रामचन्द्रविरुद्ध सुशीलले अघि सारे दुई डमी उम्मेदवार

रामचन्द्रविरुद्ध सुशीलले अघि सारे दुई डमी उम्मेदवार


Picture1
असी वर्षीय सुशील कोइरालाले ‘ओल्ड इज गोल्ड’ भन्दै कांग्रेस सभापतिमा आफैँ उम्मेदवार बन्ने अग्रसरता लिनुभएपछि हालको संस्थापन पक्षभित्रै निराशा र अन्योल बढेको छ । कांग्रेसभित्र विचारक नेताका रूपमा समेत स्थापित उपसभापति रामचन्द्र पौडेलले सुशील कोइरालालाई यो साता पनि भेटी ‘पछि नहट्ने’ जानकारी गराउँदै सभापतिमा आफूलाई सहयोग गर्न आग्रह गर्नुभयो । कोइरालाले यसपटक पनि साथीहरूसँग सल्लाह गरेर मात्र निर्णय लिइने भनी पौडेललाई पन्छाउनुभयो । सभापतिको उम्मेदवार बन्ने तयारीका साथ राष्ट्रव्यापी अभियान चलाउँदै आउनुभएका पौडेल कार्यकर्तापङ्क्तिमा कोइरालाभन्दा निकै लोकप्रिय मानिनुहुन्छ । सुशील कोइरालाले लोभ नगरी पौडेललाई सभापतिको उम्मेदवार बनाएको अवस्थामा कोइरालाहरूको समेत हित–रक्षा हुने एकथरीको विश्लेषण छ । तर, यस्ता विश्लेषणहरूको कुनै पनि असर सुशील कोइरालामा देखिएको छैन । बाँचिन्जेल सभापति भइरहने र सभापति भएरै मर्ने दृढइच्छा कोइरालामा प्रकट भएको पाइएको छ । यसरी सुशीलले जिद्दी गरेपछि उहाँका समर्थकमध्ये केही वरिष्ठ नेता शेरबहादुर देउवालाई समर्थन गर्न पुगेका छन् भने केही कोइरालासँगै ‘सती जाने’ मानसिकतामा देखिएका छन् ।

रामचन्द्र पौडेललाई प्रधानमन्त्री बनाइदिने आश्वासनसहित संसदीय दलको नेता बनाउने र सभापतिमा पौडेलको समर्थन आफूलाई लिने योजनामा रहनुभएका कोइराला पौडेलको अडान र अभियानबाट केही झस्किनुभएको छ । त्यसैले पौडेललाई ‘डिस्करेज’ गर्न गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता जोस्टलाई सभापतिको उम्मेदवार बन्ने घोषणा गर्न सुशीलले लगाउनुभएको छ । श्रीमती जोस्टले विराटनगर पुगेर आफूले सभापतिमा उम्मेदवारी दिन लागेको घोषणा गर्नुभएको छ । त्यस्तै कोइरालाले गणेशमानपुत्र प्रकाशमानलाई पनि उचाल्नुभएको छ । सुशील कोइरालासँगको ‘समझदारी’पश्चात् प्रकाशमान सिंहले कांग्रेस नेताहरूको उच्चरस्तरीय बैठकमा आफू सभापति र डा. सशाङ्क कोइराला महामन्त्रीमा चुनाव लड्ने तयारीमा रहेको जानकारी गराउनुभएको छ ।

बीपीका छोरा सशाङ्क र गणेशमानजीका छोरा म मिलेर पार्टी चलाउँदा राम्रो हुने र त्यसको ‘मेसेज’ पनि राम्रो जाने भन्दै प्रकाशमानले उच्चस्तरीय बैठकमा ‘आफूहरू पिताजीहरूको बिरासद धान्न सक्षम हुने’ दाबी गर्नुभएको थियो । यसरी प्रकाशमान सिंहले पनि सुजाताले झैँ सभापतिमा दाबी गर्नुको पछाडि सुशील कोइरालाकै ‘डिजाइन’ भएको बुझिन्छ । हालको संस्थापनभित्रै सभापति पदका आकाङ्क्षीहरू धेरै रहेको देखाउने र रामचन्द्र पौडेलको उम्मेदवारीको उचाइ घटाइदिने योजनाअनुसार नै कोइरालाले गिरिजा र गणेशमानका सन्तानहरूलाई सभापतिमा उम्मेदवारी दिने घोषणा गर्न लगाउनुभएको बुझिएको छ । क्षेत्रीय अधिवेशन (माघ २२ गते) भइसकेपछि सुजाता र प्रकाशमानलाई देखाएर पौडेललाई पछि हटाउने, त्यसपछि प्रकाशमानलाई महामन्त्री या उपसभापतिमध्ये एक र सुजातालाई महामन्त्री बनाइदिने सर्तमा सभापतिको उम्मेदवार आफैँ बन्ने योजनामा कोइराला रहनुभएको छ । तर, कोइरालाको यस्तो योजनाबारे नेता पौडेल जानकार हुनुहुन्छ । आफूलाई रोक्नका लागि मात्र सुशीलले प्रकाशमान र सुजातालाई अघि सार्नुभएको हो भन्ने विश्वास पौडेललाई छ ।

