विश्वमा महिलाहरुका समस्या ज्यूँका त्यूँ

विश्वमा महिलाहरुका समस्या ज्यूँका त्यूँ


-सानुबाबा प्रसाई
अन्तर्राष्ट्रिय नारी दिवस मनाउँदै आएको एक शताब्दी बितिसकेको छ । सन् २०११, ८ मार्चमा एकसय एक अन्तर्राष्ट्रिय महिला बर्ष पनि औपचारिकतामा नै सीमित भएर सिद्धियो । जति दिवसहरु मनाउँदै आएता पनि आधा आकाश ढाकेका महिलाहरुको अवस्थामा कुनै सुधार आएको छैन । सयौं अन्तर्राष्ट्रिय महिला दिवस मनाउँदै आएता पनि जिम्मेवार समूहले के कति प्रगति हासिल गर्न सकियो त्यस्तो ठोस् विश्लेषण गर्न नसकेर पनि महिला दिवस र महिलाका अधिकारहरुमा खास सुधार देखिएको छैन । नेतृत्व तहमा अगाडि देखिएका दुई चारजना औंलाले गन्न सकिने मात्र महिलाहरुको नाम सुन्न सकिएको छ । तर उनीहरुले पनि जिम्मेवारीका साथ महिला हित र अधिकारका कुरा कार्यान्वयन् गराउन सकेका छैनन् । दोस्रो विश्य युद्धपछि विश्वभरमा महिला अधिकारको कुरा व्यापक हुँदै आयो । विश्वका कैयौं राष्ट्रहरुमा राष्ट्रप्रमुख, सरकार प्रमुख, परराष्ट्र मन्त्री तथा सामाजिक क्षेत्रमा कैयौ महिलाहरुले नेतृत्व गर्न पाएकाछन् । इजरायलमा गोल्डामाएर प्रधानमन्त्री, भारतमा इन्दिरा गान्धी प्रधानमन्त्री र अहिले राष्ट्रपतिमा प्रतिमा पाटेल, श्रीलंकामा बंदरा नाइके प्रधानमन्त्री, कुमारातुङ्गा चन्द्रिका प्रधानमन्त्री र राष्ट्रपति, बेलायतमा मार्गरेट थ्याचर, बंगलादेशमा जिया खाँलिदा वेगम, शेख हसिना वेगम, प्रधानमन्त्री तथा राष्ट्रपति, पाकिस्थानमा बेनजिर भुट्टो प्रधानमन्त्रीलगायत विश्वका देशहरुमा कैयौं महिला नेतृहरु प्राप्त गरेता पनि महिलामाथि परिआएका र आउने विषयमा खास उपलब्धिमूलक काम गर्न सकेको देखिएन । बेलायतमा भिक्टोरिया महारानीको लामो शासनकालमा र इलिजावेथ प्रथम र द्वितीयाको समयमा पनि महिलाहरुको उत्थानमा खास उपलब्धि भएन ।

विश्वका राष्ट्रहरुमा महिलाहरुको समस्या लगभग समान छन् । इतिहासको लामो कालखण्डदेखि नै समाजमा महिलाको स्थिति पुरुषको भन्दा कमजोर तथा निम्न अवस्थामा रहँदै आएकोछ । अर्धविकसित मुलुकमा मात्र नभई विकसित मुलुकमा पनि महिला माथिको विभेद यथावतै छ । संसारका कैयौ देशहरुमा नागरिकहरुको ठूलो जिम्मेवारी रहन्छ । राज्य सबै नागरिकको साझा हो । राष्ट्र निर्माणमा लैङ्गकिपक्षप्रति त्यत्ति नै सम्वेदनशील हुनुपर्दछ । जुन देशमा महिला पिछडिएका, अश्ािक्षित, कानूनी रुपमा असमान, रुढीवादी परम्पराको शिकार भएका छन्, त्यो देशले कहिले पनि बिकास गर्न सक्तैन । एउटा घरमा महिलाको ठूलो जिम्मेवारी रहन्छ । आमा गतिली, शिक्षित छन् भने त्यो घर स्वर्ग हुन्छ । मनुले पनि भनेका छन्- ‘यत्र रमन्ते नारी तत्र रमन्ते देवता’ जहाँ नारीहरु खुशी रहन्छन् त्यो घरमा देवताको बास हुन्छ । जर्ज हरवटले भनेका थिए- ‘एउटा अशल आमा सय गुरुभन्दा बेस हुन्छिन् ।’ नेपोलियनले भनेका थिए-‘मलाई अशल आमा देऊ म तिमीलाई असल राष्ट्र दिनेछु । जुन हातले कोक्रो हल्लाउँछ त्यही हातले शासन गर्छ ।’ यसबाट महिलाको कति जिम्मेवारी रहेछ भन्ने बुझिन्छ ।

