ओलीमाथि विश्वास गरेर काठमाडौं आएँ :: राजेन्द्र महतो

ओलीमाथि विश्वास गरेर काठमाडौं आएँ :: राजेन्द्र महतो


Rajendra-Mahtp
० मधेस मुद्दामा सहमति नभएसम्म प्रधानमन्त्री ओलीसँग भेटघाट र कुराकानी नगर्ने अडान राख्ने तपाईं एक्कासि केपी ओली भेट्न बालुवाटार पुग्नुभयो नि ?
– म उपचारका लागि दिल्ली भएको व्यक्तिलाई सहमति गर्छु, तपाईं काठमाडौं आउनुस् भनेर प्रधानमन्त्रीजीले वचन दिनुभयो । प्रधानमन्त्रीजस्ता व्यक्तिले बसेर कुरा गरौँ, मधेसको समस्या हल गरौँ भन्ने आग्रहका साथ वचन दिएपछि आफू अर्घेलो बन्ने कुरा पनि आएन । उहाँको वचनमाथि विश्वास गरेर प्रधानमन्त्रीसँग भेटघाट गर्नकै लागि म काठमाडौं आएको हुँ । यसअनुसार आइतबार बेलुकी उहाँसँग घेटघाट र कुराकानी भयो ।

० कुराकानीचाहिँ कस्तो भयो त ?
– मधेस आन्दोलनका ११ बुँदे जुन माग छन्, त्यसबारे प्रस्ट रूपमा मैले उहाँसँग कुरा राखेँ । प्रदेश, सीमाङ्कन, नागरिकता, समावेशितालगायत हाम्रा सबै एजेण्डा अघि सार्दै हाम्रो समस्या यो हो, समाधानको उपाय यो हो, यसरी अघि बढे मधेस आन्दोलनको एजेण्डा सही रूपले सम्बोधन हुन्छ भनी प्रस्ट राखिदिएँ । उहाँले सुन्नुभयो र आफ्नो पार्टी, प्रमुख प्रतिपक्षी र सरकारका घटक दलहरूसँग छलफल गर्छु र आवश्यक कुरा अघि बढाउँछु भन्नुभयो । तर, यसरी निकास निकाल्ने भनी अहिले नै ठोस कुरा उहाँबाट आएन ।

० प्रधानमन्त्रीलाई सकारात्मक पाउनुभयो कि नकारात्मक ?
– ओलीजीबारे सकारात्मक या नकारात्मक भनेर ठ्याक्कै धारणा बनाउन सक्ने अवस्थामा अझ म छैन । योचाहिँ सत्य हो कि उहाँले दिल्लीमा मलाई फोन गरेर ‘म समस्या समाधान गर्छु, तपाईं आइदिनुपर्‍यो’ भनी आग्रह गर्नुभएको हो । उहाँले विगतमा मधेस आन्दोलन र हामीप्रति प्रयोग गरेका शब्दहरू पनि ठीक भएनन् भनी महसुस गरेजस्तो मलाई लागेको छ । यस परिवेशमा उहाँले आग्रह गरेर बोलाउँदा पनि नआइदिँदा मेरै कारण सबै कुरा अड्किएजस्तो हुने भयो । असहयोग गरेको, समाधान नचाहेकोजस्तो अर्थ लाग्ने भयो । यसर्थ उहाँको कुरा विश्वास गरेर म आएको हुँ । यस हिसाबमा त अहिले प्रधानमन्त्री ओली सकारात्मक नै हुनुभएको हो भन्नुपर्ने हुन्छ । तर, जबसम्म हाम्रा माग पूरै सम्बोधन हुँदैनन् तबसम्म उहाँ सकारात्मक हुनुभयो भनी हामीले भन्न सक्ने अवस्था रहँदैन । हामीले त समस्या समाधानकै लागि आन्दोलन गरेका हौँ, उहाँले समाधान गरिदिने भए भइहाल्यो नि भन्ने हाम्रो सोझो धारणा छ ।

० प्रधानमन्त्री केपी शर्मा ओलीसँग विगतमा जे–जस्तो कटुता भए पनि आइतबारको बालुवाटार वार्तापछि तपाईंको सम्बन्ध सुध्रियो या सुमधुर नै भयो भनी बुझ्दा हुन्छ ?
– हेर्नुस्, हामी कहिल्यै वार्ताविरोधी रहेनौँ । सरकारले नै वार्ताको नाटक गरेर आन्दोलनकारीलाई झुलाउने र अलमल्याउने काम गर्दै आएको हो । यति मात्र नभई यता वार्तामा बोलाउने उता लाठी, गोली चलाउने काम पनि सरकारले गरेकै हो । मधेस आन्दोलनलाई निस्तेज पार्न अनेक प्रपञ्च गरेकै हो ओली सरकारले । तर, वार्ता गरेर मात्र समाधान निस्कन्छ भन्ने हेक्का हामीले हरदम राख्दै आयौँ । जहाँसम्म ओलीजीसँग सम्बन्ध सुधारको कुरा छ, व्यक्तिगत रूपमा त म कसैको विरोधी नै होइन नि । सरकारले प्रदर्शन गरेको रवैयाको पो विरोध गरेको हो त । यस्तोमा कसैसँगको सम्बन्धमा चिसोपन या सुमधुर भन्ने सवालै रहेन ।

