गान्धीको देश भनेर चिनिने कि गोड्सेको ?

गान्धीको देश भनेर चिनिने कि गोड्सेको ?


Tribhun chandra wagle

:: त्रिभुवनचन्द्र वाग्ले ::

नेपालका तत्कालीन प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालासँगको भेटमा चीनका महान् नेता माओत्सेतुङले भन्नुभएको थियो, ‘नेपालले चीनसँग राम्रो सम्बन्ध राखोस्, तर भारतसँग विशेष सम्बन्ध राख्नु नेपालको बाध्यता हो ।’ नेपाल–भारतबीचको सम्बन्धलाई केही घटना, पात्र वा प्रवृत्तिसँग दाँजेर मात्र हेरियो भने गहिराइमा पुग्न सकिँदैन । भारतलाई नेपालीले लगाउने अक्सर आरोप हो, उसले नेपालको शासनमा हस्तक्षेप गर्छ र शासकमा प्रभाव राख्दछ । यो आरोपमा केही सत्यता देख्न सकिन्छ, तर अमूर्त र अपरिभाषित आरोप हो यो ।

०७ मा नेपालमा प्रजातन्त्र स्थापना गर्दा भारतले गरेको सहयोगलाई राणाजीहरूले नेपालमाथिको हस्तक्षेप देखे । काङ्ग्रेसले प्रजातन्त्रका लागि भारतले गरेको समर्थन देख्यो । भारतकै सहयोगमा राजा महेन्द्रले संसदीय व्यवस्थाको अन्त्य गर्दै निरङ्कुश पञ्चायती व्यवस्था लागू गरे । यहाँ पनि कसैले भारतको हस्तक्षेप देखे त कसैले भारतको नैतिक समर्थन । ०४६ मा सर्वोच्च नेता गणेशमानजीको चाक्सीबारीस्थित निवासमा जनआन्दोलको तयारीस्वरूप काङ्ग्रेसले आयोजना गरेको राष्ट्रिय भेलामा एक भारतीय विद्यार्थीले ‘तपाईंहरू काठमाडौंमा आन्दोलन गर्नुहोस्, आवश्यक परे हामी दिल्लीबाट मार्चपास गरेर काठमाडौं आउनेछौँ’ भन्नुहुँदा सभामा ठूलो करतल ध्वनि त्यो भनाइको स्वगत गरियो । यो पङ्क्तिकारले यसरी थपडी बजाएको थियो कि उसले आफ्नो हत्केला दुखेको थाहै पाएन ।

सभाबाहिर पञ्चहरू यस्ता भनाइलाई सार्वभौम नेपालको राष्ट्रियतामाथिको प्रहार भनिरहेका थिए । दिल्लीमा भएको १२ बुँदे सहमतिलाई संसदीय फाँटका काङ्ग्रेस, एमाले तथा उनीहरूको गठबन्धनमा सहमत र सशस्त्र द्वन्द्वको पक्षधर एमाओवादीले उचित भनेका थिए भने राजा र अन्य राजावादी शक्तिले नेपालको आन्तरिक मामिलामा विदेशी गुहार्नु वा विदेशीले लिएको चासोलाई अस्वाभाविक र गैरकूटनीतिक भनेका थिए । यस्ता सयौँ उदाहरण पाइन्छन् जो आफूलाई उपयुक्त भए भारतको सहयोग, नैतिक समर्थन भन्ने नभए हस्तक्षेपको आरोप लगाउने । मधेस आन्दोलनको सन्दर्भमा पनि कतिपयले भारतले नेपालमा गरेको हस्तक्षेप भनिरहेका छन् भने कतिपयले मधेसीको अधिकार प्राप्तिमा भारतले दर्शाएको ऐक्यबद्धता भनिरहेका छन् । नेपाल र भारतको सन्दर्भमा सहयोग र हस्तक्षेप त्यसैले अपरिभाषित मनगढन्त र मनोगत बुझाई भएका छन् ।

