पद ओगट्ने मात्रै मेरो ध्येय होइन

पद ओगट्ने मात्रै मेरो ध्येय होइन


Dipak Gautam

:: दीपक गौतम (अनेरास्ववियुको अध्यक्षका प्रत्यासी) ::

एमाले विद्यार्थी सङ्गठन अनेरास्ववियुको २२औँ राष्ट्रिय महाधिवेशन माघको २७–२९ मा काठमाडौंमा हुँदै छ । एमालेका २२ वटा भ्रातृ सङ्गठनमध्ये आन्तरिक र बाह्य क्षेत्रबाट सबभन्दा बढी शक्ति प्रयोग हुने सङ्गठन हो, अनेरास्ववियु । उक्त सङ्गठनको अध्यक्ष पदमा माधव नेपाल पक्षधरले लगातार दुई कार्यकाल थोरै मतका साथ पराजय भोगेको पीडालाई यसपटक दीपक गौतमलाई अगाडि सार्दै मल्हम लगाउन खोजेको छ । ओली गुटबाट ऐन महर र नवीना लामामध्ये कसलाई अध्यक्षको उम्मेदवार बनाउने भन्ने टुङ्गो लागिसकेको छैन । तर, माधव गुटले भने दीपक गौतमलाई अगाडि सार्दै देशव्यापी अभियान सुरु गरिसकेको छ । देशका विभिन्न जिल्ला, क्याम्पस र विश्वविद्यालय कमिटीहरूमा चलिरहेका अधिवेशनमध्ये अहिलेसम्म माधव पक्ष ९० प्रतिशत स्थानमा अगाडि रहेको दाबी गरिन्छ । ओली गुटभित्रको आन्तरिक विवाद विद्यार्थीको महाधिवेशनसम्म प्रकट भएको देखिँदै छ । त्यसमाथि अध्यक्ष पदको दाबी गर्ने नवीना लामालाई ओली गुटले नपत्याउँदा उनको उम्मेदवारी नै अहिलेसम्म टुहुरो अवस्थामा रहेको सम्बद्ध विद्यार्थीहरू बताउँदैछन् । यदि नवीना ओली गुटबाट अध्यक्षको उम्मेदवार भइन् भने अखिलमा रोचक भिडन्त हुन्छ, काभ्रेलीका बीचमा । माधव पक्षले अध्यक्षको उम्मेदवार बनाएका दीपक गौतम पनि काभ्रे जिल्लाका बासिन्दा हुन् । अनेरास्ववियुमा दीपकले विद्यालय प्रा.क.देखि क्याम्पस, जिल्ला कमिटी हुँदै केन्द्रीय कमिटीका तल्लो पददेखि नै काम गर्दै अहिले उपाध्यक्ष छन् । यसअघि उनी कोषाध्यक्ष थिए । ओली गुटले नवीनालाई उम्मेदवार बनाएको अवस्थामा दीपकको विजय ९५ प्रतिशत सुनिश्चित रहेको चर्चा एमालेवृत्तमा छ । यदि उक्त गुटले ऐन महरलाई टिकट दिएमा ६०–४० को स्थिति रहने र ६० को भागीदार माधव गुट हुने आँकलन गरिएको छ । अनेरास्ववियुको अध्यक्ष पदका प्रत्यासी तथा हालका उपाध्यक्ष दीपक गौतमसँग गरिएको कुराकानी प्रस्तुत गरिएको छ ।

० अनेरास्ववियुको २२औँ राष्ट्रिय महाधिवेशनको तयारी कस्तो चल्दै छ ?
– परिश्रमी र प्राज्ञिक जनशक्तिको विकास राष्ट्र निर्माणको आधार, सुढृढ र प्रभावकारी विद्यार्थी आन्दोलन अनेरास्ववियुको सरोकार भन्ने नारासहित माघको २७ देखि २९ गतेसम्म अनेरास्ववियुको २२औँ राष्ट्रिय महाधिवेशन हुँदै छ । त्यसका लागि सङ्गठनले विभिन्न समिति र उपसमिति बनाएर तयारीलाई अघि बढाइरहेको छ । मूल आयोजक समितिको जिम्मेवारी मेरो काँधमा छ । हामीले विभिन्न लेभलमा बैठक र प्रशिक्षण तथा भेलामार्फत छलफल गरिरहेका छौँ । उपसमितिको निर्माण गरिरहेका छौँ । सिङ्गो सङ्गठन एकढिक्का भएर २२औँ महाधिवेशनलाई सभ्य र भव्य रूपमा सम्पन्न गर्ने तयारीमा जुटिरहेका छौँ ।

० अघिल्लो महाधिवेशन तीन ठाउँमा कुद्यो, अन्तिममा बल्खुमा मतगणना गर्नु भो, यसपालि पनि त्यस्तै त होला नि तयारी ?
– अघिल्लो सम्मेलन र अहिलेको सम्मेलनलाई सबै अर्थमा एउटै भाँडोमा हालेर हेर्न मिल्दैन । यसबीचमा बागमतीमा धेरै पानी बगिसकेको छ, हामीले त्यसलाई पनि ख्याल गर्नुपर्छ । त्यो प्राविधिक त्रुटि थियो, हामीले पाठ सिकेका छौँ । यसपालिको महाधिवेशन सबै अर्थमा ऐतिहासिक हुनेछ ।

