माओवादी छुटाउन मलाई अपहरण गरियो

माओवादी छुटाउन मलाई अपहरण गरियो


:: श्यामनाथ कश्यप घिमिरे (पुराना काङ्ग्रेस नेता) ::

नेपालमा प्रजातन्त्र आएको वर्ष अर्थात् वि.सं. २००७ साउन १४ गते अर्घाखाँचीमा जन्मिएका श्यामनाथ कश्यप घिमिरे वर्तमान काङ्ग्रेस राजनीतिमा पछि परेका भए पनि पुराना काङ्ग्रेसजनको दृष्टिमा एक अब्बल प्रजातन्त्र सेनानी हुन् । कलिलो उमेरदेखि नै प्रजातन्त्रबारेका पुस्तक अध्ययन गर्न रुचाउने अर्घाखाँची क्षेत्र नम्बर २ को पटौटी गाविस–१ निवासी काश्यप ०२७ सालदेखि नेपाली काङ्ग्रेसको राजनीतिमा सक्रिय रहेका र काङ्ग्रेसको पुरानो पुस्ता एवम् स्थानीय तहमा अत्यन्त लोकप्रिय नेता हुन् । हरिषचन्द्र डिग्री कलेज वाणारसीबाट स्नातक गरेका काश्यपले करिब चार वर्ष गाउँकै कृष्ण माविमा अध्यापनसमेत गरेका थिए । नेपाली काङ्ग्रेसको नवौँ महाधिवेशनदेखि निरन्तर महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य निर्वाचित भएका उनी द्वन्द्वकालमा माओवादीको अपहरणमा समेत परेका थिए । आफ्नो जिल्ला तथा वरपर अत्यन्तै जनप्रिय व्यक्तिका रूपमा परिचित र पार्टी सङ्गठनमा अहोरात्र खटिए पनि पार्टीको जिल्ला समिति हाँक्ने अवसरसमेत नपाउनु कश्यपजस्ता पुराना र इमानदार काङ्ग्रेसजनका निम्ति अभिशाप नै हो । बीपीको विचारलाई हरदम आत्मसात् गर्न रुचाउने काश्यपसँग गरिएको सङ्क्षिप्त कुराकानी प्रस्तुत गरिएको छ :
Interview Kasyep Pic 1
० तपाईंले सक्रिय राजनीतिक जीवन परित्याग गर्नुभएको हो कि अझै राजनीतिमै हुनुहुन्छ ? वास्तवमा यतिबेला तपाईं के गरिरहनुभएको छ ?
– म एकदम राजनीतिमा क्रियाशील छु । सक्रिय राजनीति छाडेर अन्य पेसा वा व्यवसायमा लाग्ने सोचसम्म पनि बनाएको छैन । आफ्नो सम्पूर्ण जीवन यसैमा व्यतीत भएकाले मेरो धन–सम्पत्ति, पेसा–व्यवसाय र परिवार भनेकै नेपाली काङ्ग्रेस र यसले अवलम्बन गरेको नीति हो । महाधिवेशन सम्पन्न गर्ने सिलसिलामा म यतिबेला गाउँ अभियानमा जुटिरहेको छु ।

० राजनीतितर्फ कहिले र कुन कारणले प्रेरित हुनुभयो, बताइदिनुहोस् न ?
– ०२३ सालदेखि नै बनारसमा अध्यापन कार्यमा संलग्न थिएँ । त्यसैबेला तत्कालीन नेतामध्ये शैलजा आचार्य, ढुन्डीराज शास्त्रीलगायत अन्य महत्त्वपूर्ण काङ्ग्रेसी नेताहरूसँग सम्पर्क भयो । त्यसबेला बीपी कोइराला सारनाथ बस्नुहुन्थ्यो । म उहाँलाई भेट्न नियमितजसो जाने गर्दथेँ । यसरी म सहसा बीपीको विचारबाट प्रेरित हुन पुगेँ र ०२७ सालमा नेविसङ्घको सदस्यता लिई सक्रिय भएपश्चात् हालसम्म नेपाली काङ्ग्रेसमा क्रियाशील छु ।

