बोल्दैन कोही किन ?

बोल्दैन कोही किन ?


:: रत्ननिधि रेग्मी शुक्राचार्य ::
Ratnanidhi Regmi

नाकाबन्द भनौँ भने सडकमा गुड्छन् सयौँ मोटर
बन्दै हैन भनौँ त यो सहरमा बल्दैन चूल्हो तर
मट्टीतेल र ग्यास छैन बिजुली बाल्ने कुरा दाउरा
भन्छन् दर्जन चार पो पुगिसके मन्त्री हुने फ्याउरा ।।१।।

हाहाकार बजार भाउ, महँगी चर्केर झन् झन् गयो
साहू, तस्कर–तन्त्रको बिगबिगी, कालोबजारी भयो
मुन्द्रेले दश, बीस लाख सजिलै पैसा कमाए अरे !
मन्त्री, हाकिमले करोड रुपियाँ थैली जमाए अरे ! ।।२।।

छापामा कति आउँछन् दिनदिनै भित्रे सयौँ ट्याङ्कर
आयो ग्यास बुलेट कान्तिपुरमा पाइन्न त्यै आखिर
सक्नेले दश, बीससम्म भरिला पारे सिलिण्डर् कति
निर्धाले तर पाउँदैन कहिल्यै रोओस् कराओस् जति ।।३।।

रोगी, बालक, वृद्ध मानिस कठै ! बस्लान् कहाँ लाइन ?
आपैँm इन्धन भित्रिने घरघरै देखाउँदा पाइन !
सत्ता, शक्ति र सोर्स भो अझ भने पर्दैन बोल्नै पनि
सौतेनी व्यवहार गर्छ ननिको सर्कार आपैँm पनि ? ।।४।।

दोषी भारत मात्र हो भनुँ भने भित्रै छ यो बेथिति
आएको गणतन्त्र कारण भई यस्तो बन्यो दुर्गति
होस् कार्यान्वित संविधान बरु लौ भन्दै सह्यौँ दु:ख यो
आफ्नै पो सरकारले मुलुकमा पीडा अनेकौँ दियो ! ।।५।।

लाखौँको घरबास छैन, तर छन् भूकम्पले पीडित
बर्सेको हिमपात बोक्छ शिरले खेलेर ठण्डीसित
यौटा पाल धरी त्रिपाल नहुँदा नेपाल बेहाल भो
के हेथ्र्यो सरकार यो छ चुतिया नेतृत्व बेकार हो ।।६।।

कैयौँ छन् दल फेरि लाख तिनका छन् कार्यकर्ता पनि ?
गन्दा लाग्छ हजार माथि अझ छन् नेता तथा नेतिनी !
धेरै छन् हनुमानभित्र गुटका चम्चागिरी, चाकरी
यौटै मानिस पाइँदैन तिनमा नेपाल भन्ने धरी ! ।।७।।

ऐले भैँm कहिल्यै थिएन पहिले बिग्रेर जाँदो स्थिति
मन्त्री मानवताविहीन हुन गै भो देशकै दुर्गति
नाका बन्द भनेर शासक यहाँ देखाउँछन् नाटक
गर्छन् बन्द मधेस, देशभरि नै बन्छन् स्वयम् भाँडक ।।८।।

सानो देश गरीब तैपनि भए खाने हजारौँ जना
लुट्ने, स्वार्थ लिने सयौँ किसिमका निस्के प्रजातन्त्रमा
चिन्ने शत्रु र मित्र छैन क्षमता अन्योल संसार भो
हावाका गफ सुन्नुपर्छ दिनहूँ बक्बास बेकारको ? ।।९।।

यस्तो हालत देशको बनिसक्यो बोल्दैन कोही किन ?
आ–आफ्ना दलभित्र सीमित भए आउन्न राम्रो दिन
जागौँ भेदविरुद्ध मानिस सबै तोडेर घेरा उठौँ !
होस् मर्यादित लोकतन्त्र बलियो ! सद्भावनाले जुटौँ ।।१०।।

– महाकवि देवकोटा आश्रम, काठमाडौं ।