० मधेसी मोर्चासँग वार्ता नगरी तपाईं जिल्ला–जिल्लाको भ्रमणमा व्यस्त हुनुहुन्छ, मुलुकको समस्याले पोल्दैन तपाईंहरूलाई ?
– पोल्छ, किन पोल्दैन ? मुलुक र जनताको समस्याले हामीलाई जति अरूलाई पोल्दैन । जहाँसम्म मोर्चासँगको वार्ता छोडेर हिँडेको भन्ने सवाल छ, म वार्ता छोडेर हिँडेको होइन, बरु सीमाङ्कन नभई हुँदै हुन्न भन्ने उहाँहरूको बालहठबाट आजित भएको बेला जिल्ला–जिल्लाबाट पार्टीका साथीहरूको बोलावट आएकोले हिँडेको हुँ । हाम्रो पार्टीको महाधिवेशन नजिक आइसकेकाले पार्टीको काममा गाउँ–जिल्ला गएको कुरालाई तोडमरोड गरेर बुझ्न जरुरी छैन ।
० देशको समस्या समाधान गर्न तपाईंजस्तो शीर्ष नेता गम्भीर हुनुपर्ने होइन र ?
– म एकदम गम्भीर छु, मैले भनिहालेँ नि ! राजधानीबाहिर हुँदा पनि म आवश्यक पक्षसँग सम्पर्कमै छु । लागिरहेकै छु । तर, मधेसी मोर्चाका साथीहरू सीमाङ्कन नै बटमलाइन भनिरहनुभएको छ, हामीचाहिँ अहिले नै सीमाङ्कन तय गर्ने कार्य अप्ठ्यारो छ, केही महिना पर्खनुपर्छ भनिरहेका छौँ । एउटै कुरामा हठ गरिरहने हो भने त वार्ताको निचोड पनि कसरी निस्कन्छ र खै !
० समावेशी, समानुपातिक र निर्वाचन क्षेत्रबारे पनि तपाईंहरूबीच विवाद छ भनिन्छ, हो ?
– यी सबै मुद्दामा हाम्रो पार्टीको प्रस्ट धारणा बनिसकेको छ । सरकारी पक्षको पनि धारणा बुझेर आन्दोलनकारी पक्षसँग कुरा गर्ने हाम्रो अवधारणा हो । एक त सत्तापक्षको ठोस धारणा आइसकेको छैन भने अर्कोतिर मधेसी मोर्चाका साथीहरू यत्तिले मात्र मानिरहनुभएको पनि छैन ।
० मधेसी मोर्चाका नेताहरूले त अन्तरिम संविधानअनुसारको व्यवस्था हुनुपर्छ भनेका छन्, यसो गर्न तपाईंहरूलाई केको आपत्ति ?
– अन्तरिम संविधानले नै काम चल्ने रहेछ त किन नयाँ संविधान बनाउनुपरेको, त्यसैलाई ‘संविधान’ घोषणा गरिदिएको भए भइहाल्थ्यो नि † यो बेकारको बहानाबाजी मात्र हो । वास्तवमा अन्तरिम संविधानले तमाम जनतालाई जुन हदसम्मको अधिकार दिएको थियो त्योभन्दा पनि ज्यादा अगाडि गइसकेका छौँ हामी ।
० समानुपातिक र समावेशी त मधेसीलाई चाहिएको हो नि काङ्ग्रेस–एमालेहरूलाई हो र ?
– समानुपातिक समावेशी सबैलाई मधेसी, जनजाति, आदिवासी, महिला, दलित, उत्पीडित आदि सबैलाई चाहिएको हो, मधेसीलाई मात्र चाहिएको हो र ? यसैअनुसार संविधानमा व्यवस्था गरिएको छ । यदि यो कुरामा कहीँ–कसैलाई अस्पष्टता छ भने त्यसैलाई प्रस्ट्याउन संविधान संशोधनको प्रस्ताव ल्याइएको हो ।
० के–के परिवर्तन गर्दै हुनुहुन्छ त तपाईंहरू संविधानमा ?
– यो सबै कुरा हामीले मधेसी मोर्चाका नेताहरूलाई भनिदिएका छौँ । उहाँहरूले सातवटा बुँदा अघिसार्नुभएको थियो, ती सबै बुँदाबारे यसरी अघि बढ्ने भनेर उहाँहरूलाई प्रस्ट्याइसकेका छौँ ।
० मोर्चाले त एघार बुँदा अघिसारेको होइन र ?
