पुरानै स्रोत र साधनको उपज नयाँ शक्ति

पुरानै स्रोत र साधनको उपज नयाँ शक्ति


12552966_10208753036125167_7311419707084583538_nलन्डन, जुन जोगी आए पनि कानै चिरेको भन्ने नेपाली उखान निकै लामो समयदेखि नेपाली राजनीतिक क्षेत्रमा निरन्तर लागू हुँदै आइरहेकोछ । यसो हुँदाहुँदै पनि हामी नेपालीहरुले कहिल्यै पनि आश मार्न भने छाडेका छैनौं । यस्तै अवसरको फाइदा लुट्न सफल भएकाछन् हाम्रा देशका नेताहरु । एकै व्यक्तिका बिभिन्न रुप धारण र पिपलपाते कुराहरुलाइ सधैभरि महाभारत र पुराणको कथा सुनेजस्तै गरी निरन्तर ग्रहण गर्दै गए नेपाली जनताहरुले । फलस्वरूप जतिसुकै कमी कमजोरीहरु भए पनि कहिले खरानी घसेर हिँड्ने, कहिले कमण्डलु बोकेर हिँड्ने त कहिले त्रिशुल बोकेर हिँड्ने गर्दा आफू पानी माथिको ओभानो बन्ने मौका पाएकाछन् अवसरवादीहरुले । परिस्थितिले यस्तो अवस्थाको सृजना गरेकोछ कि राम्रो मान्छेलाई समेत विश्वास गर्ने अवस्था गुमिसकेकोछ । अहिलेसम्म थुप्रै वादीहरु आए, थुप्रै तन्त्रहरु आए र अनेकौं स्वप्न महलहरु खडा गरे, तर आफ्नो पहुँचमा नहुँदा जनतालाई उकासेर आफ्नो दुनो सोझ्याउने अनि आफ्नो पहुँचमा भएपछि नातावाद, कृपावाद र कुर्सीको लागि तछाड र मछाड गर्ने, यस्तै यस्तै कुराहरुमा बितिरहेकोछ नेपालको राजनैतिक गतिबिधि ।

