मन्त्रीमाथि मानव तस्करीको आरोप

मन्त्रीमाथि मानव तस्करीको आरोप


मन्त्रीमाथि मानव तस्करीको आरोप
विदेश भ्रमणको सिलसिलामा आफ्नो ओहोदा तथा पदीय मर्यादाको दुरुपयोग गरी मानव तस्करी गरेको अभियोगमा विज्ञान तथा वातावरणमन्त्री विश्वेन्द्र पासवानविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सप्रमाण मुद्दा दर्ता भएको छ । सम्बन्धित सूत्रले जनाएअनुसार मन्त्री पासवान गत मङ्सिरको तेस्रो सातातिर जलवायुसम्बन्धी अन्तर्राष्ट्रियस्तरको सम्मेलनमा भाग लिन ६० जनाको जम्बो टोलीसहित फ्रान्स पुगेका थिए । उक्त कार्यक्रममा दुई दिन सहभागी भएपछि उनी एक हप्तासम्म बेल्जियम, पोर्चुगललगायतका मुलुक पुगेका थिए भने सो क्रममा आफ्नो साथमा लगेका १४ जना युवालाई उनले उतै छोडेर आएका थिए ।

मन्त्री पासवानले भ्रमण दलको लिष्ट बनाउँदा मन्त्रालयका सचिव–उपसचिव तथा अन्य सम्बद्ध अधिकारीसँग मिलोमतो गरी जम्बो टोली बनाएको र उतै बस्न इच्छुक व्यक्तिहरूसँग जनही १६ लाख असुलेर कार्यक्रमसँग सम्बन्ध नै नरहेका व्यक्तिलाई भ्रमण दलमा सामेल गराएका थिए । यतिबेला पोर्चुगलमा शरणार्थी बनी पलायन भएका तिनै १४ मध्येका दुईजना काभ्रेका श्रेष्ठ र तामाङ थरका युवाले काठमाडौंमा रहेका आफ्ना साथीसँग ‘मन्त्री विश्वेन्द्र पासवानलाई १६–१६ लाख दिएर पोर्चुगल आइपुग्यौँ’ भनी बताएको स्रोतले खुलाएको छ । मन्त्री पासवानले मन्त्रालयबाट करिब ६० जना भ्रमण दलका सदस्यहरूको नाममा पनि रकम निकासा गरेको र १४ जनाको उक्त रकमसमेत खाली कागजमा सही गराएर मन्त्रालयका कर्मचारीमार्फत लिएर भागबन्डा गरेको उनीहरूले बताएका छन् ।

स्मरण रहोस्, अध्यागमनको रेकर्डमा उक्त भ्रमण दलका १४ जना सदस्यहरू फर्केको कुनै विवरण छैन । यसरी मानव तस्करी गरेको प्रमाणसहित मन्त्री पासवानको कुकृत्यबारे प्रधानमन्त्री केपी ओलीलाई केही दिनअघि जानकारी गराइएको र प्रधानमन्त्रीले उनलाई बालुवाटार बोलाई एक हप्ताभित्र सप्रमाण स्पष्टीकरण दिन निर्देशन दिएका थिए । तर, त्यतिबेला पासवानले ती १४ जना युवाहरू आफ्नो कामले केही दिन उतै बसेका र उनीहरू छिट्टै फर्कन्छन् भनी प्रधानमन्त्रीलाई आश्वस्त गराउन खोजेका थिए ।
biswanendra paswan
पछिल्लो समाचारअनुसार यही कुरा मिलाउन मन्त्री पासवान हाल पुन: बेल्जियम पुगेका छन् । तर, उनका विरुद्ध पद तथा अख्तियार दुरुपयोग गरी मानव तस्करी गरेको सप्रमाण आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा फिराद दर्ता भएको छ ।

स्मरणीय के पनि छ भने सुशील कोइराला प्रधानमन्त्री हुँदा तत्कालीन ऊर्जामन्त्री राधा ज्ञवालीका विरुद्ध निजी कम्पनीहरूलाई हाइड्रो–पावरको लाइसेन्स दिँदा प्रचुर मात्रामा भ्रष्टाचार गरेको आरोपमा प्रमाणसहित अख्तियारमा फिराद दर्ता भएको थियो । सो प्रकरणसम्बद्ध समाचार छापाहरूमा आएपछि सुशील कोइरालाले ऊर्जामन्त्री राधा ज्ञवालीलाई तत्काल पदमुक्त गरेका थिए । कोइराला दिवंगत भइसकेका छन् र यस शोकाकूल घडीमा पनि आमजनताले उनको उक्त कदमलाई निष्ठा र त्यागको रूपमा चर्चा गरिरहेका छन् । अब राष्ट्रियता र निष्ठाको राग अलाप्ने मात्र होइन जनतालाई सुशासन र भ्रष्टचारमुक्त सरकारको प्रत्याभूति दिलाउँछु भनी अभिव्यक्ति दिइरहने प्रधानमन्त्री केपी ओलीले आफ्नो साख बचाउन कस्तो कदम चाल्ने हुन्, सर्वत्र चासोको विषय बन्न पुगेको छ ।