दिल्लीमा दलित मन्त्रीको यस्तो चर्तीकला !

दिल्लीमा दलित मन्त्रीको यस्तो चर्तीकला !


Bishwendra Pashwan
यही माघ १ गते भारतीय नम्बर प्लेट रहेको आफ्नै सवारीसाधन लिएर सडक–मार्गमार्फत भारतको उत्तर प्रदेशको लखनउ हुँदै दिल्ली पुगेका विज्ञान तथा वातावरणमन्त्री विश्वेन्द्र पासवानका गतिविधिहरू संंदिग्ध रहेको समाचार प्राप्त भएको छ । स्रोतका अनुसार माघ ४ गते दिल्ली पुगेर नेपाली दूतावासको सामान्य अतिथिगृहमा पाँच रात बसेका पासवानले मन्त्रालयमा भने तारे होटेलमा बसेको बिल पेस गरेका छन् ।
दिल्लीमा काम गर्ने दलित र मुस्लिम समुदायका केही युवाहरूले मन्त्री भएकोमा आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा सहभागी हुन भनी दिल्ली गएका भए पनि दिल्लीमा रहँदा अधिकांश समय इस्लामिक गतिविधिमा संलग्न शङ्कास्पद व्यक्ति तथा समूहहरूसँग हिमचिममा रहेका पासवानको दिल्ली भ्रमणको उद्देश्य के हो– रहस्यमय बनेको छ ।

माघको ७ गते दिल्लीस्थित प्रेस क्लबमा २०–३० जना दलित युवा तथा माघको ८ गते ३०–४० जना मुस्लिम युवाले इस्लामिक कल्चर सेन्टरमा उनलाई बधाई दिएका थिए । आश्चर्यको कुरा के छ भने नेपाल सरकारको मन्त्रीको हैसियतले दिल्ली भ्रमणमा पुग्दा पनि पासवानले मन्त्रालयका कुनै कर्मचारी वा नेपाली दूतावासका कुनै कर्मचारीलाई आफ्ना भेटघाट र कार्यक्रममा सामेल गराएनन् । यसबाट उनको भारत भ्रमण संदिग्ध रहेको स्पष्ट हुन्छ ।

उत्तर प्रदेशको लखनउमा पर्यावरण जोगाउन भनी करिब डेढ दर्जन साइकलसहितको यात्रा गरेका पासवानले दिल्लीमा पनि दिल्ली सरकारका पदाधिकारीलाई चक्मा दिई साइकल र्‍यालीको नौटंकी रचेका थिए । सो र्‍यालीमा समेत उनले दूतावासका कुनै कर्मचारीलाई सामेल गराएका थिएनन् । माघ ७ गतेका दिन प्ेरस क्लबमा दिनभर बिताएका उनले आफ्नो साथमा लिएर गएका सुरक्षागार्डलाई केही खानपिउन नदिएर झन्डै बेहोस हुने अवस्थामा पुर्‍याएको स्रोतको भनाइ छ । कार्यक्रमको बीचमै भोकले गर्दा बेहोस भई ढलेका सुरक्षागार्डलाई राजदूतावासको गाडीमा तत्काल अस्पताल पुर्‍याइएको थियो ।

सिरहा–सप्तरीतिरका करिब ७–८ जना दलित–मुस्लिम युवालाई आफ्नै गाडीमा कोचेर दिल्ली लगेका पासवानले कार्यक्रमको बीचबीचमा नेपालका अम्बेडकर विश्वेन्द्र पासवान–जिन्दावाद भनी नारा लगाउन भनी गाडीमै सिकाएका थिए । अनपढ तथा अम्बेडकर को हो भन्नेसमेत थाहा नभएका मजदुरहरूले मासु र भात खाएर दिल्ली घुम्न पाएकै भरमा कार्यक्रमको बीचबीचमा सिकाएअनुसार नारा लगाएका थिए ।
Bishwendra-Paswan (1)
उनलाई लखनउका दलित लेखक दुस्यान्त हजराले दिल्ली युनिभर्सिटीका प्रो. रामलालसँग परिचय गराएका थिए । प्रो. रामलालले माघ ६ गते राति मन्त्री पासवान र दिल्ली सरकारका पर्यावरणमन्त्रीलाई आफ्नो निवासमा रात्रिभोज दिएका थिए । भोजका क्रममा कुराकानी गर्दा दिल्लीका मन्त्रीसँग पासवानले मेरा पुर्खा नेपालका राजा थिए भनी गफसमेत लगाएको बताइन्छ । त्यसपछि दिल्ली सरकारका मन्त्री ‘मेरा और कहीँ मिटिङ है’ भनी बीचैमा उठेर हिँडेका थिए । उदेकलाग्दो कुरा के छ भने मन्त्री पासवानका बाबु ढलिया पासवान पूर्वराजा ज्ञानेन्द्र शाहका बहिनीज्वाइँ कुमारबहादुर शाहीको सिरहा मिर्चैयास्थित घरमा धेरै वर्ष हली बसेका थिए । उनको ०५७ सालमा मृत्यु भइसकेको छ भने काका बौवालाल पासवान अझै पनि हिमालयन टाइम्सका प्रकाशक उज्ज्वल शर्माको सिरहा लख्मीपुरस्थित घरमा हलीकै रूपमा काम गरिरहेका छन् ।