भर्खरै मात्र नया शक्तिको उदय भएकोछ, डा. बाबुराम भट्टराईले नयाँ शक्तिको केन्द्रिय परिषद्को गठन तथा नामावलीसमेत प्रकाशन गरेकाछन् । यसबाट पनि थुप्रैले आशा गर्न थालिसकेकाछन्, उनीहरुका योजना र सिद्दान्तहरुबाट धेरैजना प्रभावित भएका पनि होलान्, तर त्यसलाई व्यबहारमा उतार्न नसक्नु नै अहिलेको सबैभन्दा ठूलो कमजोरी हो । कामको होइन नामको खोक्रो आडम्बर बोकेर हिड्नेहरु थुप्रै छन्, डा. बाबुराम भट्टराइको नयाँ शक्ति पनि पुरानै स्रोत र साधनबाट संचालित न हो, भट्टराईले पनि त सत्ता सम्हाल्ने अवसर प्राप्त गरिसकेकाछन् आफ्नो बर्गत र बुताले भ्याएसम्म भए भरको शक्ति संचालन गरिसकेकाछन् भने पक्कै पनि यो नयाँ शक्तिमा दैवी शक्ति त प्राप्त गरेका छैनन् होला । यदि त्यस्ताे हो भने हातमा हात काँधमा काँध अवश्य दिनुपर्छ, किनकि यो देशलाई त्यस्तो ब्यक्ति अनि नेतृत्वको खाँचो छ जसले देश र जनताको लागि केही गर्न खोज्दछ । तर यस्तो शक्ति राजनैतिक परिवेश भित्रबाट नभई नागरिक समाजको अगुवाइबाट भइदिएको भए विश्वसनीय हुनेथियो । तर यहाँ बाबुराम भट्टराई द्वारा सयोजन गरिएको नयाँ शक्तिले नयाँ निकास देला भन्नेमा शंका हुनु स्वभाविक पनि हो । माओवादी पार्टी भित्रको हिसाब किताबमा चित्त नबुझेर कुलेलम ठोकेका भट्टराई माओबादी पार्टीसँग बदला र प्रतोशोधको भावनाले अगाडि बढेकाछन् जसले गर्दा एउटा छुट्टै शक्ति बनाएर आफू सर्वेसर्वा भएर देखाउनु नै उनको लागि ठूलो विजय हुनेछ र त्यो लक्ष्य करीव करीव पूरा गरिसकेकाछन् । तर यसो भन्दैमा उनी तथा उनको शक्तिलाई कम्जोर ठान्न खोजेको भने कुनै पनि हालतमा होइन । देशलाई नयाँ खालको रीतिस्थिति र संरचानाको को आवश्यकता पक्कै छ, तर बर्षौंदेखि जनतालाई झुक्याएर आउने प्रचलन रहेको हुँदा अहिले जनताको मन जितेर अघि बढ्न भने निकै चुनौतिको विषय हुन सक्छ । नायिका करिश्मा मानन्धर, नायक सरोज खनाल लगायतका थुप्रै हस्तीहरुले नयाँ शक्तिमा उर्जा थप्ने प्रतिवद्दता ब्यक्त गरेकाछन्, त्यस्तैगरी शेर्पा, राई, लिम्बू, चौधरी, झा र साहलगायत या विभिन्न वर्ग र क्षेत्रको समेत सहभागिता रहेकोछ । यस नयाँ शक्तिले देशलाई कस्तो शक्ति प्रदान गर्छ त्यो भने हेर्न बाँकी नै छ, केही समयपछि आफू आफूमा नै शक्ति बांडफांड र परित्याग गर्दै हिड्ने नियति दोहोरियो भने डा.बाबुराम भट्टराईले फेरि पनि कान चिर्ने पर्ने हुन्छ । डा. बाबुराम भट्टराईले हाल नयाँ शक्ति अभियानमा ३५ जना केन्द्रीय परिषद्को घोषणा गरिसकेकाछन् भने बाँकी अन्य संख्याको पनि चाँडै घोषणा गरिने भट्टराईले बताएकछन् । उक्त नयाँ शक्ति अभियानमा सामाजिक संस्था तथा गैरसरकारी संस्थामा कार्यरत ब्यक्तिहरुको बाहुल्यता रहेको छ । साथै प्रतिष्ठित अरबपति उद्योगी बिनोद चौधरीसमेत उपस्थित रहेका तर उनी भने शुभकामना दिनको लागि मात्र आएको भदै आफ्नो ५ मिनेटको भाषणपश्चात् चौधरी बाहिरिएका थिए ।

को को छन् त केन्द्रिय परिषदमा ?

binod-cbhaudhari1संयोजक डा. बाबुराम भट्टराई [गोर्खा]
परिषद सदस्यहरुमा,
अशोक शर्मा [झापा], ऋषवदेव भट्टराई [चितवन], कमला हेम्चुरी [पाल्पा], करिश्मा मानन्धर [काठमाडौं], केशव दाहाल [सुनसरी], डा. केशवमान शाक्य [काठमाडौं], गणेशराज राई [भोजपुर], डा. चैतन्य सुब्बा [ताप्लेजुङ], डा. जीतेन्द्र महासेठ [सिराहा], टिका गौचन [म्याग्दी], डम्बर खतिवडा [सुनसरी], तिलक थापामगर [मोरङ], दलमर्दन कामी [सुनसरी], दुर्गा सोव [डोटी], देवेन्द्र पौडेल [बाग्लुङ], नत्थुप्रसाद चौधरी [सप्तरी], नारायण पाण्डे [गोरखा], पासाङ्ग शेर्पा [ताप्लेजुङ], डा. प्रवीण मिश्र [होत्तरी], मदन राई [खोटाङ], मनप्रसाद सुनुवार [रामेछाप], मुमाराम खनाल [कपिलबस्तु], डा. मुक्ति रिजाल [अर्घाखाँची], मोहनी महर्जन [काठमाडौं], डा. राजेन्द्र के.सी. [धादिङ], डा. रामकेवल साह [धनुषा] रामचन्द्र झा [धनुषा], रामेश्वर खनाल [पाल्पा], लिली थापा [काठमाडौं], वज्रकिशोर यादव [धनुषा], विसन राई [खोटाङ], सरोज खनाल [चितवन], डा. सुरेन्द्र चौधरी [दाङ], हरेराम कोईराला [गोरखा] ।

-नरेन्द्र बस्नेत