भारत नेपालको विकास साझेदार मात्र होइन, विकासको सरोकारवाला पनि हो । हामीले नेपालभित्र गर्ने कतिपय विकास निर्माणले भारतको वातावरणीय सुरक्षामा प्रतिकूल असर पर्न सक्छ त्यसको संवेदनशीलता नेपालले बुुझ्नैपर्छ । यसैगरी भारतका खासगरी नेपालसँगको सीमावर्ती क्षेत्रमा बनाइएका भौतिक संरचनाहरूले नेपालका कतिपय क्षेत्र डुब्न पुगेका छन् । यसमा भारतले ध्यान दिनैपर्छ । उसको भौतिक विकासले नेपाली पीडित हुनुहुँदैन । नेपालको विकासमा भारतको अतुलनीय योगदान छ । यस्ता सहयोगलाई बुँदागत गर्न सम्भव छैन तर कति सहयोग र कति हस्तक्षेप हो भन्ने बुझ्नुपर्छ । नेपाल र भारतबीच यतिविधि अन्तरघुलन र आपसी बाध्यात्मक सम्बन्ध रहेका छन् जसलाई दुवै देशका शासकले मात्र चाहेर फेर्न सकिँदैन ।

भारतलाई विरोध गरेपछि राष्ट्रवादी भइन्छ भन्ने मनोविज्ञान नेपाली सत्तापक्षमा मात्र होइन सत्तापक्ष बाहिर रहेकामा पनि छ । भारतीयहरूमा पनि एउटा बिरामी विचार छ कि नेपाली भारतविरोधी छन् । यी दुवै पूर्ण सत्य होइन । यदि नेपाली भारतविरोधी भएका छन् भने पनि यसको कारण भारतीयले नै खोज्न सक्छन् । भारतले गर्ने सहयोग, सहयोगका तरिका वा सहयोगका सन्दर्भ मिलेका छैनन् कि ? यसमा भारतले ध्यान दिनैपर्छ । अर्को सत्य के हो भने जो नजिक छ उसैसँगको सम्बन्ध र गुनासा पनि विशेष प्रकारका हुन्छन् । नेपालीले आफूलाई सहयोग गर्ने भारतका बारेमा गुनासो गर्ने, तर चिन्दै नचिनेको बोलिभियाबारे नो गेन नो पेन भनेर बस्नु विश्वव्यापी चरित्र हो । भारतले धन दिए पनि नेपालीको मन जित्न किन सकेन ? तुलनात्मक रूपमा किन कम नेपालीले चीनको भूमिकामा गुनासो गर्छन् । यसका दुई कारणमध्ये एउटा स्पष्ट छ, चीन नेपालसँग दैनिकीमा कम जोडिन्छ । अर्को विशेष कारणा छ त्यो भारतले नै समीक्षा गर्नुपर्छ ।

जहाँसम्म मधेसको आन्दोलन र भारतको भूमिका छ । नेपालमा जातीय राज्य चाहिन्छ भनेर भारतले कहिल्यै भनेको थिएन, छैन । प्रत्येक जातीय कार्यक्रममा गएर जातीय राज्य, आत्मनिर्णयको अधिकार, क्षेत्रीय उत्पीडनको कुरा कसले गरेको हो ? माओवादी मारकाटमा जनताको समर्थन नरहेपछि काठमाडौं (मूलधार) आई माओवादीले जनता आकर्षण गर्न जातीय र क्षेत्रीय नारा दिएको हो । दाहाल एन्ड भट्टराई कम्पनीले ‘मधेसमा काठमाडौंले आन्तरिक उपनिवेश चलायो’ भन्दा राष्ट्रिय एकताको बास्ना आउने यही कुरा ठाकुर वा यादवले भन्दा विखण्डनको गन्ध आउने ? यस्तै चिम्टी चिन्तनले पनि नेपाल भारतको सम्बन्धलाई ‘माछा देखे भित्र हात भ्यागुता देखे बाहिर हात’ बनाएको हो । पृथ्वीनारायण शाह र भानुभक्तको सालिक पनि भारत वा भारतीयले भत्काएका थिएनन् । द्वन्द्वको उन्मादमा नेपाली भाषालाई खस र राजाको भाषा भनेर यसको विरोध भारतले होइन आफूलाई नेपाली भन्नेहरूले नै गरेका हुन् । भारतले त नेपाली भाषालाई आफ्नो संविधानको अनुसूचीमा राखेर सम्मानै गरेको छ । भारतभित्र बसेर आन्दोलन र द्वन्द्व गर्दा भक्तिरसमा भारतको गीत गाउने आफू अनुकूल नभए वीररसको अलाप गर्नेहरूले नेपाल भारतबीचको सम्बन्ध मात्र बिगारेका छैनन्, हाम्रो राष्ट्रियता कमजोर छ भन्ने बालमनोविज्ञानको व्यापार गरिरहेका छन् । चोरीऔँलाले देखाउँदा फर्सी कुहिन्छ भन्ने कमजोर बुझाइजत्तिकै हाम्रो राष्ट्रियता कमजोर छैन ।

