के राष्ट्रपति जान हुन्नथ्यो ? :: बबिता बस्नेत ::

के राष्ट्रपति जान हुन्नथ्यो ? :: बबिता बस्नेत ::


Babita Basnet 1

नेपालको संविधान २०७२ का अनुसार नेपाल अब धर्मनिरपेक्ष राज्य हो । तर, संविधानमा धर्मनिरपेक्ष भनिए पनि व्यवहारमा भने यो हिन्दूराष्ट्र हो । धर्मनिरपेक्ष राज्यमा गाई राष्ट्रिय जनावर छ, हिन्दू धर्मावलम्बीहरूका लागि यो राम्रै कुरा हो । गाईको पूजा हिन्दूले मात्रै गर्छन् । नेताहरूले खै कस–कसको निर्देशनमा हो मुलुकलाई हिन्दूधर्म राष्ट्रबाट अलग गरेर संविधानमार्फत धर्मनिरपेक्ष राष्ट्र त बनाए, तर संविधान घोषणा गर्ने बेलामा भने स्वस्तिक चिह्नअङ्कित फूलले सजिएका घडाहरू संविधानसभा भवनवरिपरि लाइनै राखियो । जुन शुभसाइतका बेला हिन्दूधर्म परम्परामा मात्रै गरिन्छ । दशैँघर, फूलपाती, कोजाग्रत पूर्णिमाका दिन तलेजु भवानीको दर्शन तथा पूजा अर्चना… कुमारीको पूजा एवम् पाउमा ढोग, भोटो तथा अन्य जात्रा परम्परा… यस्ता धेरै कुरा छन् नेपालमा जसका लागि राष्ट्रप्रमुखको उपस्थिति अनिवार्य मानिन्छ । विगतमा राजाबाट यी सबै प्रकारका धार्मिक सांस्कृतिक मूल्य–मान्यतालाई धान्दै आइएको सन्दर्भमा मुलुकमा गणतन्त्र आएर राजाको स्थान राष्ट्रपतिले लिएपछि पनि यसप्रकारका परम्पराले निरन्तरता पाइनै रहेको अवस्था छ । विभिन्न परम्परा धान्नका लागि हिजो तत्कालीन राष्ट्रपति डा. रामबरण यादव उपत्यकादेखि मधेस, पहाड हुँदै हिमालसम्म पुग्नुभो । अहिले राष्ट्रपतिका रूपमा विद्या भण्डारीले विगतका परम्परालाई निरन्तरता दिन खोजिरहनुभएको छ । विवाह पञ्चमीमा जनकपुरस्थित जानकी मन्दिरमा राष्ट्रपतिको उपस्थिति सोही परम्पराको निरन्तरता हो ।

राष्ट्रपतिका रूपमा यदि उहाँ त्यहाँ नपुग्नुभएको भए हिन्दूधर्म परम्पराको अपमानको रूपमा लिइने थियो । जुन धर्म परम्परालाई सदियौँदेखि यो देशका राष्ट्रप्रमुखहरूले निर्वाह गर्दै आएका थिए । हिजोका दिनमा राजसंस्था थियो, मन्दिर परिसरमा जय जयकार गर्दै राजाको स्वागत गरिन्थ्यो । राजसंस्थाको समाप्तिपछि पूर्वराष्ट्रपति डा. रामबरण यादवलाई पनि राजाकै सरहको त नभनौँ तर राम्रै स्वागत–सत्कार गरियो । तर, अहिले भने उस्तै कार्यका लागि जनकपुर पुग्नुभएकी राष्ट्रपति विद्या भण्डारीलाई विरोधका स्वरले अपमान मात्रै गरिएन पेट्रोल बम नै प्रहार गरियो । उहाँ त्यहाँबाट हिँडेपछि जे–जे भयो त्यसलाई लिएर अहिले अनेक क्रिया–प्रतिक्रियाहरू आइरहेका छन् । सुरुमा राजनीतिक घटनाका रूपमा यसलाई लिइए पनि गंगाजल प्रकरणसम्म पुग्दा यसले सामाजिक र सांस्कृतिक रूप धारण गर्‍यो । यसका कारणहरू के होलान् ? भन्नेतिर लाग्नुभन्दा पनि हाम्रा सोचहरू कस्ता रहेछन् र कसरी अगाडि बढिरहेका छन् ? भन्ने कुराले धेरैको मन खिन्न बनाएको छ । यो घटनालाई लिएर कतिले सारा मधेसी समुदायमाथि हिलो छ्याप्ने काम पनि गरेका छन् तर यो घटना मधेसी समुदायले नभएर केही व्यक्तिले गरेका हुँदा समुदायलाई नै दोषी देख्नु अर्को भूल हुनेछ ।

