प्रशंसाका शब्द यसकारण लिइयो फिर्ता :: देवप्रकाश त्रिपाठी

प्रशंसाका शब्द यसकारण लिइयो फिर्ता :: देवप्रकाश त्रिपाठी


Dev dai

विगतमा केपी शर्मा ओलीको प्रशंसा यति बढी गरिएछ कि अहिले उहाँको आलोचना गर्न सङ्कोच मान्नुपर्ने भयो । धेरै ठूलो आशा राखेको थियो ओलीबाट देशले, अधिकांश जनतामा उहाँबाट केही न केही विशेष योगदान हुने विश्वास थियो । सन्तानमुक्त केपी ओलीले मिर्गाैला प्रत्यारोपणपश्चात् दर्शाउनुभएको व्यवहार र सोचले धेरैलाई प्रभावित गरेको थियो र मलाई पनि । देशका लागि केही योगदान दिन इच्छुक तथा उत्सुक व्यक्तिलाई प्रोत्साहन दिनुपर्छ भन्ने मेरो मान्यता रहिआएको छ, त्यसैले केपीलाई प्रोत्साहित गर्न मैले शब्दहरूमा कहिल्यै कञ्जुस्याइँ गरिनँ । २०६३ को राजनीतिक परिवर्तनपश्चात् प्रजातन्त्र र प्रजातन्त्रवादीहरू निरीह बनेका बेला प्रजातन्त्रका पक्षमा ओलीका वाणी वर्षा हुँदा आमप्रजातन्त्रप्रेमीसरह म पनि राहत महसुस गर्थें र मनमनै उहाँको सफलताको कामना गर्दथेँ । वैचारिक धरातल र पृष्ठभूमि भिन्न भए पनि केपीको वर्णन गरिरहँदा मैले उहाँको नकारात्मक पाटोप्रति सधैँ आँखा चिम्लिरहेँ ।

हरेक मानिस कसैका प्रति धारणा बनाउँदा दुई कुराबाट प्रभावित हुने गर्दछन्, सम्बन्धित व्यक्तिले आफूलाई सहयोग पुर्‍याएका छन् भने कोही पनि मानिस उसका प्रति कृतज्ञ रहन्छ । समाजमा उसको योगदान, भूमिका या छवि नकारात्मक भए पनि आफूलाई सहयोग पुर्‍याएका कारण मानिस सम्बद्ध व्यक्तिप्रति सकारात्मक सोच राख्छन् । दोस्रो, आफ्नो व्यक्तिगत जीवनमा कुनै प्रकारले सहयोगी नरहे तापनि यदि कसैले देशका लागि खास किसिमको योगदान पुर्‍याउँछन् भने त्यस्ता व्यक्तिसँग व्यक्तिगत परिचयसम्म नहुँदा पनि तिनको प्रशंसा गर्न कञ्जुस्याइँ गरिन्न । व्यक्तिगत जीवनमा सहयोगी नरहेको र देशका निम्ति पनि कुनै योगदान नदिएको अवस्थामा भने कोही कसैको प्रशंसक रहन सक्दैन । केपी ओलीबाट मैले मेरो व्यक्तिगत जीवनमा सहयोग पुग्ने अपेक्षा कहिल्यै राखेको थिइनँ, केवल देशलाई योगदान दिन सक्छन् भन्ने विश्वासका आधारमा ओलीप्रति सकारात्मक हुन पुगेका थिएँ । उहाँ प्रधानमन्त्री बन्दै गर्दा एक सचेत नागरिकका रूपमा मैले जानाजान उहाँको प्रशंसा गरेको हुँ । तर, प्रधानमन्त्री बनेपछिका तीन महिनाभित्र केपी ओलीका कार्यव्यवहार प्रशंसायोग्य हुन सकेनन्, त्यसैले विगतमा उहाँकाप्रति खर्च गरिएका शब्दहरूलाई लिएर ममा लज्जाबोध भइरहेको छ ।

राजनीतिमा क्रियाशील कोही पनि व्यक्तिले राज्यको कुनै पदीय जिम्मेवारी प्राप्त नगर्दा उसले आफ्ना धारणा प्रकट गरेर समाजलाई प्रभावित गर्ने हो । तर, त्यही व्यक्तिले पदीय जिम्मेवारी प्राप्त गरिसकेपछि निजको कुरा होइन कामका आधारमा मूल्याङ्कन गर्नुपर्ने हुन्छ । केपी ओली प्रधानमन्त्रीको जिम्मेवारीमा नरहँदा उहाँका कुरा प्रिय लाग्थे र कुरैका आधारमा उहाँको प्रशंसा पनि हुने गर्दथ्यो । तर, प्रधानमन्त्री भइसकेपछि पनि केपी कुराको खेतीमै रम्न थाल्नुभयो, काम देखाएर प्रशंसा प्राप्त गर्ने प्रयास उहाँबाट भएन, त्यसैले विगतमा केपी ओलीका नाममा व्यक्त प्रशंसा र आशाका सुन्दर शब्दहरू उहाँबाट राष्ट्रका निम्ति ठोस योगदान पुग्ने कुनै काम नभएसम्मका लागि फिर्ता लिन म बाध्य भएको छु ।

