देउवालाई यसकारण सजिलो

देउवालाई यसकारण सजिलो


sher-bahadur-deuba
नेपाली कांग्रेसको तेह्रौँ महाधिवेशन वरिष्ठ नेता शेरबहादुर देउवाका निम्ति ‘कोसेढुङ्गा’ साबित हुने सम्भावना बढेको छ । यसअघिका दुई महाधिवेशनमा सभापति पदमा उम्मेदवार भएर पनि पराजित हुनुभएका देउवाका निम्ति तेह्रौँ महाधिवेशनले सफलताको ढोका खोल्ने सङ्केतहरू देखिएका छन् । अकर्मण्य एवम् अक्षम व्यक्तिका रूपमा प्रमाणित जीर्ण शरीरधारी सुशील कोइराला आफैँ उम्मेदवार बन्न अग्रसर हुनु, रामचन्द्र पौडेलजस्ता नेताको उपेक्षा गरिनु, पक्षभित्र महामन्त्री र उपसभापति पदका आकाङ्क्षीको सङ्ख्या ठूलो हुनु, पदाधिकारी बन्न नपाएको अवस्थामा धेरै नेताले कोइरालाको साथ छोड्ने स्थिति रहनु, यसअघि कोइरालाको पक्षमा रहेका कतिपय स्थापित व्यक्तिहरूले कोइरालालाई छोडेर देउवाको समर्थन गर्नु, कोइराला पक्षभित्र आपसी मनमुटाव र अन्तद्र्वन्द्व बढ्नु, पार्टी र सरकारको नेतृत्वमा रहँदा कुनै पनि प्रभावकारी काम गर्न नसक्नुजस्ता कारणले सुशील कोइरालालाई तेह्रौँ महाधिवेशनमा दुर्बल देखाएको छ ।

उता वरिष्ठ नेता शेरबहादुर देउवा भने धेरै दृष्टिले अनुकूल अवस्थामा हुनुहुन्छ । हालसम्म देउवा पक्षको भनेर चिनिएका कुनै पनि नेताले प्रकाशमान सिंह, सुजाता जोस्ट र कृष्ण सिटौलाले झैँ सभापतिमा उम्मेदवार बन्ने भनेर देउवालाई अप्ठ्यारोमा पारेका छैनन् । त्यस्तै पदाधिकारी चयनमा पनि देउवा सुविधाजनक अवस्थामा हुनुहुन्छ । उहाँ योग्यता, क्षमता र आवश्यकताका आधारमा उपसभापति र महामन्त्री चयन गर्न स्वतन्त्र हुनुहुन्छ । यसअघि महामन्त्रीको उम्मेदवार रहनुभएका विमलेन्द्र निधिले ‘मेरो कुनै दाबी छैन, तपाईं सभापति बन्ने कुरा प्रमुख हो, जे गर्दा तपाईंलाई सजिलो हुन्छ त्यसै गर्नुहोस्’ भनी देउवालाई सजिलो बनाइदिनुभएको छ । निधिका कारण देउवा खुमबहादुर खड्का, डा. रामशरण महत या अर्जुननरसिंह केसी जो–कसैलाई उपसभापति या महामन्त्री बनाउन सक्ने हैसियतमा हुनुहुन्छ । डा. महत र केसी दुवैले यसअघिको महाधिवेशन (बाह्रौँ) मा सुशील कोइरालालाई सहयोग पुर्‍याउनुभएको हो ।

केसीले त देउवालाई साथ दिने निर्णय गरिसक्नुभएको छ, डा. महत पनि देउवाको पक्षमा उभिन बाध्य हुनुभएमा आश्चर्य मान्नुपर्ने छैन । महामन्त्री या उपसभापति बन्न नपाए कृष्ण सिटौलादेखि नरहरि आचार्यसम्मका धेरैको साथ गुमाउने अवस्थामा कोइराला हुनुहुन्छ । कोइरालाबाट भड्किएका नेताहरूलाई आवश्यकताअनुरूप सम्मानजनक स्थान दिने सोच देउवाले बनाउनुभएको छ । अर्जुननरसिंह केसी, डा. अमरेशकुमार सिंह, केशवकुमार बुढाथोकी, लक्ष्मणप्रसाद घिमिरे, चन्द्र भण्डारी र श्याम घिमिरेदेखि अमृत अर्यालसम्मले कोइरालालाई छोडेर देउवालाई साथ दिने भएपछि देउवाको पक्षमा अपेक्षित माहौल बन्दै गएको छ । त्यस्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरूको साथ पनि यसपटक वरिष्ठ नेता देउवालाई हुनसक्ने सम्भावना बढेको छ ।

पार्टीमा प्रभावशाली मानिएका नेता खुमबहादुर खड्काको समेत देउवालाई नै समर्थन हुने बुझिएको छ । हालको संस्थापन पक्षबाट रामचन्द्र पौडेल उम्मेदवार बन्नुभएको अवस्थामा सभापति बन्न देउवालाई अलिक मिहिनेत गर्नुपर्ने अवस्था भए पनि सुशील कोइरालासँगको प्रतिस्पर्धामा देउवा पाँच सयभन्दा बढी मतान्तरले विजयी बन्नुहुने विश्लेषकहरूको अनुमान छ । पौडेल र कोइराला दुवैसँग एकसाथ प्रतिस्पर्धा भएमा देउवाले पैंसट्ठी प्रतिशत मत ल्याउनुहुने अनुमान पनि विश्लेषकहरूले गरेका छन् । देउवाको विजयपछि कांग्रेसले नयाँ गति र दिशा लिने विश्वास आमकांग्रेसजनले गरेका छन् ।