० तपाईंले प्रजातान्त्रिक धार या नेपाली काङ्ग्रेस नै किन रोज्नुभयो नि ?
– नेपाली काङ्ग्रेसको नीति, सिद्धान्त र कार्यक्रम सबैभन्दा उत्तम लागेको र खासगरी प्रजातन्त्रप्रति बाल्यकालदेखि नै लगाव रहेकाले पनि यस्तो हुन गयो । नेताहरूसँगको भेटघाट र प्रजातान्त्रिक विचारको अध्ययनले गर्दा प्रजातन्त्रवादी हुनु नै श्रेयस्कर लागेर म नेपाली काङ्ग्रेसमा आबद्ध भएको हुँ । त्यतिबेला यस्तो प्रजातान्त्रिक नीति र कार्यक्रम यो देशमा काङ्ग्रेसबाहेक कसैमा थिएन ।

० प्रवासमा रहँदा कुनस्तरका कुन–कुन नेतासँग तपाईंको सम्पर्क थियो, प्रस्ट्याइदिनुस् त ?
– गणेशमान सिंह, काशीनाथ गौतम, ढुन्डीराज शास्त्री, प्रदीप गिरी, रामचन्द्र पौडेललगायतका नेताहरूसँग मेरो सान्निध्य वा राम्रो सम्बन्ध थियो । हाल पनि रामचन्द्र पौडेलका विचारका कारण उहाँसँग मेरो विशेष सम्पर्क भइरहन्छ ।

० पञ्चायतकालमा राजनीति गर्न कत्तिको गाह्रो थियो, त्यो समयमा तपाईंको सक्रियताबारे प्रकाश पारिदिनुस् न ?
– हामीजस्ता नेपाली काङ्ग्रेसमा लागेका व्यक्तिलाई अराष्ट्रिय तत्त्व भनी पञ्चायतमा निगरानी गरिन्थ्यो । काङ्ग्रेसको नीति र कार्यक्रमबारे कतै प्रचारप्रसार गरेको थाहा पाएमा जेलमा राख्ने, यातना दिने र ज्यानसमेत लिने काम हुन्थ्यो । त्यसबेला पनि म लुकी–लुकी नेपाली काङ्ग्रेसका पर्चा–पम्प्लेट बोकेर ठाउँ–ठाउँमा पुर्‍याउने र काङ्ग्रेसका नीतिबारे जनतालाई जानकारी गराउने काम गर्दथँे । नेपाली काङ्ग्रेसको आठौँ अधिवेशनले पञ्चायतमा प्रवेश गरी पञ्चायत व्यवस्थालाई ढाल्ने र नेपालमा पुन: प्रजातन्त्र बहाल गर्ने नीति लिएअनुरूप ०४४ सालमा म पटौटी गाविसको प्रधानपञ्चमा निर्वाचित भएँ । ०४६ सालमा प्रजातन्त्र आउनुभन्दा पहिला नै सो पदबाट मैले राजीनामा गरेको थिएँ ।

० तपाईं नेपाली काङ्ग्रेसको १२औँ अधिवेशनमा जिल्ला सभापतिको पदमा उम्मेदवारी दिएर हार्नुभयो, तपाईंको सङ्गठनप्रति लगानी कम भएर हो कि कसो हो ?
– नेपाली काङ्ग्रेसको सङ्गठन निर्माणमा म लगातार लागिरहेको छु । जिल्लामा भएका नेतामध्ये सबैभन्दा बढ्ता लोकप्रिय जिल्ला–नेताका रूपमा मलाई परिभाषित पनि गरिन्छ । कुनै कोणबाट पनि सङ्गठनमा मेरो लगानी कमी भयो भन्ने प्रश्न आउँदैन । मलाई नवौँ महाधिवेशनदेखि निरन्तर महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा क्षेत्रका कार्यकर्ताहरूले निर्वाचित गर्नुभएको छ ।