पञ्चायतविरुद्धको सङ्घर्षमा केपी ओलीले रामै्र योगदान पुर्‍याउनुभएको हो । देशमा सकारात्मक राजनीतिक परिवर्तनका प्रति समर्पित ओलीले चौध वर्ष लामो काराबासको सजाय भोग्नुपरेको सन्दर्भ आफैँमा वर्णनीय छ । २०४२ सालमा नेपाली कांग्रेसले आह्वान गरेको सत्याग्रहमा सहभागी भई मैले पनि गिरफ्तारी दिएको थिएँ र त्यसबेला नौ महिना काराबासमा बिताउनुपरेको थियो । म नख्खु कारागारमा नजरबन्द रहँदा ओली केन्द्रीय कारागारमा बन्दीजीवन बिताउँदै हुनुहुन्थ्यो, त्यसैले जेलमा मेरो भेट हुन सकेन । तर, म काराबासमुक्त भएको केही समयपछि केपी ओली सिकिस्त बिरामी भई टेकुस्थित सरुवा रोग अस्पतालमा भर्ना गरिनुभएको खबर मैले मित्र सर्वोत्तम डङ्गोलमार्फत पाएँ र ओलीका निम्ति दालको रस बोकेर म केही दिन सरुवा रोग अस्पताल धाएँ । मेरो पहिलो भेट उहाँसँग सो अस्पतालमै भएको हो । त्यसयता मैले ओलीलाई सदा सम्मान र प्ेरम गरिरहेँ । करिब दश वर्षअघि मिर्गाैला प्रत्यारोपण भएपछि उहाँका सोच–व्यवहारमा भारी परिवर्तन आएको महसुस मैले गरेको थिएँ । त्यसैले यो दशकमा म उहाँप्रति झनै आशावादी बन्न पुगेको हुँ । प्रधानमन्त्री बनिसकेपछि उहाँप्रतिको मेरो आशा र विश्वासको धरहरा गल्र्यामगुर्लुम ढलेको छ, अब देशलाई थप बर्बाद नगरिदिए हुने थियो भन्ने कामना मात्र मभित्र जीवित रहेको छ ।

केपी ओली असोज ३ गते संविधान जारी हुनुमा आफ्नो मुख्य योगदान रहेको ठान्नुहुन्छ र जारी संविधानप्रति गौरव महसुस गर्नुहुन्छ । संविधान २०६२ मङ्सिरमा भारतको राजधानी नयाँदिल्लीमा सम्पन्न बाह्रबुँदे सम्झौतामा टेकेर बनेको छ । संविधानका अन्तर्वस्तु तर्जुमा गर्न केपीको योगदान रहेको होइन । राष्ट्रियभन्दा अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरूले प्रत्यक्ष–अप्रत्यक्ष रूपमा संविधानको अन्तर्वस्तु निर्धारण गरेका हुन् भन्ने जानकारी हरकोहीलाई छ । सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशितासहितको संविधान बन्नुमा केपी ओलीभन्दा अरूहरूकै योगदान प्रमुख रहेको छ । संविधानको अन्तर्वस्तु निर्धारण गर्ने र त्यसलाई पूर्णता दिने कार्यमा भन्दा त्यसलाई जारी गर्नमा मात्रै केपीको योगदान महत्त्वपूर्ण रहेको हो । यसर्थमा असोज ३ गते जारी गरिएको संविधान बनाउनभन्दा त्यसलाई ‘सो’ मितिमा जारी गर्न मात्र उहाँको खास भूमिका रहेको थियो भन्न सकिन्छ ।

यस्तो संविधान जसले राष्ट्रियता र राष्ट्रिय एकता सबल बनाउनभन्दा कमजोर तुल्याउने चरित्र बोकेको छ, सामाजिक सद्भाव र क्षेत्रीय एकतालाई क्षतविक्षत बनाएको छ । बहुसङ्ख्यक जनताको भावना उपेक्षा गर्दै बनाइएको यो संविधानले प्रजातन्त्र सुदृढीकरण र समृद्धि प्राप्तिको मार्गमा अवरोध पैदा गरेको छ । संविधानमा स्वदेशी तथा विदेशी लगानीलाई निरुत्साहित गर्ने प्रावधानहरू समेटिएका छन्, तर लगानीकर्ताहरूलाई प्रोत्साहित गर्ने कुनै एउटा पनि प्रावधान ‘यो’ संविधान भेटिँदैन । लोकतन्त्र स्थापनामा खास योगदान पुर्‍याउने मित्रराष्ट्रलाई जारी संविधानले असन्तुष्ट बनाएको छ भने राष्ट्रप्रेमी सबैखाले जनसमूहलाई पनि यसले दु:खी तुल्याएको छ । नागरिकता सम्बन्धमा उल्लिखित संवैधानिक प्रावधानले हिमाल, पहाड र तराईको चित्त दुखाएको छ । शान्ति, स्थायित्व र समृद्धिबाहेक बाँकी सबै कुरा दिने यस्तो संविधानप्रति केपी ओली भने गौरव महसुस गर्दै हुनुहुन्छ ।

