चाहियो ‘भोलि’ देख्ने नेता :: वीरेन्द्रमणि पौडेल ::

चाहियो ‘भोलि’ देख्ने नेता :: वीरेन्द्रमणि पौडेल ::


Birendramani-Paudel
हाम्रा दूरदर्शी पुर्खाहरूले व्यवहारमा लागू गर्दा सबैको कल्याण हुने हिसाबले सयौँ उखान प्रतिपादन गरे । तीमध्ये आज पनि निकै चलनचल्तीमा रहेको उखान हो ‘भाग्य छ भन्दैमा डोकामा दूध दुहेर अडिँदैन ।’ यसको पछाडि गहिरो अर्थ छ । हुन त यो उखानमा मात्र होइन, नेपाली पुराना उखानहरू सबैमा गहिरा अर्थ छन् र लाभदायी सन्देशहरू छन् । दुनियाँले नेपालीलाई भाग्यमानी भन्छन् । उनीहरूले देखेर हिसाब गरेर प्रमाणका आधारमा नेपालीलाई भाग्यमानी भनेका हुन् । संसारका मुलुकहरूमध्ये कुनै देशमा जङ्गलैजङ्गल छ, कुनैमा मरुभूमि, कुनैमा पानी छ त कुनैमा खानी छ तर नेपालमा मरुभूमिबाहेक सबै चिज छ । नेपाल मात्रै एउटा देश हो जुन प्राकृतिक विविधताले भरिपूर्ण छ । बाघ, गैंडा, हात्ती, बँदेलजस्ता संसारमै दुर्लभ हुँदै गएका जनावरहरू मात्रै होइन, झन्डै एक हजार प्रजातिका चराहरू पनि यो देशमा पाइन्छन् । संसारको सबैभन्दा अग्लो चुचुरो सगरमाथा यही देशको सम्पत्तिको रूपमा रहेको छ । विश्वका शान्तिप्रेमी मानिसका लागि मार्गदर्शकको रूपमा रहेका गौतम बुद्ध यही मुलुकमा जन्मिएका कारण गौतम बुद्धसँग जोडिएर नेपालको नाम संसारमा स्थापित भएको छ । जमिनको क्षेत्रफल सोचेजति धेरै नहोला, तर विश्वनक्सामा नेपाल आज पनि शानसँग उभिएको छ । नेपालसम्बन्धी पुस्तकमा कथा पढेर वा सुनेर विदेशीले नेपालीलाई भाग्यमानी भनेका होइनन् पर्यटकको रूपमा नेपालमा वर्षौंअघिदेखि आउने–जाने गरेका विदेशीले आफ्नै आँखाले हेरेर, बुझेर हिसाब गरेर नै तिनले नेपालीलाई भाग्यमानी भनेका हुन् । तर, हामी नेपालीको दुर्भाग्य विदेशीले भन्दा नेपालीले नै बढी बुझेका छन् । नेपालमा सबैचिज छ, तर ठीक ढङ्ले प्रयोग गर्न नजान्दा यही पुरानो नेपाली उखान ‘भाग्य छ भन्दैमा डोकामा दूध दुहेर अडिँदैन’ भन्ने उखान चरितार्थ भएको छ । सबै चिज भएर पनि नभएबराबरको अवस्था छर्लङ्ग देखिएको छ ।

