काङ्ग्रेस कसैको बिर्ता र किपट होइन

काङ्ग्रेस कसैको बिर्ता र किपट होइन


Rajendra Pd Pathak
:: राजेन्द्रप्रसाद पाठक ::

काङ्ग्रेस लोकतान्त्रिक अभियान हो । सामाजिक परिवर्तनको महायात्रा हो । प्रजातन्त्रको विजक हो । उल्लिखित सबै उपमा काङ्ग्रेसका उपर लगाइएका कसीहरू नै हुन् । जनता जागरणको महान् अभियानका साथ होमिएको पार्टी २००३ सालदेखि २०७२ सालसम्म आइपुग्दा १३औँ महाधिवेशन सम्पन्न गर्दै छ । प्रवासी परम्पराबाट सुरु भएको महाजागरण स्वनिवाससम्म आइपुग्दा थुप्रै त्यस्ता राजनीतिक घटनाक्रम सम्पन्न भइसकेका छन् जसमा काङ्ग्रेसको नेतृत्व अवश्यंभावी देखिएको छ । जहाँ काङ्ग्रेस छ त्यहाँ परिवर्तन छ भन्ने विषयमा दुईमत छैन । लोकतान्त्रिक विधि र परम्परालाई काङ्ग्रेस पार्टीले स्थापनाकालदेखि नै स्वीकार गर्दै आएको हो । जनताको शासन पद्धतिलाई स्थापित गर्नका खातिर जीवनलाई भन्दा जनता र जनतन्त्रलाई बढी महत्त्व दिने बीपीबाबु यस भौतिक संसारमा नभए तापनि उहाँको विचार र आत्माले समग्र नेपाली समाजलाई घचघच्याइरहेको छ । आफ्ना आगामी पुस्ताले देश र जनताप्रति योगदान गर्न सक्दैनन् भन्ने उहाँको ठम्याई थियो । किनकि आलिशान जिन्दगी बिताउन उद्यत् आगामी मेरो पुस्ता सेवा र सङ्घर्षको मैदानमा कसरी खट्न सक्ला भन्ने नै उनको चिन्ता हो । यसको मतलब यो होइन कि समय र विज्ञानले उपलब्ध गराएको सुख भोग नगरुन् । चुरो कुरो यो हो कि देश र जनताको स्तरलाई समेत आफूले उपयोग गर्ने सुखसुविधासम्पन्नसरह तुल्याउन सक्नु अबको राजनीति हो ।

वास्तवमै राजनीति विशुद्ध समाजसेवा हो । सामाजिक हितविपरीतको राजनीति व्यक्तिगत उन्नतिको साधन बन्नतिर उन्मुख नहोस् भन्ने हेतुले यसो भनिएको हो । आफूलाई भन्दा देश, जनता र समाजलाई प्रधानता दिने विशेष चरित्र उहाँमा हाबी भएकै कारण आवरणमा जनमुखी र अन्तरङ्गमा व्यक्तिवादी चरित्र लिएका कम्युनिस्टहरूप्रति उनले कहिल्यै विश्वास गरेनन् । बरु पुस्तौनी राज गर्ने परम्परा र चरित्र बोकेको राजसंस्था नै राष्ट्रियताको सवालमा अग्र मोर्चामा उभिन सक्छ भन्ने निचोड उनले ननिकालेका होइनन् । ‘बाँदरलाई बगैँचामा होइन वनमै रहन दिनुपर्छ’ भन्ने निष्कर्ष उनको थियो । यस्ता दूरदर्शी बीपीबाबुदेखि जीपीबाबु हुँदै झन् सुशील बाबुसम्म आइपुग्दा त बगैँचाको मालिक बाँदरहरूकै भइसकेको अवस्थामा काङ्ग्रेस आफ्नो १३औँ महाधिवेशन सम्पन्न गर्दै छ । निरन्तरसम्म जनताले विश्वास गरेको पार्टी नेपाली काङ्ग्रेस नै हो । यत्तिका ठूलो जनविश्वास हासिल गर्नुमा संस्थापक नेतृत्वको ठूलै योगदान हुनुपर्छ । काङ्ग्रेसका संस्थापक नेता स्व. बीपीबाबुले आफ्नो आगामी सन्तान दरसन्तानले काङ्ग्रेस थेग्न नसक्ने परिकल्पनाभित्र पनि एउटा ठूलै लोकतान्त्रिक सोच र अवधारणा अन्तर्निहित भएको महसुस गर्न सकिन्छ ।

