वर्तमानमा बाँचेर भविष्य सोच्नुपर्छ

वर्तमानमा बाँचेर भविष्य सोच्नुपर्छ


SN-Karki, Shwoyembhunath
:: स्वयम्भूनाथ कार्की ::

नेपाली भाषामा एउटा उखान छ ‘मेरा बाजेले घिउ खाएका थिए, मेरो हात सुँघ’ । अब बाजे–बराजुले खाएको घिउको सुगन्ध नाति–पनातिको हातमा बस्छ कि बस्दैन भनेर सोध्नु नै मूर्खता हुन्छ । यसको अर्थ यो होइन कि विगतमा आफ्ना पुर्खाहरूको गौरवको कुनै महत्त्व छैन । इतिहासमा गौरव गर्न पाउनु हरेकको अधिकार हो, इतिहासले दिएको शिक्षा लिएर भविष्यको निर्माण गर्नु हरेकको कर्तव्य हो । विगत भनेकै बितेको समय हो जसमा वर्तमानले कुनै परिवर्तन गर्न सक्दैन । त्यसै गरेर भविष्यलाई एउटा लक्ष्यमा लैजान प्रयत्नसम्म गर्ने हो, तर त्यसमा सफल नै हुन सकिन्छ भन्ने पनि छैन । यस कुरामा असहमति जनाउन त सकिन्छ, तर उदाहरणको निमित्त नेपाल अधिराज्यको संविधान, २०४७ नै पर्याप्त छ ।

यो आलेखको विषयवस्तु त्यो संविधानको मिमांसा गर्नु होइन । केवल भविष्यमा वर्तमानको नियन्त्रण रहन सक्दैन भन्ने कुराको उदाहरण प्रयोजनको निमित्त मात्र प्रसङ्ग जोडिएको हो । जुनबेला उक्त संविधान निर्माण भएर लागू भयो त्यसबेला यसलाई विश्वको उत्कृष्ट संविधान भनियो । त्यसबेलाको भविष्यलाई डोर्‍याउने सो प्रयत्न एक दशक पनि थामिन सकेन । जुन मुखले त्यसलाई ‘उत्कृष्ट’को पगरी लगाइको थियो तिनै मुखहरू अहिले त्यसको नाम पनि लिन नहुने गरेर ‘निकृष्ट’ सावित गर्न लागेका छन् । यो त्यसबेलाको वर्तमानले त्यसबेलाको भविष्य अहिलेको वर्तमानलाई नियन्त्रण गर्न खोजेकोलाई अस्वीकार गरेको प्रस्ट हो । यसका पक्ष वा विपक्षमा तर्कहरू धेरै हुन सक्छन् । लामो–लामो बहस हुन सक्छ तर वर्तमानले भविष्यलाई नियन्त्रण गर्न नसकेको ज्वलन्त उदाहरण भने हो यो ।

विगतलाई अस्वीकार गर्नका लागि भनिन्छ– खोलामा धेरै पानी बगिसक्यो । कुरा बिल्कुल सही हो, विगत विगत नै हो, विगत नै वर्तमान होस् भन्ने कसैले नचाहला, चाहिहाल्यो भने पनि त्यो सम्भव नहोला । कुनैबेला जङ्गल फाँडेर बस्ती बसाउनु विकास हुन्थ्यो, हिंस्रक जङ्गली जनावरको सिकार गर्नु बहादुरी हुन्थ्यो भने वर्तमानमा त्यो अपराध हुन्छ । इतिहासमा चर्चेको भूगोल खोज्दा ती अनकन्टार जङ्गल र त्यसमा बसोबास गर्ने जङ्गली जनावर फेरि खोजेर पाइन्न । विश्व भूमण्डलीकरणको यो युगमा कोही पनि कछाड कसेर ढुङ्गे हतियारको सहाराले यायावरको जीवन बाँच्न तयार हुँदैन । बरु त्यसभन्दा अमेरिका बसोवास गर्न पाइने डीभी भनिने चिठ्ठाको फारम भर्न लाम लाग्न रुचाउँछन् ।