सीधा, घुमाउरो, तल, माथि, दायाँबायाँ जताबाट सुरु गरे पनि आखिर कुरा पुगेर टुङ्गिन्छ राजनीतिमा । हो, निश्चित रूपमा नेपालमा राजनीति स्वच्छ र स्वस्थ भएन । संसारका हरेक देशमा कुनै एक समय राजनीतिक व्यवस्था परिवर्तनका लागि आन्दोलन भएको छ, क्रान्ति भएको छ र क्रान्तिले सफलता हासिल गरी राजनीतिक व्यवस्था परिवर्तन भएपछि स्थापित राजनीतिक व्यवस्थालाई तुरुन्तै फ्याँक्ने वा बदल्ने सोच राखिँदैन राष्ट्रप्रेमका कारणले । तर, यही हो देश नेपाल जहाँ एउटा राजनीतिक व्यवस्थाले काम गर्न पाउँदैन अर्को व्यवस्थाका लागि आन्दोलन र क्रान्तिका कुरा सुरु गरिन्छ । जनताको सामाजिक, आर्थिक, राजनीतिक चेतनास्तर नउकासिएको कारण नेपालमा राणाशासन लामो समयसम्म चलेको थियो । राणाशासन २००७ सालमा समाप्त भएपछि राजतन्त्र र जनतन्त्रको बीचमा शासनसत्ता हत्याउने सन्दर्भमा कुस्ती खेलियो । कुस्तीमा कहिले जनताको नेतृत्व गर्ने विश्वेश्वरप्रसाद कोइरालावाला नेपाली काङ्ग्रेसले जित्थ्यो कहिले राष्ट्रवादी, प्रजातन्त्रविरोधी राजा महेन्द्रले जित्थे । दलहरूलाई बन्धक बनाएर महेन्द्रले लादेका पञ्चायती व्यवस्थाले नेपालमा त्यतिबेलाको मुलुकको हैसियतअनुसार विकासका लागि पूर्वाधारहरू खडा गरेको प्रमाणहरू आज पनि मुलुकभरि देख्न सकिन्छ । राजा महेन्द्रद्वारा स्थापित पञ्चायती व्यवस्थालाई तीस वर्षमा ढालियो । २०४६ सालपछि नेपाली राजनीतिक व्यवस्थालाई ‘बहुदलीय प्रजातान्त्रिक’ शासन पद्धति भन्न थालियो ।

तर, मुलुकको सामाजिक, आर्थिक विकास र उन्नति कसरी हुन्छ भन्नेतर्फ चिन्तन नगरी पदमा पुग्नेहरूको दिमागमा कसरी धन बटुल्ने, कसरी आफ्ना नातापाताका मानिसलाई सुविधा दिने भन्नेतर्फ नै ज्यादा समय राजनीतिक वृत्तले समय खर्चियो । २०४६ मा राजनीतिक व्यवस्था परिवर्तन भएर ‘बहुदलीय प्रजातन्त्र’ भन्ने, शिशु प्रजातन्त्र भन्ने, मिलेसम्म धन कमाउने, नमिले मिलाएर कमाउने गर्दै गर्दा २०४७ को संविधान भर्खर क्रियाशील हुँदै थियो पाँचै वर्ष पनि यो व्यवस्थाले काम गर्न नपाउँदै आफूलाई माओवादी बताउने नेपाली जनताको एक हिस्सा बन्दुक बोकेर व्यवस्था परिवर्तन गर्ने उद्घोषका साथ जङ्गल छिर्‍यो । जनयुद्ध भनिएको त्यो आन्दोलनमा केही हजार नेपाली नागरिक स्वर्ग प्रस्थान गरे । स्वर्ग जाने टिकट धेरैलाई उतिबेलाका सरकार पक्षले दियो, केहीलाई माओवादी बताउने नेपालीहरूले दिए । जनतालाई स्वर्ग पठाउने खेल खेलिँदै गरेको अवस्थामा राजतन्त्रको जगै खल्बलिने गरी राजा वीरेन्द्रको परिवार सदस्यसहित दरबारभित्रै हत्या भयो । चिट्ठा परेर राजा भएका ज्ञानेन्द्रले दाउ हेरेर बसेका थिए । मौका मिल्नेबित्तिकै निर्वाचित सरकारलाई घाँटी अँचेटे । फेरि राजनीतिक व्यवस्था परिवर्तन गरिदिए ।

