कांग्रेस सभापति सुशील कोइरालाको देहावसान

कांग्रेस सभापति सुशील कोइरालाको देहावसान


Sushil-Koirala

नेपालको प्रजातान्त्रिक आन्दोलनका एक शीर्ष व्यक्तित्व पूर्वप्रधानमन्त्री एवम् नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालाको ७६ वर्षको उमेरमा निधन भएको छ । वि.सं. १९९६ साउनमा पिता बोधप्रसाद र आमा कुमुदिनी कोइरालाको कोखबाट जन्मिनुभएका स्वर्गीय कोइरालाले ०७ सालमा ११ वर्षको उमेरमै तत्कालीन राजनीतिक परिस्थितिबारे सचेत हुँदै प्रजातान्त्रिक आन्दोलनप्रति चासो दर्शाउन थाल्नुभएको थियो । विराटनगरमा जन्मिए पनि वन अधिकृत रहेका पिता बोधप्रसाद कोइराला जागिरको सिलसिलामा बाँके पुगेपछि कोइराला परिवारको बसोबास नेपालगञ्जमै भएको थियो । विगत पचास वर्षदेखि निरन्तर लोकतान्त्रिक आन्दोलनमा सक्रिय कोइराला ०६६ असोजदेखि नेपाली काङ्ग्रेसको सभापतिको जिम्मेवारीमा हुनुुहुन्थ्यो भने ०७० माघ २७ गते उहाँ प्रधानमन्त्री निर्वाचित हुनुभएको थियो । नेपालको नयाँ संविधान उहाँकै कार्यकालमा जारी भएकाले नेपालको राजनीतिक इतिहासमा स्वर्गीय कोइरालाको विशेष तवरले नामाङ्कन भएको छ ।

विश्वेश्वरप्रसाद कोइरालाको प्रजातान्त्रिक समाजवादी धारणाबाट प्रेरित भई २०१० सालदेखि कोइराला राजनीतिमा सक्रिय रहँदै आउनुभएको थियो । वि.सं. २०१७ मा प्रजातन्त्रको अपहरणपछि १६ वर्षसम्म प्रवास (भारत)मा रहनुभएका उहाँ आजीवन अविवाहित रहनुभयो । नेपालमा लोकतन्त्र बहालीका लागि काङ्ग्रेसले सञ्चालन गरेको सशस्त्र क्रान्तिमा काङ्ग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको सहयोगीका रूपमा स्वर्गीय सुशीलको महत्त्वपूर्ण भूमिका रहेको थियो । इमानदारितालाई राजनीतिकर्मीको ठूलो शक्ति ठान्ने व्यक्तिका रूपमा प्रशंसित कोइराला समकालीन नेताहरूमध्ये सबैभन्दा सादा जीवन व्यतीत गर्ने पार्टी सभापतिका रूपमा परिचित हुनुहुन्थ्यो ।

वि.सं. २०३६ मा नेपाली काङ्ग्रेसको कन्द्रीय सदस्य हुनुभएका सुशील कोइराला ०३६ सालको जनमतसङ्ग्रहमा बहुदलीय प्रजातन्त्रका पक्षमा अभियान चलाउनुका साथै ०४२ सालको सत्याग्रह र ०४६ सालको ऐतिहासिक जनआन्दोलनमा सक्रिय रूपमा लाग्नुभएको थियो । बीपी कोइरालाको निधनपछि सोसलिस्ट इन्टरनेसनलसँग पार्टीको सम्बन्ध विस्तार गर्न गिरिजाप्रसाद कोइरालासँगै युरोप र अमेरिका भ्रमण गर्नुभएका उहाँले समाजवादी नेता बिली ब्रान्ट, ब्रुनो कास्की तथा अन्य युरोपेली र अमेरिकी नेतासँग समाजवादी आन्दोलन सम्बन्धमा छलफल गर्नुभएको थियो । स्वर्गीय सुशीलले पार्टीमा लामो समयसम्म केन्द्रीय सदस्य, महामन्त्री, उपसभापति र कार्यबाहक सभापति भएर काम गर्नुभएको थियो भने ०६६ साल भदौमा सम्पन्न बाह्रौँ महाधिवेशनबाट उहाँ काङ्ग्रेस सभापति चुनिनुभएको हो ।

पछिल्ला तीन दिनदेखि निमोनियाका कारण अस्वस्थ रहनुभएका स्वर्गीय कोइरालालाई दमसम्बन्धी क्रनिक अब्सट्रक्टिव पल्मुनरी डिजिज (सीओपीडी) समस्याले एक्कासि च्यापेपछि अस्पताल लैजान नपाई हिजो मंगलबार बिहान १२:५० बजे महाराजगञ्जस्थित निवासमै निधन भएको हो ।