लोग्ने मान्छे र स्वास्नी मान्छे यी दुबैको प्रयासमा मानवजातिको सृष्टि भएको छ । तर यी दुबै जातको बीचमा समन्वय हुन नसकेर मानव सभ्यता नै अपाङ्ग बनेको छ । स्वास्नी मान्छे र लोग्ने मान्छेको बीचमा रहेको प्राकृतिक भेद त छँदैछ । प्रकृतिबाटै अन्तर भएको तथ्यलाई सम्मान गरेर दुबै पक्षको जिम्मेवारीलाई यकीन गर्न सकेको हुनुपर्दछ । महिलाहरुले जिम्मेवारी पाएमा कहिले पनि पडाडि पर्दैनन् । जस्तोसुकै अप्ठयारोमा पनि आफ्नो उत्तरदायित्व वहन गर्न सक्छन् । संयुक्त राष्ट्र संघको स्थापना हुनुभन्दा अगाडि पनि महिलाहरुको शसक्त भूमिका थियो भन्ने कुरा अल्जिेरियाको क्रान्तिमा स्वतन्त्रताको लागि महिलाहरुले वम बोकेर ठूलो भूमिका निभाएका थिए । झाँसीकी महारानीले अन्तिमकालसम्म आफ्नो देशको लागि वलिदान दिएकी थिईन् । त्यस्तै नेपालको नालापानीको लडाइमा महिलाहरुले आफ्ना छोराछोरी बोकेर भने पनि आफ्नो देश बचाउन अंग्रेजलाई लखेट्न पछाडि परेनन् ।

महिला र पुरुष बीचको भेद हिन्दू समाजभन्दा पश्चिमी मुलुक र मुशलमानहरुमा बढ्ता ब्याप्त छ । केही दशक अगाडिसम्मदेखि मात्र फ्रान्सका महिलाहरुले राष्ट्रिय निर्वाचनहरुमा मतदान गर्ने स्वतन्त्रता प्राप्त गरेका थिए । त्यही क्रमबाट विश्वका कतिपय ठाउँमा महिला खुल्ला समाजमा आँखा खोल्न पाएका थिए । महिलाहरुलाई राज्यका विभिन्न अंगमा सरिक गराइने परिपाटी कायम भएमा यसले समाजलाई अत्यन्त सकारात्मक बनाउँदछ । एउटा उदाहरणको रुपमा म आफै कृषि विकास वैंक त्रिपुरेश्वर शाखाको महिला युनिटमा मेनेजर भएर ४ बर्ष काम गर्दा महिला वैंकबाट एउटा पनि त्रृटि र समस्याहरु प्राप्त भएनन् । त्यस्तै नयाँ बानेश्वरमा मैले तीन बर्ष मेनेजर भएर पुरुष कर्मचारीहरुसाथ काम गर्दा कैयौ समस्या र पीडा भोग्नु पर्‍यो भने महिलाहरुको नेतृत्व र सहभागिता कति कृयात्मक र सिर्जनात्मक बन्नसक्छ भन्ने कुरा अनुभवले बताउँछ ।

