मधुमेह रोगसँगको सहयात्रा

मधुमेह रोगसँगको सहयात्रा


:: बलराम चौलागाईं ::
Balaram Chaulagai

रगतले हाम्रो शरीरमा विद्यमान चिनी तथा स्टार्चलाई राम्रोसँग लिन नसक्ने अवस्थालाई मधुमेह वा चिनीरोग भन्ने गरिन्छ । यसको अंग्रेजी नाम डाइबेटिज हो । शरीरको भित्री भागमा अवस्थित प्याङ्क्रियाज नाम गरेको ग्रन्थीले इन्सुलिन नामक हरमोन उत्पादन गरी सोहीद्वारा चिनीजन्य पदार्थको उचित व्यवस्थापन हुने गर्दछ । यस पद्धतिमा गडबढी भएर शरीरले ग्लुकोज आवश्यक मात्रामा प्रयोग गर्न नसक्दा सुरुसुरुमा चिनी रगतमा देखा पर्दछ भने कालान्तरमा पिसाबमा समेत पोखिन पुग्दछ । यो एक खतरनाक अवस्था हो । बिरामीले औषधि सेवन गरेमा चिनीको मात्रा कम हुन पनि सक्तछ । मधुमेह एक दीर्घकालीन रोग भएर पनि नसर्ने रोग हो । यो रोगलाई समयमै नियन्त्रणमा राख्न सकिएन भने मुटु, मिर्गाैला, आँखाजस्ता महत्त्वपूर्ण अङ्गमा नराम्रो धक्का पुग्न सक्दछ । मधुमेह अर्थात् चिनीरोगसँगको जीवन यात्रा एक जटिल भएर पनि हामीले होस पुर्‍याएको खण्डमा केही हदसम्म यसलाई व्यवस्थित पार्न सकिन्छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार मधुमेहलाई तीन समूहमा विभाजन गरिएको छ । जस्तो कि डायबिटिज मेलिटस (डीएम), इम्प्यार्ड ग्लुकोज टोलेरेन्स (आईजीटी), जेस्टास्नल डाइबिटिज मेलिटस (जीडीएम) । जनस्वास्थ्यको दृष्टिकोणले डाइबिटिज मेलिटस अग्रपङ्क्तिमा आउँछ । यस अवस्थासम्म आइपुग्दा रगतमा धेरै चिनीको मात्रा देखा पर्दछ र पिसाबमा समेत चिनी देखापर्न पुग्दछ । यी सबै कुराहरू हेर्न प्रयोगशालामा गएर रगत र पिसाब दुवै देखाउनु जरुरी हुन्छ । रगत र पिसाब परीक्षण गर्नु पूर्व चिनी रोग लागेको शङ्का कसरी गर्ने ?

क. घाउ खटिराहरू औषधि खाँदा पनि निको नभएमा
ख. बरोबर छालाहरूको सङ्क्रमण भइरहेमा पनि मलाई कतै मधुमेह रोगले त छोएन भनेर सोच्नुपर्ने हुन्छ ।
मधुमेहका बाहिरी लक्षण र चिह्नहरू : तिर्खा धेरै लाग्नु, पिसाब ज्यादा लाग्नु, जलवियोजन हुनु, तौल घट्नु, पटक–पटक बालतोडजस्ता खटिराहरू आउनुका अतिरिक्त पिसाबको सङ्क्रमण देखापर्नु, दिसा, पिसाब गर्ने ठाउँ वरपर सेतो पानी बग्नु, चिलाउनु, बान्ता हुनु, थकित भएजस्तो भान हुनुु, निद्रा लागेजस्तो हुनु, कमजोरीपनको आभास हुनु, पेट दुख्नु, मूर्छा पर्नु आदि ।

रोग निदान : चिनी रोग हो वा होइन छुट्याउन पिसाब जाँच गर्नुपर्दछ । यसो गर्दा पिसाबमा चिनीको मात्रा भेटिएमा हाइपर ग्लाइसेमिया अर्थात् रगतमा धेरै मात्रामा चिनी रहेको रहेछ भन्ने बुझिन्छ । यसलाई नियन्त्रणमा ल्याउन कम कार्बोहाइड्रेडयुक्त खानाहरू खाने, आवश्यकताअनुसार चिकित्सकको सल्लाहबमोजिम इन्सुलिनको सुई लिने वा खाने औषधिको सेवन गर्नुपर्दछ ।

व्यवस्थापन :
जवान मानिसलाई प्रायजसो इन्सुलिनको सुई नै दिनुपर्ने हुन्छ भने उमेर बढेका मानिसका निमित्त खानामा पहरेज गरेर वा मौखिक रूपमा औषद्यि खुवाएर रगतमा रहेको चिनीलाई नियन्त्रण गर्न सकिन्छ । यसका लागि निम्न उपायहरू अवलम्बन गर्न सकिन्छ ।

