यूके जनगणना -११ र नेपाली दूतावास

यूके जनगणना -११ र नेपाली दूतावास


एक अस्पुष्ट जानकारीअनुसार, दश वर्षपछि गरिने जनगणनाको तथ्यांक संकलनमा योपालि पनि नतिजा पहिलेको जस्तै भएको छ । ठूलो संख्यामा आप्रवासीहरुले योपालिको सेन्ससको फारम नभरेको बताइएको छ । सेन्सस २०११ खासगरी हामी नेपालीहरुको लागि अत्यन्तै महत्वपूर्ण छ । हाम्रो उपस्थिति गन्न लायकको नदेखिएकोले नै हामी सरकारी फारमहरुका हराइएका हुन्छौं । सरकारी आँकडामा विलाइएका हुन्छौं । बितेको केही वर्षमा यूकेमा बसोबास गर्नका लागि भनी विभिन्न देशहरुबाट यहाँ नेपालीहरु थुप्रिएका छन् तर तिनलाई सही अनि पारदर्शी किसिमले गोलबद्ध गर्न यहाँ जातिवादी, क्षेत्रवादी अनि विचारवादी सोँच नराख्ने ठूलो अनि साझा संस्थाको अभावले गर्दा सकिएको छैन । त्यस्तै विभिन्न जातिवादी संस्थाहरुमा यो प्रयासलाई साझा महत्वको साथ आफ्ना सदस्य परिवारहरुतिर जानकार बनाउन यथेस्ट काम नगरिएको भान भएको छ भने कुनै कुनै यस्तै संस्थाहरुबाट गलत जानकारी उपलब्ध गराइएको पनि चर्चा छ । अप्रिलको ०६ सम्ममा छुटेका वा छुटाइएकाहरुले अनिवार्य गरिएको उक्त फारम भरी दश वर्षको एकपटक आउने मौकामा नेपालीहरुको संख्या लायक बनाउन सक्नेछन्, सम्वन्धितहरुले यसमा पक्कै नै चासो देखाउने छन् भन्ने हामीले आशा राखेका छौं ।

यूकेका लागि नेपाली दूतावास नेपाली समाजहरुको सक्रियताभित्रको भुलभुलैयामा हराउन थालेको छ । विभिन्न जातिगत संघसंस्थाहरुमा हुने राजदूतको उपस्थितिले, त्यही छरिएर रहेको नेपाली समाजलाई झन् टुक्रँदो हालातमा लान सक्ने एकातिर देखिएको छभने, अर्कोतिर राजदूतलाई आफ्नो संस्थाको कार्यक्रममा उपस्थित गराई संस्थाको महत्व समाजमा उच्च बनाउने होडमा रहेको सामाजिक परिवेशमा, राजदूतको महत्व खस्किँदै गएको छ । नेपाल सरकारको प्रतिनिधित्व गर्ने संस्थाको उपस्थिति, सामाजिक भेलाहरुमा गराउनका लागि विभिन्न सामाजिक संघसंस्थाहरु लालायित हुनु स्वभाविकै भए तापनि राजदूत स्वयंको उपस्थिति भने जातीय, प्रादेशीय, वा क्षेत्रीय संघसंस्थाको भेलामा नराखिनु उपयुक्त देखिन्छ, त्यस्ता भेलाहरुमा दूतावासको प्रतिनिधित्व अन्य अधिकारीहरुले गर्न सक्ने नै छन् । ब्रिटिश पासपोर्टवाला नेपालीहरु र नेपाली पासपोर्टवाला नेपालीहरुले प्राविधिक रुपमा विभाजित भएका जनसमुदायहरुतर्फ विशेषतः दूतावासले कूटनीतिक रुपमा दिने चासोहरुको विविधताउपर आम जनचासो रहेको छ ।