माओवादीमा एकले अर्कालाई सिध्याउने खेल

माओवादीमा एकले अर्कालाई सिध्याउने खेल


काठमाडौं / संविधानसभाको सबैभन्दा ठूलो दल एकीकृत नेकपा माओवादी भित्र चर्किएको विवाद भुसको आगोजस्तै तल्ला निकायसम्म पुग्न थालेको छ। पार्टी नेतृत्वदेखि नै शुरु भएको विवादले कार्यकर्ता तहसम्म गुट-उपगुट सिर्जना गरेको छ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपाध्यक्षद्वय डा. बाबुराम भट्टराई र मोहन वैद्यबीच त्रिपक्षीय रुपमा देखिएको विवाद चर्किंदै गएपछि एकले अर्को पक्षलाई सिध्याउने खालको व्यवहार केन्द्रदेखि भ्रातृ संगठन एवम् पार्टीका तल्ला निकायमा देखिन थालेको छ। पार्टीमा देखिएको विवादप्रति चिन्ता व्यक्त गर्दै एक नेताले भने- एमाले-कांग्रेसमा भन्दा चर्को गरी एकले अर्कालाई खुइल्याउन केही नेताहरु नै लागेका छन् यसलाई तत्कालै हल गर्नुपर्छ भनी पार्टीको बैठक बोलाउन नेतृत्वलाई आग्रह गरिएको पनि केही दिन भइसकेको छ तर नेतृत्वले सुनेको छैन।

पार्टीभित्र देखिएको विवादकै कारण एउटा पक्षले बाबुराम भट्टराई पक्षलाई पार्टी फुटाउन उनीहरु क्रियाशील भएको भनी कार्यकर्ता तहमा एसएमएसमार्फत सूचना प्रवाह गर्ने गरेको र त्यही सूचनाका आधारमा अध्यक्ष प्रचण्डले पार्टीनेता नेत्रविक्रम चन्द देवेन्द्र पौडेलसँग पार्टी फुटाउन लागेको भन्ने हल्ला छ नि भनी जिज्ञासासमेत राख्नुभएको थियो। उपाध्यक्ष भट्टराई पक्षले भने अध्यक्ष पक्षले नै यो हल्ला चलाएर पार्टी कब्जा गर्न खोजेको आरोप लगाएको छ। पार्टीभित्रकै विवादका बारेमा नेताहरुसँग कार्यकर्ताले छुट्टाछुट्टै भेट गरी विवाद यथाशीघ्र टुंगो लगाउन आग्रह गर्ने गरेका छन्। आइतबार केही कार्यकर्ता र उपाध्यक्ष भट्टराईबीच छलफल भएको थियो। आफ्नै निवासमा भएको छलफलमा उपाध्यक्ष भट्टराईले पार्टी फुटाउन कसैले चाहेको छ भने पनि त्यो असम्भव भएको र आफूले त्यो हुन नदिने अठोट गर्दै फुटको हल्ला चलाएर पार्टी कब्जा गर्ने नियत केही साथीहरुमा देखिएको हुन सक्छ भन्नुभयो।

उपाध्यक्ष भट्टराईले कसैको षड्यन्त्रबाट पार्टी कब्जा गर्न नदिने चेतावनी पनि दिनुभएको थियो। पार्टी स्थायी कमिटीको बैठक पनि विवादकै कारण केही दिनदेखि बस्न सकेको छैन। सरकारमा मन्त्रीहरु पठाउनेबारेमा पनि यो पक्ष र ऊ पक्षको भन्ने होडले निर्णय गर्न समस्या उत्पन्न भएको नेताहरुले बताएका छन्।

तीन नेताको त्रिपक्षीय विवाद सवैभन्दा वढी मजदुर संगठनमा देखिएको छ। सो संगठनमा एक पक्षले अर्को पक्षलाई तल्लो स्तरमा ओर्लिएर तेजोवध गर्न थालेका छन्। मजदुर संगठनमा देखिएको विवादलाई समाधान गर्न पार्टी अध्यक्ष प्रचण्ड समक्ष हालको अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको कार्य समिति विगठन गरी एक जना वरिष्ठ नेताको नेतृत्वमा सम्मेलन आयोजक समिति वनाएर विवादको टुंगो लगाउनु पर्ने प्रस्ताव राखिएको छ।

तर सो संगठनका अध्यक्ष शालिकराम जम्मरकट्टेलले आफु निर्वाचित अध्यक्ष भएको र अझै आफ्नो कार्यकाल एक वर्ष वांकी रहेको भन्दै कसैको दवावमा संगठन भत्काउन नदिने र पद पनि नछोड्ने जानकारी गराउनु भएको छ। नेपाल समाचारपत्रसंग कुरा गर्दै अध्यक्ष जम्मरकट्टेलले मजदुरहरु कुनै नेताको पछाडि लागेर गुटवन्दीमा सहभागी भएनन् भनेर षड्यन्त्र हुंदैछ त्यो षड्यन्त्रसंग आफु जुध्न तयार हुने स्पष्ट पार्नुभएको छ।-टंक पन्त