अर्जुनकुमार उप्रेतीको रेडियोभित्र (पुस्तक चर्चा)

अर्जुनकुमार उप्रेतीको रेडियोभित्र (पुस्तक चर्चा)


– राजेश नतांश,
सूचनाप्रविधिको दु्रततर विकाससँगै सञ्चारको साधन एफएम/रेडियोमा पनि कायापलट भएको छ । हामी बसेका ठाउँहरुमा बग्रेल्ती एफएम/रेडियोहरु खुलेका छन् । दिनानुदिन एफएम÷रेडियोको संख्यामा बढोत्तरी भएको देखिन्छ । रेडियोहरुको संख्या वृद्धिसँगसँगै यसको गुणस्तरको समस्या टड्कारो भएको छ । कमजोर व्यवस्थापन र अदक्ष रेडियोकर्मीहरुको कारण मोफसल केन्द्रित रेडियोहरुले दिनप्रतिदिन स्रोताको विश्वास गुमाउँदै गरेको विज्ञहरु बताउँछन् । रेडियोमा ख्याल गरिने प्रमुख विषय भनेकै त्यसभित्र प्रसारण गरिने कार्यक्रमहरु हुन् । यसरी प्रसारण हुने विभिन्न कार्यक्रम सुन्नकै लागि स्रोता तथा विज्ञापनकर्ताहरु रेडियो खोल्छन् तर अदक्ष प्रस्तुकर्ताहरुका कारण उनिहरुको आस्था घट्दै गइरहेको विश्लेषण गर्न सकिन्छ ।

एफएम रेडियोको यस्तै फुल्ने र ओइल्याउने प्रक्रियाबीच रेडियो क्षेत्रमा दशक बिताइरहेका अन्वेषक अर्जुनकुमार उप्रेतीले एउटा पुस्तक लेखेका छन्– रेडियोभित्र । रेडियोभित्र काम गर्दा प्राप्त गरेका ज्ञान, सीप र अनुभवका आधारमा उनले यो पुस्तक तयार पारेका हुन् । नेपालमा रेडियोको महत्वलाई आँकलन गर्दै उनी लेख्छन्, “नेपालको सन्दर्भमा रेडियो सस्तो, सजिलो, भरपर्दो र लोडसेडिङमा पनि सजिलैसँग सुन्न सकिने सञ्चार माध्यमको रुपमा स्थापित भएको साधन हो ।”

उप्रेतीको रेडियोभित्र एफएम/रेडियोमा काम गर्न रहर पालेका तथा पेशागत रुपमा रेडियोकर्मी भई काम गरिरहेका दुवै पक्षलाई फलदायी छ । एउटा गतिलो मार्गदर्शन मिल्न सक्छ । उप्रेतीले पुस्तकलाई ६ खण्डमा विभाजन गरेका छन् । ती खण्डहरुभित्र के–के छन् त ? एक नजर लगाऔँ ।

खण्ड : १
खण्ड–१ मा उप्रेतीले रेडियोको परिचय दिएका छन् । विश्व परिप्रेछ्यदेखि नेपालसम्म रेडियोको इतिहासलाई खोतलेका छन् । सञ्चार तथा आमसञ्चारको परिचय दिदै उनले सञ्चार प्रक्रियाका बारेमा विश्लेषण गरेका छन् ।

खण्ड : २
खण्ड–२ मा उप्रेतीले रेडियो प्रसारण प्रविधिलाई विस्तार गरेका छन् । टेरेष्टेरियल प्रसारण, सेटलाइट प्रसारण, अनलाइप्रसारण, ग्लोबल मोबाइल ट्रान्समिसनका बारेमा सविस्तार वर्णन गरेका छन् । उनले रेडियोको स्वामित्वलाई पाठकमाझ दर्शाएका छन् । त्यस्तै रेडियो प्रविधिका बारेमा बुझाउँदै एफएम/रेडियो सञ्चालन तथा कार्यक्रम उत्पादन, प्रसारणका लागि स्टुडियो र फिल्डमा आवश्यक पर्ने सामाग्रीहरुको सूची प्रस्तुत गरेका छन् । यो खण्डमा एउटा महत्वपूर्ण अध्याय पढ्न पाइन्छ । अडियो मिक्सिङ्गका लागि चाहिने अत्यावश्यक साधन Cool Edit का बारेमा पढ्न पाइन्छ । उनले ती सबै पद्धतिहरुलाई सिलसिलाबद्ध प्रस्तुत गरेका छन् ।