०३० सालमा गिरिजाप्रसाद कोइरालाको योजना तथा निर्देशनमा तत्कालीन शाही नेपाल वायुसेवा निगमको विमान अपहरण गरी भारत बिहारको फारवेसगञ्जमा उतार्नेजस्तो साहसी एवम् जोखिमपूर्ण कार्यमा समेत सुशील कोइराला सरिक हुनुभएको थियो । उक्त विमान अपहरणबाट प्राप्त गरेको ३० लाख भारतीय रुपैयाँ सशस्त्र क्रान्तिमा उपयोग भएको विश्वास गरिँदै आएको छ । विमान अपहरणपछि भारतीय प्रहरीलाई छल्न कोइरालाले मुम्बई, कालिङपोङलगायत भारतका विभिन्न सहरमा भूमिगत जीवन बिताउनुभएको थियो । यसरी छल्दै हिँडे पनि अन्तत: कोइराला दिल्लीबाट पक्राउ पर्नुभयो भने त्यसपछि उहाँले तीन वर्षजति भारतका विभिन्न जेलमा बिताउनुपरेको थियो । प्रवासमा रहँदा उहाँ नेपाली काङ्ग्रेसको मुखपत्र तरुणको सम्पादनसमेत गर्नुहुन्थ्यो ।
०७ सालपछि नेपालमा लोकतन्त्र स्थापनाका लागि भएका सबै आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका कोइरालाले ६ वर्ष जेलसमेत गरी करिब १६ वर्ष भारतमा बिताउनुभएको थियो । भारत बसाइको प्रसङ्गमा स्वर्गीय कोइरालाबारे एउटा रोचक तथ्य के पनि छ भने उहाँले ०१६ सालअघि नै बनारसमा नृत्य र फोटोग्राफीसम्बन्धी प्रशिक्षण लिनुभएको थियो । त्यसबेला हलिउड गई फिल्मको हिरो बन्ने सोख पाल्नुभएका कोइराला कोरियोग्राफी सिक्न र हलिउडमा काम गर्न अमेरिका जाने अन्तिम तयारीमा रहेका बेला तत्कालीन राजा महेन्द्रले ०१७ पुस १ गते बीपी कोइरालाको सरकार अपदस्त गरेका थिए । त्यसपछि सुशील कोइरालाको जीवनले अर्कै मोड लिन पुगेको थियो ।
Sushil-Koirala Late
वि.सं. २०४६ को जनआन्दोलनपछि ०४८ र ०५६ सालमा बाँके क्षेत्र नं. २ बाट सांसदमा विजयी हुनुभएका कोइराला सधैँ सत्ता र शक्तिभन्दा बाहिर रहँदै आउनुभएको थियो । ०५१ को मध्यावधि र ०६४ मा भएको संविधानसभा निर्वाचनमा पराजित कोइराला २०५८ मा भएको संसदीय दलको निर्वाचनमा शेरबहादुर देउवासँग पनि पराजित हुनुभएको थियो । प्रजातन्त्र पुनस्र्थापनापछि गठित पहिलो सरकारमा परराष्ट्रमन्त्री बन्न गरिएको आग्रह स्वीकार नगर्नुभएका उहाँले त्यसपछि पनि उपप्रधानमन्त्री बन्न गरिएको आग्रह पटक–पटक अस्वीकार गर्नुभएको थियो । तर, ०७० साल मङ्सिरमा भएको संविधानसभाको निर्वाचनमा बाँके–३ र चितवन–४ बाट निर्वाचित हुनुभएका उहाँ शेरबहादुर देउवालाई संसदीय दलको नेतामा परास्त गर्दै प्रधानमन्त्रीको कुर्सीसम्म पुग्न सफल हुनुभयो ।

केही वर्षदेखि क्यान्सर रोगबाट ग्रस्त रहे पनि पछिल्ला दिनमा आफूले क्यान्सरलाई जितेको भन्दै उहाँ राजनीतिमा सक्रियता दर्शाउने मानसिकतामा रहनुभएको अनुभूति गरिएको थियो । अमेरिकामा भएको क्यान्सर–उपचार सफल भए पनि अन्तत: क्रनिक अब्सट्रक्टिव पल्मुनरी डिजिजलाई परास्त गर्न भने कोइराला सफल हुनुभएन र ०७२ माघ २६ गते बिहान १२:५० मा उहाँले महाप्रस्थानको बाटो लिनुभयो ।