केही समय नेपालभित्रका तत्कालीन तीन शक्ति राजा, माओवादी र संसदीय राजनीतिक दलहरूबीच एकसँग मिलेर अर्कोलाई निस्तेज पार्ने खेल खेलियो । संसदीय राजनीतिक दलहरू माओवादीलाई ऊर्जा दिएर राजालाई कमजोर पार्न चाहन्थे ता कि दरबारमा कैद शक्तिलाई फिर्ता गर्न राजा राजी होऊन् । माओवादी दरबारसँग मिलेर दलहरूलाई ङ्याक्न चाहन्थ्यो । राजा माओवादी र दलहरूलाई भिडाउन चाहन्थे । यो खेल तीन शक्तिले केही समय मुलुकभित्र खेले । खेल लम्बिने सङ्केत देखा पर्‍यो । भारतले माओवादी र नेपालका राजनीतिक दलहरूको कान समातेर राजाविरुद्ध मिलाप गराइदियो । माओवादी र सात राजनीतिक दलको १९ दिने संयुक्त आन्दोलनलाई दरबारले थेग्न सकेन । राजा ज्ञानेन्द्रले घँुडा टेके । राजासत्ता फ्याँकियो । अन्तरिम संविधान निर्माण गरियो । दुईपटक संविधानसभाको निर्वाचन गरियो । पछिल्लो संविधानसभाले संविधान बनायो, तर नयाँ संविधानलाई दुनियाँले राम्रोभन्दा पनि छिमेकी भारतले नाक नेप्ट्यायो । नाकाबन्दी गर्‍यो, तर नाकाबन्दी गरेका छैनौँ भन्यो । यतिबेला विश्वले भारतलाई नेपालमाथि लगाइएको नाकाबन्दी तुरुन्तै हटाऊ भनिरहेका छन् । केपी ओली नेतृत्वको सरकारले नाकाबन्दी खोल्न प्रयास गरिरहेको बताएको छ । मधेसी दलहरू कहिले सिंहदरबार, कहिले बालुवाटार त कहिले नेपालमा रहेको भारतीय दूतावास कुदिरहेका छन् । यतिले नपुगेर दिल्लीले के निर्देशन र आशीर्वाद दिन्छ त्यो लिने चाहनाका साथ दिल्लीसम्म कुदेका छन् । ‘घटना र विचार’का पाठकहरूका लागि यी शब्दहरू निर्माण गर्दै गर्दा आजका दिनसम्म नाकाबन्दी भारतले खोल्छ–खोल्दैन वा खोले कहिले खोल्छ भन्न सकिने अवस्था छैन ।

नेपालमा आज डरलाग्दो राजनीतिक सङ्कट देखापरेको छ । यस्ता सङ्कटहरू पहिले पनि आउँथे–जान्थे, तर भूकम्पको क्षतिपश्चात्को यो मधेस आन्दोलन र भारतीय नाकाबन्दीका कारण देश आज सिकिस्त बिरामी भएको छ । इन्धन अभावले बचेखुचेका उद्योगहरू नब्बे प्रतिशतभन्दा ज्यादा बन्द भइसकेका छन् । नाकाबन्दीले खाना पकाउने ग्यास अभाव हुँदा हाहाकारको अवस्था सिर्जना भएको छ । बजारमा दैनिक उपभोग्य वस्तुहरूको अभाव हुँदै गएको छ भने अस्पताल र फार्मेसीहरूमा औषधि सकिएर हाहाकारको स्थिति पैदा भएको छ । कालोबजारी र महँगीले जनतालाई डामेको छ । अब प्रश्न खडा भएको छ– यस्तो दयनीय अवस्था किन सिर्जना भयो ? कसका कारणले उत्पत्ति भयो ?