– त्यो एघार बुँदामाथि पनि छलफल गरी त्यसको सारबुँदाका रूपमा सातबुँदा आएको हो, त्यसलाई यसरी हल गर्ने भनेर प्रस्ट्याइदिएका छौँ । तर, सीमाङ्कन नै पहिला हल हुनुपर्ने उहाँहरूको अडान छ, यसमा अलिक गृहकार्य गर्नुपर्ने भएकाले पहिले अन्य कुरामा सहमति गरेर जाऔँ पछि विज्ञहरूको राय लिएर त्यो पनि हल गर्दा भइहाल्छ भनेका हौँ हामीले । सीमाङ्कन अलिक जटिल विषयकै रूपमा खडा भएको बुझ्दाबुझ्दै अहिले नै आफूले भनेजस्तो भइहाल्नुपर्यो भनेर उहाँहरूले हठ गर्नु स्वाभाविक होइन । यसका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएर त्यसमा विज्ञहरूलाई समेत समावेश गरी छलफल गरेपछि मात्र यसबारे निर्णय लिन सकिन्छ भन्ने हाम्रो बुझाइ हो । जनभावना पनि बुझ्नुपर्छ यस्तो जटिल मुद्दामा, किनकि एकातिर चित्त बुझाउन खोज्दा अर्कोतिर असन्तुष्टि उम्लने अवस्था पनि त आउन दिन भएन नि ।
० यसको मतलब मधेसी मोर्चाले माग गरेबमोजिम सहमत हुन काङ्ग्रेस तयार छैन ?
– तयार छौँ, तर सरोकारवाला सबैसँग छलफल हुनुपर्छ भन्ने हाम्रो धारणामा के खोट छ र ?
० झापा, मोरङ, सुनसरी, कैलाली, कञ्चनपुरलाई कता राख्नुपर्ला त, भन्दिनुहोस् न ?
– ती स्थान जहाँ छन् त्यहीँ राख्ने, कहाँ सार्ने अब ? भूगोल सारेर सर्छ र ? संविधानले जहाँ राखेको छ, अर्को सहमति नबनेसम्म त अहिलेलाई त्यहीँ रहन्छ ।
० दुईवटा गरे पनि झापादेखि कञ्चनपुरसम्म मधेस प्रदेश नै हुनुपर्छ भन्ने धारणा छ नि मधेसवादीहरूको त ?
– यही कुरा मिल्न सकेन र त समस्या तन्किइरहेको छ नि । यसमा कुनै ठोस सहमति भएको भए त कुरै सकिइहाल्थ्यो नि !
० तपाईंहरू लचकदार बनिदिनुपर्यो भन्ने माग पनि छ मधेसी आन्दोलनकारीको ?
– यहाँभन्न्दा कति लच्किने ? सँगै मिलेर जाने भन्दैमा के गर्दन काटेर दिनुपर्ने हो र ? आफूहरू गैरजिम्मेवार रूपमा प्रस्तुत हुने अनि अरूलाई अनेकथरी आरोप लगाएर त समस्या समाधान हुँदैन नि । यसरी अनावश्यक रूपले देश र जनतालाई दु:ख दिन नहुने हो मधेसका साथीहरूले । मधेसका जनतालाई चित्त बुझ्ने गरी संविधानमा व्यवस्था गरिएको छ, तर त्यहाँका केही नेताहरू नबुझेजस्तो, निदाएजस्तो गरिरहनुभएको छ । समस्या त यो न पर्यो !
० किन कन्भिन्स गर्न सकिरहनुभएको छैन तपाईंहरू मधेसी नेताहरूलाई ?
– निदाएकोलाई ब्युँझाउन सकिन्थ्यो, तर निदाएको बहाना गर्नेलाई कसरी ब्युँझाउने ? प्रस्ट कुरा यो हो ।
० काङ्ग्रेसको महाधिवेशन आएको छ, मधेसका जिल्लामा पनि अधिवेशन गर्नुपर्ला, कसरी गर्छ काङ्ग्रेसले ?
– त के फरक पर्छ ? मधेसका जनताले हाम्रो कुरा बुझेका छन् । संविधानले चाहिँदो अधिकार दिएको छ भन्ने मधेसका सचेत जनतालाई राम्रो ज्ञान छ । मधेसका नेताहरूले नसुनेजस्तो, नबुझेजस्तो गर्छन् भने अब हामी जनताबीच जान्छौँ । जनताले कुरा बुझ्छन्, बुझेका पनि छन् । जनतालाई अपिल गर्नुपर्ने भएको छ हामीले अब, नेता भन्नेले कुरा सुनेनन् । नेताले नबुझे पनि त्यहाँका जनताले बुझ्छन् ।
० संविधान संशोधनको प्रस्ताव लैजाँदा पनि मधेसको आवाजको सुनुवाइ गरेन अरे काङ्ग्रेसले, हो ?
– होइन । मधेसका जनताको चाहनाअनुसार गरेका हौँ हामीले । अनावश्यक दोष दिने र हौवा फैलाउने काम मात्र गरिएको हो फजुलमा ।
० काङ्ग्रेसले आफ्नो अगुवाइमा बनाएको संविधान कार्यान्वयन गराउनचाहिँ नसक्ने नै भयो कि कसो हो पौडेलज्यू ?