खण्ड : ३
खण्ड–३ मा रेडियो प्रसारण प्रकृयाका बारेमा लेखेका छन् । Subject-Process-Decode-Encode-Public हुँदै रेडियो प्रसारण हुन्छ भन्ने कुरा सचित्र हेर्न सकिन्छ । जसबाट पाठकहरुलाई बुझ्न सजिलो पर्छ । त्यस्तै उप्रेतीले रेडियोमा प्रयोग हुने शब्दावलीहरु र विभिन्न रेडियो फरम्याटका बारेमा सूची पेश गरेका छन् । उनले माइक्रोफोनको परिचय दिँदै माइक्रोफोन प्रयोग गर्ने तरिका सिकाएका छन् । यस खण्डको अन्त्यमा उनले प्रस्तुतिकरण कलाका बारेमा लेखेका छन् । यो अध्याय निक्कै महत्वपूर्ण देखिन्छ ।

खण्ड : ४
रेडियोको सवल पक्ष र दुर्वल पक्षको बारेमा यो खण्डमा मूल्याङ्कन गर्न सकिन्छ । उनले विभिन्न रेडियो कार्यक्रम तथा प्रकारका बारेमा लेखेका छन् । उनले रेडियो कार्यक्रम फरम्याटमा न्यूज लेख्न सिकाएका छन् । रेडियोमा समाचार वाचन गर्दा आवश्यक पर्ने फरम्याटको नमूना पेश गरेका छन् । अन्र्तवार्ता उपशिर्षकमा रेडियोमा कसरी अन्र्तवार्ता लिने तथा प्रस्तुत गर्ने विषयमा बृहत जानकारी हासिल गर्न सकिन्छ । अन्र्तवार्ता लिदा ध्यान दिनुपर्ने कुरा, अन्र्तवार्ता लिने मानिसमा हुनुपर्ने गुण, प्रश्न तयारी गर्ने तरिकासम्म पढिसक्दा पाठकहरुलाई अन्र्तवार्ता लिन उत्सुकता जाग्छ । एवम् प्रकारले रिर्पोट उपशीर्षकअन्तर्गत समाचारमूलक रिर्पोट कसरी बनाउने भन्ने बारेमा विभिन्न उदाहरणहरु मजाले सिक्न सकिन्छ । उनले रेडियो पत्रिका साझेदारीको स्कृप्ट नमूना पनि पेश गरेका छन् । रेडियोमा सबैभन्दा बढी मनपराइएको तथा कठिन कार्यक्रमको रुपमा रहेको रेडियो नाटकमा रहेर काम गरेको अनुभव बोल्छ । यस खण्डमा उनले रेडियो नाटक निर्माणका लागि चाहिने
अत्यावश्यक कुराहरुले लेखका छन् ।

खण्ड : ५
खण्ड–मा उनी रेडियो उद्घोषण र स्टेज उद्घोषणका बारेमा विवेचना गर्छन् । उद्घोषण गर्दा ध्यान दिनुपर्ने कुरा तथा प्रस्तुतिकरण कसरी गर्ने सन्दर्भमा उनि विशेष चर्चा गर्छन् । रेडियोको भविष्य उपशीर्षकमा उनि नेपालमा रेडियोको सम्भाव्यता र भविष्यप्रति मूल्याङ्कन गर्छन् । उनी रेडियोक्षेत्रमा लाग्न अभिप्रेरित गर्छन् । खण्डको अन्त्यमा रेडियो कार्यक्रमको लागि प्रस्ताव लेखन विधि प्रस्तुत गर्छन् ।

खण्ड : ६
खण्ड–६ मा राष्ट्रिय प्रसारण ऐन २०४९ को प्रतिलिपी राखेका छन् । जसबाट ऐन, नीति नियम थाहा पाउन सकिन्छ । त्यस्तै राष्ट्रिय प्रसारण नियमावली २०६६ को प्रतिलिपी पनि हेर्न पाइन्छ ।

यसरी एकचोटि रेडियोभित्र प्रवेश गरेपछि रेडियोबारे उठेका सबै प्रश्नहरु आपसेआप हल हुन्छन् । रेडियोबारे चासो राख्ने सबैलाई यो पुस्तक उपयोगी छ । पुस्तकको कागज तथा हिज्जे मिलानमा अलि चित्त नबुझे पनि समग्रमा पुस्तक संग्रहणयोग्य छ । नयाँ संसार इटहरीले प्रकाशनमा ल्याएको यो पुस्तकको मूल्य २००/– छ ।