लुलो, लङ्गडो, लाटो जे–जस्तो भए तापनि राजाको छोरा राजा नै हो भन्ने पुरातन सामाजिक परिवेश भएको अवस्थाको नेतृत्वमा आफ्नो आगामी पुस्ता अक्षम भएको विचार प्रकट गर्नु आफँैमा लोकतान्त्रिक अभ्यासको विजारोपण हो । स्मरण रहोस्, माथि उल्लिखित लुलो, लङ्गडो र लाटो भन्ने शब्द शारीरिक अक्षमतालाई भन्न खोजिएको होइन यो त सिर्फ मानसिक र नेतृत्वको अक्षमतालाई प्रकट गर्न मात्र प्रयोग भएको हो । शारीरिक रूपमा सबल देखिएका, तर मानसिक रूपमा गौण भएकाहरू नेतृत्वको वरिपरि परिक्रमा मात्र गरेर पुन: आफूलाई नेतृत्वमा स्थापित गर्न सफल भएको केन्द्रीय नेतृत्वका कारण महान् इतिहास सम्पन्न देशकै सबैभन्दा ठूलो र जनविश्वास बोकेको पार्टी आज निरीह बन्न पुगेको छ । राज्य सञ्चालनार्थ जनताले सबैभन्दा बढी मत दिएर पठाएको पार्टी आज अत्यन्त निरीह प्रतिपक्षमा उभिन बाध्य हुनुमा के नेतृत्वको खोट छैन ? लोभ, पाप र निकृष्ट पारिवारिक महत्त्वाकाङ्क्षामा विशाल जनमत भएको पार्टीलाई होम्दै गर्दा के क्षमतावान् कार्यकर्ता टुलटुलु हेरेर मात्रै बस्लान् त ? काङ्ग्रेस के कुनै व्यक्ति र परिवारविशेषको बिर्ता मात्र हो त ? तिनै परिवारभित्र पनि नेगेटिभ डिस्क्रिमिनेसनमा परेकाहरूले अब चुपचाप नाम मात्रको विरासती नेतृत्वलाई स्वीकार गर्लान् त ?

‘क्रान्ति घरभित्रैबाट जन्मन्छ’ भन्ने कुरामा अब दुईमत छैन । राणातन्त्रको विरासती नेतृत्वको क्रमभङ्ग गर्दै सुवर्णबाबु जहानियाँ राणातन्त्रकै विरोधमा नेपाली काङ्ग्ेरस गठनका महापात्र हुन् । यस्तो उच्चतम हैसियत लिएर नेपाली काङ्ग्रेस पार्टी–इतिहासलाई आफू र जनताको पक्षमा सावित गर्दै छ । पारिवारिक विरासतकै राजनीतिलाई बढावा दिँदै गर्दा एउटाले त न्याय पाउला, तर अन्य प्रत्याशीहरू सोझै अन्यायमा पर्ने निश्चित छ । त्यसैले काङ्ग्रेसका विद्वान् खारिएका कार्यकर्ता र नेतृत्वको पङ्क्तिले परिवारलाई भन्दा पराक्रर्मीलाई दृष्टिगत गर्ने विषयमा अब दुईमत रहनेछैन । सुशीलबाबुले नेतृत्व सम्हालिरहँदा पार्टी इतिहासको परम् उच्चतम गौँडोमा थियो । यसबाट माथि उकाल्नका लागि विशाल छाती भएको सुझबुझसहितको उत्कृष्ट नेतृत्वले मात्रै पार्टीलाई देश, जनता र विश्वसामु परिस्कृत गर्न सक्ने थियो । कुटिल र निकृष्ट व्यक्तिवादी चरित्र बोकेकाले, आफ्नो पृष्ठभूमि र पृष्ठपोषक साझेदार परिवर्तनकारी सहयोगी, बहुआयामिक सम्बन्ध भएको छिमेकी देशप्रति सन्तुलित कूटनीति अपनाएर व्यवहार प्रदर्शन गर्नुपर्ने अवस्थामा कुनै छिमेकी आउँदा बाबुबाजे आएजस्तो विश्वास–व्यवहार गर्ने र कुनै छिमेकीलाई जार–जङ्गली व्यवहार प्रस्तुत गर्ने सामन्तवादी चरित्र बोकेकाहरूको काँधमा चढेर मित्रशक्तिहरूप्रति बन्दुक चलाउने र आफूलाई बहादुर राष्ट्रभक्त साबित गर्ने दौरानमा लागेकैले आजको यो दुर्दशातिर देश, जनता र पार्टीलाई समेत धकेलिरहँदासमेत चेत नखुलेपछि पूर्ण सुझबुझका साथ अगाडि बढ्ने परम्परा बोकेका काङ्ग्रेसी कार्यकर्ताहरूबाट आक्रोशको ओइरो खनिन लागेको अवस्थामा आफूलाई अगाडि बढाउनेभन्दा सर्वसम्मत नेतृत्वलाई अगाडि सारेर मात्र १३औँ महाधिवेशनलाई एकताको अधिवेशन बनाउन सकिन्छ ।
Nepali Congress Party Office
बिचरा आफ्ना आफन्तलाई र वरिपरि घुमिरहने घुमन्तेहरूलाई मात्र सल्लाहकार सम्झेर तुच्छ परम्परा बनाएका उनी जबसम्म त्यो घेराबाट बाहिर आउँदैनन् तबसम्म उनको घैँटोमा घाम लाग्ने अवस्था छैन । षड्यन्त्रपूर्ण तौरतरिकाबाट १७औँ पटकसम्म प्रधानमन्त्रीको चुनावी हार स्वीकार गर्न लगाएर सत्ता प्राप्त गर्ने अवसरमा आफूलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन कुटिल चाल चल्न सफल भएका उनले पार्टीको सुदृढीकरणलाई गौण सम्झेको दृष्टान्त पनि सहजै प्रस्तुत गर्न सकिन्छ । १२औँ महाधिवेशनमा आफूलाई पहिलो र अन्तिम उम्मेदवार बनाउने स्वयम्को घोषणा यतिबेला उनले बिर्सिसकेको भए तापनि कार्यकर्तामाझ ताजै छ । मनोनीत गरेर पूरा गरिनुपर्ने केन्द्रीय कार्यसमितिलाई समेत चिप्लेकिराको गतिमा अघि सारेर कुटिल प्रपञ्च रचेकै हुन् । उनको कार्यकालमा कुनै पनि विभाग पूर्ण हुन सकेनन् । भ्रातृ सङ्गठनहरूलाई पक्षघातको रोग सल्काइदिए । राजनीतिक कार्यकुशलतातिर उन्मुख रहेका डा. शशांक कोइराला र शेखर कोइरालाप्रति पनि विश्वासघात हुँदै छ । जहाँ खायो त्यहीँको खोइरो खन्ने उनको पुरानै प्रवृत्ति हो । आफूबाहेक अन्यको क्षमतालाई गौण सम्झने उनको प्रवृत्तिले अवसान लिँदै छ । यो अधिवेशनको अन्तिम दिनले दिएको परिणाले काङ्ग्रेसभित्र नयाँ रक्तसञ्चार हुने र पार्टीभित्र लोकतान्त्रिक अभ्यास सुरु हुने सबैको विश्वासमाथि तुसारापात हुनेछैन ।