म चाहन्छुु, मेरा दुई सन्तानले भारतलाई गान्धीको देश भनेर चिनुन्, गोड्सेको होइन । त्यसका लागि भारतीय नेता तथा जनताले नेपालीको मन जित्नुपर्छ । भारतले गान्धीको देश हुनका लागि नेपालसँग मात्र होइन, उसका सबै छिमेकीसँगको सम्बन्धलाई विशेष विनयशील बनाउनुपर्छ । मधेस आन्दोलनका क्रममा नाकामा भएको अवरोधलाई भारतका कतिपय सभासद्, नेता, बुद्धिजीवी, पत्रकार र सर्वसाधारणले भारतकै कमजोरी भनेकाले भारतले नेपालीलाई होइन त्यसो भन्ने आफ्ना जनताको चित्त बुझाए पुग्छ । भारतले आफूलाई आकारमा मात्र होइन, आत्मीयतामा पनि ठूलो र असल देखाउन सक्नुपर्छ । नेपालको संविधान र मधेस आन्दोलनबारे भारतको अडान स्पष्ट भएको छैन । सङ्केतअनुसार ‘नेपालले भारतलाई केही विषयमा दिएको विश्वास पूरा गरेको छैन ।’ १२ बुँदे वा संसद् पुनस्र्थापनामा भारतको समन्वय वा सहयोग थियो भने त्यो सहमतिको अर्को पक्ष (मानौँ राजा हुन सक्छ) लाई पनि भारतले केही विश्वास दिएको हुनसक्छ । त्यो पक्षबारे पनि भारतले आफ्नो भूमिका निर्वाह गरेको हो भने अब नेपाली जनतालाई भारतले स्पष्ट गरिदिनुपर्छ । यदि त्यो हो भने हाल भारतलाई लाग्दै आएको आरोपमा नेपालीले पुनर्विचार गर्नेछन् ।

धर्मनिरपेक्षता वा जनताका अहम् सरोकार जनमतसङ्ग्रहबाट टुङ्ग्याउने वा हिन्दूधर्मबारे नेताहरूले भारतलाई केही विश्वास र वचन दिएका थिए भने पनि यसबारेमा भारतले नेपाली जनतालाई स्पष्ट गरिदिनुपर्छ । यद्यपि यी सवाल नेपालीले नै छिनोफानो गर्ने हो, तर नेताले हिजो भारतसँग निउरीमुन्टीवादमा यस्ता विषयमा चुकेका हुन् भने आज त यसमा भारतले आफ्नो भूमिका खोज्छ नै । दुई–दिनअघिसम्म नेपालको सन्दर्भमा प्रजातन्त्र र राजतन्त्र दुईखम्मे नीति अवलम्बन गर्छौं भन्ने भारतले दुई दिनमै संसद्को पुनस्र्थापना र केही समयपछि त्यही संसद्ले राजतन्त्रको अन्त्य गरेको सन्दर्भमा आफ्नो रिजर्भेसन राखेको छ भने पनि अब नेपाली जनतालाई स्पष्ट गरिदिनुपर्छ । अहिले नेपाली शासक र भारत दुवैतर्फबाट गुमराहमा पारिएका छन् । त्यसपछि भारत र नेपालको जनस्तरको सम्बन्ध राम्रो मात्र हुने छैन, ताकपरे तिवारी नत्र गोतामे चरित्रका नेपाली नेताको पनि पहिचान हुनेछ ।