० ओलीजीले माफी नमागेसम्म र ठोस रूपले मधेस समस्याको सम्बोधन नगरेसम्म काठमाडौं नै आउँदिनँ भनेको त हो नि तपाईंले, ओलीजीले माफी पनि माग्नुभयो कि ?
– मैले भनिहालेँ कि उहाँले समस्या समाधान गरिदिने वचनका साथ मलाई काठमाडौं आउन आग्रह गर्नुभएको हो । यसलाई माफी मागेको भनेर बुझ्ने या अरू हिसाबले, यतातिर म जान चाहन्नँ । प्रधानमन्त्रीजस्तो जिम्मेवार ओहोदामा रहेको व्यक्तिबाट प्रतिबद्धता आएको सन्दर्भलाई एउटा आन्दोलनकारीको नाताले विश्वास पनि त गर्नुपर्‍यो । यही विश्वासले म काठमाडौं डोहोरिएको हुँ । तपाईं अडिग हुनुभयो, तपाईंकै कारण समस्या समाधानको बाटो रोकियो भनेर हामीमाथि आरोप लगाउन अब उहाँले सक्नुहुन्न । यसलाई मैले सकारात्मक रूपमा लिएको छु । म फेरि दोहोर्‍याउन चाहन्छु कि ओलीजी या कुनै अर्को नेतासँग मेरो व्यक्तिगत रिसइवी त छँदै छैन ।

० रिसइवी नभए पनि विवाद त थियो नि, होइन र ?
– समस्या समाधान नगरी बल्झाउनेतिर लागेपछि विवाद त हुने नै भयो नि । अर्को कुरा ओलीजीले यूपी–बिहार, माखेसाङ्लोजस्ता शब्द जो हामीमाथि प्रयोग गर्नुभएको थियो, यसबारे मिडियाले गलत अर्थ लगाएर उछालिदिएको मात्र हो, मैले त तपाईंहरूलाई नराम्रो भन्न खोजेको होइन भनी धेरै बेरसम्म प्रधानमन्त्रीले हामीलाई प्रस्टीकरण दिँदै बुझाउन खोज्नुभयो । यसरी उहाँले आफ्नोबारे सफाइ दिनु ठीक पनि त हो नि ।

० यसको मतलब तपाईंहरूबीच वार्ता भएपछि हिउँको ढिक्का पग्लियो, मधेस समस्या समाधान हुने भयो अब, कि कसो ?
– ठोस रूपमा जवाफ आइनसकेकाले ढिक्का पग्लियो, समस्या समाधान भइहाल्यो भन्न मिल्दैन । अहिले त कुरा मात्र सुन्नुभयो ओलीजीले, समाधानको मार्गचित्र दिनुभएको त छैन । छलफलपछि मात्र अघि बढ्ने भन्नुभएको छ, अब कसरी अघि बढ्न खोजेको हो † विगतमै जस्तो व्यवहार गरेर अघि बढ्न खोजेको हो भने त समस्या भन् बल्झिने छ, आन्दोलन झनै चर्किनेछ ।

० अब आन्दोलनको पक्षमा मधेसी जनता नै छैनन्, कसरी चर्केला त आन्दोलन ?
– हामीले रहरले आन्दोलन गरेका होइनौँ । आन्दोलन भन्ने कुरा जहिले पनि बाध्यात्मक नै हुन्छ । जस्तोसुकै प्रतिकूल परिस्थितिमा पनि आन्दोलन त गर्नैपर्छ, यदि माग सम्बोधन हुँदैन भने । सरकारले फेरि पनि आलटाल गर्न मात्र खोजोस्, हेर्नुहोला आन्दोलनले कस्तो रूप लिनेछ । यसपालि मधेसी जनताले अधिकार लिएरै छोड्नेछन्, हेर्नुहोला ।

० यसको मतलब कतिपयले आशङ्का गरेझैँ तपाईं वार्ता भाँड्न नभई सहमतिकै लागि काठमाडौं आउनुभएको हो ?
– बिल्कुल सहमति र समाधानका लागि हो । हामी अन्यायमा परेका छौँ भने हामीले नै किन वार्ता भाँड्ने ? प्रधानमन्त्रीजीले विश्वास दिलाउनुभएको छ, त्यही आशा बोकेर म आएको हुँ । अब बोलेअनुसार गरिदिए विश्वास हुने हो अन्यथा त आन्दोलनबाहेक कुनै विकल्प छैन हामीसँग ।