ठीक जवाफ यो हो– राजनीतिज्ञहरू आफू नजान्ने र जानेका विज्ञहरूले भनेको नमान्ने । अब व्याख्या यो कोणबाट गर्न उपयुक्त हुन्छ । २०औँ शताब्दीका अमेरिकी समाजविज्ञ एवम् विश्वचर्चित कूटनीतिज्ञ हेनरी किसिन्जरले अमेरिकी शासकहरूलाई भने, ‘यदि तिमी राष्ट्र जोगाउन चाहन्छौ भने पेट्रोल जोगाऊ र जनता जोगाउन चाहन्छौ भने अन्न जोगाऊ ।’ अमेरिकी शासकहरूले किसिन्जरको सल्लाहलाई हुबहु लागू गरे । आज पनि अमेरिकाले आफ्नो देशमा भएको पेट्रोलियम पदार्थ चलाएको छैन । जोगाएर राखेको छ । अन्य देशबाट किनेरै काम चलाएको छ । उसको नीति छ– जब संसारका पेट्रोलियम पदार्थका कुवाहरू सुक्छन् तब आफू आफ्नो कुवाबाट पेट्रोल निकाल्ने । तरm यसको ठीक विपरीत भयो नेपालमा । जसको आँगनमा पेट्रोल छ–छैन थाहा छैन, जसले आर्थिक अवस्था कमजोर भएर पनि पेट्रोल अन्य राष्ट्रबाट खरिद गर्नुपर्छ त्यही राष्ट्रले लाखौँ सवारीसाधन आयात गर्‍यो । पेट्रोल जोगाऊ नीति लागू गर्ने कुरा परै जाओस् देशको धनजति आधाभन्दा ज्यादा पेट्रोल, डिजेल खरिद गर्दा नै सकिने अवस्था सिर्जना गर्‍यो । आज पनि बेलायत संसारमा धनीमध्येमा गनिन्छ, तर त्यही राष्ट्रले आफ्नो राष्ट्रमा पेट्रोल नभएको हुँदा कार र मोटरसाइकल प्रयोगमा सावधानी अपनाउन आफ्ना जनतालाई सन्देश दिन्छ ।

तर, नेपालले गलत नीति अख्तियार गर्‍यो । जनतालाई आफूखुसी जुन र जस्तोसुकै सवारीसाधन भित्र्याउन छुट दियो । यसको परिणाम स्वदेशी धन जहिलेसुकै बिदेसियो । मुलुक गरिबीको चपेटाबाट कहिल्यै बाहिर आउन सकेन । गरिबीको जालबाट बाहिर आउन नसकेको अवस्था छँदै थियो, गलत बानीको सिकार भएका नेपाली जनता भारतले नाकाबन्दी गरेर पेट्रोलियम पदार्थ रोकिदिएपछि झनै आहत हुन पुगेको विश्वमानवले आज आफ्नै आँखाले देखिरहेका छन् । अमेरिकाले जोगाउने मात्रै होइन उत्पादनलाई पनि उच्च प्राथमिकता दियो । अन्नको हकमा भटमास र मकै आज पनि अमेरिकाले नै सबैभन्दा बढी उत्पादन गरिरहेको छ । अन्न उत्पादनमार्फत अमेरिकाले आफ्ना जनतालाई भरपर्दो तरिकाले पालेको छ । फेरि अमेरिकाले विश्वबजारलाई आफ्नो उत्पादनमार्फत कब्जामा पनि पारेको छ । उसका मुख्य उत्पादनहरूमध्ये हवाईजहाज एक हो जुन हवाईजहाज बेचेर उसले विश्वबाट डलर भित्र्याउँछ । दोस्रो महत्त्वपूर्ण उत्पादन उसको हतियार (बम, गोलाबारुद, राइफल, ट्याङ्क, मिसाइल) हो जुन हतियार विश्वभरि सप्लाई गर्छ र धन बटुल्छ । कम्प्युटर नभई विश्व नचल्ने अवस्था सिर्जना भएको छ र उसले कम्प्युटर उत्पादन र बिक्रीमार्फत आफूलाई आर्थिक रूपले सम्पन्न बनाएको छ । चौथो नम्बरको उसको आर्थिक पखेटा कोकाकोला हो । विश्वभरि कोकाकोला बेचेर पैसा बटुलेको बटुल्यै छ । यी हतियार, कम्प्युटर, कोकाकोला र हवाईजहाज उत्पादनरूपी आर्थिक पखेटाले आज विश्वमा अमेरिका उडेको उड्यै छ । तर, नेपालले आफूलाई उद्योग–कलकारखानारहित बनाउँदै लग्यो । भएको पनि भत्काउने र बन्द गर्ने गर्दै लग्यो । अरू देशका उत्पादनहरू प्रयोग निरन्तर गर्‍यो । अरूको भरमा नै बाँच्ने अभ्यास गर्‍यो ।
अरू सन्दर्भलाई छाडेर कम्तीमा नेपाल अन्न उत्पादनका हिसाबले सत्तरीको दशकसम्म अत्मनिर्भर थियो ।