विगत चार महिनादेखि देश इतिहासमै सर्वाधिक कष्टकर क्षणबाट गुज्रँदै छ, तर केपी ओलीको मुहारमा राष्ट्रको यो पीडा झल्किएन, झल्किएको कहिल्यै देख्न पाइएन । पद प्राप्तिको सफलतामै उहाँ मग्न हुनुहुन्छ । विवाहमण्डपमा दुलाहा प्रस्तुत भएझैँ टेलिभिजनको पर्दामा मन्द मुस्कानका साथ केपी ओली प्रस्तुत हुनुहुँदा उहाँलाई राष्ट्रिय चिन्ताले किञ्चित स्पर्श नगरेको आभास हुन्छ ।

केपीले छिमेकी मित्रराष्ट्र भारतसँग सम्बन्ध सुधार गर्नेभन्दा थप कमजोर र चिसो बनाउने भूमिका निर्वाह गर्नुभएको छ । छरितो, चुस्त, क्रियाशील र कामयावी मन्त्रिमण्डल बनाउनुपर्ने बेलामा उहाँले जस्तो पायो त्यस्तै मनुवाहरूलाई बटुलेर बेढङ्गी एवम् हास्यास्पद र बेकामे मन्त्रिमण्डल गठन गर्नुभएको छ । मन्त्रिमण्डल गठनले केपी ओली देशका लागि केही गर्नभन्दा सरकारको आयु लम्ब्याउन मात्र चाहनुहुन्छ भन्ने स्पष्ट गरेको छ । जो पायो त्यही व्यक्तिलाई सल्लाहकार तथा विज्ञको दर्जा दिएर उहाँले राष्ट्रिय सम्पत्तिको दुरुपयोग मात्र गर्नुभएको छैन, भविष्यमा सल्लाहकार एवम् विज्ञ बन्न चाहने योग्य व्यक्तिहरूलाई समेत निराश र निरुत्साहित तुल्याउनुभएको छ । कालोबजारी र महङ्गीले जनताको दैनिक जीवन कष्टकर बनाएकोप्रति उहाँ बेसरोकारझैँ देखिनुभएको छ । देशमा औद्योगिक एवम् आर्थिक विकास गर्ने वातावरण बनाउन उहाँ असमर्थ रहनुभएको छ । रोजगारी सिर्जनामा उहाँको प्रयास शून्यबराबर रहेको छ । देशमा अपराध मौलाएकोप्रति उहाँले ध्यान पुर्‍याउनुभएको छैन ।

कुनै पनि मुलुकको आर्थिक विकासमा बाधक मानिने ट्रेडयुनियनहरूलाई नियन्त्रण गर्ने कुनै प्रकारको तत्परता उहाँले लिनुभएको छैन । भ्रष्टाचार नियन्त्रण गर्ने रुचि उहाँमा पाइएको छैन । ज्यादा राजनीतीकरणले गाँजेको देशलाई कम्युनिष्टीकरण गर्न उहाँ सहयोगी बन्नुभएको छ र यसले उहाँको ‘प्रजातान्त्रिक’ छविमा क्षति पुर्‍याएको महसुस गरिँदै छ । एउटा यस्तो विषय वा क्षेत्र छैन जसले केपी ओलीप्रति सद्भाव र सम्मान वृद्धि गर्न सकोस् । उहाँका कारण देश पचासौँ वर्ष पछाडि धकेलिने सम्भावना बढाएको छ । समग्रमा केपीको आफ्नै भूमिकाले उहाँलाई नायक भन्नै नमिल्ने अवस्थामा पुर्‍याइदिएको छ । कुरा मीठा र राम्रा गर्दैमा कुनै राजनीतिकर्मी योग्य र समक्ष हुन सक्दैनन् भन्ने दृष्टान्त केपी ओलीले प्रधानमन्त्री बनेपछि स्थापित गर्नुभएको छ, त्यसैले विगतमा उहाँका प्रशंसक रहेकाहरू सबैले यतिबेला लज्जित महसुस गर्नुपरेको छ । अब केपीले राष्ट्रलाई दिनसक्ने जम्मा एउटै मात्र योगदान रहेको छ– त्यो हो पदत्याग । पदत्याग गरेर देशलाई सकारात्मक दिशामा लैजाने मार्गप्रशस्त गरिदिनुभयो भने त्यसैलाई केपी ओलीको सर्वाधिक ठूलो योगदान मानेर हामी सबैले चित्त बुझाउनुपर्ने भएको छ ।