गुवाहाटीमा एमालेको मिनी महाधिवेशन !

गुवाहाटीमा एमालेको मिनी महाधिवेशन !


१२औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता– श्रीविक्रम भण्डारी (गुवाहाटी)
१२औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता अहिले एमालेको मिनी महाधिवेशनमा परिणत भएको छ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका एमालेका कार्यकर्ताको बाक्लो उपस्थितिले गुवाहाटी सिलोङमा रातो सूर्य उदाएको प्रतीत भएको छ । खेलकुदमा कहिल्यै अनुहारै नदेखिएका र नामै नसुनिएका व्यक्तिहरू १२औँ सागमा झुल्किएपछि यो अन्तर्राष्ट्रिय प्रतियोगिता हो कि एमालेको महाधिवेशन छुट्याउन गाह्रो भएको छ । एमालेको यति ठूलो मानवसागर गुवाहाटी र सिलोङमा उत्रिएपछि राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव तथा १२औँ सागका सेभ द मिसन केशवकुमार विष्ट तिनछक परेका छन् । यस्तो कसरी भयो ? यसको भेद पत्ता पाउन विष्टले सकेका छैनन् ।

केही एमाले पार्टीले, केही ओलम्पिक कमिटीले, केही राष्ट्रिय खेलकुद परिषद् र केही खेलकुद मन्त्रालयले एमालेका कार्यकर्तालाई गुवाहाटी पठाउन सिफारिस गरेको थियो । डाक्टर, इन्जिनियर, पाइलट, वकिल, न्यायाधीश, प्रहरीप्रमुख, सेनाप्रमुख, पत्रकार, सांसददेखि नेतासम्म जुनसुकै क्षेत्रका भए पनि ‘मिलाएरै’ पठाएको थियो । मिलाएर अर्थात् कसैलाई कुनै खेलको म्यानेजर, कसैलाई कुनै खेलको संयोजक त कसैलाई सहयोगीको रूपमा लगेको थियो । तर, राखेप र एनओसीले त्यो सङ्ख्या सीमित भएको बताए पनि गुवाहाटी र सिलोङमा देखिएको एमाले कार्यकर्ताको बाढी आफँैमा चकित पार्ने प्रकारको थियो । उनीहरू कुन कारण, उद्देश्य र प्रयोजनका लागि त्यहाँ पुगेका हुन् भन्ने बुझ्न नसकी त्यहाँ खेलकुदको हैसियतले उपस्थिति जनाइरहेका एमालेजनहरू नै आश्चर्यचकित भएका छन् ।

एमालेका चर्चित युवानेता तथा पूर्वउद्योगमन्त्री महेश बस्नेतदेखि एमालेका सांसदहरूको उपस्थिति १२औँ सागमा किन भयो र कसले गरायो त्यो अहिले चर्चाको विषय बनेको छ । खेलकुदमा चासो राख्ने केही सांसदलाई १२औँ सागमा भ्रमण गराउन राखेप र एनओसीले निमन्त्रणा गरेको थियो । तर, औँला दिँदा हातै निल्ने प्रवृत्ति र मानसिकताका कारण अहिले गुवाहाटी र सिलोङमा एमालेको ठूलो भीड देखिएको एक एमाले समर्थक खेलकुद पदाधिकारीले बताए । उनले खेलकुद मन्त्रालयबाट चार–पाँचजना आउने पहिले थाहा भए पनि अहिले एक दर्जनभन्दा बढी व्यक्ति आएको बताए । ‘हिजो कसैको श्रीमान्, कसैकी श्रीमती, कसैको छोरा त कसैकी छोरी आउने खबर थियो । आज श्रीमान्ले श्रीमती बोकेर आएको छ त श्रीमतीले श्रीमान् । रमाइलो कुरा त छोरीले ज्वाइँ होइन भविष्यमा हुने ज्वाइँसमेत बोकेर आएका छन् । त्यसपछि यहाँ एमालेको भीड नभए कसको हुन्छ ?’ ती खेलकुद पदाधिकारीले उल्टै प्रश्न गरे । एमालेको यो भीडले ती पनि उकुसमुकुस भइसकेका रहेछन् । उनले पनि यो भीडबाट निस्कने प्रयासमा लागिरहेको खुलासा गरेका थिए ।

यतिबेला मुलुकमा एमालेको सरकार छ । प्रधानमन्त्री केपी शर्मा ओली खेलकुदको संरक्षक छन् । खेलकुद मन्त्रालय एमालेको भागमा छ । खेलकुदमन्त्री एमालेका छन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव एमालेका छन् । त्यसैले अहिले खेलकुद एमालेमय बनेको छ । यस्तो अवस्थामा खेलकुद एमालेको बाक्लो उपस्थिति देखाउने र शक्ति प्रदर्शन गर्ने स्थल बनेको छ । १२औँ सागअन्तर्गत गुवाहाटी र सिलोङमा एमालेको यो उपस्थितिलाई कदापि अर्थहीन मान्न सकिँदैन । यतिबेला खेलकुदमा एमालेको इसाराबिना एउटा पात पनि हल्लिँदैन । यस्तो अवस्थामा एमालेले हरेक पक्षबाट खेलकुदको हुर्मत लिने कार्य गर्नेछ । बिचरा सदस्यसचिव केशव विष्ट त त्यसका मोहरा मात्रै हुन् । जसलाई असफल बनाउन लागेको एमालेभित्रैकै एक गुटले यस्तो कार्य गरेको पनि हुनसक्छ ।

आखिर कुरा जे भए पनि यसपटक १२औँ सागमा देखिएको एमाले कार्यकर्ताको जन्ती आफँैमा ऐतिहासिक बनेको छ । यसर्थमा कि १२औँ सागमा नेपालले स्वर्ण पदक जिते पनि नजिते पनि एमाले कार्यकर्ताको ठूलो भीडले यसलाई ऐतिहासिक बनाउने पक्का छ । मेचीदेखि महाकालीसम्मका विभिन्न तह र तप्काका एमालेका कार्यकर्ताको सम्मिश्रणले अहिले गुवाहाटी र सिलोङ जसरी सिँगारिएको छ भोलि त्यसको परिणाम सदस्यसचिवको टाउको आउनेमा पनि दुईमत छैन । तर, कुरै नबुझी सदस्यसचिवले आफ्नी बूढी लान हुने हामीले आफ्नो परिवार किन लान नपाउने, भन्नेहरूको मुख अब १२औँ सागमा कसले थुन्ने त्यो चिन्ताको विषय बनेको छ । मुलुकको सेभ द मिसनले के–के गर्न पाउँछ त्यसको कुनै हेक्का नराख्नेले बिनाकारण १२औँ सागमा एमालेको मिनी महाधिवेशन किन गरेको होला, त्यो अहिले गम्भीर विषय बनेको छ ।