आफ्नो देशमा बढी भएर भोकमरी लागेका देशका जनतालाई उपलब्ध गराउँदै आएको थियो, तर नेपालले आफ्नो देशको खेतीयोग्य जमिनलाई ध्वस्त बनाउने नीति अघि सार्‍यो । यो तरिकाले नेपालमा खेतीयोग्य जमिन कम हुँदै गयो भने खेती उत्पादन कार्यका लागि आवश्यक युवाजनशक्ति पनि सरकारले विदेशीलाई भाडामा लगाउने नीति अघि सारेको हुँदा जनशक्ति कम भएर खेतीयोग्य जमिन बाँझो हुन पुग्यो र उत्पादन घट्न गयो । अन्य सुगम जिल्लामा त खेतीयोग्य जमिन घडेरी निर्माण शीर्षकमा नास गरिएकै थियो दुर्गम मानिएको नेपालको जुम्ला जिल्लामा समेत खेतीयोग्य जमिन विनाश गरेर घडेरीमा परिवर्तन गरियो । परिणामस्वरूप २०६७ सालसम्म ३९ हजार चार सय ८६ हेक्टर खेतीयोग्य जमिन रहेकोमा यतिबेला त्यो जमिन घटेर जम्मा खेतीयोग्य जमिन २६ हजार चार सय ३७ हेक्टर बाँकी रहेको कृषि विकास कार्यालय जुम्लाले जानकारी दिएको छ ।
अब काठमाडांैमा खेतीयोग्य जमिन विनाशबारे चर्चा गर्दा मातृभूमिलाई प्रेम गर्ने कोही छ भने उसको आँखाबाट आँसु नरसाइ सुखै छैन । २५ वर्षअघिसम्म काठमाडांै, ललितपुर र भक्तपुरमा उब्जेको अन्न र तरकारीले आधाभन्दा ज्यादा राजधानीवासी पालिएका थिए । २५ वर्षपछि यतिबेला दुई–चार बोट धनियाँ र दुई चार थुङ्गा काउली र दश–बीस डल्ला बन्दा उत्पादन गर्न मिल्ने जग्गा बाँकी रहेको देखिन्छ । बाँकी जमिनमा घरैघरै ठड्याइएको छ । हेर्दाहेर्दै काठमाडौं एकप्रकारको मरुभूमिमा परिवर्तन भइसकेको छ । कास्की, मकवानपुरलगायतका जिल्लामा तीव्रगतिमा खेतीयोग्य जमिन विनाश भइरहेका छन् भने हरेक कोणबाट सक्षम महसुस गरिने चितवन जिल्लासमेत खेतीयोग्य जमिन विनाशबाट आहत भएको छ । आफ्नै जिल्लाको उत्पादनबाट पालिएका चितौने जनता पोकामा ठोरी र वीरगञ्ज नाकाबाट चामल ओसार्न बाध्य भइसकेका छन् । घोषित भोकमरी लाग्न बाँकी छ, तर नेपालमा अन्नको हाहाकार भने भइसकेको छ । अर्बौं रुपैयाँबराबरको अन्न भारतबाट अघिल्ला वर्षहरूमा खरिद गरिसकिएको छ ।