त्यसैले यसपटक रामचन्द्र पौडेल कोइरालालाई मैदान खाली गरिदिएर सजिलै पछि हट्ने मनस्थितिमा हुननुहुन्न । समर्थकहरूको ठूलो हिस्साले पौडेललाई पछि नहट्न दबाब र सुझाव दिइरहेको छ । सुशील कोइरालाले उम्मेदवारी दिए पनि पौडेलसमेत उम्मेदवार बन्नुपर्छ भन्ने पौडेलका शुभचिन्तकहरूको भनाइ छ । कांग्रेसको विधानअनुसार सभापतिमा विजयी बन्न उम्मेदवार खसेको मतको कम्तीमा एकाउन्न प्रतिशत प्राप्त गर्नुपर्ने हुन्छ । पहिलो चरणको निर्वाचनमा कुनै उम्मेदवारले पनि एकाउन्न प्रतिशत मत हासिल गर्न नसकेको अवस्थामा पहिलो र दोस्रो हुने उम्मेदवारबीच दोस्रो चरणमा निर्वाचन हुने वैधानिक प्रावधान छ । हालको संस्थापन पक्षभित्र सुशील कोइरालाको लोकप्रियता खस्किएको र रामचन्द्र पौडेलप्रति सहानुभूति बढेकोले वरिष्ठ नेता शेरबहादुर देउवासँग पौडेलकै प्रतिस्पर्धा हुने विश्वास गरिएको छ । देउवासँगको प्रतिस्पर्धामा पौडेलले सुशील कोइरालाको भन्दा बढी मत प्राप्त गर्नुभएमा दोस्रो चरणको निर्वाचनमा देउवा र पौडेलबीच प्रतिस्पर्धा हुनेछ । पहिलो चरणमै देउवाले एकाउन्न प्रतिशत नघाउनुभएमा भने देउवा सभापति घोषित हुनुहुनेछ । त्यस्तो अवस्थामा पौडेल र कोइरालालाई समेत समेटेर पार्टीलाई एकताबद्ध गरी अघि बढाउने प्रतिबद्धता नेता देउवाले जाहेर गर्नुभएको छ ।

सुशील कोइराला रामचन्द्र पौडेललाई नछोडी आफैँ सभापतिको उम्मेदवार भएको अवस्थामा पार्टीमा सम्मानजनक भूमिकासहित संसदीय दलको नेता र प्रधानमन्त्री पद रामचन्द्र पौडेललाई दिन शेरबहादुर देउवा तयार हुनुभएको छ । तर, त्यसरी देउवाको साथ पाउन पौडेलले सभापति पदमा देउवालाई साथ दिनुपर्ने हुन्छ । सुशील कोइरालालाई पार्टीको सभापति र प्रधानमन्त्री बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएका रामचन्द्र पौडेललाई सभापति र प्रधानमन्त्री बन्न सघाउने पक्षमा सुशील कोइराला देखिनुभएको छैन । आफूबाहेक अरूले देउवालाई ठेगाना लगाउन नसक्ने भन्दै सुशील कोइराला स्वस्थानी कथाका वृद्ध शिव शर्मा ब्राह्मणले सात वर्षीया गोमा ब्राह्मणीसँग विवाह गर्ने हठ गरेकै शैलीमा सभापतिको उम्मेदवार बन्ने जिद्दी गर्दै हुनुहुन्छ । सुशील कोइरालाले खसेको मतको पच्चीस प्रतिशत मात्र नघाउन सक्नुभयो उहाँले विजय नै हासिल गरेको मान्नुपर्ने अवस्था कांग्रेसमा पैदा भएको छ । बाह्रौँ महाधिवेशनमा सुशीलको लोकप्रियता उत्कर्षमा थियो, उहाँप्रति सहानुभूति राख्ने र राम्रो काम हुने विश्वास गर्नेहरूको जमात पनि ठूलो थियो, यसबाहेक नेपाली राजनीतिमा निर्णायक प्रभाव राख्ने स्वदेशी तथा विदेशी शक्तिकेन्द्रको साथ–सहयोग पनि कोइरालालाई नै थियो ।

तेह्रौँ महाधिवेशनसम्म आइपुग्दा सुशील कोइराला पूर्णत: ‘एक्स्पोज’ भइसक्नुभएको छ । उहाँप्रति सहानुभूति राख्ने मानिसको सङ्ख्या घटेर मृदुला कोइराला, मीनेन्द्र रिजाल, दिलेन्द्र बडू, दिलबहादुर घर्ती, महेश आचार्य र आनन्द ढुङ्गानासम्म मात्र सीमित हुन पुगेको छ । स्वदेशी तथा विदेशी शक्तिकेन्द्रहरू पनि यसपटक कोइरालाको पक्षमा छैनन् । सभापति र प्रधानमन्त्री दुवै भूमिकामा असफल भएको र पार्टीलाई सत्ताका सबै महत्त्वपूर्ण जिम्मेवारीबाट पाखा लगाएकोले त्यसको उचित मूल्याङ्कन गर्दै सुशील कोइरालालाई पार्टी नेतृत्वबाट बिदा दिन आमकांग्रेसजन हतारिएका छन् । त्यसैले तेह्रौँ महाधिवेशनपश्चात् नेपाली कांग्रेस कोइरालाहरूको शासनबाट मुक्त हुने विश्वास गरिएको छ । देशभरि उत्पन्न सुशीलविरोधी लहरले यस तथ्यको पुष्टि गरेको छ ।