कोरियामा श्रम गर्न जान ईपीएस भनिने कोरियन भाषाको निमित्त लागेको लामो लर्कोले वर्तमानमा रोजगारीको निमित्त कुनै पनि भाषा अङ्गीकार गर्नुपर्ने जनाउँछ । वर्तमान इतिहासमा बाँच्न बिल्कुलै सक्दैन । वर्तमानमा जे छ त्यो सत्य हो र त्यसैको भोगाइ मनपरे पनि वा नपरे पनि खप्नुपर्ने नै हुन्छ । कोहीले आफूलाई भूमिपुत्र भन्दा अरूले सोच्नु नै पर्ने हुन्छ, किनभने जन्मको हरेक प्रक्रिया आफूलाई भूमिपुत्र भन्ने र भूमिपुत्र नमानिएकामा समान नै हुन्छ । रैथाने र गैररैथानेका यो विवाद जसजसका बीचमा छन् ती सबै यसै पृथ्वीमा जन्म लिएका हुन् । कसैले अरूलाई यो पृथ्वीको होइन भन्न सक्दैन । तैपनि विभिन्न अल्पविकसित मुलुकहरूमा यस्तो किसिमको विवादले स्थान पाउने गरेको हुन्छ । कहीँ–कहीँ त यस्तो विवाद भीषण नरसंहारको कारक पनि बन्छ ।

सोच्नुपर्ने कुरा के छ भने आखिर यो विवाद किन जन्मन्छ त ? किनभने कोही कुनै कुलमा जन्म आफ्नै रोजाइले लिँदैन । विकसित पश्चिमा मुलुकहरू अल्पविकसित मुलुकमा उठेका यस्ता कुरालाई बलेको आगोमा घ्यू थप्ने प्रत्यक्ष वा अप्रत्यक्ष प्रयत्न गर्ने सङ्गठनहरूका निमित्त उर्वर भूमि भएका छन् । आफ्नै मुलुकमा भने यस्तो कुरा नहोस् भनेर अन्य मुलुकबाट आएका आप्रवासीलाई भरसक एक स्थानमा रहन नदिने प्रबन्ध गर्दछन् । आफ्नो मुलुकमा प्रचलित भाषा नजान्नेलाई प्रवेश नदिन कानुन बनाएका विकसित मुलुकहरू प्रसस्त छन् । जुन कुरा आफूलाई अपच हुन्छ अन्य मुलुकमा त्यसै किन प्रवद्र्धन गरिन्छ त ? यो कुराको उत्तर खोज्न तेस्रो विश्व भनिने मुलुकहरूले मन्थन गर्न आवश्यक भएको छ ।

आर्थिक रूपले सम्पन्न भएका ती मुलुकहरूको आर्थिक उन्नति गर्न यही तेस्रो मुलुकबाट श्रमिक आपूर्ति हुने गर्दछ । त्यस मुलुकको बजार पनि ज्यादाजसो तेस्रो विश्व नै हुने गर्दछ । यो विश्वको दुईतिहाइ भूभागमा विश्वको एकतिहाइ जनसङ्ख्या रहने गर्दछ र एकतिहाइ भूभागमा दुइतिहाइ जनसङ्ख्या बस्ने गर्दछन् । कुरोको चुरो यो हुन सम्भव छैन र ? प्रकृतिको उपहारमा विश्वका सबैको बराबर हक छ भन्ने कुरा आजसम्म उल्लेख्य रूपले उठेको छैन । त्यस्तै, आफ्नो श्रमले आफ्नै मुलुक सम्पन्न बनाउन सकिन्छ कि भन्ने मनन गरिएको छैन । तेस्रो विश्वको जनसङ्ख्यालाई यो तेरो यो मेरो भनेर विवाद गर्दैमा, झगडा गर्दैमा फुर्सद छैन । यदि कुनै दिन हामी झगडा नगरी यतातर्फ सोचौँ भन्ने भावना विकसित भयो भने के आफ्नो मुलुकमा काम गर्ने सस्ता श्रमिकको आपूर्ति बन्द नहोला ? के विश्व सम्पूर्णको सम्पत्ति हो भन्ने भावना विकसित नहोला ? सकारात्मक सोचाइ राख्दा विकसित मुलुकले यसो नहोस् भनेर तेस्रो विश्वमा झगडा नै होस् भनेर चाहेका नहोलान् भन्न सकिन्छ । तेस्रो विश्वले इतिहासबाट शिक्षा लिएर वर्तमानमा भविष्य उज्ज्वल गर्ने प्रयत्न गरेर विकसित मुलुकको सिको कहिले गर्ने हो सोचनीय विषय छ ।