यस्तो गर्न त परै जाओस् कल्पनासम्म गर्न नहुने कामहरू नेपालका राजनीतिज्ञहरूले गर्दै जाँदा आज मुलुक हरेक कोणबाट कमजोर र ख्याउटे देखिएको छ । नेपालका विज्ञहरूले पनि पेट्रोल ज्यादा प्रयोग गर्न हुँदैन भनेकै थिए । शासकहरूले मानेनन् । खेतीयोग्य जमिनमा घर बनाउन नदेऊ पनि भनेका थिए । शासकहरू कानमा तेल हालेर बसे । मुलुकलाई सङ्घीयतामा कुनै पनि हालतमा नलैजाऊ । यो मुलुकले सङ्घीयता थेग्न सक्दैन नेपालका वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीलगायतका विद्वान्हरूले चिच्याइचिच्याइ भनेका थिए, लेखेका थिए, तर शासकहरू बहकिएर सङ्घीयतामा गए । यतिबेला सीमाङ्कन शीर्षकमा ५० भन्दा ज्यादा नेपाली नागरिक मारिएका छन् । प्राकृतिक स्रोत–साधन उपभोग र केन्द्र/प्रदेशका बीच अधिकार लेनादेनामा हुने खतरनाक द्वन्द्व बाँकी नै छ । यस्ता विवाद र झगडा एक दिन दुई दिन होइन निरन्तर हुने अवस्था सिर्जना हुनेछ भनिएकै थियो, तर दलका नेताहरूले सही विचार र तर्कलाई उपेक्षा गरे । यसको परिणाम बिस्तारै–बिस्तारै देखिँदै छ ।

अब भन्नैपर्छ– शासनमा जानुपर्ने खालका विद्वान् संयुक्त राष्ट्रसङ्घका लागि नेपालका भूतपूर्व स्थायी प्रतिनिधि डाक्टर जयराज आचार्य, दूरदर्शी नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर एवम् प्रथम अर्थसचिव हिमालयशमशेर जबरा, कूटनीतिज्ञ भेषबहादुर थापा, विदेशको सुख छाडेर नेपाल सेवा गर्न आएका पत्रकार रवीन्द्र मिश्र, भूतपूर्व मुख्यसचिव लीलामणि पौडेललगायतका सयौँ दूरदर्शी शासनसत्ताबाहिर परे । लोभीपापी, अदूरदर्शी, निजीस्वार्थका लागि जेसुकै गर्न तयारहरू जहिलेसुकै शासनसत्ता र यसको वरिपरि रहे । आज मुलुक जे–जस्तो दयनीय हालतमा छ कारण अरू हुँदै होइन, हो भने केवल यही हो कि इतिहासदेखि आजसम्म अयोग्य र अदूरदर्शीहरू सत्तामा रहे, सत्ताको वरिपरि रहे । कानुनको पालना गर्ने–गराउनेभन्दा कानुनलाई कुल्चिन रमाउनेहरू शक्तिकेन्द्रका रूपमा देखापरे । समस्या यही हो ।

आउने दिनमा सक्षम, इमानदार र दूरदर्शीहरूको नेतृत्वमा मुलुक चलाउनुपर्छ । यसका लागि आफूलाई सक्षम महसुस गर्नेहरू सबै कुनै न कुनै राजनीतिक दलमार्फत राजनीतिमा आउनुपर्छ । त्यो सम्भव वा अनुकूल महसुस नगरिएमा देशभरिका इमानदार र नैतिकवान भेला भएर नयाँ राजनीतिक दल निर्माण गर्नुपर्छ । देशलाई असक्षम र लोभीपापीहरूको हातमा सधैंभरि छाड्नुहुँदैन । किन हुँदैन भने यो देश हाम्रा पुर्खाले निकै दु:खकष्टका साथ हाम्रा लागि जोगाएर राखिदिएका हुन् । हकदारका हिसाबले हिमाल, पहाड, तराईमा बस्ने सबै जात, धर्म र क्षेत्रका नेपाली जनताको साझा सम्पत्ति र पहिचान हो नेपाल । अब हामीले पनि यो देशलाई योभन्दा सबल र समृद्धशाली बनाएर आउने पुस्तालाई हस्तान्तरण गर्नुपर्छ । आफूलाई नेता भनिँदा लाज नमान्नेहरूले खासगरी सोच्ने बेला यही हो । केही गरिहाल्ने बेला पनि अहिले नै हो ।