० त्यसो भए तपाईं गल्नुभयो, काङ्ग्रेस, एमाले र एमाओवादीहरू माथि परे भनी बुझ्दा हुन्छ ?
– कोही कमजोर पनि भएको छैन र कोही बलवान बनेको पनि छैन । यो कुरा सबैले प्रस्टसँग मनन गर्नु राम्रो हुन्छ । समस्या समाधान गर्छौं भनेर भन्दा मधेसी मोर्चा जहिले पनि इमानदारीसाथ वार्तामा सरिक भएको छ । अहिले म काठमाडौं उत्रनुको मकसद पनि यही हो । अलमल्याउन खोजेमा मुलुककै लागि विस्मातको विषय हुनेछ । लडेर अधिकार नलिई त हामी छोड्नेवाला छैनौँ ।

० अब नाकाबाट हट्नुपर्छ भन्ने दबाब तपाईंहरूलाई मित्रराष्ट्र भारतबाट पनि परेको भन्छन् नि, भारतका गृहमन्त्री राजनाथ सिंहले त तपाईंसँग मुखै फोरेर भन्नुभयो अरे, यथार्थ के हो ?
– राजनाथजीले समस्या समाधान गरिदिनुभए हुन्छ नि त, किन हामी नाकामा कष्टका साथ बस्नुपथ्र्यो र ? राजनाथजी या अरू कोही पनि, जिम्मा लिइदिऊन् कि तपाईंहरू नाकामा नबस्नुस्, हामी समस्या समाधान गरिदिन्छौँ भनेर । वश, हामीलाई त जसले गरिदिए पनि मागमा सम्बोधन चाहिएको छ, अधिकार चाहिएको छ, जसले दिलाइदिए पनि हुन्छ । हामी रहरले नाकामा बसिरहेका छैनौँ । कसैले हामीलाई यसो गर उसो गर भनेको पनि छैन, भन्नु जरुरी पनि छैन । अनर्गल कुरा मिडियाले प्रचार गरिदिएको मात्र हो ।

० जे होस् अब आन्दोलन टुङ्गिने दिशातिर गयो भनी बुझ्दा हुन्छ ?
– माग पूरा भयो भने त एक सेकेन्ड पनि आन्दोलनमा रहन चाहँदैनौँ । के आन्दोलन सजिलो छ ? रहरले गरेको हो यो आन्दोलन ? माग पूरा नभए यो आन्दोलनलाई कसैले रोक्न सक्दैन ।

० भारतले अनुरोध गर्‍यो भने त तपाईंहरू मान्नुहुन्छ भन्ने आमबुझाइ छ नि ?
– हाम्रो पीडा बुझेर हामीमाथि सहानुभूति राख्ने जुनकुनै पक्षको सुझाव–सल्लाह हामी सुन्छौँ । तर, यसको मतलब यो होइन कि कसैले भन्दैमा बिनाअधिकारप्राप्ति हामी त्यसै आन्दोलनबाट पछि हट्छौँ । मधेसको पीडा बुझ्ने कसैले पनि हामीलाई त्यत्तिकै पछि हट भन्दैन, भन्नै सक्दैन ।

० मधेसको समस्या समाधान नभएसम्म काठमाडौंको कार्यालय खुल्दैन, अब मधेसबाटै पार्टी कार्यालय सञ्चालन हुन्छ भन्नुभएको थियो, तपाईं त यसपटक काठमाडौंको कार्यालय पनि पुग्नुभयो नि ?
– काठमाडौंको यो हाम्रो सम्पर्क कार्यालय मात्र हो, समस्या समाधान नभएसम्म सम्पर्क कार्यालयमै सीमित रहनेछ यो । म त तत्काल पुन: मधेसमै गएर सक्रिय हुँदै छु ।

० सीमाङ्कनको मुद्दा टुङ्ग्याउन विज्ञहरू संलग्न रहेको संयन्त्र बनाएर अघि जाने सहमति भएको छ क्यारे, यस्तो संयन्त्रप्रति कत्तिको विश्वस्त हुनुहुन्छ तपाईं ?
– षड्यन्त्रका लागि बन्ने संयन्त्रप्रति मलाई कुनै चासो या सरोकार छैन । जसरी हुन्छ समस्या समाधान हुनुपर्‍यो । पहिले नै यसरी सीमाङ्कन हुन्छ भनी प्रस्ट कुरा आउनुपर्‍यो, काम त ढिलैसँग भए पनि केही छैन । तर, संयन्त्रको नाममा षड्यन्त्र गर्न खोजिएमा मधेस भड्किनेछ र यो भड्काई महँगो पर्नेछ ।

० अरू मधेसी नेताले त राजनीतिक संयन्त्र बनाउने कुरामा सहमति जनाइसके त ?
– कसले सहमति जनाए या जनाएनन् म जान्दिनँ, जसरी हुन्छ मधेसको माग सम्बोधन हुनुपर्‍यो । संयन्त्रले सीमाङ्कनमा कसरी काम गर्छ भन्ने पहिले नै ठोस आधार प्रस्टिनुपर्‍यो । हावामा संयन्त्र बनाएर मात्र हुँदैन नि ।