० त्यसो भए बाह्रौँ अधिवेशनमा जिल्ला सभापति पदमा किन पराजित हुनुभयो त ?
– अर्घाखाँची जिल्लामा नेपाली काङ्ग्रेस कार्यकर्ताहरू धेरै बौद्धिक तथा निष्ठावान र काङ्ग्रेसको आन्तरिक प्रजातन्त्रका लागि सङ्घर्ष गर्दै आएका छन् । जहाँसम्म मैले सभापतिमा पराजय भोगेको प्रश्न छ, यसमा पनि कार्यकर्ताले अवमूल्यन गरेको म ठान्दिनँ । नेताहरूबाट ‘विशेष’ आशीर्वाद लिने उम्मेदवार विजयी हुने र हामीजस्ता निष्ठावान तथा सङ्घर्षशील कार्यकर्ताले यस्ता ठाउँमा अवसर नपाउनु सिङ्गो पार्टीकै लागि घातक छ । यसतर्फ केन्द्रले पनि विचार पुर्‍याउनु आवश्यक महसुस गरेको छु ।

० माओवादी द्वन्द्वकालमा चाहिँ तपाईं कहाँ हुनुहुन्थ्यो ?
– नेपाली काङ्ग्रेसको ११औँ महाधिवेशनको बेला म गाउँ अधिवेशनमा जुटेको थिएँ । अधिवेशनबाट घर फर्किएपछि ०५७ कात्तिक २८ गते साँझ करिब ८ बजे घरभित्रैबाट नेकपा माओवादीका कथित जनमुक्ति सेनाबाट अपहरित भएँ । त्यसपछि मलाई विभिन्न ठाउँमा बन्दीका रूपमा राख्दै ४२ दिनमा मुक्त गरिएको थियो ।

० त्यसरी माओवादीबाट अपहरणमा पर्दा यातना पनि दिए कि ?
– उनीहरूले मेरोबारे अध्ययन गर्दा काङ्ग्रेसको राजनीतिमा क्रियाशील रहेको लोकप्रिय नेता र कुनै किसिमका सामाजिक अपराध, भ्रष्टाचार, व्यभिचार गरेको नदेखिएको ठहर भएछ । आफ्ना दुईजना कार्यकर्तालाई सरकारले तत्काल रिहा गर्नुपर्ने सर्तमा मलाई माओवादीले बन्धक बनाएका थिए । मानसिक तनाव धेरै नै महसुस भयो । सो घटनाले स्तब्ध बनेको सिङ्गो नेपाली काङ्ग्रेस पार्टीको सक्रियतामा उसका माग सरकारले पूरा गरेको कारण म माओवादी फन्दाबाट मुक्त भएँ । उक्त केसमा रामचन्द्र पौडेलले धेरै नै चिन्ता र चासो व्यक्त गर्नुभएको थियो । उहाँको विशेष कसरत नभएको भए के हुन्थ्यो भन्न सकिन्न ।

० त्यसपछि तपाईंका सोच–व्यवहारमा कुनै परिवर्तन आयो कि, के अनुभूति गर्दै हुनुहुन्छ ?
– ४२ दिनमा सकुशल मुक्त हुँदा पुनर्जन्म पाएको अनुभूति भयो । अपहरित बनेको समय सिङ्गो पार्टीले व्यक्त गरेको चिन्ता, माया र सकारात्मक व्यवहारका कारण बाँकी जिन्दगी बीपीको विचार र काङ्ग्रेसको नीति तथा कार्यक्रमलाई जनस्तरसम्म पुर्‍याउँदै पार्टीकै लागि समर्पित हुने अठोट गरेँ । जसअनुसार सो समयदेखि झनै ‘नामकाजी’भन्दा ‘कामकाजी’मा विश्वास गर्नु उपयुक्त ठानी अहोरात्र पार्टीको काममा खटिरहेको छु ।

