जोखिममा छन् सम्बन्धहरू :: बबिता बस्नेत

जोखिममा छन् सम्बन्धहरू :: बबिता बस्नेत


babita bas
‘कथाझैँ लाग्ने पीडादायी वास्तविकता बोकेर सडकमा मुस्कुराउँदै हिँड्नेहरूको सङ्ख्या ठूलो छ ।’ धेरै साथीहरूले मेरो फेसबुकको ‘इनबक्स’भित्र यो पङ्क्तिकार आफँैले लेखेको स्टेटस कपी–पेस्ट गर्दै ‘यसरी बाध्यात्मक रूपमा आफन्त र साथीहरूकाबीच मुस्कुराउने मान्छेभित्र म पनि पर्छु, मैले भोगिरहेको कुरा स्टेटसमा लेखिदिनुभएकोमा धन्यवाद’ भन्नुभयो । केही वर्षदेखि राष्ट्रिय पर्व नै हो कि जस्तो गरी नेपालमा पनि धुमधामसँग मनाउन थालिएको भ्यालेन्टाइनडे अर्थात् प्रेमदिवसको अवसरमा लेखिएको स्टेटस थियो त्यो, जहाँ सम्बन्धहरू सम्बन्धहीन बन्दै गएको कुरा उल्लेख थियो । विगतमा पश्चिमाहरूबीच मात्रै हुने कुराझैँ मानिएको सम्बन्धविच्छेद केही वर्षयता नेपाली समाजको घरघरको कहानी बन्न थालेको छ । सम्बन्धविच्छेद नै हुनेको त भइहाल्यो, नहुनेहरूका पनि धेरैका सम्बन्धहरू जोखिमपूर्ण परिस्थितिबाट गुज्रिएका देखिन्छन् ।

श्रीमान्–श्रीमती या प्रेमी–प्रेमिकाबीचको सम्बन्ध विश्वासको सम्बन्ध हो । जब विश्वासमा खडेरी पर्छ अनि जिन्दगीमा तनावले स्थान पाउँछ । यसरी विश्वासमा खडेरी पर्दै गएर नाजुक अवस्थाबाट जीवन गुजार्नेहरूको सङ्ख्या बढ्दै गएको छ । सन्तानका नाममा, इज्जत, कुल, खानदान र समाजका नाममा एउटै छानोमुनि रात बिताउने दम्पतीको सङ्ख्या पनि त्यत्तिकै छ । विशेषगरी व्यावसायिक महिला–पुरुष र उच्चवर्गीय भनिने परिवारभित्र यस्तो अवस्था देखिन्छ । मध्यमवर्गीय परिवारहरू पनि यस्तो परिस्थितिबाट टाढा छैनन् । दिन प्रतिदिन सम्बन्धहरू असुरक्षित बन्दै गएका छन् । पहिला–पहिला पति–पत्नीको सम्बन्धमा प्राय: महिलाले मात्रै असुरक्षाको महसुस गरेको पाइन्थ्यो । अब त्यो असुरक्षाको भावना पुरुषमा पनि त्यत्तिकै देखिन्छ । गाउँघर, सहरबजार, मधेस, पहाड विभिन्न ठाउँको यात्राका क्रममा देखिएका, भेटिएका, सुनिएका र गरिएका कुराकानी र अदालतमा दर्ता गरिएका सम्बन्धविच्छेदका मुद्दाहरूका आधारमा भन्न सकिन्छ– अहिले मानिसलाई खान–लाउनभन्दा सम्बन्धमा समस्या छ । आर्थिक र रोजगारीको तनाव त नेपालीलाई सधैँ थियो नै, त्यसमा अर्को थपिएको छ, सम्बन्धमा असुरक्षा । खै के हो के हो… भन्ने अवस्थाबाट धेरै मानिस गुज्रिरहेका छन् । पलपलमा विश्वासको सङ्कट छ ।

ओशोले भनेका छन्, ‘सम्बन्धमा इन्सेक्युरिटी (असुरक्षा)को भावना हुनुपर्छ । यसले पति–पत्नी या प्रेमी–प्रेमिकाबीचको केयरिङ बढाउँछ र निकटता ल्याउँछ ।’ गौतम बुद्धको भनाइ छ, ‘सम्बन्धमा विश्वास आवश्यक छ ।’ यी दुई अलग भनाइलाई तुलना गर्दा लाग्छ, विश्वास र असुरक्षाबीचको दूरी लामै छ । इमानदारी सम्बन्धको अर्को आधार हो । एकपल्ट सुरक्षाकर्मीलाई कक्षा लिइरहँदा एक सहभागीले भनेका थिए, ‘म मिसन जान लागेको छु, पहिला भए केही मललब हुँदैनथ्यो, अहिले त म फर्किंदा मेरी श्रीमती मेरै नाममा रहलिन् कि नरहलिन् भन्ने चिन्ता छ । उनी अरू कसैसँग आकर्षित भइन् भने छोराछोरीको के हालत होला ? मैले मिसनमा कमाएर ल्याएको सम्पत्तिको के अर्थ होला ?’ लैङ्गिक हिंसाबारे कुराकानी गर्दै गर्दा पुरुषमाथि हुने मानसिक हिंसाबारे केही बोल्ने क्रममा उनले त्यसो भनेका थिए । श्रीमती र छोराछोरीको भविष्यका लागि ५५ डिग्रीसम्मको तापक्रममा काम गर्न बिदेसिएका पुरुष पनि अहिले त्यत्तिकै असुरक्षित देखिन्छन् ।

