देउवा र पौडेल को कति बलवान् ?

देउवा र पौडेल को कति बलवान् ?


ser-bahadur-ramchandra

नेपाली कांग्रेसको तेह्रौँ महाधिवेशनबाट पार्टीले नयाँ नेतृत्व पाउने निश्चित भए पनि भावी सभापतिको विषयलाई लिएर विभिन्न अनुमान गर्न थालिएका छन् । उपसभापति रामचन्द्र पौडेलले आफूलाई साठी प्रतिशत मत प्राप्त हुने विश्वास राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्ति केन्द्रका प्रतिनिधिहरूसमक्ष प्रकट गर्न थाल्नुभएको छ ।

प्राप्त जानकारीअनुसार शक्तिकेन्द्रहरूले वरिष्ठ नेता शेरबहादुर देउवालाई सभापति बनाएर भविष्यमा प्रधानमन्त्री बन्ने गरी संसदीय दलको नेता बन्नु उपयुक्त हुने सुझाव पौडेललाई दिएका छन् । तर, नेता पौडेल देउवालाई पार्टी जिम्मा लगाउने पक्षमा आफू नरहेको भन्दै सभापतिका लागि देउवासँग चुनावी मैदानमै भिड्ने मानसिकतामा रहनुभएको छ । पौडेलले साठी प्रतिशत आफ्नो पक्षमा रहेको दाबी गरिरहनुभएको भए पनि चुनावी परिणाम भने भिन्न देखिएको छ । कुनै आकस्मिक घटना–सन्दर्भले परिस्थितिमा परिवर्तन ल्याएन भने क्षेत्रीय अधिवेशनहरूको चुनावी परिणामले अहिले वरिष्ठ नेता देउवालाई सर्वाधिक बलवान् देखाएको छ । मत सन्तुलनको यही स्थिति महाधिवेशनसम्म कायम रहेमा देउवा कम्तीमा चार सय मतले सभापतिमा विजयी बन्नुहुने सम्भावना छ ।

कांग्रेसका नेताहरूमध्ये रामचन्द्र पौडेललाई विचारकका रूपमा लिइन्छ भने देउवालाई मित्रवत् र ‘एक्सन ओरिएन्टेड’ नेता मान्ने गरिएको छ । कांग्रेसमा देउवा एक त्यस्ता नेता हुनुहुन्छ, जसले अहिलेसम्म पार्टीमा पदाधिकारी बनेर काम गर्ने मौका पाउनुभएको छैन । केन्द्रीय सदस्य रहँदै गृहमन्त्री र पटकपटक प्रधानमन्त्रीसम्म बन्नुभएका देउवाले पार्टीको सभापति बन्न भने प्रयत्न गर्दै आउनुभएको छ । दशौँ महाधिवेशनमा गिरिजाप्रसाद कोइरालासँग पराजित देउवाले बाह्रौँ महाधिवेशनमा सुशील कोइरालासँगको प्रतिस्पर्धामा करिब तीन सय मतान्तरले पराजय व्यहोर्नुपरेको थियो । तर, यसपटक (तेह्रौँ महाधिवेशनमा) भने देउवा सर्वाधिक सुदृढ र सुरक्षित अवस्थामा देखिनुभएको छ । जिल्ला सभापतिहरूमा अत्यन्त कम सङ्ख्या देउवाको पक्षमा देखिएको भए पनि महाधिवेशन प्रतिनिधिहरूको ठूलो सङ्ख्या भने देउवाको समर्थनमा रहेको पाइएको छ ।

पचहत्तरवटै जिल्लामा देउवाका मतदाताको सङ्ख्या बढेको छ । बाह्रौँ महाधिवेशनमा तीन भोट मात्र देउवालाई दिने कास्कीमा यसपालि अठचालीस (४८) मध्ये कम्तीमा अठारदेखि अठ्ठाइस मत देउवाको पक्षमा छ । शुक्रराज शर्माको साथ भएमा देउवाले अठ्ठाईस (२८) मत पाउनुहुने विश्वास गरिएको छ । पश्चिमाञ्चल विकास क्षेत्रको पाल्पाबाट बाह्रौँ महाधिवेशनमा देउवालाई एघार मत परेको थियो । छत्तीस मतसङ्ख्या रहेको पाल्पाबाट देउवालाई यसपटक कम्तीमा पच्चीस मत मिल्ने निश्चित भएको छ । गुल्मीको छत्तीसमध्ये बीस, रूपन्देहीको चौरासीमध्ये पचास, नवलपरासीको बहत्तरमध्ये कम्तीमा छत्तीस, स्याङ्जाको छत्तीस मतमा बाइस र अर्घाखाँचीको चौबीस मतमा देउवालाई सोह्र मत जाने देखिएको छ । बाह्रौँ महाधिवेशनमा चौबीसमध्ये तीन भोट मात्र पठाउने पर्वतबाट यसपटक देउवालाई कम्तीमा तेह्र मत प्राप्त हुने अवस्था छ । चितवनबाट देउवालाई पहिले एक्काइस मत मिलेकोमा अहिले चितवनका साठीमध्ये कम्तीमा बत्तीस मत उहाँलाई जाने देखिएको छ ।

मकवानपुरको अठचालीस मतमा तीस, भक्तपुरको चौबीसमा बीस, मोरङ एक सय आठमा साठी र झापाको चौरासीमा चालीस मत देउवाको पक्षमा रहेको छ । काभ्ेरबाट बाह्रौँ महाधिवेशनमा शेरबहादुरलाई चौध मत मिलेकोमा यसपटक अठ्ठाईस मत स्पष्ट रूपले उहाँका पक्षमा उभिएको छ । ललितपुरको छत्तीस मतमध्ये देउवालाई तेह्र मत प्राप्त हुने स्थिति छ । त्यस्तै पहिले चार मत मात्र देउवालाई दिने धादिङबाट पनि यसपटक कम्तीमा तेह्र मत जाने अवस्था छ । रामेछापको चौबीस मतमा लक्ष्मणप्रसाद घिमिरेलाई मिलाएको अवस्थामा देउवालाई बीस मत प्राप्त हुने देखिन्छ । बाह्रौँ महाधिवेशनमा १० भोट मात्र मिलेको नुवाकोटबाट देउवालाई छत्तीसमध्ये चौबीसदेखि छब्बीस मत जाने स्थिति छ । सर्लाहीको बहत्तर मतमध्ये बाह्रौँ महाधिवेशनमा कोइरालालाई साठी र देउवालाई बाह्र मत प्राप्त भएकोमा यसपटक देउवाले कम्तीमा बाउन्न मत पाउने निश्चित भएको छ ।

सुदूरपश्चिमाञ्चल विकास क्षेत्रबाट सत्तरीदेखि त्रिहत्तर प्रतिशत, मध्यपश्चिमबाट एकाउन्न प्रतिशत र पूर्वाञ्चलबाट कम्तीमा पचास प्रतिशत मत देउवाको पक्षमा जाने अवस्था रहेको छ । देशको दुई सय चालीसमध्ये एउटा यस्तो निर्वाचन क्षेत्र देखिएको छैन जहाँ देउवाको दुई मत भए पनि बढेको नहोस् । यसरी प्रारम्भिक परिणामअनुसार देउवा कोइराला पक्षभन्दा कम्तीमा चार सय बढी मतले अगाडि देखिएका छन् । कार्यबाहक सभापति रामचन्द्र पौडेल हालको संस्थापन पक्षबाट एकल उम्मेदवार बन्नुभएको अवस्थामा भने अहिले देखिएको मतान्तरमा भिन्नता आउन सक्ने अनुमान विश्लेषकहरूको छ ।