तौल ज्यादा छ भने थोरै खाने, (यसो गर्दा रगतमा चिनीको मात्रा घट्न जान्छ ।) धेरै शारीरिक व्यायाम गर्ने, धुमपान र मद्यपान नगर्ने, पैताला छुँदा, चिमोट्दा हुने अनुभवमा परिवर्तन आएको छ भने अनिवार्य रूपमा जुत्ता लगाउने, हाइपोग्लाइसेमिया अर्थात् रगतमा चिनीको मात्रा कम भएमा ज्यादा भोक लाग्ने, पसिना आउने, कम्प छुट्नेजस्ता लक्षणहरू देखिने हुँदा बिरामीले आफ्नो रक्षार्थ चिनी वा बिस्कुट साथै लिएर जानुपर्दछ, युरिस्टिकजस्ता आफैँ पिसाब जाँचेर चिनीको मात्रा थाहा पाउने साधन साथमा राख्ने बानी बसालौँ । थप उपचार र खोजपडतालका लागि प्रेषण प्रणाली लागू गर्ने गरौँ र गर्भवती महिलालाई मधुमेह हुँदा इन्सुलिनको आवश्यकता पर्न सक्ने हुनाले प्रेषण गरेर अस्पताल पठाउनु पर्दछ ।
type 2 diabetes

मधुमेह हुनेहरूको खानपान व्यवस्थापन :
चिनीको मात्रा कम र तेलको मात्रा कम भएका खाद्यपर्दाथहरू सेवन गर्नुपर्छ । उच्च कोटिको खानाका रूपमा धेरै रेसादार गहुँ, मकै, कोदो, फापरजस्ता खाना चिनीका रोगीहरूले खानु राम्रो हुन्छ । धानबाट तयार हुने भात, चिउरा आदिको साटो गहुँ, मकैजस्ता अन्य खानाहरूमा कावर्बोहाइड्ेरटको मात्रा तुलनात्मक रूपमा कम हुने हुँदा त्यसतर्फ ध्यान पुर्‍याउनु उचित हुन्छ । साथै दाल, सागसब्जी, फलफूल खानु बढी लाभदायक मानिन्छ । फलफूलको हकमा केरा, अङ्गुर, आँप आदि जसमा ग्लुकोजको मात्रा बढी हुने हुँदा यिनीहरूको सेवन नगर्दा राम्रो हुन्छ । त्यस्तै आलु, पिँडालु, सखरखण्डजस्ता जमिनमुनि फल्ने खाद्यपदार्थमा पनि चिनीको मात्रा बढी हुने हुँदा यी वस्तुहरूको सेवन नगर्दा राम्रो हुन्छ । दाल–भात खानै नहुने त होइन, परन्तु कोदो, मकै आदिबाट निर्मित ढिँडो, रोटीतर्फ ध्यान दिँदा शरीरमा कार्बोहाइड्रेटको मात्रा केही कम भई रगतमा चिनीको मात्रा कम हुन सक्दछ । हिजोआज चिनीका रोगीहरूले उसिनेको चामलको भात खान हुन्छ भन्ने भ्रम पनि सुन्ने गरिन्छ । तर, धान उसिन्दैमा कार्बोहाइड्ेरड नष्ट हुने होइन । धान उसिन्दा यसमा रहेको ‘बी’ समूहका भिटामिन पानीमा घुल्ने हँुदा चामल फल्दा नोक्सान नहुने भएकाले भिटामिन ‘बी’ समूह प्राप्त गर्ने सवालमा भने फाइदै पुग्दछ । चिनी, केक, बिस्कुटजस्ता कार्बोहाइड्रेड धेरै भएका खाना खाने नगरौँ । प्रत्येक दिन एकै समयमा एकै मात्रामा खाना खाने गरौँ । बढी मात्रामा शारीरिक परिश्रम गर्दा रगतमा चिनीको मात्रा कम हुने हुँदा थप खाना साथमा लैजाऔँ ।

उपचार :
यो उपचार पद्धति लामो र केही जटिल भएकाले चिकित्सकको सल्लाह लिनु जाती हुन्छ । मधुमेहका रोगीलाई झाडापखाला लागेर पुनर्जलीय उपचार गर्नुपरेमा ग्लुकोजरहित नसाबाट दिइने तरल पदार्थ वा अन्य पुनर्जलीय झोल खान दिनु वेश हुन्छ । औलो ग्रसित क्षेत्रमा औलो लागेका चिनीरोगका बिरामीलाई पनि पुनर्जलीय झोल खुवाउँदा ग्लुकोज नपरोस् भनेर ध्यान दिनुपर्छ । मधुमेहविरुद्धको चक्की औषद्यिले थेग्न नसकेमा चिकित्सकको सल्लाहअनुसार इन्सुलिन दिनुपर्छ ।

