‘राष्ट्रवाद’को आवरणमा खुलेआम कालोधन्दा

‘राष्ट्रवाद’को आवरणमा खुलेआम कालोधन्दा


:: स्वयम्भूनाथ कार्की ::
SN Karki
अघोषित नाकाबन्दीको अलापयुक्त कैयौँ टेराबाइट इन्टरनेटमा प्रवाहित भएको छ । यसैको चर्चामा हजारौँ घन्टा टेलिभिजनका विभिन्न कार्यक्रमले स्थान लिइसकेका छन् । रेडियोमा अन्य सामग्रीभन्दा धेरै समय यसै विषयले ठाउँ पाइरहेको छ । अनेकौँ सरकारी बुद्धिजीवी यसै विषयमा भ्याइनभ्याई गोष्ठी, अन्तक्र्रिया, अन्तर्संवाद आदि गर्न व्यस्त छन् । लाखौँ टन अखबारका पाना यसै विषयले रङ्गिएका छन् । युवाहरू विभिन्न माध्यममा सभ्यताको सीमासमेत नाघेर गालीको अभियान चलाइरहेका छन् । तर, यी सबैको परिणाम शून्यसरह भएको छ ।

वर्तमान नेपाल यस्तो भइसकेको छ कि भेटघाट हुँदा सोधिने सन्चो–सुविस्ताको औपचारिक वार्तालापको साटो नाकाबन्दीलाई गाली गर्नुपर्छ, नत्र अराष्ट्रवादी ठानिने खतरा छ । नाकाबन्दीलाई गाली गर्नु जनताको निमित्त राष्ट्रप्रेम प्रदर्शन गर्ने तरिका भएको छ भने कैयनका निम्ति कमाउने सुवर्ण मौका । खुलमखुल्ला रूपले कार्डबोर्डको साइनबोर्ड टाँगेरै कालोबजारी भइरहेको छ । भारतीय सुरक्षाकर्मीलाई नेपाली नम्बरप्लेटका सवारीसाधनबाट अतिरिक्त कमाई गर्ने बाटो भएको छ । नेपालमा त सात पुस्तालाई पुग्ने गरेर कमाउने होडमा अनेकौँ छन् । तिनीहरूको सम्बन्ध कहाँ छ भन्ने कुरा स्थानीय सबैलाई थाहा छ ।

नाकाबन्दीको कारणले भित्रिएका मालबाहक कन्टेनर, ट्याङ्कर, बुलेटहरूको लस्करले ‘मलाया रोड’ घन्टौँ भीड भएर अगम्य भइरहेको हुन्छ । केही नाकाबाहेक यो करिबकरिब सबै नाकाको हालत हो । तर, त्यसबाट भित्रेको सामान वैधानिक वितरण प्रणालीमा आएको देखिँदैन । त्यो मात्रामा आएको इन्धन आदि खैत भनेर सोध्नेले भारतीय दलालको विशेषण पाउँछ । तर, त्यही अलिकति अतिरिक्त मूल्य तिरेर लैजाने र लगानीको दोब्बरमा जनतालाई उपलब्ध गराउनेचाहिँ ठूलो ‘राष्ट्रवादी’ र समाजसेवी कहलिन्छ ।

आधा सिलिन्डर ग्यासमा वैधानिक तरिकाले नै कत्तिको चलखेल हुन्छ त्यो जनताले नबुझेको होइन । तेलको खेलमा कति र कुन–कुन दलका होनहार युवा नेता–कार्यकर्ताले आर्थिक उन्नति गर्दै छन् भन्ने कुरा पनि छिमेकमै रहनेहरूले नदेखेका होइनन् । तर, विवशता छ, यो कुरा बोल्नेबित्तिकै ‘भारतीय दलाल’को संज्ञा पाइन्छ । थानकोटबाहिर पनि नेपाल छ र ? भन्ने काठमाण्डुको पुरानो मानसिकता फेरि उत्कर्षमा आएको अनुभूति त्यसबेला हुन्छ जब काँकडभिट्टा, जोगबनी आदि नाकाबाट छिरेका सैकडाँै ट्याङ्कर सीधै पश्चिम लाग्छन् । यस्तो किन भनेर सोध्यो भने जवाफ पाइन्छ– काठमाडांैको निमित्त गएको ।