यसबीचमा केही घटना यस्ता भए जसले उनीहरूलाई असुरक्षित महसुस गराइदिएको छ, के हो के हो को भावना जगाइदिएको छ । समानताको नकारात्मक दृष्टिकोणको पाटोबाट हेर्ने हो भने ‘पहिला महिला मात्रै असुरक्षित थिए, अहिले पुरुष पनि हुन थाले, थाहा पाउन् न त उनीहरूले पनि’ भन्न सकिएला, तर समाज विकासको दृष्टिकोण भने यो समाजको रूपान्तरण फरक किसिमले भइरहेको छ भन्न सकिन्छ । हुर्काइ र सामाजिकीकरणले धेरै पुरुष आफूमाथि भएका घटना सार्वजनिक गर्न सक्दैनन् पनि ।

सम्बन्धहरू बिग्रनु, टुक्रनु र कानुनी रूपले नै विच्छेदको अवस्थामा पुग्नुलाई कतिले पश्चिमा संस्कृतिको प्रभाव पनि भन्ने गरेका छन् । तर, हाम्रा गाउँठाउँमा भइरहेका सम्बन्धविच्छेदका घटनालाई हेर्दा ती पश्चिमा संस्कृतिबाट प्रभावित भएकाजस्ता लाग्दैनन् । यसका लागि हाम्रा प्रवृत्तिहरू दोषी छन् । शिक्षा र चेतनाले मानिसमा जीवन तथा जगत्लाई बुझ्ने क्षमतामा विकास भएको छ । महिला आफ्नो खुट्टामा उभिन थालेका छन् । कुरा बुझ्न थालेका छन् । पहिलाजस्तो जे गरे पनि सहेर बस्नुपर्ने अवस्था पनि छैन । एकातिर महिलाको चेतना बढ्यो, अर्कोतिर पुरुषहरूको हुर्काइ र दृष्टिकोणजस्ताको तस्तै रह्यो । यसले पनि सम्बन्धहरूलाई सम्बन्धहीन बनाउन मद्दत गरेको छ भन्न सकिन्छ ।

गत हप्ता तराईमा थिएँ । सिरहाको गरिब बस्तीमा पुगेको बेला एक महिलालाई सोधेँ, ‘सबै ठीक छ नि ?’ जवाफ दिन उनी हिच्किचाइन् । केहीछिन कुराकानी गरेपछि भनिन्, ‘मेरो पाठेघर खसेको तीन वर्ष भयो, मेरा श्रीमान् अहिले अर्कै महिलासँग बस्छन् ।’ उनले यसैगरी त भनिनन्, तर भनाइको आशय थियो, ‘श्रीमान् भनेको त यौन सम्बन्धका लागि मात्रै रहेछ ।’ कति पुरुषहरूलाई पनि आफ्ना पत्नीहरूलाई लिएर यस्तो लाग्दो हो, तर ज्यादै कम । इमानदारी, भावना, आफ्नोपन, जीवनसाथीप्रतिका उत्तरदायित्वलगायतका कुराहरू सम्बन्ध निरन्तरताका आधारहरू हुन् । धोखाधडीपूर्ण सम्बन्धहरू लामो समय टिक्दैनन्, तर पनि मानिसहरू यसप्रकारका सम्बन्धहरूमा अग्रणी देखिन्छन् । प्रेममा धोखा पाउनेहरूको सूचीमा अहिले एकल महिला बढी देखिन्छन् । द्वन्द्वका कारण पतिको हत्या, मृत्यु या बेपत्ता भएकाले धेरै महिला एकल बनेका छन् । अन्य कारणले एकल हुनेहरूको सङ्ख्या पनि धेरै छ । उनीहरूले पाएका धोखाका अनेक घटना अहिले कानुन व्यवसायीहरूसमक्ष आउने गरेका छन् । अदालतले प्रमाण खोज्छ, धोखाको कुनै प्रमाण हँुदैन । त्यसपछि पैदा भएको निराशाका परिणाम आत्महत्यासम्म हुने गरेका छन् ।

आखिर सम्बन्धहरू यति धेरै जोखिममा किन छन् ? चाणक्यले भनेका छन्– पैसा नभएपछि पुरुषहरू ब्रह्मचारी बन्छन् । यसको अर्थ हो जब मानिससँग पैसा हुन्छ, उसको पहिलो प्राथमिकता नयाँ पार्टनर, मादकपदार्थलगायतका कुराहरू हुन्छन् । सबैमा यही कुरा लागू हुन्छ भन्ने पटक्कै होइन, तर धेरैमा यस्तै देखिएको छ । कतिपयको जीवनमा पात्र बदलिए पनि प्रवृत्ति नबदलिनुको कारण पनि यस्तै हो । विवाहेत्तर सम्बन्धहरूमा देखिएको बढोत्तरी पनि सम्बन्धहरू जोखिममा पर्ने कारणहरूमध्ये एक हो । अन्त्यमा, कारण जे–जस्ता भए पनि नेपाली समाजमा सम्बन्धहरू जोखिमपूर्ण बन्दै गएका छन् । राम्रो पारिवारिक जीवन बिताउने मानिसहरू नभएका होइनन्, तर देखिने र हुने सम्बन्धबीचको दूरी भने बढिरहेको छ ।