सभ्याताको विकास क्रममा मुशलमान महिलालाई पुरुष समाजबाट पृथक राखिएको छ । मुशलमान समाजमा महिलाहरु पुरुषका दासको रुपमा व्यवहार गर्ने गरिन्छ । मुश्लिम महिला डा. तहसिला नसरिनका प्रकाशित विचार हेर्दा पनि थाहा हुन्छ कि मुश्लिम महिलालाई पुरुष समाजले खेलौनास्वरुप प्रयोग गरेको छ । मुश्लिम समाजमा महिलाहरुमा आर्थिक रुपमा सम्पन्न केही महिलाहरुबाहेक अन्य स्वतन्त्र छैनन् र स्वतन्त्र हुनको लागि खास बाटाहरु तयार गर्न खोजिएको अवस्था पनि छैन । उदाहरणको रुपमा सन् १९९५ मा चीनको राजधानी बेइजिङमा सम्पन्न अन्तर्राष्ट्रिय महिला सम्मेलनमा मुश्लिम महिलाहरुले बुर्का लगाएर मार्चपास्ट गरेका थिए । यसले के देखाउँछ भने आफ्नो पहिचान कायम राख्ने क्रममा मुश्लिम महिलालाई पर्दाभित्र राखेर महिलाप्रतिको विभेद थाहा हुन्छ । तर हिन्दू समाजमा महिलालाई त्यस्ता छेकथुन नभएता पनि पितृप्रधान मुलुक भएकाले महिला समाजलाई कुण्ठित पारिएका धेरै उदाहरण पेश गर्न सकिन्छ । हिन्दू समाजभित्र प्रचलित छुवाछुत प्रथाले गर्दा दलित तथा अछुत महिलाको अवस्था अरु नाजुक छ ।

महिलाप्रति नराम्रो व्यवहार गर्ने खराव आचरण भएको पुरुषलाई हदैसम्मको कारवाही गर्न नसक्ने कानूनी व्यवस्था नभएकाले पनि महिलालाई डरको भावनाले ग्रसित गराएको हुन्छ । यो डरबाट स्वास्नी मान्छेहरुलाई मुक्त नगराउञ्जेलसम्म महिला हकहितको कुरा व्यर्थ हुन्छ । कडा सजाय पाइन्छ भन्ने डरले शक्तिसम्पन्न महिलालाई बिगार्ने आँट पुरुषहरुमा हुँदैन । तर कमजोर र गरीबीबाट ग्रसित महिलालाई जहाँसम्म पुरुषबाट तडपाउने, शोषण गर्ने र हत्या गर्नेसम्म कार्य भएको हामी सुन्छौं । २०६७ फाल्गुण १९ गते गोर्खापत्रमा एक समाचार प्रकाशित भएको छ- सुन्सरीका सशस्त्र प्रहरीका जागिरे २८ बर्षीय उमेश पौडेलले कान्छी श्रीमती ल्याएपछि तीन बर्षीया छोरीसहित जेठी श्रमिती हत्या गरेका थिए । त्यस्तै फाल्गुण २० गतेकै गारखापत्रमा प्रकाशित छ-‘वर्दियामा श्रीमानले मादक पदार्थ पिउन श्रीमतीसँग पैसा माग्दा पैसा नदिएको निहुँमा भकभक्की उम्लिएको तातो चिया तीन बच्चाकी आमा, चिया पसल चलाएर बसेकी लक्ष्मी गुरुङलाई खन्याइदिएका थिए । ‘राज्य कडा भई नदिएकाले यस्ता अपराधहरु दैनिकरुपमा विश्वभरका महिलाहरुले भोग्दै आएका छन् । विश्व महिला समाजको हितार्थ कडा कानूनी व्यवस्था हुनसकेमा यस्ता जघन्य अपराधहरु बिकसित भएर आउने नै छैनन् ।