– कार्यान्वयन भइरहेको छ, कार्यान्वयन हुन्छ । यसमा ढुक्क भए हुन्छ ।
० मधेसी जनता आन्दोलनमा छन्, तपाईं यसो भन्दै हुनुहुन्छ ?
– आन्दोलन केही नेताले गरेका हुन्, खासमा मधेसका जनताले आन्दोलन गरेका होइनन् । केही जोसिला युवाहरूलाई उत्तेजित तुल्याइएको होला, भ्रममा पारिएको होला, तर खासमा आममधेसी जनता आन्दोलनमा छैनन् ।
० काङ्ग्रेसको आगामी तेह्रौँ महाधिवेशनमा तपाईं सभापतिमा उम्मेदवारी दिने तयारी गर्दै हुनुहुन्छ, सभापतिका रूपमा अब तपाईं नै किन आवश्यक छ काङ्ग्रेसलाई ?
– सभापति हुने भन्दा पनि सर्वप्रथम त पार्टीको १३औँ महाधिवेशनलाई कसरी सफल र सार्थक तुल्याउने भन्ने ध्येय मैले बोकेको छु । यसैका लागि देशभरका कार्यकर्ता साथीहरूसँग भेटघाट र छलफल गरिरहेको छु । साथीहरूको चाहना र भावनालाई मैले बुझिरहेको छु र साथीहरूको भावना र चाहना नै मेरो अघि बढ्ने आधार हो । केन्द्रका साथीहरूसँग पनि मेरो राम्रो समन्वय चलिरहेको छ । केन्द्रका साथीहरूसँग अझै सरसल्लाह भएपछि मैले आफ्नो पोजिसन अघिसार्ने योजना बनाएको छु ।
० पार्टीसभापतिसँग सल्लाह नगरीकन तपाईं जिल्लाको भ्रमणमा निस्कनुभएको हो ?
– त्यस्तो होइन, सबै कुरा सल्लाह भएर नै गरिएको छ । सुशीलजीसँग पनि मेरो सल्लाह भइरहेको छ, शेरबहादुरजीसँग पनि छलफल भएको छ । पार्टीका अन्य नेता साथीहरूसँग पनि मैले आफ्नो कुरा राखेको छु । सबैसँग मेरो कुराकानी चलिरहेकै हुन्छ ।
० तपाईंलाई सभापति बनाउन सुशील कोइराला अगाडि आउनुहोला त ?
– मलाई लागिरहेको छ कि अब सभापति कोइराला, वरिष्ठ नेता देउवा सबै नै मलाई सभापति बनाउने अभियानमा सरिक हुने अवस्था आएको छ । समयको माग या काङ्ग्रेसको आवश्यकता नै यही हो भन्ने मेरो धारणा हो ।
० कोइराला त आफैँ उम्मेदवार बन्न भित्रभित्रै तयारी गरिरहनुभएको छ भन्छन् कैयन काङ्ग्रेसजन ?
– मलाई त्यस्तो लाग्दैन । उहाँको स्वास्थ्यले पनि साथ दिइरहेको छैन र अर्को कुरा पहिले नै एकपटकका लागि भनेरै उहाँ सभापति हुनुभएको हो । त्यही भनेर नै हामीले सहयोग गरेका हौँ उहाँलाई । हाम्रै सहयोगमा सभापति हुनुभयो, उहाँ प्रधानमन्त्री पनि बन्नुभयो र दिनुपर्ने सम्मान दिइरहेका छौँ । अब उहाँ सभापतिको उम्मेदवार बन्ने कुरा समयोचित छैन । अब पार्टीलाई समयोचित क्रियाशील तुल्याउन कस्तो नेतृत्व चाहिने हो त्यो बुझेर त्यसकै लागि उहाँले आफ्नो भूमिका निर्वाह गर्नुहुनेछ अबका दिनमा ।
० अब तपाईंलाई समर्थन गर्नुको विकल्प कोइरालासँग छैन भन्न खोज्नुभएको हो ?
– परिस्थिति करिब–करिब त्यतैतिर पुग्दै छ अब ।
० तपाईंले यसो भन्दाभन्दै सुशील कोइराला आफैँ उम्मेदवारका रूपमा अघिसर्नुभयो भने तपाईं के गर्नुहुन्छ ?