काङ्ग्रेस लाखौँ–लाखले तेस्रो, चौथो पुस्तासम्म बलिदानी गरेर खडा भएको पार्टी हो । यो पार्टी कसैको पनि बिर्ता र किपट होइन । सक्षम र निष्ठावानले सतह पाउनु अबको आवश्यकता हो । छिमेकी र शुभचिन्तकलाई राष्ट्र र जनताको पक्षमा विश्वास दिलाउन सक्नु अबको आवश्यकता हो । प्रवासमा धन कमाउनका खातिर लाहुर जाने आफन्तलाई फर्काएर विरासत सुम्पिँदैमा देश र जनहितमा पार्टी अगाडि बढ्न सक्दैन । शारीरिक र मानसिक रूपमा सबल नेतृत्व यो अधिवेशनको मार्ग हो । जनता अब रैती र रङ्कमा सीमित नरही जनार्दन बन्ने पर्खाइमा छन् । निकृष्ट कुटिलताभन्दा उत्कृष्ट कुशलता सबैका लागि स्वीकार्य हुन्छ । पार्टीभित्र आफ्नो र पराई होइन गराई र भराई (पूर्णता) सबै प्रबुद्ध कार्यकर्ताको माग हो । विकासको सम्भावनालाई आत्मसात् गर्न काङ्ग्रेसीले चाहेका छन् । अब पुरातन विरासती शैलीमा चलाउन खोज्नु आत्मरति मात्रै हुनेछ । आजसम्म काङ्ग्रेस कोइरालाको बिर्ता र किपटजस्तो रहेको अवस्थामा अब यस्तो भावनाबाट मुक्ति दिलाउन प्रबुद्ध र विद्वान् कार्यकर्ताले आवश्यक पहलकदमी लिन ढिलो भइसकेको छ । आजका दिनसम्म पार्टीले धेरै खति व्यहोरिसकेको छ । विचार, व्यवहार र विकास यी तीन विषयमाथि जनता र कार्यकर्ता केन्द्रित हुनु अबको आवश्यकता हो ।

(लेखक आर्यावर्त (भारतवर्ष) युवा समाजका अध्यक्ष हुन् ।)