० सबै अर्थमा ऐतिहासिक हुन्छ भन्नुभयो ? त्यो भनेको के हो नि ?
– हामीले २२औँ महाधिवेशनलाई धेरै कारणले ऐतिहासिक भनेका छौँ, पहिलो कुरा भनेको नयाँ संविधान जारी भएर मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापित भएको छ, यसको मूल मर्मलाई पनि आत्मसात् गर्नुपर्नेछ । अर्काे कुरा भनेको सङ्गठनको कार्यदिशा हो । हामीले २२औँ महाधिवेशनलाई नयाँ इतिहासको आरम्भस्थलका रूपमा अघि बढाउने प्रयास गरिरहेका छौँ । यसले नीति र नेतृत्व दुवैमा नयाँ अध्यायको सूत्रपात गर्नेछ । जो आफैँमा स्वर्णिम इतिहासका रूपमा दर्ज हुनेछ ।

० नीति त त्यस्तै हो, नेतृत्वमा चाहिँ राम्रै रस्साकस्सी होला जस्तो छ, होइन ?
– त्यस्तो हुँदै होइन, मूल कुरा भनेको नीति नै हो । नीतिबिनाको नेतृत्व त हिटलरजस्तै हुन्छ नि । हामी त माक्र्सवादी, लेलिनवादी सिद्धान्त र जबजको आलोकमा प्रशिक्षित मान्छे हौँ । सिद्धान्तबाट विचलित हुने भन्ने त सवालै आउँदैन । फेरि कोरा सिद्धान्तको कुरा गरेर मात्रै पनि हुन्न । त्यसलाई व्यवहारमा पनि ढाल्नुपर्छ । कुराचाहिँ चिल्ला र सैद्धान्तिक गर्ने अनि व्यवहारचाहिँ भिन्नखाले गरियो भने पनि त्यसले उपलब्धि दिँदैन । हामीले बोकेको विद्यार्थी आन्दोलनको झन्डा र त्यसका प्रकाशमा अघि बढाउनुपर्ने एजेन्डाहरू र नेतृत्वको सवाल एकैपटक हल गर्ने प्रयास यसपालिको महाधिवेशनमा हुँदै छ ।

० भनेपछि अध्यक्ष बन्ने दौडमा हुनुहुन्छ ?
– अध्यक्ष बन्ने दौडमा मात्रै नभन्नुस्, विद्यार्थी आन्दोलनको झन्डालाई बोक्ने मूल अभियन्ता बन्ने अभियानमा पनि भन्नुस् । म अध्यक्षको पद ओगट्न मात्रै मैदानमा उत्रिएको होइन । अखिल आन्दोलनको इतिहास जोगाउन र त्यसकै जगमा नयाँ इतिहास कोर्न पनि अघि सरेको हुँ ।

० एजेन्डा के–के छन् त ?
– विद्यार्थी आन्दोलनको इतिहास जोगाउने र नयाँ भविष्य निर्माण गर्ने योजना छन् । त्यसका लागि मैले १५ सूत्रीय अवधारणा नै अघि सारेको छु । जसलाई मैले अखिल आन्दोलन जोगाउने मूल मन्त्र भन्ने गरेको छु । अनेरास्ववियु नै विद्यार्थी आन्दोलनको पर्याय भएकाले पनि अखिल आन्दोलन जोगाउनु भनेको समग्र विद्यार्थी आन्दोलन जोगाउनु हो भन्ने मेरो मान्यता हो । अखिललाई पढालु, सिर्जनशील, देशभक्त र सामाजिक न्याय र प्राज्ञिक उन्नयनका पक्षधरहरूको सङ्गठनका रूपमा स्थापित गराउने लक्ष्य छ । स्ववियु निर्वाचन, समेस्टर प्रणाली, नमुना शैक्षिक संस्था निर्माण, विद्यार्थीको सिर्जनशीलता प्रस्फुटित गराउने योजना, अन्तर्राष्ट्रिय विद्यार्थी सङ्गठनहरूसँँग सम्बन्ध बढाउने, शैक्षिक योग्यताको प्रमाणपत्र राखेर सहुलियत ब्याजदरमा ऋण लिने व्यवस्था कार्यान्वयन गराउनेलगायतका एजेन्डा बोकेर मैदानमा होमिएको छु ।

० जितका आधारचाहिँ के–के हुन् नि ?
– विद्यार्थी आन्दोलनमा मैले खेलेको भूमिका र भविष्यमा गर्न सक्ने थप योगदान मेरा जित्ने आधार हुन् । म स्कुलदेखि विद्यार्थी आन्दोलनमा लागेको छु । शैक्षिक परिवर्तन, प्राज्ञिक उन्नयन र सामाजिक न्यायसहितको समतामूलक समाज र स्वाधीन राष्ट्रका पक्षमा निरन्तर सङ्घर्ष गर्दै आएको छु । देशभरका सहकर्मीले नेतृत्व लिनका लागि दबाब दिइरहनुभएको छ । म सच्चा मन लिएर अनेरास्ववियुको लालझन्डाको फस्र्ट म्यान लिडरसिप लिन अघि सरेको हुँ । अखिल आन्दोलन जोगाउन, राष्ट्रियताको जगेर्ना गर्ने तथा प्राज्ञिक उन्नयनसहित सामाजिक न्याय स्थापित गर्नेबाहेक मेरो अन्य कुनै उद्देश्य छैनन् । जो खुल्ला हृदयका साथ केही गर्ने अठोटसहित मैदानमा उत्रन्छ उसको विजय सुनिश्चित हुन्छ ।