– म उम्मेदवार भएँ भने सुशीलजी उम्मेदवार नै बन्नुहुन्न । उहाँ त एकपटकका लागि हुने भन्नुभएको हो, भइहाल्नुभयो । म त साथीहरूको चाहनाअनुसार चल्ने हो । नेपालभरका काङ्ग्रेसका साथीहरूको भावना म बुझिरहेको छु, उहाँहरू अहिलेको अवस्थामा सशक्त र गतिशील नेतृत्वको खोजीमा हुनुहुन्छ । त्यो चाहना पूरा गर्ने क्षमता म राख्दछु ।
० अरू जोसुकै लडे पनि तपाईंचाहिँ ब्याक हुनुहुन्न भनी बुझ्दा हुन्छ त ?
– हो, म त ब्याक हुने कुरै छैन । आमकाङ्ग्रेस साथीहरूको भावना र चाहनाअनुसार चल्नुपर्छ मैले भन्ने ठान्छु म । पार्टीभित्रका अनावश्यक गुट–उपगुट र भागबन्डाको अन्त्य गरी पार्टीलाई समयानुकूल र एकाकार रूपले अघि बढाउन लागिपरेको छु म ।
० कोइराला परिवारको लिगेसीको कुरा पनि आउँछ नि बेलाबेलामा ?
– लिगेसीलाई हामीले नमानेको कहाँ छ र ? भारतमा गान्धी–नेहरू परिवारको लिगेसी चल्दै आए पनि त्यहाँ लालबहादुर शास्त्रीदेखि मनमोहन सिंहसम्म पार्टी सभापति बनेकै हुन् । यहीँ पनि बीपीले गिरिजाप्रसादलाई कार्यकारी घोषणा नगरेर किसुनजीलाई सुम्पिनुभएको होइन र ? लिगेसीको नाममा समयको धारविपरीत त कहाँ हुन्छ र ? समयको मागअनुसार नचल्ने पार्टी अघि बढ्न गाह्रो हुन्छ भन्ने पनि त मनन गर्नुपर्छ नि । हाम्रोजस्तो मुलुकमा विरासतको राजनीति नचल्ने होइन, तर हरदम यस्तै अवस्था रहिरहन्छ भन्ने हुँदैन । पार्टीमा ऐतिहासिक योगदान भएका परिवारका सदस्यहरूको कुनै न कुनै किसिमको भूमिका र महत्त्व त यसै पनि रहिरहन्छ नै, यसलाई त हामी कहाँ इन्कार गरिरहेका छौँ र ?
० तपाईं कोइराला परिवारसँग कत्तिको निकट ठान्नुहुन्छ आफूलाई ?
– म त सबैसँग निकट नै छु भने कोइराला परिवारसँग त झन् निकट नहुने कुरै भएन नि । महत्त्वपूर्ण नेताहरू सबैसँग म निकट छु । आमकार्यकर्ता साथीहरूसँग पनि म हरदम निकट छु ।
० पार्टीमा यतिबेला उत्पन्न क्रियाशील सदस्यताको विवादचाहिँ कहाँ पुगेर अन्त्य होला नि ?
– विवाद समाधानका लागि समिति बनेको छ, समितिले त्यो सक्दो चाँडो हल गर्छ । चित्त नबुझेका साथीहरूको चित्त बुझाउनैपर्छ ।
० प्रधानमन्त्रीले मन्त्रालय फुटाएर मन्त्रिमण्डल विस्तार गरेको सन्दर्भलाई काङ्ग्रेसले कसरी लिएको छ ?
– पहिले ६–६ जनालाई उपप्रधानमन्त्री बनाउँदा पनि मैले विरोध गरेको हुँ । मेरो बुझाइमा त यत्रो मन्त्रिमण्डलको बोझ थेग्न हम्मे–हम्मे नै पर्छ होला वर्तमान सरकार या प्रधानमन्त्रीलाई । हामीले त यसरी अनावश्यक मन्त्री थुपार्नेतिर भन्दा जनताले भोगिरहेका दु:ख–कष्ट समाधान गर्नेतिर लाग, आपूर्ति व्यवस्था सहज बनाउने, महँगी नियन्त्रण गर्नेतिर लाग, भूकम्पपीडितलाई कष्टबाट उतार्नेतिर लाग, नाकाबन्दी खुलाउनेतिर लाग भनेर सरकारसँग आग्रह गरिरहेका छौँ । यसरी मन्त्रिमण्डललाई जम्बो तुल्याएको विषय कसलाई मन परेको होला र ?
० तपाईं सरकार परिवर्तनको पक्षमा हुनुुहुन्छ कि हुनुहुन्न ?
– हामी अहिले त्यतातिर सोचिरहेका छैनौँ । तर, सरकार आफ्नै कारणले आफैँ कमजोर बनिरहेको देख्छु म । सरकार आफ्नो कमजोरीले आफैँ जान्छ भने हामीले आक्रमण गर्नुपर्ने, यसलाई ढाल्न मिहिनेत गर्नुपर्ने अवस्था नै छैन ।
प्रतिक्रिया