राजनीतिक दृष्टिकोणबाट हेर्ने हो भने संविधानत: राष्ट्रपति कुनै सक्रिय पद होइन । कुनै राजनीतिक पद पनि होइन । विगत सबैको आ–आफ्नै हुन्छ, हिजो पूर्वराष्ट्रपति डा. यादव नेपाली कांग्रेससँग सम्बद्ध हुनुहुन्थ्यो, तर पदमा रहँदा व्यवहारमा उहाँले कांग्रेसीपन देखाउनुभएन । अहिले राष्ट्रपति भण्डारीले पनि यदि कम्युनिस्टपन देखाउनुहुँदो हो त उहाँ जानकी मन्दिर पुग्नु नै हुने थिएन । पूजाअर्चनाका लागि मन्दिर पुग्नु भनेको उहाँले विगतका आफ्ना आस्था र विश्वासहरूलाई तिलाञ्जली दिएर आफ्नो पदको परम्परा र मर्यादालाई निरन्तरता दिनु हो । उहाँ आफ्नो कर्तव्यप्रति कति गम्भीर हुनुहुन्छ भन्ने कुरा पनि जानकी मन्दिरमा उहाँको उपस्थितिले दर्शाउँछ । जनकपुरको सुरक्षा स्थितिप्रति अनभिज्ञ भएर उहाँ त्यहाँ पुग्नुभएको होइन । वस्तुस्थितिप्रति जानकार हुँदाहुँदै पनि धर्म–परम्पराको सम्मानार्थ उहाँ त्यहाँ पुग्नुभएको हो । जसका लागि सम्बन्धित पक्षले उहाँको उपस्थितिको सम्मान गर्नुपथ्र्यो र मन्दिर व्यवस्थापनबाट त्यो सम्मान उहाँले पाउनु पनि भयो । उहाँले विशेष पूजा गरेर परम्पराअनुरूप आफ्नो कर्तव्य निर्वाह गर्नु भो । राष्ट्रपतिको कर्तव्य निर्वाह गर्न उहाँ त्यहाँ जानैपथ्र्यो । मन्दिर व्यवस्थापनभन्दा बाहिर रहेका केही व्यक्तिले उहाँमाथि प्रहार गरे । वास्तवमा उक्त दिन उहाँमाथि गरिएको प्रहार राष्ट्रपतिमाथि नभएर हिन्दूधर्म–परम्परामाथि गरिएको प्रहार थियो पनि भन्न सकिन्छ । जतिसुकै राजनीतिक रङ दिन खोजे पनि यो राजनीतिक प्रहार भने होइन ।

कतिले यो घटनामा बोलाउँदै नबोलाई राष्ट्रपति त्यहाँ पुग्नुभएको पनि भनेका छन् । सदियौँदेखिको परम्परा धान्ने कुराका लागि न त कुनै पूजारीले निम्ता दिनुपर्छ न त व्यक्तिले न त भगवान्ले नै बोलाउनुपर्छ । भविष्यमा पनि आफ्नो देशका कुनै पनि मठ–मन्दिरको दर्शन र पूजाआजा गर्न यो देशको राष्ट्रप्रमुखलाई कसैको अनुमतिको आवश्यकता छैन । यो त स्वत: गर्नुपर्ने कुरा हो । त्यसमा पनि मधेस जहाँ हिन्दूधर्मप्रति अगाध आस्था छ । यदि यो मुलुकमा कसैले हिन्दूधर्म जोगाएको छ भने त्यो मधेसले जोगाएको छ । पहाडका कुनाकुनामा झैँ तराईमा छ्यापछ्याप्ती चर्चहरू उम्रिन नपाउनु यसको प्रत्यक्ष उदाहरण हो । तर, सोही मधेसमा हिन्दूधर्म–परम्परा निर्वाह गर्दा राष्ट्रप्रमुखमाथि यस्तो व्यवहार होला भनेर कल्पना गरिएको थिएन । फेरि पनि त्यसप्रकारको दुव्र्यवहार मधेसका आमजनताले गरेका होइनन्, मधेसका नाममा राजनीति गर्ने केही उच्छृङ्खल व्यक्तिहरूले गरेका हुन् । जहाँसम्म विधवाको प्रसङ्ग छ, त्यो पनि त्यस्तै समूहले भनेको कुरा हो, आममधेसी समुदायलाई यसमा मुछ्नुपर्ने कारण देखिँदैन । तर, जसले यस्तो गरे या भने ती राज्यका कुनै उत्तरदायी पदमा छन् भने राज्यले तुरुन्तै कारबाही गर्नुपर्छ । यदि छैनन् भने सडकमा मानिसहरू के–के बोल्दै हिँड्छन् त्यसको के लेखाजोखा गर्नु ? भनेर पनि लिन सकिन्छ । मुलुकको अवस्थाले डिप्ेरसनका रोगीहरूको सङ्ख्या बढाइरहेको छ भनेर पनि बुझ्नुपर्ने हुन्छ ।

कतिपयले महिला अधिकारवादीले यत्रो घटनामा पनि किन केही बोलेनन् ? भन्ने प्रश्न उठाएको पनि देखियो । हाम्रा सोचहरू देखेर उदेक लाग्छ, यो देशको राष्ट्रप्रमुखको कुरा महिलाको मात्रै मुद्दा कसरी बन्छ ? यो त सबै नेपाली नागरिकको समान चासोको विषय होइन र ? कुनै पुरुषको उहाँ जति राष्ट्रपति महिलाको पनि उति नै राष्ट्रपति । राष्ट्रको सर्वोच्च पदमा रहेको व्यक्तिलाई कसैले अपमान गर्छ भने त्यो राष्ट्रको अपमान हो, आमनेपालीको अपमान हो, विद्या भण्डारी या कुनै एक महिलाको मात्रै अपमान होइन । यदि कसैले सम्मान गर्छ भने त्यो सम्मान पनि राष्ट्रकै हो न कि महिलाको मात्र सम्मान । त्यसैले कसैमाथि प्रश्न उठाउनुअघि हाम्रा सोचहरू पनि बदलिनु आवश्यक छ । यस प्रकरणले सम्पूर्ण सनातनी धर्मावलम्बीहरूलाई लज्जित तुल्याएको छ ।