अब ती ट्याङ्कर काठमाडौं पुगेर आयल निगमको भण्डारण ट्याङ्क भर्छन् कि जनसेवा गर्ने ती नवराष्ट्रवादीका ड्रम र जर्किन ? यो प्रश्नको जवाफ काठमाडौंले खोज्नुपर्छ यदि उसले थानकोटबाहिर पनि नेपाल छ भनेर मान्छ भने । ‘टेम्प्रेचर भेरिएसन’को नाममा हुने सूक्ष्म खेलसम्मको अनुसन्धान गरेर जनसमक्ष ल्याउने ल्याकत भएको नेपालको सञ्चार जगत् अक्षम छैन । ऊ कति भित्रियो र कति वैधानिक वितरण प्रणालीमा प्रवाहित भयो भन्ने तथ्याङ्क निकाल्न सक्छ । तर, लाग्छ सञ्चार जगत् पनि डराएको छ, यस्ता कुरा खाजी गर्दा कतै उसलाई पनि भारतीय दलाल भएको आरोप नलागोस् ।

सीमा नाकामा भारततर्फ कैयाँै किलोमिटर लामो मालबाहकहरूको लाम लाग्दा पनि किन नाकाबन्दीको रटान गरिएको छ ? जब कि पहिलेका नाकाबन्दीहरूमा नाका सुनसान हुने गर्दथे । भण्डारण क्षमता नै पूर्ण भइसक्दा पनि किन वैधानिक वितरण प्रणालीमा मालवस्तु प्रवाहित भइरहेको छैन र यो सोध्ने वातावरण बिगारिएको छ । यी यस्ता प्रश्नहरू हुन् जसले शङ्का उत्पन्न गर्छन् । उपलब्ध साधन–स्रोतको व्यवस्थापन गरेर जनतालाई केही मात्रामा भए पनि त्राण दिनुको साटो किन सबैको ध्यान अर्कोतर्फ मोडिन खोजिँदै छ भन्ने कुरा अब प्रत्येक नेपालीले सोच्नुपर्ने बेला भएको छ यदि उसमा नेपाली मुटु छ भने ।

राष्ट्रप्रेमी नेपाली मुटु कुनै पनि अन्य देशको सामुन्ने घुँडा टेक्न मान्दैन । त्यसैले त संविधानको कुरामा भारतले दबाब दियो अरे भन्ने सुन्नेबित्तिकै आफ्नो असहमति बिर्सेर यो कुराको विरोधमा खडा भयो । संविधानका उपलब्धि भनेका कुराहरूसँगै विमति राख्ने कमल थापा, चित्रबहादुर केसीहरू आफ्नो विमति बिर्सेर यसको रक्षार्थ लागे । तर, नेपालीको यो राष्ट्रप्रेमी मुटु कालोबजारी प्रवद्र्धन गर्न प्रयोग गरिनुहुँदैन थियो भन्ने भुल्नु दुभाग्यपूर्ण हो । यसको मोल ढिलो–छिटो चुकाउनैपर्छ र त्यो मोल के हुन सक्छ अनुमान गरेर सुध्रिनु आवश्यक छ । होहोरेमा कुदेर कैयाँै टेराबाइट इन्टरनेटमा कराउने युवाले पनि अर्को पाटो के हुनसक्छ त्यो सोच्नुपर्छ ।

राष्ट्रियता भनेको होहोरेमा कुद्नु होइन, वर्ष दिनमा एक दिन केही घन्टा अभियान चलाउनु पनि होइन । राष्ट्रियता भनेको त बाह्रै महिना, सातै दिन र चौबीसै घन्टा मुटुमा राख्ने कुरा हो । यसो भन्दा वा यसो गर्दा मेरो राष्ट्रियतामा शङ्का गरिएला भनेर डराउनुपर्ने कुरा छैन । बरु राष्ट्रियताको नाममा कसैले आफूलाई प्रयोग गरिरहेको छ कि भनेर चनाखो हुनुपर्छ । किनभने राष्ट्रवाद कसैको विरोध होइन, यो त आफ्नो राष्ट्रको पक्ष लिनु हो । त्यसैले जो आफ्नो राष्ट्रलाई हानि गर्दै छ त्योसँग को–को सङ्घर्ष कसैको स्थायी विरोध होइन । नाकाबन्दीलाई ‘पशुपतिको जात्रा, सिद्राको व्यापार’ बनाएर राष्ट्रवादी पनि होइने, कमाउन पनि पाइने प्रवृत्तिको विरोध गरिनुपर्छ । भारतको विरोध वा समर्थन होइन, उसले हैकम चलाउन खोजेकोमा विरोध त गर्नैपर्छ, तर कुरा बुझेर ।