राज्यमा कानून तथा आचार संहिता बनाउने पुरुषहरु नै अगुवा हुने हुँदा महिलाका समस्या बुझ्न पुरुषहरु अक्षम भएको वा नचाहेको स्पष्ट हुन्छ । बलात्कृत महिलाबाट जन्मिएको बच्चाको न्वाँरान गर्दा श्रीमान नै चाहिन्छ । यस विषयमा राज्य स्पष्ट छैन । हालै सर्वोच्च अदालतले गरेको फैसलाबाट बलात्कृत महिलाबाट जन्मिएका छोराछोरीले आमाको नामको नागरिकताबाटै नागरिकताको प्रमाणपत्र प्राप्त गर्ने भएका छन् भन्ने कुराले त्यस्ता महिलालाई केही राहात मिलेको छ । तर विदेशीसँग वैवाहिक बाँधेका महिलाको नागरिकता प्राप्त गर्ने सवालमा राज्यले सम्वेदनशील हुनसक्नु पर्ने कुरा त्यत्तिकै छ । नेपालको सन्दर्भमा अहिलेसम्म राज्यले कडा कानूनी व्यवस्था लागु नगरेकाले महिला र पुरुष बीचका समस्याहरुमा सुधार हुन सकेको छैन । महिला समाज सँधै तिरस्कृत हुनुपर्ने एउटा दुर्भाग्य यस्तो छ । कुनै आर्थिक रुपमा सम्पन्न लोग्ने मान्छे छ भने जति नै बुढो वा बिमारी भएता पनि पैसाको लोभले त्यस्तासँग बिवाह गर्ने वाध्यताको कारणले महिला समाजले आत्मनिर्भर हुनसक्ने तथ्यलाई मनोवैज्ञानिकरुपमा प्रभाव पारिरहेको हुन्छ । यस्ता रोगहरुबाट कसरी महिजा समाजलाई मुक्त गराउने ?

महिलालाई छोरासरह अंश दिने जुन मुद्धा उठाइएको छ त्यो राम्रो कुरा हो । तर नेपाल भारत र चीन जस्ता ठूला देशको बीचमा अवस्थित भएकाले छिमेकी देशका पुरुषसँग विवाहवारी भएपछि अंशको मुद्धाले विकराल रुप लिनसक्छ । दाइजो नपाउँदा कतिपय ठाउँमा महिलाले तड्पिएर अपाङ्ग भएर मर्नु परेको छ । कतिपय ठाउँमा घरपरिवारले नै घर निकाला गर्ने, मटि्टतेल खनाएर जिउँदै जलाउने कुकृत्य भएका छन् । यस्ता जघन्य अपराधहरुमा पीडित पक्षले न्याय पाएका विरलै घटना पाएउका छन् । झन् हचुवाका भरमा छोरासरह छोरीलाई अंश दिने अनिवार्यता भएमा आर्थिक अवस्था कमजोर भएका परिबारको अवस्था कस्तो होला ? ताप्लेजुङ्गदेखि दार्चुलासम्म भारतसँग सिमाना जोडिएका र अन्य जिल्लाहरुबाट भारतसँग नेपाली चेलीहरुको वैवाहिक सम्वन्ध कायम रहेको हुन्छ । अंशको कुरामा भारतीय ज्वाँइ, संम्धि, सम्धिनीहरु बुहारीको अंश प्राप्त गर्न धम्की दिने र केही नलागे अदालतमा मुद्धा हाल्ने पुग्छन् । यसबाट सीधै माइतीप्रति कुण्ठा बढ्न जान्छ । त्यसैले कुनै कुरा राम्रोको लागि भएता पनि छोरीलाई छोरासरह अंश दिने कुरामा राज्य सम्वेदनशील हुनसक्नु पर्छ । त्यस बिषयमा राज्यले नै महिलालाई सहुलियतकासाथ आफ्नो खुट्टामा उभिनसक्ने बनाउनेतर्फ उन्मसक्त हुनुपर्दछ । पढेलेखेका, सरकारी तथा गैरसरकारी काममा कार्यरत वा राजनीतिककर्मी महिलेहरले पनि आफै मात्र सुविधा उपभोग गर्ने बाटो छोडेर समस्त महिला समाजको हितमा समर्पित हुन आफ्नो क्षमता देखाउन सक्नुपर्दछ । अन्तर्राष्ट्रिय महिला दिवस औपचारिकतामा मात्र सीमित नभएर यसले महिला र पुरुषहरुको बीचमा तादात्म्यता कायम गरेर हरेक राष्ट्रहरुका सरकारी तवरबाट नै महिलामाथि परेका र पर्न जाने समस्याहरुबाट मानव समाजलाई उन्मुक्त गर्न सक्नुपर्दछ ।
Author can be reached at :[email protected]