निम्न अवस्थामा रगतमा चिनीको मात्रा कम हुन सक्दछ :
भर्खर जन्मेका बच्चाहरूमा, कुपोषित अवस्थामा, चिनीरोगको उपचार गराइरहेका व्यक्तिहरूमा, औलोग्रसित बच्चाहरूमा यो अवस्था देखापर्दछ । थोरै खाएर यात्रा गर्नेहरूमा पनि यो समस्या आउन सक्दछ, त्यस्तै धेरै शारीरिक परिश्रम गर्ने, गर्मी ठाउँमा बस्ने, रक्सी खाने, तनावमा रहनेहरूलाई रगतमा चिनीको मात्रा कम हुन सक्दछ । तुरुन्त उपचार नपाएमा बिरामीको देहान्त हुन सक्दछ ।

लक्षण र चिह्नहरू (रगतमा चिनीको मात्रा कम) :
धेरै भोक लाग्नु, कम्प हुनु । रिँगटा लाग्नु, मूर्छा पर्नु, पसिना आउनु, पेट दु:ख्नु, बान्ता हुनु, नवजात शिशुहरूमा मूर्छा पर्नेसमेत हुन्छ ।

उपचार :
नसाबाट वा मुखबाट ग्लुकोजको मात्रा पुर्‍याउनु अनिवार्य हुन्छ ।
रगतमा चिनीको मात्रा बढी हुने अवस्था :
यो अवस्था अनियन्त्रित मधुमेहमा भेटिन्छ । साथै चिनीरोग लागेर सङ्क्रमण भयो भने यो अझ जटिल बन्दछ ।

उपचार : नसामार्फत नर्मल स्लाइनको सुई दिनु, इन्सुलिनको व्यवस्था गर्नु, यो अवस्था गर्भवती र प्रसव अवस्थामा बढी खतरनाक हुने हुँदा त्यसतर्फ ध्यान दिनु उचित हुन्छ ।

मधुमेह र आँखाबीच यस्तो रहेछ सम्बन्ध
मधुमेह रोग र आँखाबीच के सम्बन्ध छ ? सामान्यतया यी दुईबीचको अन्तरसम्बन्ध होला भनी सोच्ने गरेको पाइन्न । तर, स्वास्थ्यप्रति सचेत तप्का मधुमेह र आँखाको दृष्टिबीचको सम्बन्धबारे ज्ञान राख्छन्, राख्ने प्रयत्न गर्छन् । नेपालमा बदलिँदो जीवनशैली र फेरिएको खानपिनका कारण मधुमेहका बिरामी बढेसँगै आँखाका बिरामी पनि बढेको सम्बन्धित चिकित्सकको कथन छ । मधुमेहका रोगीलाई आँखाको समस्या हुने प्रबल सम्भावना रहन्छ । योसँगै आँखाको ज्योति गुमाउनेको सङ्ख्यामा समेत वृद्धि हुन थालेको छ ।

अहिले नेपालमा १० लाख मानिस मधुमेहबाट प्रभावित भएको अनुमान छ । रगतमा अत्यधिक चिनीको मात्रा, उच्च रक्तचाप र चिल्लोको अधिकतम प्रयोग मधुमेहका प्रमुख कारण हुन् । यस्ता रोगीलाई धुम्रपानबाट पनि टाडै बस्न चिकित्सकको सल्लाह छ । चिकित्सकका अनुसार मधुमेहका बिरामीमा दुई गुणा बढी आँखाको समस्या हुने र त्यसको पच्चीसौँ गुणा बढी दृष्टिविहीन हुने खतरा हुन्छ । गर्भवती महिलालाई मधुमेह भएमा शिशुलाई पनि हुने खतरा बढी भएकाले ध्यान राख्न आवश्यक छ । मानिसमा विलासिता बढेसँगै खानपानमा आएको परिवर्तनले नेपालमा कम उमेरका मानिसलाई समेत मधुमेह देखिएको छ, यो चिन्ताजनक विषय हो भन्छन् विज्ञहरू ।

विश्वमा करिब पाँच प्रतिशत अन्धोपन मधुमेहका कारण हुने गर्दछ भने नेपालमा मधुमेहका कारण १३ प्रतिशत अन्धोपन हुने गरेको छ । तसर्थ, मधुमेहका कारण हुने अन्धोपन रोक्नका लागि देशव्यापी कार्यक्रम ल्याउनुपर्ने चिकित्सकहरूको आग्रह छ । आँखामा आन्तरिक असर परे पनि बाहिरी लक्षण नदेखिने र विस्तारै दृष्टि धमिलो भई पछि उपचारबाट पनि दृष्टि फर्काउन नसकिने चिकित्सकको भनाइ छ ।