अझै पत्याउन नसकिने कुरा के छ भने मन्त्री पासवानले सँगै लगेका कार्यकर्ताहरूलाई आफूले लगेको गाडीमा फर्काइदिएर माघ ८ गते बिहान १० बजेतिर दिल्लीबाट पटनाका लागि उडेका थिए र इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुग्नका लागि राजदूतावासले गाडी उपलब्ध गराएको थियो । एयरपोर्ट पुग्ने क्रममा मन्त्री पासवानले चालकले गाडीमा राखेको करिब दुई हजार मूल्य पर्ने दिल्लीस्थित कूटनीतिक नियोगहरूको विस्तृत सूचना रहेको ‘डिप्लोम्याट डाइरेक्ट्री’ र त्यसको बीचमा राखेको दुई हजार भारतीय रुपैयाँ टप्काइसकेका थिए । भण्डारी थरका पीडित चालकका अनुसार सो रकम उनले कसैलाई दिन भनी डाइरेक्ट्रीको बीचमा राखेका थिए ।
पासवानलाई एयरपोर्ट छिराएर फर्कने क्रममा गाडीमा राखेको उक्त डाइरेक्ट्री र रकम गायब भएको देखेपछि चालक भण्डारीले मन्त्री पासवानको कर्तुतबारे राजदूतावासमा फर्केर अधिकारीहरूलाई मौखिक उजुरी गरेका थिए । सूत्रका अनुसार दूतावासका उच्च अधिकारीहरूले मन्त्रीले पैसा चोरेको भन्दा आफ्नै देशको इज्जत जान्छ भनी घटनालाई गुपचुप राख्न दबाब दिएको बुझिएको छ । पटना एयरपोर्टमा पुग्दा कोही पनि लिन नआएपछि मन्त्री पासवानले दूतावासका कर्मचारी गणेश अधिकारीलाई असभ्य तरिकाले थर्काएपछि यो घटनाको बारेमा रहस्य खुल्न पुगेको हो ।

पछिल्लो जानकारीअनुसार मन्त्री पासवान गत मङ्सिरको तेस्रो सातातिर अन्र्तर्राष्ट्रिय पर्यावरण सम्मेलनमा भाग लिन करिब पाँच दर्जनजनाको जम्बो टोलीसहित फ्रान्स पुगेका थिए । उक्त कार्यक्रममा दुई दिन सहभागी हुनुका अतिरिक्त उनी एक हप्तासम्म बेल्जियम, पोर्चुगललगायतका मुलुकमा पुगेको र आफ्ना साथमा लगेका १५ जना व्यक्तिलाई उतै छोडेर आएको समाचार छ ।
Bishwendra paswan 2
पासवानले भ्रमण दल बनाउँदा मन्त्रालयका सचिवहरूसँग मिलेमतो गरी जम्बो टोली बनाएको अनि उतै बस्न इच्छुकहरूसँग जनही १६ लाख असुलेर कार्यक्रमसँग सम्बद्ध नरहेका व्यक्तिहरूलाई भ्रमण दलमा सामेल गराएको बुझिएको छ । यसबारेमा मन्त्री पासवानको अक्षम्य हर्कतबारे प्रधानमन्त्री केपी ओलीलाई जानकारी गराइएको र प्रधानमन्त्रीले बालुवाटारमा बोलाई एक हप्ताभित्र लिखित स्पष्टीकरण दिन निर्देशन दिएको समाचार छ ।
स्मरण रहोस्, अध्यागमनको रेकर्डमा उक्त भ्रमण दलका १५ जना सदस्यहरू फर्केको कुनै रेकर्ड वा जानकारी छैन र हाल पोर्चुगलमा विदेशी नागरिकहरूलाई स्थायी बसोबास प्रमाणपत्र लिन अन्य मुलुकको तुलनामा प्रक्रिया सहज रहेकाले बेरोजगार नेपाली युवाहरू त्यतातिर पलायन हुन आकर्षिक हुने गरेका छन् भने शरणार्थी बनेर काम गर्न बेल्जियम र स्पेन नेपाली युवाहरूका लागि उर्वरभूमि मानिएको छ ।