन । खेलकुद त आपसी सम्बन्ध सुमधुर बनाउँदै विभिन्न धर्म, जात, लिङ्गलाई एकताको सूत्रमा बाँध्ने माध्यम हो । कुनै पनि देशमा राजनीति परिवर्तन भइरहने विषय हो, तर खेलकुदको मूल्य, मान्यता, भाइचारा र अन्तर्राष्ट्रिय सम्बन्ध कहिल्यै पनि परिवर्तन हुँदैन । त्यसैले क्षणिक आवेश, आक्रोस र असहज परिस्थितिलाई माध्यम बनाएर राष्ट्रको गरिमासँग जोडिएको खेलकुद क्षेत्रलाई जोडेर कसैले पनि व्यक्तिगत स्वार्थसिद्ध गर्नेतर्फ लाग्नुहुँदैन । तसर्थ अन्तर्राष्ट्रिय सम्बन्धलाई अझ मजबुद बनाउँदै सानातिना मतभेद, आक्रोश र असहजतालाई थाती राखी खेलकुदको उच्च मूल्याङ्कन गर्दै आगामी दिनमा मित्रराष्ट्र भारतमा आयोजना हुने १२औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा नेपालको सहभागिता अपरिहार्य छ । म एक खेलाडी र पदाधिकारी भएको नाता र विगतको अनुभवलाई आत्मसात् गर्दा नेपालले १२औँ सागमा कुनै पनि मूल्यमा सहभागिता हुनुपर्ने देख्छु । जसले अहिले बिग्रिएको सम्बन्धलाई पुन: सिञ्चित गर्दै गोडमेल र मलजल गर्ने कुरामा म विश्वस्त छु । अर्को कुरा १२औँ साग अहिले नेपालका लागि अवसरसमेत बनेको छ, जसमा नेपालको सहभागिता कोसेढुङ्गा पनि बन्न सक्छ ।
Deepak-Bista-1
दीपक विष्ट :
दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) नेपालका लागि ओलम्पिक प्रतियोगिताजस्तै हो । १२औँ सागमा नेपालको सहभागिता मात्रै नभई अत्यधिक सहभागिता हुनुपर्छ । यसर्थमा कि नेपाली खेलाडीको स्तर मापन गर्ने र पदक जित्न सक्ने एक मात्र प्रतियोगिता साग हो । त्यसैले १२औँ सागमा सहभागिता जनाएरै भारतसँगको सम्बन्धलाई सुमधुर पार्नुपर्छ । नखेलेर होइन कि खेलेरै, सद्भाव बाँडेरै भारतसँगको सम्बन्धलाई अझ मजबुद र फराकिलो पार्नुपर्छ । जहाँसम्म नाकाबन्दीको कुरा छ त्यो नितान्त राजनीतिक मुद्दा हो, यसमा खेलकुदलाई कदापि मिसाउन मिल्दैन । यसको समाधान खुद सरकारले गर्नुपर्छ । खेलकुदलाई मोहरा बनाउन कदापि मिल्दैन । भारत र पाकिस्तानको सम्बन्ध कस्तो छ त्यो सबैलाई थाहा छ । आज त्यही सम्बन्धमा सुधार ल्याउन खेलकुद विशेष माध्यम बनेको छ । अब निकट भविष्यमै भारत र पाकिस्तानबीच क्रिकेटको शृङ्खला हुँदै छ । यो शृङ्खलापछि भारत र पाकिस्तानबीचको आपसी सम्बन्ध सुमधुर हुने विश्वले विश्वास गरेको छ । त्यसैले खेलकुद मात्र त्यस्तो निकाय हो जसले बिग्रिएको सम्बन्धलाई पनि सपार्न र सुधार ल्याउन सक्छ । त्यसर्थ दुवै राष्ट्रबीचको तिक्तता मेटाउन र नेपालले कुनै पनि मूल्यमा १२औँ सागमा सहभागिता जनाउनुपर्छ । नाकाबन्दीको बहाना बनाएर १२औँ सागमा सहभागिता नदिनु नेपालका लागि आत्महत्या गरेझैँ हुनेछ । यसका लागि सरकारले पनि अहम् भूमिका निभाउनुपर्छ ।
deepak-shrestha001
दीपक श्रेष्ठ :
राष्ट्रिय सवालमा कुरा गर्ने हो भने भारतले नाकाबन्दी गरेर नेपाललाई पेल्न खोजेकै हो, नेपालको आन्तरिक कुरामा हस्तक्षेप गर्न खोजेकै हो । यसको समाधान राजनीतिक दल र सरकारले गर्नुपर्छ । जहाँसम्म खेलकुदको कुरा छ, यसको विशिष्टता आफ्नै छ । खेलकुदले तोड्ने नभई जोड्ने र आपसी सम्बन्धलाई सुमधुर पार्ने कार्य गर्छ । अहिले नेपालका सामु यो चुनौती खडा भएको छ । साँचो अर्थमा भन्नुपर्दा १२औँ साग नेपाली खेलाडीका लागि ओलम्पिक खेलजस्तै हो । त्यसैलाई लक्षित गरी खेलाडीले विगत थुप्रै वर्षदेखि प्रशिक्षण गर्दै आएका छन् । तसर्थ १२औँ सागमा सहभागिता नजनाउँदा खेलाडीमा नकारात्मक प्रभाव पर्छ । म एक खेलाडी भएको नाताले सम्पूर्ण देश र परिवारलाई परेको दु:खलाई नजरअन्दाज गर्दै नेपालले १२औँ सागमा सहभागिता जनाउनुपर्छ । अझ साफ गेमको शुभारम्भ नेपालले नै गरेकाले सागको साख बचाउन पनि नेपालले अनिवार्य रूपमा सहभागिता दिनुपर्छ । साग नै नेपाली खेलाडीको स्तरीयता जाँच्ने एक मात्र प्रतियोगिता भएकाले यो सहभागिता खेलाडी र खेलकुदको हितका लागि हुनेछ । त्यसैले मुलुकको विषम परिस्थितिमा पनि सागमा नेपालको सहभागिता आवश्यक छ ।