० पार्टीका लागि यसरी मरिमेट्ने तपाईंजस्ता व्यक्तिहरू सक्रिय हुँदाहुँदै पनि पछिल्लो संविधानसभाको चुनावमा अर्घाखाँचीका दुवै क्षेत्रबाट किन काङ्ग्रेस हारेको होला ?
– नेपाली काङ्ग्रेसको पकड किल्लाका रूपमा परिचित अर्घाखाँची जिल्लाबाट संविधानसभाका लागि दुवै सिट गुम्नु अत्यन्तै दु:खद् पक्ष हो । यसमा मूलत: पार्टीमा अहोरात्र सक्रिय भूमिका निर्वाह गरेका नेता तथा कार्यकर्तालाई महत्त्वपूर्ण जिम्मेवारी लिनबाट किनारा लगाई कम अनुभव भएका व्यक्तिहरूले साङ्गठनिक वागडोर सम्हाल्ने अवसर पाएकाले अर्घाखाँचीमा त्यस्तो परिणाम आएको हो । विशेषगरी बाह्रौँ महाधिवेशनमा मैले जिल्ला सभापतिको अवसर पाएको भए सायद यस्तो दु:खद् परिणाम आउँदैनथ्यो भन्ने लाग्छ ।

नेपाली काङ्ग्रेसको महाधिवेशनको मौसम चलिरहेको वर्तमान परिवेशमा अर्घाखाँचीबाट तपार्इंको भूमिका के रहला ?
– नेपाली काङ्ग्रेसको एक इमानदार सिपाही भएको कारण करिब एक महिनाअघिदेखि साङ्गठनिक अभियानमा अहोरात्र लागिपरेको छु । मेरो भूमिकाको सन्दर्भमा नेपाली काङ्ग्रेसका बहुमत साथीहरूले जिम्मेवारी लिन प्रस्ताव गरेमा म जिम्मेवारी लिनबाट पछाडि हट्दिनँ, तर जिम्मेवारी प्राप्तिका लागि गुट–उपगुट खडा गरी लुछाचुँडी पनि म गर्दिनँ । किनकि, मेरो प्राण नै नेपाली काङ्ग्रेस हो ।

० तपाईंभन्दा जुनियर काङ्ग्रेसका जिल्ला नेताहरूले तपाईंलाई सर्वसम्मत जिम्मेवारी नदिनुको कारण पनि केही छन् कि ?
– कतिसम्म बोल्न मिल्ने हो थाहा भएन, तर नेपाली काङ्ग्रेसभित्र सबैभन्दा कमजोर पक्ष भनेको पार्टीका नेता तथा कार्यकर्ताहरूको योगदान कसले, कहाँ र कति गरेको छ भन्ने लेखाजोखा नहुनु रहेको छ । यसकारण मजस्ता तमाम व्यक्तिहरू अवसर पाउने सन्दर्भमा वञ्चित रहँदै आउनुपरेको छ ।

० मुलुकको यतिबेलाको राजनीतिलाई कसरी हेरिरहनुभएको छ ?
– राष्ट्र यतिबेला अत्यन्तै सङ्कटमा छ र यसलाई समाधान गरी संविधान कार्यान्वयन गर्ने प्रमुख दायित्व लोकतान्त्रिक पार्टी नेपाली काङ्ग्रेसबिना असम्भव छ । यस अर्थमा देशैभरि चलिरहेको १३औँ महाधिवेशनमा नेपाली काङ्ग्रेसभित्र त्याग र बलिदान पुर्‍याएका व्यक्तिहरूलाई सम्पूर्ण कार्यकर्ताले अवसर दिएमा सिङ्गो पार्टी तथा राष्ट्रलाई सही दिशातर्फ उन्मुख गराउन मद्दत मिल्नेछ ।

प्रस्तुति : मुक्तिनाथ भुसाल